कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

उचाईमा पुगेका आङछिरिङ 'उचाई'मै अस्ताए

पर्यटन व्यवसायी आङछिरिङसहित ७ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु
कञ्चन अधिकारी

काठमाडौँ — सोलुखुम्बुको पन्गोम गाउँ (पासाङ-ल्हामु गाउँपालिका) मा जन्मेका आङछिरिङ शेर्पा अध्ययनको सिलसिलामा आजभन्दा करिव ४५ वर्ष पहिला काठमाडौं छिरेका थिए । सानैदेखि ट्रेकिङ र हिमाल आरोहणमा लागेका छिरिङ सुरुमा 'पोर्टर' थिए । आफ्नै दिदी आङदामी शेर्पाको ‘शेर्पा सोसाइटी ट्रेकिङ एजेन्सी’ बाट ४० वर्षअघि भरियाको रुपमा पर्यटन क्षेत्रमा हेलिएका आङछिरिङ पछिल्लो समय नेपालको पर्यटन क्षेत्रको उत्कृष्ट व्यवसायी बन्न सफल भए ।

उचाईमा पुगेका आङछिरिङ 'उचाई'मै अस्ताए

पर्यटन व्यवसायको उचाइमा पुगेका यिनै आङछिरिङले हिमाली जिल्ला ताप्लेजुङको सिस्ने खोला नजिकको तारेभीरमा हेलिकप्टर दुर्घटना हुँदा ज्यान गुमाउन पुगे । बुधबार पर्यटनमन्त्री रविन्द्र अधिकारी, आङछिरिङसहित ७ जनाको मृत्यु भयो ।

आङछिरिङ परिवारमा भएको यो तेस्रो दुर्घटना हो। २०५५ सालमा उनका कान्छा भाइ टेन्डी शेर्पाको उद्धारमा खटिँदा सोलुखुम्बुको बासामा एमआई १७ हेलिकप्टर दुर्घटनामा ज्यान गएको थियो। भाउजू पासाङल्हामु शेर्पाको २०५० वैशाख १० गते सगरमाथा आरोहण गरी फर्कने क्रममा हिमपहिरोमा परेर मृत्यु भएको थियो।

तीन दाजुभाइमध्ये माइला भाइ हुन् आङछिरिङ । उनका ठूल्दाइ सोनाम शेर्पा पनि पर्यटन व्यवसायी नै हुन् । सोनाम सगरमाथा उक्लने पहिलो नेपाली महिला पासाङ ल्हामु शेर्पाका श्रीमान् हुन् । सोनामले सन् १९८९ तिर पर्यटनसँग सम्बन्धित काम गर्न थामसेर्कु कम्पनी चलाए । त्यसको तीनवर्षपछि सोनामले आफ्ना दुई भाई आङछिरिङ र टेन्डी शेर्पालाई थामसेर्कुमा भित्र्याए ।


थामसेर्कुमा प्रवेश भएदेखि अहिलेसम्म आङछिरिङले कहिल्यै पर्यटन व्यवसायमा पछाडी फर्केर हेर्नुपरेन । उनी सधैं सफलताका सिढीहरु उक्लिरहे । सामान्य व्यवसायबाट छिरेका उनी पछिल्लो समय नेपाली पर्यटनका हस्ती, अभिभावक र पर्यटन राजनीतिका केन्द्रबिन्दू रहे ।


आङछिरिङ थामसेर्कु प्रवेश गरेकै वर्ष नेपालका टप थ्री एड्भेन्चर कम्पनीमा थामसेर्कु पर्न सफल भयो । त्यसको ४ वर्षपछि दोस्रोमा र सन् १९९७ मा नेपालकै नम्बर एक एड्भेन्चर कम्पनीमा दरिन पुग्यो ।


सन् १९९८ मा हिमाली भेगमा उडान भरेर एकछत्र राज गरिरेहको नेपाल वायु सेवा निगमलाई चुनौती दिँदै आङछिरिङले यति एयरलाइन्स कम्पनी स्थापना गरे । उनले काठमाडौंबाट सगरमाथा क्षेत्र जाने पर्यटकलाई ओसार्न थाले । नेपाली भन्दा बढी विदेशीलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त कम्पनीपछि आङछिरिङलाई पर्यटनमा जम्न झनै सहयोग पुग्यो ।


व्यवसायलाई राम्रोसँग बुझेका उनले एयरलाइन्स चलाइसकेपछि एयरलाइन्समा आएका पर्यटकलाई आफ्नै होटलमा राख्नुपर्छ भन्दै सन् १९९९ मा सगरमाथा क्षेत्रमा पहिलोपल्ट आरामदायी र सुविधासम्पन्न होटल खोले । त्यसभन्दा अघि त्यहाँ आरामदायी होटल खुलेका थिएनन् ।


एकपछि अर्को सफलता हात पर्दै गएपछि आङछिरिङले सन् २००० मा पहाडी र हिमाली भेगमा उडान भर्नेगरी यति एयरलाइन्सको भगिनी एयरलाइन्स तारा एयर स्थापना गरे । जसले गर्दा नेपालका पूर्वी र पश्चिमी पहाड र हिमाली भेगमा यात्रु र कार्गो ओसारपसार गर्न थाल्यो । त्यही वर्ष उनले हेलिकप्टर कम्पनीसमेत खोले । हिमाली भेगमा आपत् परेका बेला उद्दार गर्न भन्दै उनले हेलिकप्टर कम्पनी स्थापना गरे ।


एनएमएका पूर्व उपाध्यक्ष निमा शेर्पा भन्छन्, 'उहाँले एक सकेटरमा मात्रै होइन, पर्यटनसँग सम्बन्धित हरेक क्षेत्रमा योगदान दिनुभएको छ । ट्राभल, ट्रेकिङ, उड्डयन र हस्पिटालिटी क्षेत्रमा उत्तिकै योगदान छ ।'


आफूले चाहेको गर्न सक्ने र चाहेको देशमा गएर बस्न सक्ने क्षमता भएपनि आङछिरिङ नेपालमै केही गर्नुपर्छ भन्ने पक्षमा थिए । शेर्पा सम्झन्छन्, 'सधैं नेपालको पर्यटन यो अवस्थामा चल्दैन । बढी परिमाणमा पर्यटक भित्र्याएर मात्रै हुँदैन, स्तरीय पर्टक भित्र्याउनुपर्छ भन्नुहुन्थ्यो ।'


नेपालमा स्तरीय पर्यटक कम आउने र सस्तो गन्तव्यको रुपमा नेपाललाई चिनाउँदा यसको असर पर्यटन क्षेत्रले खेप्नु परेकोमा आङछिरिङ सधैं चिन्तित हुन्थे । त्यसैले उनले नेपालमा 'झोले' पर्यटकको मात्रै होइन स्तरीय पर्यटकको लागि पनि गन्तव्य हो भन्ने बनाउन सगरमाथा क्षेत्र, अन्नपूर्ण क्षेत्र, मुस्ताङ, काठमाडौंमा स्तरीय होटल खोलेको बताउँछन् निमा ।


ट्राभल, ट्रेकिङ, होटल र हवाइ क्षेत्रमा मात्रै होइन आङछिरिङ पर्यटन राजनीतिको केन्द्रमा सधैं रहे । उनलाई नजिकबाट चिन्नेहरु भन्थे, 'पर्यटन मन्त्री को बनाउने भन्ने आङछिरिङकै निर्णयमा भर पर्थ्यो । कसलाई मन्त्री बनाउने, पर्यटनसँग सम्बन्धित संस्थामा कसलाई जिताउने वा हराउने भन्ने पनि उनकै निर्णयमा चल्थ्यो ।' छिरिङलाई नजिकबाट चिन्ने एक व्यवसायी भन्छन्, 'जुनसुकै पार्टीको सरकार बन्दा पनि पर्यटनमन्त्री को बनाउने भन्ने छिरिङसँग परामर्श हुन्थ्यो ।'


हुन पनि आङछिरिङसँगको टकरावकै कारण सुशील कोइराला नेतृत्वको सरकारमा पर्यटनमन्त्री बनेका भीम आचार्यलाई एमालेले हटायो । लगत्तै केही महिना दिपक अमात्यले पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने मौका पाए । पछि अमात्यलाई पनि हटाएर कृपासुर शेर्पालाई मन्त्री बनाउने भूमिका आङछिरिङ शेर्पाले खेलेका थिए ।


त्यतिमात्रै होइन आङछिरिङले आफ्नै लगानी रहेको हिमालय एयरलाइन्स चार्टर गरेर दुईपटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन पुर्‍याए । हिमालय एयरलाइन्समा तिब्बत एयरलाइन्सको ४९ प्रतिशत सेयर छ भने बाँकी शेर्पाको लगानी छ।


नेपालको सामाजिक आर्थिक विकासमा उल्लेखनीय योगदान दिएका पर्यटन व्यवसायी आङछिरिङको थामशेर्कु ट्रेकिङ, यति एयरलाइन्स, तारा एयरलाइन्स, हिमालयन एयरलाइन्स तथा गोकर्ण रिसोर्ट नाम चलेका ब्रान्ड हुन् ।


आङछिरिङले थामशेर्कु ट्रेकिङको कार्यकारी निर्देशक तथा यति माउन्टेन होम्स तथा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्देशक थिए ।

धरानका चन्दा राईसँग वैवाहिक सम्बन्ध गाँसेका आङछिरिङको पासाङ र नुर्वु गरी दुई छोरा छन्।

प्रकाशित : फाल्गुन १६, २०७५ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?