१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

छाउपडी संघर्ष 

छाउपडी प्रथाविरूद्धको अभियानमा समाजका अगुवा भनिएका नेता, शिक्षक, कर्मचारी, अधिकारकर्मीले नै साथ दिँदैनन् । उनीहरुकै घरमा छाउगोठ हटेको छैन । 
मेनुका ढुंगाना

काठमाडौँ — मपत्रकारितामा आएदेखि छाउपडी प्रथाविरुद्ध लेख्दै आएकी छु । मलाई कतिपयले ‘छाउपडी पत्रकार’ भनेर खिल्लीसमेत उडाए । यसले मलाई केही फरक पार्दैन । दिदीबहिनीले भोग्दै आएको यो समस्यामा मैले कलम रोक्न मिल्दैन ।

छाउपडी संघर्ष 

छाउपडीविरुद्ध लेख्न थाल्दा मलाई धेरैले साथ दिएनन् । नेता, शिक्षक, कर्मचारी, स्थानीय समाजसेवी, अधिकारकर्मीले समेत विस्तारै साथ दिन छाडे । उनीहरूकै घरमा छाउगोठ छ । महिलाले छाउ बारेको देखेकी छु ।


छाउपडी अन्त्यका लागि युवा भने सक्रिय देखिन्छन् । दुई वर्षको अवधिमा अछामका ९१ वटा वडामा पुगेर छाउ प्रथाको अवस्थाबारे बुझेँ । म जहाँजहाँ पुग्थेँ, त्यहाँ युवाको जमात छाउ प्रथाविरुद्धमा हुन्थ्यो ।


छाउगोठमा ज्यान गुमाएकामध्ये आधाजसो किशोरी छन् । गत जेठ २७ गत छाउ बार्न छाउपडी गोठमा बसेकी तुर्माखाँद–४, जुयगाउँकी १८ वर्षीया पार्वती बुढाको सर्पले डसेर मृत्यु भयो । पछिल्लो समय तिमिल्सैनकी २१ वर्षीया डम्बरा उपाध्यायको छाउ बार्दा निसास्सिएर मृत्यु भयो । महिनावारी भएका बेला झ्याल नभएको सानो गोठमा बसेकी थिइन् । महिलालाई पीडा छ, उनीहरू ‘नाइँ’ भन्न सक्दैनन् । छाउ नबार्ने अवस्था आउन अझै धेरै बाटो हिँड्नुपर्ने देखिन्छ ।


अछाममा छाउपडी प्रथाविरुद्ध अभियान चलेको एक दशक नाघिसकेको छ । यो अभियानमा जिल्लामा सरकारी निकाय, राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले काम गरे । छाउपडी प्रथा घटेको पनि छ ।


जिल्लाका साविक ७५ गाविसमध्ये ३१ वटा गाविसलाई छाउगोठमुक्त घोषणा गरिएको छ । तुर्माखाँद–४, जुयगाउँकी पार्वतीको छाउगोठमा मृत्यु भएको घटनालाई स्थानीय, जनप्रतिनिधि र स्वयंसेविकालगायतले ढाकछोप गर्न खोजेका थिए । पार्वतीसँगै सुतेकी उनकी बहिनी राधिकालाई सत्य कुरा नखोल्न सबैले दबाब दिएका थिए । घरबाट २० मिनेट टाढाको छाउगोठमा महिनावारी बार्न बसेका बेला राति २ बजेट पार्वतीलाई सर्पले डसेको थियो । पार्वतीकी दिदी प्रेमकलाले फेसबुकमा स्टाटस लेखेर यो घटना सार्वजनिक गरेकी थिइन् ।


‘भंैसी बाँध्ने गोठमा भाइसँग दिउँसो सुतेका बेला ज्यान गएको’ भन्ने आशयका समाचार आएका थिए । मलाई शंका लाग्यो । कतै पार्वती बुढाको छाउगोठमै ज्यान गएको त होइन ?

मैले प्रेमकलासँग म्यासेन्जरमा कुरा गरेँ । समाज एक भएका बेला प्रेमकला पनि यो कुरा खोल्न सक्ने अवस्थामा थिइनन्् । मैले उनको नम्बर मागेँ । फोनमा कुरा गरेँ । उनले पार्वतीको छाउगोठमै ज्यान गएको बताइन् ।


छाउगोठमा ज्यान गएको अरूले थाहा पाए  गाउँको बेइज्जत हुन्छ, परिवारका सदस्यलाई प्रहरीले लान्छ भनेर हतारमा पार्वतीको दाहसंस्कार गरिएको रहेछ । ‘छिमेकी, जनप्रतिनिधि, स्वयंसेविका सबैले सल्लाह गरेर छिट्टै दाहसंस्कार गर्नुपर्छ भने, हतारमै दाहसंस्कार गरियो,’ उनले सुनाइन्, ‘मैले सत्य कुरा लुकाउनु हुँदैन भनें तर कसैले सुनेनन् ।’ सँगै सुतेकी बहिनीलाई पनि साँचो कुरा नबोल्न समाजले दबाब दिएको थियो ।


पार्वतीको छाउगोठमा मृत्यु भएको समाचार कान्तिपुर दैनिकमा आएपछि गाडेको शव निकालेर जिल्ला सदरमुकाममा पोस्टमार्टम गराउनू भनी प्रहरी, प्रशासनलाई केन्द्रबाट दबाब आयो । गाउँमै घटना हुँदा पनि थाहा नपाएझैं गरेको प्रहरी चिहानबाट शव निकालेर ३० कोस टाढाको जिल्ला अस्पताल पुर्‍याई पोस्टमार्टम गर्न बाध्य भयो ।


प्रेमकलाकै कारण कुहिन लागेको शव बोकेर जिल्ला अस्पताल पुर्‍‍याउनुपरेकामा गाउँलेले आक्रोश पोखे । प्रेमकला र मलाई मार्ने धम्की आउन थाल्यो । परिवार, समाज, आफन्त कोहीले पनि प्रेमकलालाई साथ दिएनन् । उनलाई जतिबेला आफन्त र गाउँबाट दबाब आउँथ्यो, मलाई फोन गर्थिन् । एक दिन राति १२ बजेको थियो, प्रेमकलाको फोन आयो । उनले भनिन्, ‘दिदी, यो समाजले मलाई बाँच्न नदिने भयो, कि आफैं मर्, कि हामी मार्छौं भन्ने दबाब दिन थाले ।’

उनले थपिन्, ‘मंगलसेन आउँदा तपाईंलाई पनि आक्रमण गर्ने कुरा गर्दैछन् । तपाईं सुरक्षित रहनुहोला ।’ मलाई डर पनि लाग्यो, एउटी किशोरीको छाउगोठमा ज्यान गएको विषय ओकल्दैमा कतै प्रेमकलाको ज्यान त जोखिममा पर्ने त होइन ? ज्यान जोखिममा परे पनि आफू छाउपडी प्रथाविरुद्ध बोल्न नछाड्ने अठाट उनको थियो । ‘यो समाजको विकृतिबारे बोल्न मलाई डर छैन,’ उनले भनिन् ।

प्रकाशित : फाल्गुन ७, २०७५ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?