सुत्केरी याम, हल्ला नगर्नू ल !

बलराम घिमिरे

रसुवा — कतै हाब्रे भन्छन्, कतै भालु बिरालो । तामाङ भाषामा तवाङ । पूर्वमा पुणे कुँदो भन्छन् । हिमाली भेगमा पाइने यो दुर्लभ जनावरको अन्तर्राष्ट्रिय नाम रेडपान्डा हो । 

सुत्केरी याम, हल्ला नगर्नू ल !

यो लजालु स्वभावको हुन्छ, अन्य वन्यजन्तुभन्दा ज्यादै । बिहान र बेलुका सक्रिय हुने यसले एकान्त खोजिरहेको हुन्छ । आफ्नो

बासस्थान वरपर छिसिक्क केही भयो कि जन्माएको बच्चासमेत छाडेर हिँड्छ भनिन्छ ।

हाब्रेले बच्चा जन्माउने मुख्य मौसम सुरु भइसकेको छ, सामान्यतया जेठ १५ ताकादेखि दुई महिना । यस अवधिमा बासस्थान क्षेत्र प्रवेश गरेर रेडपान्डालाई ‘डिस्टर्ब’ नगर्न लाङटाङ राष्ट्रिय निकुञ्जले सबैलाई अनुरोध गरेको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने गोसाइँकुण्ड गाउँपालिका–५ ठूलो स्याफ्रुभन्दा माथि चोलाङपाटी, गुप्चे, पोलाङपाटी र ढोकाचेत खर्क हाब्रेको मुख्य बासस्थान मानिन्छ । हाब्रेमाथि विद्यावारिधि गरेका संरक्षणविद् स्वर्गीय प्रह्लाद योञ्जनले यहीँ अनुसन्धान गरेका थिए ।

बासस्थान क्षेत्र वरपर आवतजावत गर्दा र होहल्लाले हाब्रेलाई ‘डिस्टर्ब’ हुने भएकाले दुई महिनाका लागि भरसक कोही पनि प्रवेश नगर्न निकुञ्जले अनुरोध गरेको प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले कान्तिपुरलाई जानकारी दिइन् ।


‘बच्चा जन्माउने अवधिभर मात्र जंगल प्रवेश नगर्न सबैलाई भनिएको हो,’ उनले भनिन् । उनका अनुसार उक्त क्षेत्रमा गाउँलेलाई आउजाउ गर्न, दाउरा, घाँस नकाट्न भनिएको छ । बच्चा जन्माउन शान्त र एकान्त वातावरण बनाइदिने कर्तव्य पूरा गर्न गाउँलेसँग आग्रह गरिएको निकुञ्जका सूचना अधिकारी शिवलाल गैरेले बताए ।

यस क्षेत्रमा डेढ महिनाअघि एकै पटक पाँचवटा हाब्रे भेटिएको थियो । स्थानीयवासी पनि सक्रिय छन् । ठूलो स्याफ्रुवासीले गाउँमा नादाङ्चे चोरी सिकारी नियन्त्रण समूह गठन गरेका छन् ।

‘हामीले पनि बच्चा जन्माउने अवधिभर उनीहरूलाई खलबल्याउने गतिविधि नगर्न सबैलाई आग्रह गरेका छौं,’ समूहका अध्यक्ष नाक्पुदोर्जे तामाङले भने, ‘चौंरी गोठ लान र बस्तुभाउ चराउन हुँदैन भनेर सम्झाइबुझाइ गरेका छौं ।’ यो चौंरी गोठ सार्दै लेक लैजाने बेला हो । भेडाको चरन पनि माथि सर्दै जान्छ । ‘समूहले वर्षमा चारपटक गस्ती गर्ने गर्छ,’ तामाङले भने, ‘सिकारी आएको सूचना पाउनासाथ हामी गस्ती गइहाल्छौं ।’

८ देखि १० वर्ष आयु हुने यसको शरीर एक मिटरसम्म लामो हुन्छ । तौल ६ केजीसम्म हुन्छ । हिमालय क्षेत्रमध्ये नेपालदेखि पूर्वमा सिक्किम, भुटान, म्यानमार, दक्षिणी चीनमा यो पाइन्छ । जम्मैतिर गरेर जम्माजम्मी १० हजार हाब्रे रहेको मानिनेमा नेपाली भूखण्डमा एक हजारभन्दा केही बढी छन् भनिन्छ ।

संरक्षण क्षेत्र खुम्चिँदै जानु, मुख्य आहार बाँसका पात घरेलु जनावरसँग साझा गर्न विवश हुनुलगायत हाब्रे संरक्षणका चुनौती छन् । मुख्य कारण हो, एकान्त जंगलमा हस्तक्षेप बढ्नु ।

प्रकाशित : श्रावण ३, २०७६ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?