कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

जब रातो कार्पेटमा कण्टेनर गुड्यो ...

रमेश लम्साल

काठमाडौँ — पुलमा रातो कार्पेट बिच्छ्याइएको छ । पंक्तिवद्ध रुपमा नेपाली र चिनियाँ अधिकारी उपस्थित छन् । लाग्छ आज नयाँ बेहुली भित्र्याइँदैछ । नेपाली र चिनियाँ झण्डा फहराइएको छ । फूलका बुकी बोकेका नेपाली र चिनियाँ नागरिक लामवद्ध भएर बसेका छन् । यो दृश्य हो तातोपानीमा अवस्थित नेपाल र चीन जोड्ने मितेरी पुलको ।

जब रातो कार्पेटमा कण्टेनर गुड्यो ...

जब ना ६ ख ४७५१ नम्बरको कन्टेनर चिनियाँ भूमि हुँदै मितेरी पुलमा ओच्छ्याइएको रातो कार्पेटमा प्रवेश गर्‍यो, तब भव्यताका साथ स्वागत गरियो । नेपाली समुदायले ताली बजाए भने चिनियाँ पक्षले भने ताली बजाएर कन्टेनरलाई नेपालतर्फ अगाडि बढ्न आग्रह गरे । खासाबाट ऊन बोकेर आएको कन्टेनर नेपाल प्रवेश गरेसँगै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलगायत नेपाली पक्ष र चिनियाँ उच्च प्रतिनिधिले नाका औपचारिक रुपमा खुला भएको घोषणा गरे ।


एउटा उत्सव जस्तो लाग्ने कार्यक्रम मितेरी पुलमा आज आयोजना गरिएको हो । उक्त महत्वपूर्ण अवसरको समाचार सङ्कलनका लागि नेपाली र चिनियाँ सञ्चारकर्मी समेत बाक्लो रुपमा नाकामा उपस्थित भएका थिए । आज गणतन्त्र दिवस जस्तो महत्वपूर्ण अवसर पारेर नाका सञ्चालनमा ल्याइएको हो ।


सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले भव्यताका साथ नाका सञ्चालनमा आएको जानकारी दिइन् । उनले नाका सञ्चालनमा आएपछि त्यसले दुई देशको सम्बन्ध समेत नयाँ उचाइमा पुगेको र व्यापार व्यवसायको उन्नयनका लागि समेत महत्वपूर्ण योगदान दिने बताइन् ।


एक हजार ४९५ दिनपछि सञ्चालनमा आएको तातोपानी नाकालाई औपचारिकता दिन आयोजित समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव, प्रतिनिधिसभा सदस्यद्वय अग्निप्रसाद सापकोटा, शेरबहादुर तामाङलगायत नेपाली व्यापारी व्यवसायी, अध्यागमन र भन्सार कार्यालयका प्रमुख तथा पदाधिकारी सहभागी थिए ।


पुलमा उभिएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री यादवले भूकम्पपछि बन्द भएको नाका सञ्चालनमा ल्याउन चीनले गरेको प्रयासको मुक्तकण्ठले प्रसंशा गर्दै धन्यवाद दिए । नेपाल र चीनबीचको सम्बन्ध सयौं वर्ष पुरानो रहेको औंल्याउँदै मन्त्री यादवले सम्बन्धलाई अझै प्रगाढ बनाउँदै लैजानुपर्नेमा जोड दिए । मन्त्री यादवले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको भन्दै नाकालाई थप व्यवस्थित र मर्यादित बनाउन सरकारले कुनै पनि कसर बाँकी नराख्ने उल्लेख गरे ।


कार्यक्रममा चीनका भन्सार प्रशासनसम्बन्धी उपमन्त्री, तिब्बत सरकारका उच्च अधिकारीसँगै नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले तातोपानी नाका सञ्चालनमा आएसँगै दुई देशको व्यापारमा थप सहजता थपिने बताए । गोरखा भूकम्पले क्षतिग्रस्त बनाएको मितेरी पुलको मंगलबार राति मात्रै निर्माण सम्पन्न भएको हो ।


तातोपानी नाकामा आज बिहानैदेखि ठूलो भीडभाड थियो । लामो समयपछि खुल्न लागेको नाकामा आयोजित कार्यक्रमलाई विशेष बनाउन स्थानीय भोटेकोशी गाउँपालिकाले पनि स्थानीयवासीलाई परिचालन गरेको थियो । खासाबाट ऊन ल्याउनका लागि मङ्गलबार बिहानै मात्रै चार कन्टेनर त्यसतर्फ लागेका थिए । सोमबार मात्रै दश नेपाली कामदारसमेत खासा गएका थिए ।


नाका खुलाउने अन्तिम तयारीका लागि गृहमन्त्री रामबहादुर थापा, नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवम् सिन्धुपाल्चोकका प्रतिनिधिसभा सदस्य अग्निप्रसाद सापकोटालगायतको टोलीले यही शनिबार स्थलगत निरीक्षण गरेको थियो ।


नाका खुल्ने खबरसँगै नेपाल र चीन दुवैतर्फ व्यापारी तथा व्यवसायीको समेत चहलपहल बढेको छ । वार्षिक २० अर्ब रुपैयाँको आयात र तीन अर्ब रुपैयाँ बढीको निर्यात हुने सो नाका सञ्चालनमा आउने खबरपछि स्थानीय व्यवसायीसमेत उत्साहित भएका छन् । भूइँचालोपछि खाली रहेको अध्यागमन र भन्सार कार्यालय सफासुग्घर बनाई सञ्चालनमा ल्याइएको छ ।


राष्ट्रपति विद्यादेवी भण्डारीको हालै भएको चीन भ्रमणको क्रममा नाका खोल्ने विषयमा औपचारिक सहमति भएको थियो । त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष चीन भ्रमणको क्रममा नाका खोल्ने विषयमा द्विपक्षीय समझदारी भएको थियो । सिन्धुपाल्चोकका प्रतिनिधिसभा सदस्य सापकोटाका अनुसार लामो प्रयास र मिहेनतपछि नाका सञ्चालमा आएको हो ।

प्रकाशित : जेष्ठ १५, २०७६ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?