कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

व्यवस्थापनले व्यावहारिक ज्ञान

धन, जन र वस्तुको कुशल प्रयोग गरी सफलता प्राप्त गर्ने उद्देश्यतर्फ उन्मुख गराउने विषय व्यवस्थापन हो । यसले कुनै पनि विषयमा पूर्वानुमान गर्न, योजना बनाउन, संगठन, आदेश, समन्वयजस्ता मुख्य काम गर्न सिकाउँछ ।
यज्ञ बञ्जाडे

राम्रो उद्यमी बन्न वा सजिलै जागिर प्राप्त गर्न चाहनुभएको छ ? त्यसो हो भने दस जोड दुई पास गरेपछि व्यवस्थापन विषय तपाईंका लागि उपयुक्त हुन सक्छ  । व्यवस्थापन विषयले तपाईंको इच्छा तथा चाहना पूरा गरिदिन सक्छ  । यो विषयले तपाईंलाई जागिर मात्र दिँदैन, राम्रो उद्यमी, व्यवस्थापक र व्यवसायी बन्ने सीप/सूत्र पनि सिकाउँछ ।

व्यवस्थापनले व्यावहारिक ज्ञान

धन, जन र वस्तुको कुशल प्रयोग गरी सन्तोषजनक सफलता प्राप्त गर्ने उद्देश्यतर्फ उन्मुख गराउने विषय व्यवस्थापन हो । यसले कुनै पनि विषयमा पूर्वानुमान गर्न, योजना बनाउन, संगठन, आदेश, समन्वयजस्ता मुख्य काम गर्न सिकाउँछ । व्यवस्थापन ‘थ्री एम’ अर्थात् म्यान, मनी र मेसिनको व्यवस्थापन गर्न सिक्ने विषय हो ।

सही समयमा यी तीन कुरा व्यवस्थापन गर्न जाने मानिस जुनसुकै कार्यमा सफल हुन्छ । मानिसभित्र सीप, कला, क्षमता, सोच, उत्प्रेरणा, मनोबल, दृष्टिकोण, रचनात्मकता आदि हुन्छ । भौतिक साधनभित्र मेसिन, उपकरण, प्रक्रिया, पद्धति, क्रियाकलाप आदि हुन्छ । यस्तै, वित्तीय साधनभित्र पुँजी, स्रोत, मुद्रा पर्छन् । यी सम्पूर्ण तत्त्वलाई एकीकृत गरी संगठनको लक्ष्य प्राप्तिमा उन्मुख गराउने काम व्यवस्थापनले गर्छ ।

यसकारण तपाईंका लागि व्यवस्थापन उपयुक्त विषय हुन सक्छ । बजारमा उपलब्ध विभिन्न विषयमध्ये व्यवस्थापनले जागिर मात्र होइन, उद्यमी बन्नका लागि पनि आवश्यक ज्ञान दिने इम्पिेरियल बिजनेस कलेजका प्रिन्सिपल प्रजित तिमिल्सिना उल्लेख गर्छन् । ‘व्यवस्थापनबाहेक विषय अध्ययन गरेको व्यक्ति उद्यमी हुन सक्दैन भन्ने होइन,’ उनले भने, ‘अन्य विषय अध्ययनको तुलनामा व्यवस्थापन विषयमा उद्यमी बन्न चाहिने धेरै शिक्षा (गुण) पाइने चाहिँ पक्कै हो ।’


न्यूनतम स्रोतसाधन र प्रयासबाट अधिकतम नतिजा प्राप्त गर्ने कला व्यवस्थापन हो । मानिसजस्तो जटिल प्राणीलाई युक्तिपूर्ण ढंगले काममा लगाउने शिक्षा दिने विषय व्यवस्थापन हो । यसकारण व्यवस्थापन विषयको अध्ययनपछि रोजगारीका लागि मात्र नभएर स्वरोजगारीका लागि पनि व्यवस्थापनबाट धेरै ज्ञान पाउन सकिन्छ ।

व्यवस्थापनमा अंग्रेजी, नेपालीसँगै अर्थशास्त्र, व्यवस्थापकीय सिद्धान्त, होटल व्यवस्थापन, कम्प्युटर, ट्राभल्स एन्ड टुरिजम्सलगायत विभिन्न विषय पढ्न पाइन्छ । यहाँ सैद्धान्तिकभन्दा व्यावहारिक (प्रयोगात्मक) अभ्यास धेरै हुन्छ । यसकारण विद्यार्थीले अध्ययनको दौरानमा धेरै प्रयोगात्मक कुरा सिक्न सक्छन् । पछिल्ला वर्षमा काठमाडौं उपत्यकालगायत मुलुकका प्रमुख सहरमा व्यवस्थापन विषयमा विद्यार्थीको आकर्षण बढ्नुले पनि यो पुष्टि हुन्छ ।


‘व्यवस्थापन पढेको विद्यार्थीका लागि व्यवसाय उत्तम क्षेत्र हो,’ लिबर्टी कलेजका प्रिन्सिपल विक्रम विष्ट भन्छन्, ‘बैंक तथा वित्तीय संस्था, बिमा मात्र होइन, कर्पोरेट र सरकारी क्षेत्रमा काम गर्न चाहनेका लागि पनि व्यवस्थापन उपयुक्त छ ।’ त्यस्ता कम्पनीले कर्मचारी भर्नाका क्रममा व्यवस्थापन (एमबीए, बीबीए, एमबीएस, बीबीएस) पास गरेका विद्यार्थीलाई प्राथमिकता दिने भएकाले रोजागारीको अवसर पाइने उनको भनाइ छ ।

व्यवस्थापन पढेका विद्यार्थीमा विषयगत ज्ञानका साथै नेतृत्व लिने र प्रस्तुतीकरण क्षमता निकै बढी हुने भएकाले काममा लगाउन सजिलो हुने बैंकरहरू बताउँछन् । व्यवस्थापन वाणिज्य, व्यवसाय र बिमासँग सम्बन्धित विषय भएकाले बैंक तथा वित्तीय संस्थामा बढी उपयोगी हुन्छन् । बैंक तथा वित्तीय संस्थाका लागि उपयोगी हुने खालको पाठ्यक्रम र इन्टर्नसिपमा आधारित शिक्षा हुने भएकाले प्रयोगात्मक ज्ञान बढी हुने उनीहरूको भनाइ छ । व्यवस्थापन पढेका विद्यार्थी जोसिलो, कामलाई सम्मान गर्ने, काममा एकाग्रता, जिम्मेवारी राम्रोसँग बहन गर्नेलगायत गुण विद्यार्थीमा पाइन्छ । उनीहरूमा सैद्धान्तिकसँगै कार्यदक्षता धेरै राम्रो हुने जानकारहरू बताउँछन् ।


व्यवस्थापनअन्तर्गत विभिन्न विषय अध्ययन गर्न पाइन्छ । केही प्रमुख र लोकप्रिय विषय यस प्रकार छन् । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा बीबीए/एमबीए विद्यार्थीको माग धेरै बढेको व्यवस्थापन विषयका कलेज सञ्चालकहरू बताउँछन् । यी विषय अध्ययन गर्ने विद्यार्थीलाई सैद्धान्तिकसँगै प्रयोगात्मक शिक्षा पनि दिइन्छ । बीबीएमा ५० प्रतिशत र एमबीएमा ६० प्रतिशत पाठ्यक्रम प्रयोगात्मक हुन्छ । यसकारण यी विषय अध्ययन गरेका विद्यार्थीमा दैनिक कामकाज सञ्चालन, क्रेडिट व्यवस्थापन र वित्तीय व्यवस्थापनको राम्रो ज्ञान हुने उनीहरूको दाबी छ । बीबीए/एमबीए अध्ययनरत विद्यार्थी तुलनात्मक रूपमा बढी मिहिनेती र पढाइमा रुचि राख्ने खालका हुन्छन् ।


बीबीए : ब्याचलर्स इन बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) खासगरी बैंकिङ र कर्पोरेट क्षेत्रसँग सम्बन्धित विषय हो । यसले वित्तीय बजारको बारेमा ज्ञान दिन्छ । न्यूनतम स्रोतसाधन र प्रयासबाट अधिकतम नतिजा प्राप्त गर्ने कला हो बीबीए । यो विषयमा अध्ययन गर्दा ५० प्रतिशत प्राक्टिकल र ५० प्रतिशत सैद्धान्तिक कक्षा हुन्छ । यसले रोजगारीका लागि मात्र नभएर स्वरोजगारीका लागि पनि व्यवस्थापनबाट धेरै ज्ञान पाउन सकिन्छ । बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा व्यवस्थापन बीबीए गरेका विद्यार्थी नै बढी उपयोगी हुन्छन् । बीबीए गरेका विद्यार्थीको वाणिज्य र व्यवसायसम्बन्धी जानकारी, कार्यपत्र प्रस्तुतीकरण र क्षमता प्रदर्शन राम्रो हुन्छ । तुलनात्मक रूपमा यी विषय अध्ययन गरेका विद्यार्थीमा नेतृत्व लिने र प्रस्तुतीकरण क्षमता राम्रो हुन्छ ।


बीआईएम : ब्याचलर्स इन इन्फरमेसन म्यानेजमेन्ट (बीआईएम) व्यवसायसँग सम्बन्धित जानकारी र सञ्चार व्यवस्थालाई अध्ययन गर्ने विषय हो । यो विषयमा व्यवसायसँग सम्बन्धित सिद्धान्त, विचार, विधि प्रक्रियालगायत विभिन्न औजारको अध्ययन गरिन्छ । यसले व्यवसायसँग सम्बन्धित सूचना प्राप्ति, विश्लेषणसँगै तिनको मूल्यांकन गर्न पनि सिकाउँछ । प्रविधि तथा सूचना व्यवस्थापनको क्षेत्रमा यो महत्त्वपूर्ण मानिन्छ । बीएचसीएम ः ब्याचलर्स इन हस्पिटल केयर म्यानेजमेन्ट (बीएचसीएम) पछिल्ला वर्षमा निकै रुचाइएको विषय हो । अस्पताल व्यवस्थापनलाई मुख्य विषय बनाएर यसको पाठ्यक्रम बनाइएको छ । यसले अस्पतालका डाक्टर, नर्सदेखि प्रशासन, लेखालगायत धेरै पक्षको व्यवस्थापन सीप प्रदान गर्छ । नेपालमा बढ्दो रूपमा अस्पतालको विकाससँगै यो विषयको महत्त्व बढेको जानकारहरू बताउँछन् । यो विषय अध्ययन गर्दा स्वदेश र विदेशमा सजिलै रोजगारी पाउनुका साथै राम्रो तलब सुविधा पनि पाइन्छ ।


बीएचएम : स्नातकस्तरमा होटल व्यवस्थापन विषय पढ्न चाहनेले ब्याचलर्स इन होटल म्यानेजमेन्ट (बीएचएम) पढ्नु राम्रो हुन्छ । दसजोड दुईमा होटल व्यवस्थापन पढेका विद्यार्थीका लागि यो विषय सान्दर्भिक हुन्छ । यसमा विभिन्न्न परिकार बनाउनेदेखि सबै प्रकारका होटल व्यवस्थापन, आतिथ्य संस्कारलगायत विविध कुरा सिकाइन्छ । यो प्राविधिक विषय भएकाले पनि विद्यार्थीलाई व्यावसायिक बन्ने सीप र कला प्रदान गर्छ ।

बीटीटीएम : ट्राभल्स एन्ड टुरिजमसँग सम्बन्धित विषय बीबीटीएम हो । ब्याचर्लस इन ट्राभल एन्ड टुरिजम्स (बीटीटीएम) मा यस क्षेत्रसँग सम्बन्धित सैद्धान्तिक र व्याहारिक विषय अध्ययन गरिन्छ । आन्तर्राष्ट्रिय स्तरको पर्यटन सेवा कसरी प्रदान गर्ने, त्यसको व्यवस्थापन, योजना निर्माण, राष्ट्रिय र विश्ववायी पर्यटकीय गतिविधिबारे जानकारी तथा व्यवस्थापन सिकाउने विषय हो– बीटीटीएम । अझै पनि नेपालमा अपेक्षित रूपमा पर्यटनको विकास तथा विस्तार हुन सकेको छैन । पछिल्ला वर्षमा विस्तारै विकास तथा विस्तारको सुरुवात भएको छ । यसकारण पनि यो विषयको महत्त्व धेरै छ ।


बीएचटीएम : पर्यटन र आतिथ्य संस्कार अध्ययन गर्न चाहनेका लागि ब्याचर्लस इन हस्पिटालिटी एन्ड टुरिजम म्यानेजमेन्ट (बीएचटीएम) उपयुक्त विषय हुन सक्छ । यो अध्ययन गर्ने विद्यार्थीले पर्यटन क्षेत्रमा व्यवस्थापन र आतिथ्य संस्कारसम्बन्धी ज्ञान पाउँछन् । त्यसैगरी, यस विषयको अध्ययन/अध्यापनले दक्ष र व्यावसायिक जनशक्ति निर्माण हुनुका साथै उद्यमशीलता पनि विकास हुन्छ ।

प्रकाशित : श्रावण १७, २०७६ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?