तीजमा समावेशी जमघट
पछिल्लो समय तीज समावेशी बन्दै गएको छ । धरानमा पछिल्ला वर्षहरूमा बढ्दै गएको तीज विशेष कार्यक्रमले यही पुष्टि गर्छ । यस्ता कार्यक्रम कुनै निश्चित समुदायमा मात्र केन्द्रित छैनन् । आदिवासी जनजाति बाहुल्यता मानिने धरानका तीज कार्यक्रमहरू भिन्न र समावेशी रंगको प्रतीत हुन्छ ।
धरान १८ की गरिमा गुरुङ खड्कालाई तीज विशेष लाग्छ । उनी विवाहअघि पनि व्रत बस्थिन् । यसपटक पनि व्रत बस्दै छिन् । ‘पानी र फलफूल खाएर व्रत बस्ने गर्छु,’ उनले भनिन्, ‘यो एउटा आस्था र विश्वास हो ।’ तीजमा साथीहरूसँग रमाइलो गर्न पाउँदा केही क्षणलाई भए पनि दुःख भुल्न सकिने उनको बुझाइ छ ।
यस्तै, धरान ११ की रुक्मणी मगर तीजले खुसी ल्याउने भएकाले यो पर्व मनाउने गरेको बताउँछिन् । एकल महिला भए पनि उनी तीजको व्रत भने बितेका ३ वर्षदेखि बस्दै आएकी छन् । उनको व्रत सन्तानको सुस्वास्थ्य र दीर्घायुका लागि हो । उनलाई माइतबाट पनि दर खाने निम्ता आयो । यसपटक साथीहरूसँग समेत दर खाने उनको योजना छ । मौलिक चाडलाई भड्किलो नबनाई मेलमिलाप, रमाइलो र सुख, दुःख साट्ने पर्वका रूपमा मनाउनुपर्ने उनको तर्क छ ।
धरानकी रूपा मैनाली हालै सौन्दर्य कला व्यवसायी संघ धरानले गरेको तीज कार्यक्रममा भेटिइन् । उनका साथ विभिन्न समुदायका ५ साथी पनि थिए । चाडपर्वले मनमा उमंग थप्ने भएकाले साथीसहित आएको उनले सुनाइन् । ‘केही समयअघि तीज एउटा समुदायको मात्र थियो,’ उनले भनिन्, ‘अहिले समावेशी बन्दै गएको छ ।’
उनको बुझाइमा चाडपर्व व्यक्तिको इच्छा भए सबैले मनाउन सकिन्छ । धरानकै नरमाया तामाङ खड्काले पनि तीजको व्रत बस्न थालेको १३ वर्ष भयो । विवाह अघिदेखि नै उनी व्रत बस्दै आएकी थिइन् । ‘दिनभर पानी नखाई पति र परिवारका लागि व्रत बस्ने गर्छु,’ उनले भनिन्, ‘व्रतअघि पारिवारिक रूपमा तीज मनाउने गर्छौं ।’
धरानकी दुर्गामाया मगरलाई पनि तीज विशेष लाग्छ । विवाह अघिदेखि नै उनी तीजमा व्रत बस्ने गर्थिन् । खुसी बोकेर आउने पर्वका रूपमा तीजलाई लिने उनी व्रतका बेला साँझ सूर्य अस्ताएपछि मात्रै खानेकुरा खान्छिन् । माइती र घरमा तीज विशेष रूपमा मनाउने भएकाले पनि उनलाई रमाइलो लाग्छ । ‘मन्दिरमा जल चढाउँदा सकारात्मक ऊर्जा प्राप्त हुन्छ,’ उनी भन्छिन्, ‘तीजलाई धार्मिक रूपमा मात्रै हेर्नु हुन्न, यो त सबैको पर्व हो ।’