२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

भेडीगोठे डाक्टर

बालकृष्ण बस्नेत

काठमाडौँ — विदेशिएको तीन दशकपछि औषधि बोकेर डाक्टरसहित पुगेका डा.देवी गुरुङलाई मनाङको थोंचेका स्थानीयले भने-'गाउँका लागी देवी त भगवानै भयौ ।' स्वास्थ्य शिविर गर्दा ७० वर्ष नाघेकी एक वृद्धाले भनेको ती शब्द उनी कहिले भुल्दैनन् ।

भेडीगोठे डाक्टर

थोंचेकै स्वास्थ्य चौकीमा यसपटक आएर देवीले भने-'म भगवान होइन । जान्ने झाँक्री, लामा होइन र नेता पनि होइन ।'

म तपाईहरुकै गाउँमा भेडी, चौंरी चराउँदै हुर्केको गुरुङको छोरा हुँ ।

करिब एक महिनाअघि थोंचेको स्वास्थ्य चौकीमा एमविविएस डाक्टरसहितको मेडिकल टोली राख्न पुगेका उनले साह्रै भावुक बनी आफ्नो परिचय दिए । एक स्वास्थ्य सहायकको भरमा रहेको नासोङ्ग गाउँपालिकास्थित स्वास्थ्य चौकिमा दक्ष जनशक्ति राख्नका लागि मनाङबाटै विदेशिएका डा.गुरुङले पहल गरेका हुन् । गुरुङले नेतृत्व गरेका हिमालयन फेमिली हेल्थकेयरले चिकित्सकसहित अन्य जनशक्ति उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । मनाङको तल्लो भेग तिलिचोमा जन्मिएका देवी संघर्ष गर्दै अमेरिका पुगेका हुन् । त्यहाँ पिएचडीसम्मको अध्ययन पूरा गरी जन्मथलोकै स्वास्थ्य अवस्था सुधार्न केही वर्ष अघिदेखि उनी नेपाल आउँदै फर्कंदै गर्न थालेका हुन् ।

सम्झौताअनुसार हिमालयन फेमिलीले उक्त चौकीमा एक एमविविएस डाक्टर, बरिष्ठ नर्स, स्वास्थ्य सहायक र औषधिसमेत उपलब्ध गराउने भएको छ । दुई महिना हिउँ पर्ने उक्त क्षेत्रमा बाँकी दस महिनाका लागि ती सेवा उपलब्ध गराउन तेत्तिस लाख रुपैयाँ लाग्नेछ । उक्त रकम देवीको अगुवाईमा उपलब्ध गराउन लागिएको हो ।


'यो असाध्यै ठूलो सहयोग हो । दुर्गमका बासिन्दाको स्वास्थ्यमा समस्या पर्दा निकै राहत हुनेछ, कार्यक्रममा समाजसेवी एवं स्थानीय अगुवा धोर्जे डण्डुल गुरुङले बताए । उनले जन्मथलो फर्किएर देवीले जिल्लावासीलाई समेत ठूलो गुण लगाएको टिप्पणी गरे । 'पहिले धेरै दु:ख पाएका देवीले आफूसक्षम भएपछि गाउँको स्वास्थ्य सुधार्ने लक्ष्यसाथ काम थालेका छन् । हामी सदैव साथ दिनेछौं,' उनी भन्छन् ।

नेपालमा हुने कार्यक्रममा बारे अमेरिकाको सेन्टलुइजमा सहकर्मीहरुबीच भएको कार्यक्रम ।


चौकीमा दक्ष चिकित्सकसहित टोली बस्दा अन्नपूर्ण र मनास्लु पदयात्रीलाई समेत सजिलो हुनेछ । यो क्षेत्रमा वार्षिक करिब तीस हजार पर्यटक घुम्ने गरेको तथ्यांक छ । उनीहरु दुर्घटनामा पर्दा वा आकस्मिक रुपमा केही बिरामी हुँदा हेलिकप्टरबाट पोखरा वा काठमाडौं लानुपर्ने अवस्था छ ।


कार्यक्रममा डा.देवीले टुहुरो हुदा आफु र परिवारले ठूलो संघर्ष गर्नुपरेको, काठमाडौंमा भाँडा माजेर बसेको र त्यही क्रममा एक 'गडफादर' मार्फत अमेरिका पुगेको प्रसङ्ग झिकेका थिए । गाउँमा अस्पताल नै बनाउने अभियान सुरु गरेको र त्यसका लागि ७ रोपनी जग्गा समेत किनिसकेको उनले जानकारी दिए । उनकी श्रीमती कोनीले आफनो माइती कोरिया र कर्मथलो अमेरिका भए पनि पतिको जन्मथलोमा आएर सेवा गर्न पाउँदा बेग्लै खुसी भएको सुनाएकी थिइन् । चौकीलाई सुविधासम्पन्न बनाउने र पछि अस्पताल समेत बनाउने विषयमा उनीहरुले नासोङ्ग गाउँपालिका प्रतिनिधिहरुसँग जानकारी लिएका थिए ।


उनी पहिलोपल्ट अमेरिकाबाट ९ वर्षअघि मनाङ फर्किएका हुन् ।


देवीको कष्टपूर्ण यात्रा

देवी फर्किएको खबरले तल्ला मनाङको विकट गाउँ थोंचे, आसपासको धारापानी, बगरछाप, दानाक्यु हुँदै चामेसम्मका स्थानीय औधी रमाए । थोरैले चिनेका, धेरैले सुनेका देवी मनाङ फर्किएका थिए । देवी ठूलो संघर्षपछि डा.देवी गुरुङको परिचय बनाएर फर्किएका थिए ।


मनाङका आफ्नै समस्या र विशेषता छन् । करिब १० हजार मात्र जनसंख्या भएको यो जिल्लालाई हिमालपारिको जिल्ला भनिन्छ । सदरमुकाममा केही वर्ष मात्रै भयो मोटरबाटो बनेको । तर, प्रतिव्यक्ति आय भने सबैभन्दा बढी छ ।


'मलाई धेरैले हरायो भन्ठानेका थिए', उनले सुनाए ।

भेडीगोठका ती साथीसंगी जसले उ बेलाको देवीलाई एक गोठालाका रुपमा मात्र चिन्थे, एक टुहुरो संगीका रुपमा चिन्थे, ती अहिले दंग परेका छन् । 'सपना हो कि विपनाझैं भएको छ, देवीका बाल्यकालका सखी शंकर गुरुङले भने ।


कुनै बेला थियो, राजधानीका सडकबालकको सूचीमा उनको नाम पनि सामेल थियो । 'काठमाडौंमा मेरो कोही थिएन, म कति दिन त भोकै बसेको थिए', उनको स्मृतिमा आफ्नो संघर्षप्रति गर्वको भावना छ । समय फेरिएको छ । उनले नजिकैबाट नियालेको मस्र्याङ्गदी र बाग्मतीमा धेरै पानी बगेको छ । यो बेला उनी सडक बालक होइनन, पीएचडी डाक्टरका रुपमा मनाङ आइरहेका छन् ।


भूकम्प प्रभावित क्षेत्र सिन्धुपाल्चोकको कुभिण्डे पुग्दा डा.देवीको टोलीलाई स्थानीयबाट भएको स्वागत ।


वर्षौंपछि फर्किदा उनले बाटोघाटो, बिजुली, धारा बनेको देखे । तर, स्वास्थ्य र शिक्षामा भने जिल्लामा त्यति काम भएको पाएनन् । एउटा एक्सरे मेसिन पनि आफ्नो गाउँमा नभएको सुने । सिटामोल पनि भनेको बेला नपाइने । यो अवस्था परिवर्तन गर्न उनी स्वास्थ्य पूर्वाधार बनाउनतर्फ जुटेका हुन् ।


गाउँको शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्ने उनको लक्ष्य छ । थोंचेमै १० शय्याको सामुदायिक अस्पताल बनाउने उनको योजना थियो । त्यसका लागि उनी सन् २०१० देखि पटक पटक गाउँ पुगेका छन् । स्थानीय बुद्धिजीवी, शिक्षक, राजनीतिकर्मी, प्रशासनसँग समन्वय गरेका छन् । अस्पतालकै लागि भनेर जग्गा किने । तर नजिकै सरकारी स्वास्थ्य चौकीको भवन बनेकाले पछिल्लो समय भने त्यहाँ एमविविएस डाक्टरसहितको जनशक्ति र प्रविधि सहयोग गर्ने अभियानमा छन् । स्वास्थ्य मात्रै होइन, आसपासका सरकारी विद्यालयका शैक्षिक गुणस्तर बढाउनका लागि कोष बनाउने, अमेरिकाबाट स्वयंसेवी शिक्षक झिकाउने प्रबन्ध भइरहेको छ ।


तीस वर्ष अघि एक छिमेकीको साथ लागेर उनी राजधानी छिरेका थिए । काठमाडौं पहिलो पल्ट पसेपछि उनी हराउन थाले । छिमेकीको साथ पनि छुट्यो । काम खोजे, केही पाएनन् । केही सीप नलागेपछि झोंछेको गल्लीमा हात थाप्दै माग्न सुरु गरे । कहिले त पेटभरि खान पुग्थ्यो । कहिले भोकै । 'मागेरै गुजारा चलाउँथे । वास पाटीमा हुन्थ्यो, उनी ती दिन सम्झन्छन् । उनी जस्तै श्याम केसी नामको एक साथी थिए । श्यामबाहेक उनको साथी पनि कोही थिएन । 'एक दिन उ बिरामीले नराम्ररी थलियो । के भयो भन्ने थाहा भएन । उपचार गर्नलाई पैसा थिएन, खानै पुग्दैनथ्यो । उपचारै नपाइ मेरो साथी मर्‍र्यो । म हेरेको हेर्‍र्यै भएँ, उनका आँखा रसाए । देवीका यस्ता धेरै स्मृति छन्, जसले अहिले पनि बेलाबेला उनका परेला भिजाइदिन्छन् । बोल्दाबोल्दै बोली रोकिन्छ । तैपनि देवी आफ्नो कथा भन्न रोकिन्नन् ।


'मैले कैयौंपल्ट चियापसलमा पसेर अर्काको टेबुलको तात्तातो चिया घुट्क्याएर भागेको छु, खाजा खाएको छु । भोकभोकै बस्न नसकेपछि के गर्ने ?' उनले भने-'एक दिन भोकको सुरमा बागबजारको एउटा पसलमा पुगेर हात थापें । साहुजीलाई काम खोजिदिन भनें । साहुले घर छेवैका दुई काठका मुडा देखाएर हातमा बन्चरो दिएर भने, ल यो काठ चिर । यति काम गरेपछि खान पाइने भयो भनेर दंग परेर उचालेको बन्चरो फुस्केर घरको भित्तामा लाग्यो । साहुजीले त कम्मरको पेटी फुकालेर हिर्काउन थाले ।'


त्यतिबेला सहरमा आफूले पाएको दुःख सम्झिँदा उनको आँखा फेरि आँसुले भरिए । 'त्यहाँ केही खान नपाएपछि ठमेलतिर लागें । ठमेलमा केसिज रेष्टुरेन्टमा गएर भाँडा माझ्ने काम मागें', उनी सम्झन्छन्,'केही समय काम गरेपछि साहुजीलाई मेरो काम र इमानदारी मन परेछ, जुनियर वेटर बनाए ।'


रेष्टुरेन्ट ट्रनिङ्ग प्वाइन्ट

केसिज रेष्टुरेन्ट प्रवेश उनको जीवनको सबैभन्दा ठूलो मोड बनेर आयो । त्यहीं काम गर्दागर्दै एक दिन रेष्टुरेन्टमा अमेरिकी पाहुना आइपुगे, डा.जेम्स स्टेट्स । सगरमाथा आरोही उनलाई देवीले खाना पुर्‍याए । जेम्सले 'यति सानो उमेरमा यस्तो काम किन गरेको ?' भनी जिज्ञासा राखे । उनी भक्कानिए । बरर्रर आँशु झार्दै आफ्ना दुःख टुटेफुटेको अंग्रेजी भाषामा सुनाए । ती पाहुनको मन फराकिलो बन्यो । जेम्सले देवीलाई आफ्नो छोरो बनाई अमेरिका लैजाने भए । खपिनसक्नु दुःख पाएका देवी त्यसका लागि तयार भए । अमेरिका पुगेपछि उनको दिन फिर्र्यो । त्यहींको वाावरणमा हुर्के । पढ्न थाले र अहिले डा.देवी बन्न सफल भए । अमेरिकाको नोभा साउथ इस्टर्न विश्वविद्यालयबाट स्वास्थ्य विज्ञानमा उनले २००६ मा विद्यावारिधि गरे । अन्य दुई विषयमा स्नातकोत्तर पनि गरे ।


अध्ययन सकेपछि उनले रेष्टुरेन्ट व्यवसायमा समेतमा पाइला चाले । सन् १९९४ मा अमेरिकामा 'एभरेष्ट क्याफे एन्ड बार' खोले । पढेको मान्छेले रेष्टुरेन्ट खोल्यो भनेर कतिले आश्चर्य पनि माने । उनीसँग आफ्नै तर्क थियो । 'मैले कामलाई नै प्यारो ठानें, सानैदेखि कामको महत्व बुझेको थिएँ, उमेरले ५ दशक कटाएका डा.देवीले सुनाए । सेन्ट लुइजमा रहेको उनको व्यवसायलाई कोरियन श्रीमती कोनी र दुई छोराले सघाइरहेका छन् । हिमालयन फेमेलीमा भने अमेरिकैमा रहेका उत्साही युवाहरु प्रकाश शाही, हरिश चन्द, दिवेश प्रधानसहितको साथ पाएका छन् ।


डा.देवीको जीवन-संघर्षबारे वृत्तचित्र बनिसकेको छ । अमेरिकाका कैयौं सञ्चारमाध्यममा उनले कभरेज पाएका छन् । उनको जीवन कथा स्वयं कुनै फिल्मको भन्दा कम मार्मिक र रोमाञ्चक छैन । कुनै बेला एक दुई रुपैयाँँका लागि सडकमा हात थाप्ने देवी अहिले आफै समाजसेवामा जुटी जन्मथलो सुधारमा लागिपरेका छन् ।


आफूले पढेको, सिकेको कुरा बताउन, पाएको अनुभव बाँडन र हिमालयन फेमेलीमार्फत समाजमा काम गर्न उनी नेपाल फर्किन थालेका हुन् । महाभूकम्पका बेला सिन्धुपाल्चोकमा उनले विद्यालय र खानेपानीमा काम गरेका थिए । स्वास्थ्य क्षेत्रमा भने आफ्नै जन्मथलोमा अघि सरेका हुन् ।


तर, यस्तो काममा बेलाबखत स्थानीयमा घुसेको राजनीतिक खिचातानीले डा.देवीलाई दुखी पनि बनाएको छ । 'विकासको काममा राजनीति गर्नु राम्रो होइन । भोट त सबैले आ-आफ्नै आस्था बोकेको दललाई हाल्ने हो । तर समाजसेवाको काममा सबैले साथ नदिए कसरी समाज परिवर्तन हुन्छ ?' उनको प्रश्न छ ।


मनाङमै काम गर्दा स्थानीय दलका नेताहरुले खिचातानी गरेको तीतो यथार्थ उनी सुनाउँछन् । 'तर, उहाँहरुले बुझ्नुहुन्छ । यदि साँच्चै विकासका लागि राजनीति गर्ने हो भने स्वास्थ्य, शिक्षामा काम गर्नैपर्छ । त्यसमा हाम्रो सदैव साथ सहयोग हुनेछ', देवी भन्छन् ।


गुरुङसमक्ष मनाङबाहेक अन्य दुर्गम जिल्लाबाट समेत सहयोग गरिदिनका लागि अनुरोध आइरहेको छ । 'म मेरो कमाईको हिस्सा नेपाल र नेपालीको पक्षमा जोडन लागिरहेको छु । यसमा मलाई आनन्द लाग्छ' उनी भन्छन् ।


हालै नेपालको सरकारी विद्यालयको कक्षा ७ को नैतिक शिक्षामा उनको अनुकरणीय यात्राबारे बेग्लै पाठ समेत राखिएको छ । एक महिना अघि उनी मनाङ पुग्दा स्कुले विद्यार्थीहरुले उनलाई घेरे । आफूले किताबमा पढेको देवी गाउँमै भेट्दा उनीहरु खुब रमाएका थिए । 'यसले मलाई आनन्द दियो', देवी खुसी सुनाउँछन् ।


संघर्षपूर्ण यात्रा बोकेका देवीको यात्राको सफलताले विदेशिएका अन्य नेपालीलाई पनि प्रेरणा दिनेछ । कर्मथलो जता भएपनि यस्ता प्रयासले नेपाललाई जोडिरहनेछ ।

[email protected]


प्रकाशित : चैत्र २६, २०७५ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?