कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

केन्द्रमा लुम्बिनी

पर्यटन-पूर्वाधार
प्रदेश ५ सरकारले लुम्बिनीलाई केन्द्र मानेर पर्यटकीय पूर्वाधार विकास गर्दै पर्यटनलाई समृद्धिको आधार बनाउने निर्णय गरेको छ । लुम्बिनी र बुद्ध दर्शनलाई व्यापक पार्न २०७६ लाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरेको छ ।
मनोज पौडेल

 पवित्र उद्यान  । विश्व शान्तिको मुहान  ।

केन्द्रमा लुम्बिनी

बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र । बुद्ध जन्मस्थल लुम्बिनीलाई जे उपमा दिए पनि हुन्छ । यहाँ बाह्रैमास स्वदेश र विदेशबाट शान्तिको सन्देश र प्रेरणा लिन आउनेको ओइरो लाग्छ । बुद्ध धर्मावलम्बी र अनुयायी तीर्थाटन गर्न आउँछन् । शुभेच्छुक र शुभचिन्तक शान्ति र सद्भावको ऊर्जा लिन आउने गर्छन् । घुम्न आउनेले यहाँ मायादेवी मन्दिर र सम्राट अशोकले बनाएको स्तम्भ मात्र छ भन्ठान्छन् । यथार्थ त्यसो होइन । यो विविधायुक्त बौद्ध संस्कृतिको सानो संसार हो । अर्थात्, ‘मिनी बुद्ध वर्ल्ड’ ।


यहाँ विभिन्न मुलुकका मन्दिर, विहार र गुम्बाका बनावट चित्ताकर्षक छन् । अहिलेसम्म पर्यटक भौतिक कुरा हेरेर फर्किने गरेका छन् । बुद्ध दर्शनबारे बुझाउन सकिएको छैन । प्रदेश ५ सरकारले लुम्बिनीलाई केन्द्र मानेर पर्यटकीय पूर्वाधार विकास गर्दै पर्यटनलाई समृद्धिको आधार बनाउने निर्णय गरेको छ । त्यसैले लुम्बिनी र बुद्ध दर्शनलाई व्यापक पार्न प्रदेश सरकारले ०७६ लाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरेको छ । भ्रमण वर्ष अवधिमा लुम्बिनीलगायत बौद्धस्थलको प्रवर्द्धन गर्ने कार्यक्रम छन् । ‘वर्षभरि बुद्धस्थल घुम्न आह्वान गर्ने कार्यक्रम सञ्चालन गरिनेछ,’ प्रदेशका पर्यटन मन्त्री लीला गिरीले भने, ‘भ्रमण संस्कृतिको विकास गरेर बृहत्तर लुम्बिनी विकास क्षेत्रको पर्यटन प्रवर्द्धन हुन्छ ।’ लुम्बिनीले विश्वकै ध्यान आकर्षित गर्ने उनले बताए । यस अवधिमा मुलुकभित्रका साथै विदेशमा लुम्बिनीको प्रचार गर्ने कार्यक्रम छ । अहिले पनि यहाँका पर्यटनसँग सरोकार राख्नेहरूले विभिन्न जिल्लामा पुगेर रोड सो सञ्चालन गर्नुका साथै लुम्बिनी भ्रमणका लागि निम्तो प्रदान गरिरहेका छन् ।


संघीय सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । त्यसलाई सघाउने गरी लुम्बिनी भ्रमण वर्ष मनाउन लागिएको हो । सन् २०१८ मा लुम्बिनीमा स्वदेशी/विदेशी गरेर १५ लाख पर्यटकले भ्रमण गरेका थिए । उक्त अवधिमा घुम्ने आन्तरिक पर्यटकको संख्यामा सन् २०१७ को भन्दा ६ प्रतिशतले कमी आयो । त्यसैले भ्रमण वर्ष आयोजना गरेर २० लाख पर्यटक पुर्‍याउने लक्ष्य राखिएको छ । पर्यटकलाई लुम्बिनी, तिलौराकोट, देवदह र रामग्रामलगायत स्थानमा पुर्‍याउने र तिनको बसाइ लम्ब्याउने लक्ष्य रहेको पर्यटनमन्त्री गिरीले बताए । गत जेठ ४ गते बुद्ध जयन्तीका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको सुरुआत गरेकी हुन् । लुम्बिनीमा जन्मेका बेबी बुद्ध (राजकुमार सिद्धार्थ) अर्को दिन तिलौराकोट राजदरबारमा हर्षबढाइँ गरी भित्र्याएर मायादेवी प्रसूति उत्सव मनाइयो । भ्रमण वर्षकै अवसरमा सातै प्रदेश र संघीय राजधानी पुगेर पत्रकार सम्मेलन गरी लुम्बिनी भ्रमणको निम्तो बाँडिएको छ । लुम्बिनी भ्रमणको आकर्षण थप्न सातवटै प्रदेशका सहरमा रोड सो भयो । भारतका बौद्ध स्थल पुगेर पनि रोड सो गर्ने बताइएको छ । अन्य आकर्षणमा लुम्बिनी फुड फेस्टिबल, सुजाता खिर उत्सव र सडक प्रदर्शनी रहे । लुम्बिनी पिस म्याराथन र निबन्ध प्रतियोगितालगायत प्रवर्द्धनात्मक कार्यक्रम पनि गरिनेछ । ‘भ्रमण वर्षले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा लुम्बिनीको गतिलो प्रचार पुग्छ,’ नाटाका प्रथम उपाध्यक्ष सञ्जय बजिमयले भने, ‘पर्यटक संख्या र उनीहरूको बसाइँ लम्बिन्छ ।’ भ्रमण वर्षका लागि प्रदेश सरकारले ४ करोड १९ लाख ६० हजार रुपैयाँ विनियोजन गरेको छ । चालु आवका लागि २ करोड २७ लाख ९० हजार र आगामी वर्षका लागि १ करोड ९१ लाख ७० हजार विनियोजन गरेको छ ।


लुम्बिनीका आकर्षण
लुम्बिनी क्षेत्रमा थुप्रै पुरातात्त्विक स्थल छन् । बुद्धसँग जोडिएका धेरै स्थानको संरक्षण र विकास हुन बाँकी छ । अहिलेसम्म विकास भएको बुद्ध जन्मस्थल लुम्बिनी हो । यहाँ आकर्षणका रूपमा धेरै विहार र मन्दिर रहेका छन् । लुम्बिनीको पश्चिम क्षेत्रमा जर्मनीको द ग्रेट लोटस स्तूपा आकर्षक छ । सरसफाइ, हरियाली र रंगीचंगी फूलले वातावरणलाई मोहक तुल्याउँछ । त्यहाँ बुद्धको जीवनी मूर्तिमार्फत प्रदर्शन गरिएको छ । बुद्धको गर्भ प्रवेशदेखि महापरिनिर्वाणसम्म देख्न पाइन्छ । आकर्षक कलाकृति र पेन्टिङ छ । नेपालले निर्माण गरेको युनाइटेड टुंगाराम विहार आकर्षक देखिन्छ । यो विहार ताइवानीको सहयोगमा नेपाली संस्थाले निर्माण गरेको हो । चीनको जोङहुवा बौद्ध मोनास्ट्रीले लोभ्याउँछ ।


छिङताव शैलीमा राजदरबारजस्तो डिजाइनमा बनाइएको छ । त्यहाँ पुग्दा चीनको कला संस्कृति र परम्परा जीवन्त देख्न सकिन्छ । ‘हामी नेपालीलाई करुणामैत्री, सद्भाव र मित्रताको अनुभूति गराउन चाहन्छौं,’ मोनास्ट्री प्रमुख गुरु सु चुङ युङले भने, ‘त्यसैको प्रतिविम्ब यहाँ मोनास्टी देख्न सक्छौं । यहींबाट हामी बुद्धको पञ्चशील फैलाउँछौं ।’ त्यस्तै, भियतनामी विहार पनि राम्रो छ । भियतनामको परम्परा यहाँ झल्किन्छ । बुद्धको जीवनीसँग सम्बद्ध भित्ते चित्र कलात्मक ढाँचामा छन् । त्यस्तै अस्ट्रियाको गेडेन र फ्रान्सको लिनसन टेम्पल पनि हेर्नलायक छन् । त्यस्तै दक्षिण कोरिया, जापान, क्यानडा र सिंगापुर विहार पनि मन छुने खालका छन् । निर्माणाधीन भए पनि नेपालको नेपाल ब्रजयाना समुदाय र सेतो गुम्बा विहार पनि मनमोहक छन् ।


त्यस्तै, पूर्वी क्षेत्रका विहार पनि कम्ता मन छुने खालका छैनन् । सबैभन्दा राम्रो रोयल थाई विहार छ । थाइल्यान्डको रोयल आर्किटेक्ट कला र शैलीमा विहारलाई जीवन्तता दिइएको छ । मन्दिरको टुप्पोमा हिमालजस्तो चुचुरो बनाई हिमालयको देश भनेर चिनिने नेपालसँग प्रगाढ सम्बन्ध मन्दिरमै झल्काइएको छ । त्यस्तै मन्दिरमा हिमालजस्तै टल्कने देखियोस् भनेर सेतो रंग लगाएर आकर्षण थपिएको छ । अहिलेको बढी आकर्षण कम्बोडियाको विहार छ । त्यहाँ कम्बोडियाकै कला संस्कृति झल्कने गरी मोनास्ट्री बनाइएको छ । मोनास्ट्रीको मुख्य आकर्षण मन्दिरभित्र पीपलको रुखमुनि ध्यानमग्न भगवान् गौतम बुद्धको मूर्ति रहेको छ । रुख कृत्रिम रूपमा बनाइए पनि दुरुस्तै उतारिएको छ । मन्दिर चढ्ने सिंढीका दुवैतिर लामो घुमाउरो ड्र्यागन बनाइएको छ । निकै मसिनो रूपमा कुदिएको कलाकृति हेर्दै माथि चढेपछि मन्दिर प्रवेश द्वार छ । चारैतिरको मन्दिर प्रवेशको मुख्य प्रवेश द्वारमा दायाँबायाँ सुन्दर–सुन्दरीको चित्र छ । स्वागत गर्न तम्तयार अवस्थामा रहेका सुन्दरीका तस्बिरलाई काठमा कुदेर देखाइएको छ । मन्दिरका भित्र र बाहिर भित्तामा पनि बुद्धको जीवनसँग सम्बन्धित चित्र, पेन्टिङ र थान्का बनाइएको छ ।


त्यस्तै आकर्षक म्यानमारको गोल्डेन टेम्पल छ । सुनौलो रङमा गजबको चैत्य बनाइएको छ । त्यहाँ पुग्दा राजधानी याङगुन पुगेको अनुभूति हुन्छ । त्यस्तै श्रीलंकन महाविहार पनि उत्तिकै आकर्षक छ । त्यहाँ पत्रिव बोधी वृक्षमुनिको बुद्ध प्रतिमाले आस्था र पवित्रता बढाएको छ । महाबोधी समाज कलकत्ता, अन्तर्राष्ट्रिय गौतमी भिख्खुनी मन्दिर र बोधी इन्स्टिच्युटले पनि आकर्षण थपेका छन् ।
यहाँ म्यानमार, थाइल्यान्ड, चीन र श्रीलंका सरकारले विहार सञ्चालन गरेका छन् । अन्य विहार विभिन्न मुलुकका बौद्ध संघसंस्थाले सञ्चालन गरेका हुन् ।

‘एकै स्थानमा धेरै परम्परा र संस्कृति जान्न/बुझ्न सक्ने वातावरण विश्वका कुनै ठाउँमा पाइँदैन,’ लुम्बिनी विकास कोषका योजना प्रबन्धक सरोज भट्टराईले भने, ‘लुम्बिनीमा यी सबै मुलुकका कला संस्कृति अध्ययन गर्न सकिन्छ ।’ विश्वमा अशान्ति र द्वन्द्व बढिरहेका बेला त्यसको न्यूनीकरण गर्न लुम्बिनीबाटै प्रेरणा पाउन सकिने उनले बताए ।


त्यसकारण यस्तो अद्वितीय ठाउँको विश्वमा महिमा फैलिंदै गएको छ । बुद्धबारे गहन अध्ययन र पुरातत्त्वको मौलिक विश्लेषण यहाँ पाइन्छ । यहाँ विहार रहेका बौद्ध मुलुकका गतिविधि, संस्कृति र कलाको अनुपम संगम लुम्बिनीमा रहेकाले यसको महत्त्व विश्वव्यापी रूपमा बढेको पुरातत्त्व तथा संस्कृतिविद् डा. गीतु गिरीले बताए । ‘बौद्ध संस्कृति र कला बुझ्न लुम्बिनी विश्वकै महत्त्वपूर्ण गन्तव्य हो,’ उनले भने, ‘त्यही भएर हाम्रो साझा धरोहरप्रति हामी गर्व गर्छौं ।’


लुम्बिनीको विकास
सन् १९५६ मा राजा महेन्द्रले सडक, विहार र धर्मशाला निर्माण गरेर लुम्बिनीको विकास थालनी गरेका थिए । सन् १९६७ मा संयुक्त राष्ट्र संघका महासचिव उत्थान्तले लुम्बिनी भ्रमण गरे । यस्तो महत्त्वपूर्ण स्थलको दयनीय अवस्था देखेर लुम्बिनीको विकासलाई अन्तर्राष्ट्रिय मुद्दा बनाए । १९७० मा संयुक्त राष्ट्र संघको आह्वानमा लुम्बिनी विकासका लागि अन्तर्राष्ट्रिय समिति बन्यो । त्यसै वर्ष जापानी वास्तुकलाविद् केन्जो टाङ्गेलाई लुम्बिनीको गुरुयोजना बनाउन नियुक्त गरियो । १९७८ मा नेपाल सरकारले उनको गुरुयोजना स्वीकृत गर्‍यो ।


गुरुयोजनाको काम अहिले पनि जारी छ । १९८५ मा लुम्बिनी विकास कोष गठन भयो । सन् १९९३ देखि यहाँ विहार र मन्दिर बन्न थाले । त्यसपछि विकासका काम देखिन थाले । १९९७ मा लुम्बिनी विश्व सम्पदामा सूचीकृत भयो । अहिले प्रदेश र संघीय सरकारले यसको विकासमा काम गर्दै आएका छन् ।

प्रकाशित : जेष्ठ २०, २०७६ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?