कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

पुरुषको दाह्रीकपाल काट्दै महिला

५० वर्षीया मञ्जुलादेवी १५ वर्षदेखि नाई पेसामा छिन्  सैलुन खोल्ने सपना उनको पुँजी अभावले भएन पूरा
जितेन्द्र साह

जहदा, मोरङ — एक महिला दाह्रीकपाल काटिरहेकी छन् । पालो कुरेर लहरै पुरुष बसिरहेका छन् । यो दृश्य कुनै महानगर वा नगरमा नभएर मधेसी, दलित एवं आदिवासी बहुल मोरङको जहदा गाउँपालिकाको हो ।

पुरुषको दाह्रीकपाल काट्दै महिला

पन्ध्र वर्षअघि पक्षघात भई श्रीमान् ओछ्यान परेपछि जहदा–४, फूलटोलकी ५० वर्षीया मञ्जुलादेवी ठाकुरले नाईको पेसाबाट परिवार धानिरहेकी छन् । घरधन्दा सकेर बिहान १० देखि ६ बजेसम्म यही पुर्ख्यौली पेसामा लाग्छिन् उनी । मञ्जुलादेवीले घरमा आउनेलाई मात्र नभएर बोलाएमा घरदैलोमा पुगेर पनि दाह्रीकपाल र नङ काटिदिन्छिन् ।


उनी मुन्डन कार्यक्रम एवं श्राद्धमा पनि पुग्छिन् । स्थानीयको घरमा हुने पूजाआजामा सामग्री व्यवस्थापनमा समेत पुजारीलाई सहयोग गर्छिन् । ‘नाई पेसामा पुरुषकै वर्चस्व छ तर उनी मोरङको दक्षिणपूर्वी भेकको मधेसी बस्तीमा यही काम गरेर बसेकी उनी पहिलो महिला हुन्,’ स्थानीय सामाजिक अभियन्ता युवा शंकर गामीले भने, ‘यो एकखाले सामाजिक क्रान्ति हो, मञ्जुला दिदीको आँट र मिहिनेतको सम्मान गर्छौं ।’


मञ्जुलादेवीलाई यो काम थाल्दा सहज थिएन । पुरुषप्रधान समाजमा अनेकखाले टीकाटिप्पणी सुन्नुपरेको थियो । ‘मौगी भ्याके मर्दन के दाह्रीकपाल काटै छि (महिला भएर पुरुषको दाह्रीकपाल काट्छे ?) भन्दै समाजले हेला गर्थ्यो,’ उनले भनिन्, ‘विस्तारै मेरो काम र मिहिनेत देखेर स्थानीयले इज्जत गर्न थाले, अब सामाजिक विभेदको सामना गर्नुपरेको छैन ।’


तीन छोरी र दुई छोराकी आमा उनका पति मैनु ठाकुरको पाँच वर्ष अगाडि स्थानीय भाषामा लकुवा भनिने पक्षघातले निधन भइसकेको छ । यसपछि घरकी मुखिया (मालकिन) उनी नै छिन् । आफैंले कमाएर छोरीको बिहे गरिसकेकी छन् । कक्षा–१० सम्म पढाएपछि जेठो छोरा मोहनको बिहे भएको छ । कान्छो रविन कक्षा–८ मा पढ्दै छन् ।


मञ्जुलादेवीको छोरा मोहनले पनि नाईकै पेसा अपनाएका छन् । उनले दिनहुँ औसत २ सय रुपैयाँ आम्दानी गरिरहेको बताइन् । यो बाहेक वर्षभरि दाह्रीकपाल काटेबापत गाउँका ३० किसानबाट स्थानीय भाषामा सिदा भनिने वार्षिक १५ मन धान पाउँछिन् । काम गर्न बोलाएमा उनी वरिपरिको कटहरी र धनपालथान गाउँपालिका समेत पुग्छिन् ।


‘खान, लाउनसम्म त पुगेको छ तर बिरामी पर्दा ऋण लिएर उपचार गराउनुपर्छ,’ उनले भनिन् । श्रीमान्को किरिया खर्च, तीन छोरीको बिहे खर्च, कान्छो ज्वाइँको निधन हुँदा छोरीलाई आर्थिक सहयोग गर्दा र घर बनाउँदा मञ्जुलादेवीमाथि करिब १ लाख रुपैयाँ ऋण भयो । ‘नाई पेसाबाटै आधा जति ऋण तिरेँ, आधा बाँकी छ,’ उनले भनिन्, ‘सहकारीलाई किस्ता किस्तामा रकम तिरिरहेकी छु ।’


ऐलानी जग्गामा घर बनाएर बसिरहेकी मञ्जुलादेवीको जीवन पीडा र संघर्षमै बितिरहेको छ । सात वर्ष अगाडि कामका लागि जाने क्रममा जहदाको छिमेकी गाउँ मोरङ कटहरीको नयाँबजारको सडकमा दुर्घटनामा परेकी मञ्जुलादेवीलाई टाउकोमा गम्भीर चोट लाग्यो । धेरै दिनसम्म उनको विराटनगरमा उपचार भयो । ‘तर अझै टाउको दुखिरहन्छ,’ उनले भनिन् । मञ्जुलादेवीको दुःखको समापन यही हुन्न ।


एक दशक अगाडि परिवार नियोजन गराइन् तर अहिले पाठेघरको भागमा दुख्दा उनलाई काम गर्न कठिन भइरहेको छ । ‘टाउको र पाठेघरको दुखाइको राम्ररी उपचार गराउन पाए हुन्थ्यो तर धेरै खर्च लाग्छ नि,’ उनले भनिन्, ‘पैसा नभएर डाक्टरकहाँ गएको छैन ।’ रोग र ऋणकै कारण गाउँमा एउटा सैलुन खोल्ने मञ्जुलादेवीको सपना पूरा हुन सकिरहेको छैन । उनलाई यसका लागि १ लाख रुपैयाँ आवश्यक छ ।

प्रकाशित : असार १३, २०७६ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?