कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

६० कटेपछि कक्षा १

प्रतीक्षा काफ्ले

स्याङ्जा — उमेर ६२ । कक्षा १ । ल।क्ष्मीदेवी उपाध्याय पुतलीबजारस्थित जनता माध्यमिक विद्यालयकी नियमित विद्यार्थी हुन् । पुतलीबजार नगरपालिका-७, अर्चलबोटकी उनले भनिन्, ‘सानो उमेरदेखिको पढ्ने इच्छा बल्ल पूरा गर्दै छु ।’

६० कटेपछि कक्षा १

पुतलीबजार नगरपालिका-७, अर्चलबोटकी उनी वैशाख ८ गते विद्यालयमा भर्ना भएकी हुन् । उनीसँगै ठूलाडिहीकै ५८ वर्षीया भीमकला रेग्मी पनि पढछिन् । लक्ष्मीदेवीबाटै प्रेरित भएर विद्यालय आउन थालेको उनले बताइन् । भीमकला विद्यालय जान थालेको एक साता नाघेको छ ।


लक्ष्मीदेवीका ३ छोरी, २ छोरा र ६ नातिनातिना छन् । ‘म सानी छँदै बाबुआमाको मृत्यु भयो, ४ जना भाइबहिनीको जिम्मेवारी आफैंमा सर्‍यो,’ उनले भनिन्, ‘भाइबहिनीदेखि छोराछोरीसम्मलाई पढाएँ । मेरै इच्छा भने मनमै बिलाएको थियो ।’ श्रीमानको ०६२ सालमा मृत्यु भएर एक्लिएपछि उनमा पढ्ने इच्छा झन् बढ्यो । उनका छोराछोरी जागिर खान्छन् ।


दुईवटा भैंसी पाल्दै आएकी उनले तरकारी खेती पनि गर्थिन् । खेती गर्न नसक्ने भएपछि विद्यालय भर्ना भएको उनले बताइन् । ‘केटाकेटीसँग जिस्कँदै/कराउँदै आमा बनेर गाली गर्दै पढ्नुको मज्जा छुट्टै हुँदो रहेछ,’ लक्ष्मीदेवीले भनिन् । लक्ष्मीदेवी बिहान १० बजे विद्यालय जान्छिन् र १ बजे घर फर्किन्छिन् । ‘घरमा खासै काम छैन, समय कटाउन पनि गाह्रो भएको थियो,’ उनी भन्छिन्, ‘दिनभरि कक्षा लिन्छु । बेलुका सबै काम सकेर होमवर्क गर्छु । अनि सुत्छु ।’


एसईई दिने उनको लक्ष्य छ । ‘सुरु-सुरुमा लाज लागेको थियो, पछि हौसला बढदै गयो,’ उनले भनिन्, ‘छोराछोरीसँग गुनासो गर्न नपरे पुग्छ । नातिनातिनालाई कखरा चिनाउने लक्ष्य मेरो छ ।’ नातिनातिनासरहका विद्यार्थीसँग पढदा रमाइलो हुने उनको भनाइ थियो । उनी एबीसी, कखरा, एक, दुई, तीन, जोड-घटाउ राम्रोसँग गर्न र भन्न सक्ने भइसकेकी शिक्षिका शान्ता रेग्मीले बताइन् ।


भीमकलाको घर स्कुलसँगै जोडिएको छ । ‘बिहानै छिट्टै आउँछ र बेलुकासम्म पढ्ने गर्छु,’ उनले भनिन् । ३ छोरा, १ छोरी, १ नातिनीकी हजुरआमा भइसकेकी भीमकलाको पढेर नाम लेख्ने, मोबाइल फोन चलाउने, मोबाइलमा रिचार्ज गर्ने, आफैंले डायल गरी फोन गर्ने लक्ष्य छ ।


‘छोराछोरीले हामी पढेर माथि पुगिसकेम् हजुर अब स्कुल नजानुस् बेइज्जत हुन्छ भनेर गाली गर्छन्,’ भीमकला भन्छिन्, ‘उनीहरूको अगाडि पढ्न पनि सर्म लाग्छ । ठूलो कक्षा पढ्ने इच्छा त होइन, जमनाअनुसार चल्नुपर्छ भनेर सिक्न खोजेकी हुँ ।’ ९ वर्षपहिले श्रीमानको मृत्यु भएपछि घरमा एक्लै भएकाले पढ्न मन लागेको उनले सुनाइन् । लक्ष्मीदेवीले भने घरपरिवारबाट राम्रो सहयोग पाएको बताइन् ।


‘उहाँहरू उमेरले आमा हुनुहुन्छ तर पढ्न मन निकै गर्नुहुन्छ,’ शिक्षिका रेग्मीले भनिन् । लक्ष्मीदेवी र भीमकला पढ्न थालेको देखेर अरू महिला पनि विद्यालय आउने तयारीमा रहेको विद्यालयका प्रधानाध्यापक चिरञ्जीवी लम्सालले बताए ।

प्रकाशित : जेष्ठ २, २०७६ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?