कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बढ्दै स्टिल उद्योग

पर्यटन पूर्वाधार
चार वर्षअघिको भूकम्पपछि सुरू भएको पुनर्निर्माणले उद्योग खुल्ने क्रम बढेको छ । लगानीमैत्री तावरण र अन्यत्रको तुलनामा बजार राम्रो हुँदा स्टिल उद्योगमा आकर्षण बढेको छ ।

 
तीन वर्षअघिसम्म रूपन्देहीमा तीन–चारवटा स्टिल उद्योग मात्रै थिए  । अहिले आठवटा पुगेका छन्  ।

बढ्दै स्टिल उद्योग

रूपन्देही आसपासका कपिलवस्तु र पश्चिम नवलपरासीमा समेत गरी दर्जन स्टिल उद्योग सञ्चालनमा छन् । चार वर्षअघिको भूकम्पपछि सुरु भएको पुनःनिर्माणले उद्योग खुल्ने क्रम बढेको हो । ‘यस क्षेत्रमा उद्योगमा लगानीको वातावरण राम्रो छ,’ एसआर स्टिलका सञ्चालक सुरज उप्रेतीले भने, ‘फलामे डन्डीको बजार पनि अन्यत्रको तुलनामा राम्रो छ ।’


उप्रेतीका अनुसार मुलुकभर २५ स्टिल उद्योग छन् । भैरहवा र आसपास एसआर, पञ्चकन्या, एभरोल, श्री स्टिल, काठमान्डु, लक्ष्मी, सिद्धिलक्ष्मी, गोयन्का, अम्बे, फेरो स्टिल र हाइटेक स्टिल सञ्चालनमा छन् । कपिलवस्तुमा विजयाश्री र बाँकेमा बागेश्वरी र जयअम्बे सञ्चालनमा छन् । मधेस आन्दोलन र भारतीय नाकाबन्दीका बेला भैरहवा सहज नाकाका रूपमा स्थापित भएपछि स्वदेशी र विदेशी लगानी आकर्षित भएको हो ।


अहिले मुलुकमा फलामे डन्डीको खपतभन्दा उत्पादन धेरै भइरहेको उद्योगी उप्रेतीले बताए । उनका अनुसार मुलुकभरि वार्षिक १२ लाख मेट्रिक टन माग छ । वार्षिक ३५ लाख मेट्रिक टन उत्पादन भइरहेको छ । आयोजनाहरूको समयमै निर्माण सम्पन्न नहुनु र कतिपय वैदेशिक दातृ निकायबाट सञ्चालित आयोजनामा सीधै विदेशबाट यस्ता सामग्री आयात गरिनु उद्योगलाई चुनौती बनेको उनले बताए । उद्योगका लागि आवश्यक भौतिक पूर्वाधार, शान्ति सुरक्षा, जनशक्तिको आपूर्ति, बैंकिङ सहजता, तीव्र गतिमा सहरीकरण, राष्ट्रिय र अन्तर्राष्ट्रिय आयोजना र रेमिट्यान्सलगायतले यस क्षेत्रमा आर्थिक गतिविधि बढ्दो छ ।


भूकम्पपछि घर तथा भवन बलियो बनाउनु पर्ने र विनाश भएका संरचना पुनःनिर्माण गर्नु परेकाले मागसँगै उद्योग बढेको पञ्चकन्या स्टिल उद्योगका सञ्चालक तथा पञ्चकन्या औद्योगिक समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले बताए । ‘भूकम्पले गर्दा निर्माण गरिने संरचनाको गुणस्तरमा ध्यान दिन थालियो,’ उनले भने, ‘त्यसभन्दा अघि घर बनाउँदा आवश्यकताअनुरूपको छडसहितको पिल्लरतर्फ उति ध्यान दिइँदैनथ्यो ।’ यहाँ उत्पादित सामग्री अन्यत्र आपूर्ति गर्न र कच्चा पदार्थ एवं औद्योगिक मेसिनरी आयात गर्न सहज भएकाले उद्योग बढेको उनले बताए । भूकम्प र अत्यधिक लोडसेडिङ हुँदा नेपालमा फलामे डन्डीको माग बढेपछि यहाँ उद्योग बढेको एभरेस्ट रोलिङ मिलका सञ्चालक तथा गोयन्का समूहका निर्देशक अरुण गोयन्काले बताए । ‘त्यतिबेला भारतबाट आयात गर्नु परेको देखेर धेरैले लगानी गरे,’ उनले भने, ‘अहिले खपतभन्दा उत्पादन धेरै हुन थालेको छ ।’


भैरहवा भन्सारको तथ्यांकअनुसार चालु आवको वैशाख मसान्तसम्ममा यस नाकाबाट २० अर्ब ९६ करोड ७८ लाख रुपैयाँ बराबरको ३ लाख ६१ हजार मेट्रिक टन एमएस ब्लेड आयात भएको छ । गत आवको यही अवधिमा १८ अर्ब २६ करोड रुपैयाँको ३ लाख ५२ हजार मेट्रिक टन आयात भएको थियो । प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठले रूपन्देहीमा औद्योगिक लगानीको वातावरण राम्रो, सडक विस्तार र निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले निजी लगानीलाई आकर्षित गरेको बताए । ‘अर्बौं लगानीमा सञ्चालित आयोजनामा हुने गरेको खर्चले विभिन्न माग तयार गरेकाले व्यवसायी लगानीका लागि आइरहेका छन्,’ उनले भने, ‘रूपन्देही र आसपासका क्षेत्र बृहत् सहरका रूपमा अघि बढिरहेका छन् ।’
माधव ढुंगाना

प्रकाशित : जेष्ठ २०, २०७६ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?