तीजमा समावेशी जमघट

सुम्निमा चाम्लिङ

पछिल्लो समय तीज समावेशी बन्दै गएको छ । धरानमा पछिल्ला वर्षहरूमा बढ्दै गएको तीज विशेष कार्यक्रमले यही पुष्टि गर्छ । यस्ता कार्यक्रम कुनै निश्चित समुदायमा मात्र केन्द्रित छैनन् । आदिवासी जनजाति बाहुल्यता मानिने धरानका तीज कार्यक्रमहरू भिन्न र समावेशी रंगको प्रतीत हुन्छ ।

धरान १८ की गरिमा गुरुङ खड्कालाई तीज विशेष लाग्छ । उनी विवाहअघि पनि व्रत बस्थिन् । यसपटक पनि व्रत बस्दै छिन् । ‘पानी र फलफूल खाएर व्रत बस्ने गर्छु,’ उनले भनिन्, ‘यो एउटा आस्था र विश्वास हो ।’ तीजमा साथीहरूसँग रमाइलो गर्न पाउँदा केही क्षणलाई भए पनि दुःख भुल्न सकिने उनको बुझाइ छ ।


यस्तै, धरान ११ की रुक्मणी मगर तीजले खुसी ल्याउने भएकाले यो पर्व मनाउने गरेको बताउँछिन् । एकल महिला भए पनि उनी तीजको व्रत भने बितेका ३ वर्षदेखि बस्दै आएकी छन् । उनको व्रत सन्तानको सुस्वास्थ्य र दीर्घायुका लागि हो । उनलाई माइतबाट पनि दर खाने निम्ता आयो । यसपटक साथीहरूसँग समेत दर खाने उनको योजना छ । मौलिक चाडलाई भड्किलो नबनाई मेलमिलाप, रमाइलो र सुख, दुःख साट्ने पर्वका रूपमा मनाउनुपर्ने उनको तर्क छ ।


धरानकी रूपा मैनाली हालै सौन्दर्य कला व्यवसायी संघ धरानले गरेको तीज कार्यक्रममा भेटिइन् । उनका साथ विभिन्न समुदायका ५ साथी पनि थिए । चाडपर्वले मनमा उमंग थप्ने भएकाले साथीसहित आएको उनले सुनाइन् । ‘केही समयअघि तीज एउटा समुदायको मात्र थियो,’ उनले भनिन्, ‘अहिले समावेशी बन्दै गएको छ ।’


उनको बुझाइमा चाडपर्व व्यक्तिको इच्छा भए सबैले मनाउन सकिन्छ । धरानकै नरमाया तामाङ खड्काले पनि तीजको व्रत बस्न थालेको १३ वर्ष भयो । विवाह अघिदेखि नै उनी व्रत बस्दै आएकी थिइन् । ‘दिनभर पानी नखाई पति र परिवारका लागि व्रत बस्ने गर्छु,’ उनले भनिन्, ‘व्रतअघि पारिवारिक रूपमा तीज मनाउने गर्छौं ।’


धरानकी दुर्गामाया मगरलाई पनि तीज विशेष लाग्छ । विवाह अघिदेखि नै उनी तीजमा व्रत बस्ने गर्थिन् । खुसी बोकेर आउने पर्वका रूपमा तीजलाई लिने उनी व्रतका बेला साँझ सूर्य अस्ताएपछि मात्रै खानेकुरा खान्छिन् । माइती र घरमा तीज विशेष रूपमा मनाउने भएकाले पनि उनलाई रमाइलो लाग्छ । ‘मन्दिरमा जल चढाउँदा सकारात्मक ऊर्जा प्राप्त हुन्छ,’ उनी भन्छिन्, ‘तीजलाई धार्मिक रूपमा मात्रै हेर्नु हुन्न, यो त सबैको पर्व हो ।’

प्रकाशित : भाद्र १५, २०७६ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्

तीज विशेष : बदलियो समय

सीमा तामाङ

पहिले गौशालाकी ४५ वर्षीया कल्याणी बस्नेत २६ वर्षदेखि तीजको व्रत बस्दै आएकी छन् । १९ वर्षको उमेरमै बिहे भएको उनीसँग तीजको दुई फरक अनुभव छन् । उतिबेला माइत आएका महिलाका लागि तीज वर्षभरिका कथा–व्यथा पोख्ने बहाना हुन्थ्यो । तीजको रौनक पनि छुट्टै लाग्थ्यो उनलाई ।

अघिल्लो दिन दरका रूपमा घरमै बनाएको खीर, मिठाईलगायत खानेकुरा खाइन्थ्यो । दरका खानेकुरा शुद्ध हुन्थे । माछामासु खान नहुने मान्यता थियो ।


‘व्रत बस्दा पानी पनि पिउन हुँदैन थियो,’ पहिले व्रत बसेको सम्झिँदै उनी भन्छिन्, ‘त्यसबेला दिउँसो मन्दिर जाँदा तिर्खा लाग्छ भनेर बिहान र साँझ मात्र जाने चलन थियो ।’ उनका अनुसार पहिले व्रत बस्दा ५ दिन अघिदेखि शाकाहारी खानेकुरा खाएर बस्ने र तोकिएको दिनमा मात्र दर खाने गरिन्थ्यो । ‘तीजको दिन दिनभर व्रत बसेर मादल बजाउँदै नाचगान गरिन्थ्यो,’ उनले भनिन्, ‘भोलिपल्ट पण्डित बोलाएर गोदान, पूर्ण–पात्रो, सिधा दान गरेर मात्र खाना खाइन्थ्यो ।’


तीजको पर्सिपल्ट ऋषि पञ्चमीका दिनको रौनक अर्कै हुन्थ्यो । दतिवन दाँत माझ्ने, पातको पानी चाल्ने बनाएर नुहाउने चलन थियो । तर, अब समय बदलियो ।


अहिले अचेल तीज आउन महिना दिन अघिदेखि नै पार्टी प्यालेसहरूमा दर खाने लहर चल्छ । फलफूल र शुद्ध खानेकुरा मात्रै होइन, मेनुमा माछा, मासुदेखि मदिराका अनेक प्रकार पनि हुन्छन् । थापाथलीस्थित रुद्रमति महादेव मन्दिरमा भेटिएका ब्राह्मण पुण्यहरि दाहालले ठट्टा गर्दै भने, ‘पहिलेको तीज व्यथा पोख्ने बहाना, अहिलेको तीजले पूरा गर्छ नाच्ने चाहना ।’

उनका अनुसार पहिलेका तीजमा छोरीहरू माइत आएर सुख, दुःखका कुरा गर्थे । वर्षभरिका कथा भन्थे । माइती–चेलीबीचको आत्मीयता भिन्नै हुन्थ्यो । अचेल तीजको दर खाने भन्दै महिनौं अगाडिदेखि होटल, रेस्टुरेन्टमा भेला हुने, नाचगान गर्ने गरिन्छ । ‘पहिलेको जस्तो आत्मीयता अहिलेको तीजमा छैन,’ उनी भन्छन्, ‘बजार हाबी भयो हाम्रो पर्वमा । त्यही भएर मौलिकता रहेन । मौलिकता नरहेपछि आत्मीयता पनि नहुँदोरहेछ ।’


रातो सारी, रातै चुरा
नागपञ्चमी सुरु भएपछि छुट्टै रमाइलो लाग्छ, काठमाडौं सिनामंगल बस्ने २१ वर्षीया उषा थापालाई । साउनभरि लगाइने हरियो चुरा, मेहेन्दी र त्यसपछि आउने तीजको पर्खाइमा हुन्छिन्, उनी । ‘रातो सारी, रातो चुरा मन पछर्,’ उनी भन्छिन्, ‘नाचगान, शिवजीको व्रत र मन्दिर यात्राले तीजलाई रमाइलो बनाउँछ ।’ तीजकै सपिङ गर्न घरबाट पैसा पनि पाइने हुँदा उनलाई तीज आगमन रमाइलो लाग्छ । सारी मात्र नभई उनी अरू लुगा पनि रातै किन्छिन्, तीजका बेला ।


व्रतमै विकृति
पहिलेको व्रतमा धार्मिकता र शुद्धता हुने पुरोहित दाहालले बताए । आत्मीयसाथ व्रत बस्ने चलन थियो उतिबेला । अहिले तीजको व्रत नाम मात्रैको हुन थालेको छ । यसलाई तडक–भडकले छोपिदिएको उनको अनुभव छ । उनका अनुसार जलाहार, निराहार र फलाहार गरी व्रत तीन किसिमको हुन्छ । ‘पहिलेका विवाहित महिला निराहार व्रत बस्थे,’ उनले सुनाए, ‘अर्थात् निर्जल । तर अहिले आफ्नो इच्छाअनुसार चल्छन् । पहिले दर खाएपछि पर्सिपल्ट पूर्णपात्र दान दिएर मात्र खाने मान्यता थियो । अहिले साँझमा पूजा गरेर त्यही दिन खाइन्छ ।’


उनका अनुसार पहिले–पहिले व्रत बस्दा ५ दिन अघिदेखि शाकाहारी खाना मात्रै खाने चलन थियो । व्रत बस्ने महिना दिन अघिदेखि नै दर खाने चलन छ, त्यो पनि मांसाहारी पेय पदार्थसहित । शिवजीका नाममा व्रत बस्दा मनलाई शान्त र स्थिर राख्न शाकाहारी खानाको चलन भएको हुनुपर्छ,’ उनी भन्छन्, ‘अब त्यतातिर कसको ध्यान जान्छ र ?’


सिधा दान बढ्दै
तीजको व्रत बसेको भोलिपल्ट शुद्ध भएर आत्मा प्रायश्चितस्वरूप गौदान गर्ने चलन छ । दाहालका अनुसार पहिले पहिले गाई नै दान गरिन्थ्यो । सबैले त्यसो गर्न नसकेपछि पैसामै परिणत गरी गौदान गर्ने चलन बस्यो । यो संस्कृति अहिले झन् बढ्दै गएको दाहालको दाबी छ । त्यस्तै निर्जल व्रत बसेपछि मनोकांक्षा पूर्ण होस् भन्दै ब्राह्मणलाई सिदा दान गर्ने चलन छ । यस्तो प्रकृतिको पूजा र सिधा दानमा भने केही परिवर्तन नआएको दाहालको बुझाइ छ ।

प्रकाशित : भाद्र १५, २०७६ १२:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्