कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

रहेनन् गुरुबा

हिमेश बज्राचार्य

काठमाडौँ — नेपाली फुटबल इतिहासमा यस्तो एउटा कालखण्ड थियो । जति बेला यो खेल काठमाडौंका क्लबहरूले चलाएका थिए । त्यो क्लब फुटबल भित्री काठमाडौंको टोल-टोलबाट उठेको थियो । व्यावसायिकता पटक्कै थिएन तर आफ्नो क्लब भनेपछि जीवनै अपर्ण गर्नेहरू पनि थिए । अहिले सुन्दा ती सबै घटना कथाजस्तै लाग्नसक्छ । अहिलेको फुटबल त्यही कथाजस्तै धेरैको समर्पणमा त टिकेको छ । त्यही जमानाका एक नायक बैजुनाथ कपाली मंगलबार रहेनन् ।

रहेनन् गुरुबा

उनी आफ्नो नामले भन्दा 'गुरुबा' का रूपमा बढी चिनिए । उनले आफ्नो सारा जीवन फुटबलकै लागि दिए । त्यो अन्नपूर्ण क्लब आरसीटीका लागि समर्पित थियो । असनलाई केन्द्रबिन्दु बनाएर चलेको फुटबलको एउटा आन्दोलनका योद्धा थिए उनी । आरसीटी पछिल्लोपल्ट ए डिभिजनबाट रेलिगेसनमा पर्दा प्रशिक्षक उनै थिए । क्लबको एउटै उद्देश्य टिमलाई फेरि माथिल्लो डिभिजनमा चढाउनु थियो । त्यसैले हालै मात्र सकिएको बी डिभिजनमा पनि क्लबको जिम्मा उनलाई नै दिइएको थियो ।


नभन्दै आरसीटी बी डिभिजन च्याम्पियन पनि भयो । तर समयले तिनै गुरुबासँग गरेको मजाक के रह्यो भने पछिल्ला लिगमा न त बढुवा थियो, न घटुवा नै । अन्नपूर्ण ०५२ सालमा रेलिगेसनमा पर्दा पनि कपाली आफ्नो जीवनमै सबैभन्दा दुःखी थिए । खासमा क्लब अन्नपूर्ण हो भने त्यसबाट फुटबल खेल्ने टिम भने आरसीटी (रानीपोखरी कर्नर टिम) हो । अन्नपूर्णले पनि फुटबल नखेलेको होइन । सहिद स्मारक लिग लिग विजेता पनि रह्यो । आरसीटी र अन्नपूर्णमा के फरक छ त ?


त्यो कपालीले बाहेक सायद अरूले कमै मात्र बुझे । उनकै शब्दमा आरसीटीबाट टोलबाहिरका खेलाडी बढी खेल्थे भने अन्नपूर्णबाट स्थानीय घरेलु खेलाडी नै । त्यसैले धेरैका लागि आरसीटीभन्दा अन्नपूर्ण बढी प्यारो थियो । कपाली अन्नपूर्णलाई बढी माया गर्नेमा पर्छन् । यसकै लागि खेले । आरसीटीका लागि खेलेनन् । त्यति बेला एउटै परिवारका तीन चार जना खेलाडी हुने गथ्र्यो । कमलाक्षीको उनको परिवार पनि त्यस्तै थियो । उनको बुवाको पुस्ताले पनि फुटबल खेले ।


खेलाडीभन्दा पनि उनको परिचय भने प्रशिक्षकका रूपमा बढी रह्यो । उनले ०३७ सालदेखि प्रशिक्षकको भूमिका निभाए । त्यही बेलादेखि उनलाई गुरुबा भन्न सुरु भएको हो । सुरु-सुरुमा नेपाली फुटबलमा प्रशिक्षकको चलन नै थिएन । सिनियर खेलाडीले नै प्रशिक्षकको भूमिका निभाउने गर्थे । यस्तोमा उनी आरसीटीका सम्भवतः प्रशिक्षकको अलगै भूमिका निभाउने पहिलो थिए । त्यो आरसीटीले खेलेको अन्तिम प्रतियोगिता बी डिभिजनसम्म पनि कायम रह्यो ।


पछिल्लो समय उनको गुनासो थियो, आरसीटीले फुटबलमा कम रूचि देखाएकोमा । अन्नपूर्ण आरसीटीको परिचय नै फुटबलमात्र हो भने किन त्यसबाट पछाडि हट्नुपरेको हो भन्ने उनको प्रश्न थियो । प्रशिक्षककै रूपमा उनी राष्ट्रिय खेलकुद परिषद्मा जागिरे पनि थिए । श्रीलंकामा भएको सार्क गोल्डकपका बेला उनी नेपाली राष्ट्रिय टिमका सहायक प्रशिक्षक थिए । उनले अरू अवसरमा उमेर समूहको राष्ट्रिय टिम पनि हेर्ने अवसर पाए ।


समग्रमा नेपाली फुटबलको उनको सबैभन्दा ठूलो योगदान बालगोपाल महर्जन, उपेन्द्रमान सिंह, वसन्त थापा र नरेश जोशी जस्ता खेलाडीलाई हुर्काउने र परिपक्व बनाउनुमा रह्यो । नेपाली फुटबल इतिहासमा प्रायः दोहार्‍याएर सुनाइने घटना हो, १ सय १ गोलको खेल । त्यसमा आरसीटीले ०३३ सालको ए डिभिजन लिगमा अन्नपूर्णलाई १०१-१ ले हराएको थियो । अन्नपूर्णबाट खेल्नेमा एक खेलाडी तिनै कपाली थिए । त्यो एकमात्र गोल उनकै नाममा थियो ।


९ दिनअघि मात्र उनी घरको बाथरुममा लडेका थिए । उनलाई मस्तिष्कघात भएको थियो । आखिरमा उनको त्यसै कारणले ६८ वर्षको उमेरमा निधन भयो । उनका श्रीमतीसँगै दुई छोरी र एक छोरा छन् । उनको मंगलबार नै शैव पाशुपत नाथ सम्प्रदायको चलनअनुसार पार्थिव शरीर गाडेर समाधिको स्वरूप दिँदै अन्तिम संस्कार गरियो ।


अन्नपूर्ण आरसीटीले मंगलबारै वक्तव्य जारी गर्दै कपालीको निधनले क्लबलाई अपूरणीय क्षति पुगेको जनाउँदै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

प्रकाशित : वैशाख १८, २०७६ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?