कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जहाँ प्रतिस्पर्धा, त्यहाँ गुणस्तर’

कान्तिपुर संवाददाता

‘उच्च शिक्षा नेपालमै : स्वदेशमै शिक्षा, सबैको इच्छा’ भिजन मिडिया र एजुकेसन डटकमले यही साउन १७ र १८ गते काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा शैक्षिक मेलाको आयोजना गरेको छ  । यो छैटौं संस्करणको शैक्षिक मेलाको सन्दर्भमा आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत जीवन लामा गोलेसित गरिएको कुराकानी :

जहाँ प्रतिस्पर्धा, त्यहाँ गुणस्तर’

स्टडी इन नेपालको अवधारणा कहिले र कसरी ल्याउनुभयो ?
स्टडी इन नेपाल अवधारणा आजभन्दा ६ वर्ष अगाडि परिकल्पनासहित व्यवहारमा उतारेका हौं । उतिखेर ब्याचलर्स र मास्टर्स प्रोग्रामको तयारी कक्षाहरू सञ्चालन गर्थ्यौं । धेरैजसो परामर्शदाताहरूले विदेशको प्रोमोसनमात्र गर्थे । त्यसो हो भने किन नेपालमै उच्च शिक्षा हुन सक्दैन ? ‘स्वदेशमै शिक्षा, सबैको इच्छा’ भन्ने सारांश अघि सार्‍यौं । त्यसको अर्थ नेपालमै सीमित हुनुपर्छ भन्ने होइन । अन्तर्राष्ट्रिय युनिभर्सिटीको सम्बन्धनमा उच्च शिक्षा नेपालमा दिन सकिन्छ । त्यस्ता कलेजहरू छन् ।

टिममा कतिजना हुनुहुन्छ ?
हामी टिममा चार जना छौं । चारै जनाले त्रिवि शंकरदेव कलेजबाट एमबीएस सकेपछि नेपालमै केही गरौं । शिक्षा देशको मेरुदण्ड हो । शिक्षा क्षेत्रमा गर्न सकिन्छ । नयाँ पुस्तालाई सचेतना पैदा गरौं । औपचारिक तथा प्राज्ञिक शिक्षा महत्त्वपूर्ण छ ।

छैटौं संस्करणसम्म आइपुग्दाको अनुभव ?
सुरुमा शैक्षिक अवधारणा बनाउँदा धेरैजसो कलेज, संस्था र व्यक्तिले हामीलाई विश्वास गरेका थिएनन् । ‘स्टडी इन नेपाल पनि हुन्छ ?’ भनेर जिस्काए । भविष्यमा सम्भव छ भन्यौं । विश्वविद्यालय र कलेज बढेका छन् । आपसी प्रतिस्पर्धा छ । प्रवर्द्धन गरेमात्र दीर्घकालीन रूपमा चल्छ । हाम्रो धारणाअनुसार हरेक वर्ष शैक्षिक मेलामा कलेजहरूको अप्रोच र एक्सेस बढेको छ ।


विद्यार्थी संख्या बढ्दो छ । सुरुमा छ सयजनाले अवलोकन गरेका थिए । अहिले नौ हजारभन्दा बढीले अवलोकन गरेका छन् । कलेज सञ्चालकहरूमा शैक्षिक कार्यक्रमहरूको प्रवर्द्धन गर्नुपर्छ भन्ने धारणाको विकास भएको छ । जहाँ प्रतिस्पर्धा हुन्छ, त्यहाँ गुणस्तर वृद्धि हुन्छ ।

शैक्षिक मेला कुन तह केन्द्रित छ ?
यो ब्याचलर्स एजुकेसनमा बढी केन्द्रित छ । विद्यार्थीका निम्ति ब्याचलर्स डिग्री भनेको भविष्य तय गर्ने शिक्षा हो । अबको दस वर्ष, बीस, तीस वर्षपछिका निम्ति कुन क्षेत्रमा जान सकिन्छ । त्यो गन्तव्य निर्धारण गर्ने बेला हो । मेलामा ३६ वटा कलेज सहभागी छन् । त्यसमा त्रिवि, केयू, पोखरा, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल विश्वविद्यालय र विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग आबद्ध विभिन्न कलेजहरू पर्दछन् । सरकारी कलेज पनि सहभागी छन् ।

बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भनेझैं हो ?
ब्रान्ड मार्केटिङ सरकारी होस् या निजी सबैलाई चाहिन्छ । इन्डियन गभर्नमेन्टले प्रवर्द्धनको लागि शिक्षाको मात्रै होइन अन्डाको विज्ञापन गर्छ । तर नेपालमा त्यो छैन । त्यसैले हामी प्राइभेट संस्था जुटेर शिक्षाको प्रवर्द्धनमा जुटेका हौं । युवा विदेशिन्छ भनेर उसलाई रोक्न कडा नीतिमात्र काम गर्दैन । स्वदेशी शिक्षालाई राम्रो बनाउन जरुरी छ ।

यो मेलालाई सरकारले कसरी बुझेको छ ?
शैक्षिक मेला आयोजना गर्न शिक्षा मन्त्रालयबाट स्वीकृति लिएका छौं । तर सम्बन्धित निकाय टप लेभलको नीति निर्मातालाई थाहा नहुन सक्छ । हाम्रो अपेक्षा, सरकारले आर्थिक सहयोग गर्ने होइन । तर, अन्य लजिस्टिक, आइडियाहरू दिन सक्छ । विद्यार्थीलाई विदेशका विश्वविद्यालयमा हुने अन्तर्राष्ट्रिय कार्यशालाहरूमा नेपालका बारेमा प्रस्तुत गराउने नीति सरकारले ल्याउन जरुरी छ ।

पेडागोजीको विषयमा के कस्तो छ ?
नेपालका सबै विश्वविद्यालयको नीतिगत पक्ष लगभग एकैखाले छ । विश्वविद्यालयको शैक्षिक कार्यक्रम, अपडेट कोर्सहरू, क्यालेन्डरअनुसार परीक्षा सञ्चालन, नतिजा प्रकाशन मननीय पक्ष हो । संसारभरि चलेका अपडेटेड कोर्सहरू, फ्याकल्टी महत्त्वपूर्ण छन् । क्रेडिट कोर्स, ननक्रेडिट कोर्स जीवनोपयोगी सीप क्षमता दिन्छ/दिंदैन ? क्रेडिट कोर्सले सर्टिफिकेट दिने हो । ननक्रेडिट कोर्सले उनीहरूलाई बजारमा बिकाउ बनाइदिन्छ । त्यही भएर ननक्रेडिट कोर्स र प्राक्टिकल एक्सपोज कुन कलेजले बढी दिन्छ । त्यो हेरे विद्यार्थीले कलेज छान्न जरुरी छ । त्यसैले एउटै छानामुनि यो शैक्षिक मेला आयोजना गरिएको हो ।

संघीय संरचनामा मेला काठमाडौंमात्र हो ?
शैक्षिक मेलाको चौथो संस्करणसम्म काठमाडौंमा मात्रै केन्द्रित गरेका थियौं । पाँचौं शैक्षिक मेला उपत्यका बाहिर विराटनगर, वीरगन्ज, चितवन, बुटवल, नेपालगन्ज र धनगढीमा पनि आयोजना गर्‍यौं । स्थानीय कलेजहरूको समेत सहभागिता रह्यो । अहिले छैटौं काठमाडौंमा मात्र हुँदै छ । सातौं संस्करण उपत्यका बाहिर हुनेछ ।

शिक्षाको गुणस्तर बढावा दिने कसरी ?
हाम्रो उद्देश्य स्वदेशको विश्वविद्यालय, कलेजहरूले हाम्रो प्रवर्द्धन गर्ने हो । हाम्रो राम्रो प्रवर्द्धन भयो भने विदेश जाने आफैं रोकिन्छ । पहिले आफ्नो शैक्षिक संस्था बलियो बनाउनुपर्छ । अन्तर्राष्ट्रिय रूपमा काम लाग्ने कोर्स पढ्न नेपालमै सस्तोमा पढ्न पाइन्छ । त्योअनुसारको टेक्नोलोजी, पेडागोजी, भौतिक पूर्वाधार, दक्ष शिक्षक छन् । तर मान्छेले विश्वास गर्दैन । विश्वास दिलाउन क्रेडिबिलिटी बढाउनुपर्छ, शैक्षिक संस्थाले ।

यहाँ प्रवर्द्धन मात्रै गरेर पुग्दैन गुणस्तरमा पनि ध्यान दिनुपर्छ । सरकारले निश्चित विषयका नमुना कलेज प्रवर्द्धन गरोस् । त्यसनिम्ति विदेशबाट प्रोफेसर झिकाउन सकियोस् । स्वायत्त संस्थामा राजनीतिक हस्तक्षेप नहोस् । त्यसको नतिजा दस वर्षपछि निश्चित रूपमा बाहिर देखिनेछ । त्यतिखेर नेपालमा पढ्न विदेशी विद्यार्थीहरू आकर्षित हुनेछन् ।

प्रकाशित : श्रावण १७, २०७६ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?