कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

समाज बुझ्न मानविकी

मानविकी यस्तो विषय हो, जसले मानिसलाई सामाजिक परिवेशमा बाँच्न र कार्य गर्न सिकाउँछ । यसले मानिसलाई सिजर्नशील बनाउनुका साथै असल नागरिक बन्न सदैव प्रेरित गर्छ ।
बुद्धिसागर मरासिनी

नेपालमा अझै पनि राम्रो नतिजा ल्याउने अधिकांश विद्यार्थी डाक्टर, इन्जिनियर, पाइलट बन्ने इच्छा राख्छन् । त्यस्ता विद्यार्थीहरू आफ्नो जीवनलाई सफल र सार्थक बनाउन मानविकी पनि उत्कृष्ट विषय हो भन्ने जानकारीको कमी देखिन्छ । वास्तवमा, जागिरका लागि विश्व बजारमा हाल हुने आधाभन्दा बढीको माग मानविकी अध्ययन गर्ने विद्यार्थीले पूर्ति गर्छन् ।

समाज बुझ्न मानविकी

हालै बेलायतमा गरिएको एक सर्वेक्षणअनुसार देशको समग्र रोजगारीको करिब ६० प्रतिशत मानविकी अध्ययन गर्ने विद्यार्थीले पूर्ति गर्छन् । पश्चिमा देशहरूमा मानविकीका विषयहरूलाई उच्च श्रेणीमा राख्ने गरिएको भए पनि हाम्रोजस्तो विकासोन्मुख देशमा यो पछि परेको छ । खासगरी अध्ययनपश्चात रोजगारीको चिन्ताले पनि त्यसो भएको कतिपयको बुझाइ छ ।


नेपालमा पनि अन्य विषय अध्ययनको तुलनामा रोजगारीमा संलग्न मानविकीका विद्यार्थीको अनुपात बढी छ । तर अन्य विषयको तुलनामा मानविक तथा समाजशास्त्रका विषयका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार, प्रयोगात्मक शिक्षाको व्यवस्था र विद्यार्थीको माग भने क्याम्पस, विश्वविद्यालय तथा सरकारका तर्फबाट सम्बोधन हुन सकेको छैन् । खासगरी भाषा, इतिहास र संस्कृतिमार्फत मानिसहरूबारे जानकारी लिनका लागि मानविकी निकै महत्त्वपूर्ण विषय हो । त्यसैगरी, सामाजिक न्याय, समानता, नैतिकतालाई बढावा दिने वा यस क्षेत्रलाई विकास गर्नमा मानविकीकै विद्यार्थीहरूको योगदान रहिआएको छ ।
मानविकी यस्तो विषय हो, जसले मानिसलाई सामाजिक परिवेशमा बाँच्न र कार्य गर्न सिकाउँछ । यसले मानिसलाई सिजर्नशील बनाउनुका साथै असल नागरिक बन्न सदैव प्रेरित गर्छ ।


त्यसका साथै कुनै विषयको गहिराइसम्म पुग्न, त्यसलाई व्याख्या वा विश्लेषण गर्न र समस्या समाधानका उपायहरू निकाल्न मानविकी निकै उपयोगी विषय हो । वास्तवमा भन्नुपर्दा मानविकीका विविध विषयले समाजलाई गतिशीलता प्रदान गर्दैै मानव सभ्यताको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
करिब एक दशकदेखि राजधानीका विभिन्न कलेजमा सामाजिक कार्य विषय अध्यापन गराउँदै आएका राजेशमान सिंह सामाजिक कार्य, समाजशास्त्र तथा मानवशास्त्र लगायतका विषयले समाज तथा सामाजिक गतिविधिबारे विद्यार्थीलाई सिकाउने मात्र नभई त्यसलाई चलायमान बनाउने सहयोग पुर्‍याउने बताउँछन् । उनी भन्छन्, समाजलाई गति दिन तथा मानव सभ्यताको विकासका लागि यी विषयहरू निकै महत्त्वपूर्ण छन् ।


त्यसैगरी, पछिल्लो समय बजार विस्तार र सूचना प्रविधिको प्रयोगसँगै कतिपय नयाँ नयाँ विषय तथा पाठ्यक्रमहरूसमेत मानविकी संकायमा थपिएका छन् । ती विषयहरूको अध्ययनले रोजगारीका अवसरसमेत बढाएका छन् । पछिल्लो समय स्नातक तहमा पढाइ हुने सामाजिक कार्य, आमसञ्चार तथा पत्रकारिता, ब्याचलर इन डेभलपमेन्ट स्टडिज (बिडेभ्स), ब्याचलर इन कम्प्युटर एप्लिकेसन (बीसीए), तथा अन्य विषयहरूले मानविकीको दायरा झन् फराकिलो बनाउँदै लगेको छ । त्यसमध्ये मानविकीअन्तर्गत अध्ययन, अध्यापन हुने अंग्रेजी तथा नेपाली भाषाले कुनै पनि विषयवस्तुप्रति मानिसको बुझाइको दायरा फराकिलो पार्छ । नीति कलेजहरूमा करिब एक दशकदेखि अंग्रेजी भाषाको अध्यापनमा संलग्न हरिकृष्ण लामिछाने भन्छन्, भाषा साहित्यको अध्ययनले मानिसलाई सिर्जनशील बनाउँछ र कुनै पनि विषयबारे विश्लेषण गर्न वा अवधारणा निर्माण गर्न सिकाउँछ ।


सरकार कार्यालय, निजी कम्पनी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थामा माग बढेसँगै कानुनमा स्नातक गर्ने विद्यार्थीहरूको संख्या ह्वात्तै बढेको छ । अध्ययनपश्चात् स्वरोजगारीको अवसर पनि हुने भएको कानुन विषयप्रति विद्यार्थीको आकर्षण देखिएको जानकारहरू बताउँछन् । त्यसैगरी, बढ्दो बजारीकरण तथा विश्वव्यापीकरणले मानविकीका विषयको दायरा झन् बढेको छ । प्रविधिको विस्तारसँगै फैलिएका आमसञ्चारका माध्यमहरू, गैरसरकारी संस्थाहरू तथा मानिसहरूमा अध्ययन अनुसन्धानको रुचिले पनि मानविकीको माग बढ्दै गएको छ । त्यसैगरी, अर्थशास्त्र, मनोविज्ञान, राजनीतिशास्त्र, दर्शनशास्त्र, भूगोल, इतिहास, ललितकला, साहित्य, फेसन प्रविधि, भाषा साहित्य, नाट्यकला, लगायतका विषयप्रति विद्यार्थीहरूको रुचिका कारण पनि मानविकीले बजारको माग बढाएको छ ।


यी सबै विषयहरू समाज र व्यक्तिका विभिन्न पक्ष तथा दैनिक क्रियाकलाहरूसँग कुनै न कुनै हिसाबले सम्बन्धित छन् । विद्यार्थीहरूमा सकारात्मक सोचको विकास, भाषागत दक्षता, प्रभावकारी प्रस्तुतीकरण, व्यक्तिगत खुबी, नयाँ नयाँ खोज तथा अनुसन्धान, नेतृत्व विकास गर्न तथा निर्णय क्षमतामा निपुण भई समाजलाई बाटो देखाउन मानविकीका विषयहरू अध्ययन गर्न आवश्यक छ ।

मानविकीका अधिकांश विषयहरूले समाजसँग सम्बन्ध राख्ने भएकाले विद्यार्थीहरूले कक्षाकोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक रूपमा समाजमा नै प्रयोग गर्नसमेत सक्छन् । त्यसैले स्नातक अध्ययनका लागि कसैको दबाब वा प्रभावमा नपरी विद्यार्थीले आफ्नो रुचि र क्षमता अनुसार विषय छनोट गरेको खण्डमा पक्कै पनि सफल बन्न सकिन्छ । किनकि व्यक्ति, समाज र राष्ट्रका लागि हरेक विषयको अध्ययन उत्तिकै महत्त्वपूर्ण छ ।

प्रकाशित : श्रावण १७, २०७६ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?