कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नयाँ करिडोरमा आकर्षण

पर्यटन-पूर्वाधार
छोटो अवधिमै नवलपरासीस्थित भुमही–भैरहवा करिडोरमा दुई दर्जनभन्दा बढी उद्योग सञ्चालनमा आएका छन् । ती उद्योगमा ठूलो र सामूहिक लगानी धेरै छ ।
नवीन पौडेल

नजिकै दुईवटा भन्सार नाका  । त्यसले उद्योगका लागि आवश्यक कच्चा पदार्थ आयात गर्न सहज वातावरण  ।

यहाँ उत्पादित सामान निर्यातका लागि सजिलो हुने भएपछि पश्चिम नवलपरासीस्थित भूमही–भैरहवा करिडोरमा उद्योग सञ्चालनका लागि आकर्षण बढेको छ । छोटो अवधिमा उक्त खण्डमा दुई दर्जनभन्दा बढी उद्योग सञ्चालन भइसकेका छन् ।


ती उद्योगमा ठूलो र सामूहिक लगानी धेरै छ । उद्योग स्थापनाका लागि जग्गा खरिद गर्न दिनहुँ उद्योगी–व्यवसायी आउने गरेका छन् । यहाँबाट पूर्व–पश्चिम राजमार्ग नजिकै छ । जिल्ला मुलुकको मध्य भागमा रहेकाले धमाधम ठूला लगानीका उद्योग खुल्ने क्रम बढेको हो । रूपन्देहीको बेलहिया मुलुककै ठूलो भन्सार नाका हो । सरकारले केही समयदेखि जिल्लामै रहेको महेशपुर नाकालाई पनि मूल भन्सार कायम गरेर सेवा वृद्धि गरेको छ । आयात–निर्यात सहज हुने भएकाले लगानीकर्ता आकर्षित बनेका हुन् । यस करिडोरमा एसियन कंक्रिटो, सिमेन्ट उद्योग, मदिरा, रड, विदेशी ब्रान्डका बियर, स्टिल, पेय पदार्थ, खाद्यान्न, अटो मोबाइल्सलगायत १५ भन्दा बढी उद्योग सञ्चालनमा आइसकेका छन् । थप १४ उद्योग निर्माणको क्रममा छन् । जर्मनी प्रविधिको वार्स्टेनर बियर, पेप्सी, रुस्लान, हुलासको खाद्यान्न र अटो मोबाइल्स, कागज कारखाना, सिमेन्ट कारखाना सञ्चालनमा छन् ।


जिल्लामा साना–ठूला उद्योग सञ्चालन बढेको उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारीले बताए । ‘भैरहवा–लुम्बिनी करिडोरमा रहेका उद्योग पनि अहिले नवलपरासीतर्फ आकर्षित भएका छन्,’ उनले भने, ‘कच्चा पदार्थको सहज आयात र उत्पादित वस्तुको बजारीकरणका लागि मध्यभाग पर्ने भएकाले जिल्ला औद्योगिक हब बन्दै छ ।’ सरकारले महेशपुर भन्सारलाई मूल भन्सारका रूपमा सञ्चालन गरेपछि लगानीकर्ता थप आकर्षित भएका छन् । भैरहवा भन्सारले मात्र यस क्षेत्रमा आयात/निर्यात हुने वस्तुको भार थेग्न नसक्ने भन्दै नयाँ नाकाको स्तर वृद्धि गरिएको हो । भुमही–भैरहवा वाइपास सडक वरपर उद्योग सञ्चालन भइरहेका छन् । भैरहवा भन्सारले मात्रै उद्योगका लागि आवश्यक कच्चा पदार्थ, उपकरणलगायत मालवस्तु ढुवानी गर्दा महिनौं सुनौली नाकामा आएर थन्किने गर्थ्यो ।


पछिल्लो दुई वर्षमा मात्र भैरहवा–भुमही सडक खण्ड आसपास २९ वटा ठूला उद्योग थपिएको उद्योग वाणिज्य महासंघका प्रदेश ५ संयोजक गुणनिधि तिवारीले बताए । ‘मुलुकभरका ठूला लगानीकर्ताले पहिलो प्राथमिकता पश्चिम नवलपरासीलाई दिएका छन्,’ उनले भने, ‘दर्जनौं उद्योग पाइपलाइनमा छन् । करिब १० अर्ब रुपैयाँ लगानी जिल्लामा भित्रिएको छ । १५ वटा ठूला उद्योग सञ्चालनमा छन् भने थप १४ वटा सञ्चालनका लागि जग्गा र भौतिक संरचना निर्माणमा लागेका छन् ।’ उद्योग स्थापना भएपछि पछिल्लो एक वर्षमा मात्र परासी क्षेत्रका एक हजारभन्दा बढी अदक्ष कामदारले रोजगारी पाएका छन् भने तीन सयभन्दा बढी दक्ष जनशक्तिले गाउँमा रोजगारी गरिरहेका छन् ।


योजनामै सीमित
लामो समयदेखि जिल्लाका उद्योगी–व्यवसायीले औद्योगिक करिडोर स्थापनामा जोड दिँदै आएका छन् । त्यसका लागि सुनवलमा रहेको वन क्षेत्र वा अन्य स्थानको सार्वजनिक जग्गा सरकारसित भाडामा लिने वा सट्टा भर्ना दिने कार्ययोजना थियो । यही नारा उछालेर उद्योग वाणिज्य संघका तीन–चार कार्यकालको चुनाव भयो । अहिलेसम्म करिडोरको डीपीआर तयार हुन सकेको छैन । जग्गा उपलब्ध नहुँदा करिडोर बन्न नसकेको उद्योगी व्यवसायीले बताए । ‘करिडोर बनाउन लागेका थियौं । वन क्षेत्रमा नदिने र सार्वजनिक जग्गा उपलब्ध नहुँदा अधुरै भयो,’ उद्योग वाणिज्य संघ अध्यक्ष भण्डारीले भने, ‘अहिले अधिकांश उद्योग भैरहवा–भुमही खण्डमा स्थापना भएकाले यही क्षेत्रलाई हबका रूपमा विकास गर्नुपर्छ ।’


यहाँका उद्योगले अहिले खाडी मुलुकमा काम गरिरहेका नेपाली र भारतीय नागरिकलाई मा अनुसार सुविधा दिएर काममा लगाएका छन् । सुक्रौलीमा रहेको बहुराष्ट्रिय कम्पनी वार्स्टेनर र पेप्सी कम्पनीलगायत एक दर्जन कम्पनीमा भारतीय र विदेशी कामदारले काम गरिरहेका छन् । सामान्य मजदुरीबाहेक प्राविधिक काममा विदेशी कामदार लगाउँदा कम्पनीको खर्च बढ्नुका साथै लामो समयसम्म कर्मचारी टिकाउन पनि समस्या परिरहेको छ । समय समयमा कर्मचारी आवश्यकताको सूचना प्रकाशित गर्दासमेत दक्ष जनशक्ति पाउन नसकिएको एसियन कंक्रिटोका निर्देशक राजेश अग्रवालले बताए ।

प्रकाशित : जेष्ठ २०, २०७६ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?