नयाँ सोच

विदेशमा अवसर छँदाछँदै केही युवा डाक्टर नेपालमै काम गर्ने जोस लिएर फर्किएका छन् । उपचारमा नयाँ प्रविधि भित्र्याएका छन् । खोज–अनुसन्धान गरिरहेका छन् ।
स्वरूप आचार्य

काठमाडौँ — युवाको जोस, जाँगर र मिहिनेतबिना कुनै क्षेत्र अघि बढ्न सक्दैन । नेपालको चिकित्सा क्षेत्रमा पनि युवाको योगदान अतुलनीय देखिन्छ । अहिले लगभग अवकाशको उमेरमा पुगेका र अवकाश लिइसकेका चिकित्सकले स्थापना गरेको जगमा गारो लगाउने काम युवा चिकित्सकले गरिरहेका छन् ।

नयाँ सोच

चुनौतीकै बीच बिरामीलाई सहज र सस्तो उपचारसेवा दिएका छन् । उनीहरूले भित्र्याएका नयाँ प्रविधिले समग्र चिकित्साक्षेत्र लाभान्वित छ ।


मुटु उपचारमा नयाँ थालनी

डा. अनील भट्टराई मुटु शल्यचिकित्सक हुन् । सम्पूर्ण विशेषज्ञता र सीप विदेशमा हासिल गरेका यी युवाले केही वर्षदेखि आफ्नै देशलाई कर्मभूमि बनाइरहेका छन् । अग्रजहरूले निकै मिहिनेतपूर्वक खडा गरेको जगमा भट्टराईले इँटा थपिरहेका छन् । रुसबाट एमबीबीएस र एमडी तथा इटालीबाट पीएचडी गरेर २०१३ मा नेपाल फर्किएका उनी हाल त्रिवि शिक्षण अस्पताल प्रांगणको मनमोहन कार्डियोथोराक्सिक भस्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत छन् । आफूसँग नेपाल भित्र्याएको नयाँ शल्यक्रिया पद्धतिले उनलाई यहाँ कार्यरत युवा शल्यचिकित्सकमाझ पृथक् पहिचान दिलाएको छ ।

‘मिनिमल्ली इन्भेसिभ कार्डियाक सर्जरी’ अर्थात् थोरै घाउ बनाएर गरिने मुटुको शल्यक्रिया नेपालमा थालनी गर्ने श्रेय भट्टराईलाई नै जान्छ । काखीमुनि प्वाल पारेर गरिने यस प्रकारको शल्यक्रियाले धेरै बिरामीलाई नयाँ जीवन दिएको छ । खास गरी मुटुमा समस्या देखिएका अविवाहित युवतीले ठूलो राहत पाएका छन् । विद्याविभूषण ‘क’ पदकले सम्मानित भट्टराईले २०११ को ‘फ्रान्सिस फोटन’ अन्तर्राष्ट्रिय सम्मान पनि प्राप्त गरेका छन् । स्वदेशमै केही गर्ने हुटहुटीले फर्किएका भट्टराईलाई आफ्नो निर्णयमा कुनै पछुतो छैन । भौगोलिक विकटताका कारण स्वास्थ्य सेवा महँगो भएकोमा भने चिन्ता छ । मनमोहनमा उनले दुई सयभन्दा बढी मुटुको शल्यक्रिया र ओपन हार्ट सर्जरी गरेका छन् । विश्वमा अत्यन्तै महँगो पद्धतिलाई उनले नेपालमा सस्तोमा उपलब्ध गराइरहेका छन् । अब प्रदेशस्तरमा मुटुको उपचार हुने अस्पताल खुले सस्तो हुने र धेरैले स्वस्थ जीवन बाँच्न पाउने उनको भनाइ छ ।


बाथरोग उपचारमा सक्षम

डा. विनित वैद्य बाथरोग विशेषज्ञ हुन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस अध्ययन गरेका उनले भारतको नयाँदिल्लीस्थित एम्स अस्पतालबाट एमडी गरेका हुन् । अमेरिकाबाट बाथरोगमा फेलोसिप पनि गरेका छन् ।

वैद्यले बाथरोग उपचारमा अवश्यक नयाँ प्रविधि र औषधि नेपाल भित्र्याउन ठूलै परिश्रम गरेका छन् । बाथरोगको राम्रोसँग पहिचान हुन नसकेको अवस्थाले नै आफूलाई यो क्षेत्रमा थप अध्ययन गर्न प्रेरणा दिएको उनी बताउँछन् ।

सीमित बाथरोग विशेषज्ञ मात्रै रहेको अवस्थामा उनको मेहनत र कार्यक्षमताले यसको उपचार नेपालमै हुन सक्छ भन्ने आशा पलाएको छ । रोग पहिचानका परीक्षण विधि र उपकरणका साथै उपचारका लागि आवश्यक औषधि नेपालमा दर्ता गराउनेसम्मको काममा उनी खटिएका छन् ।

धेरै प्रकारका बाथरोग सुरुवाती अवस्थामै पत्ता लागे पूर्ण रूपमा निको पार्न सकिने वैद्य बताउँछन् । राज्यले बाथरोग उपचारमा धेरै काम गर्न बाँकी रहेको उनको भनाइ छ । वैद्यका अनुसार डब्लूएचओले निर्धारण गरेको मानकका आधारमा नेपालमा २० लाखभन्दा बढी बाथरोगी छन् । तिनमा २५ देखि ३० हजार मात्रै अस्पतालसम्म पुगिरहेको तथ्यांक छ ।

बाथरोगले विभिन्न अंगसाथै मृगौला र कलेजोमा धेरै असर गर्ने हुँदा बाथरोगको उपचारमा चिकित्सकको समूह नै आवश्यक पर्ने वैद्यको भनाइ छ । काठमाडौंमा नेपाल बाथरोग उपचार केन्द्र चलाइरहेका उनले विभिन्न स्थानमा सेवा विस्तार गरिरहेका छन् । सरकारले औषधि र आयात गरिने उपकरणमा कर सहुलियत दिए निजी तहबाट भइरहेका प्रयासमा सहयोग पुग्ने उनी बताउँछन् ।


नेपालमै बोनम्यारो प्रत्यारोपण

डा. विशेष पौडयाल रगत रोग तथा बोनम्यारो प्रत्यारोपण विशेषज्ञ हुन् । नेपालमा पहिलो पटक बोनम्यारो प्रत्यारोपण गरेका उनी यहाँ सबै प्रकारका रक्तरोगको उपचार सम्भव रहेको बताउँछन् । उनका अनुसार मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा यस्तो सेवा छ । चीनबाट एमबीबीएस र रक्तरोग उपचारमा एमडी गरेका उनले भारतको भेलोरस्थित सीएमसी अस्पतालबाट बोनम्यारो प्रत्यारोपणको फेलोसिप गरेका हुन् । अमेरिकाको इलिनोय विश्वविद्यालयबाट पनि बोनम्यारो प्रत्यारोपणमा थप तालिम लिएका छन् । उनले हालसम्म ३० जनाभन्दा बढीमा बोनम्यारो प्रत्यारोपण गरिसकेका छन् ।

विश्वमा सस्तो र अमेरिकी स्तरको बोनम्यारो प्रत्यारोपण हुने निजामती अस्पतालमा रक्तरोग पहिचान र उपचारलाई आवश्यक सबै उपकरण र जनशक्ति उपलब्ध छन् । रक्त क्यान्सरका बिरामीको उपचार अन्य सरकारी तथा निजी अस्पतालमा पनि हुन्छ । तिनमा सस्तो मूल्यमा विश्वस्तरको सुविधा भने पाइँदैन ।

पौडयालले विश्वका विभिन्न जर्नलमा नेपालमा रक्तरोगका विभिन्न पक्ष र उपलब्धि तथा अध्ययनबारे लेख प्रकाशन गर्दै आएका छन् । अन्तर्राष्ट्रिय स्तरका सेमिनारमा देशको प्रतिनिधित्व गरेका छन् । उनको अथक् मिहिनेत र परिश्रमकै कारण नेपाल बोनम्यारो प्रत्यारोपणमा विश्वकै अब्बल मुलुकमा चिनिन्छ ।


ईआरसीपीले नयाँ पहिचान

डा. राम गुरुङ इन्टरभेन्सनल ग्यास्ट्रो इन्टेरोलोजिस्ट हुन् । सामान्य भाषामा उनी पेटरोग विशेषज्ञ हुन् । धुलिखेल अस्पतालका मेडिसिन विभाग प्रमुख छन् । इन्डोस्कोपिक पद्धतिबाट गरिने पेटको उपचारमा विज्ञता हासिल गरेका गुरुङले धुलिखेल अस्पताललाई ईआरसीपीबाट गरिने उपचार केन्द्रकै रूपमा स्थापित गर्न ठूलो योगदान दिएका छन् । शिक्षण अस्पतालबाट एमबीबीएस गरेका उनले विशेषज्ञता भने भारत, स्विट्जरल्यान्ड र जर्मनीबाट हासिल गरेका छन् । विदेशमै काम गर्ने प्रशस्त सम्भावना भए पनि उनी पनि नेपालमै केही गर्ने ध्येयले फर्किएका थिए ।

यहाँ आएदेखि नै उनी धुलिखेल अस्पतालमै छन् । धुलिखेलको वातावरण र अस्पतालको टिमले आफूमा कहिल्यै अन्त जाने इच्छा पलाउन नदिएको गुरुङ बताउँछन् । उनको नेतृत्वको टोलीले वर्षमा एक हजारभन्दा बढी ईआरसीपी गर्ने गरेको छ । धुलिखेल अस्पताल अहिले ईआरसीपीका लागि नेपालको रेफरल सेन्टर नै बनेको छ । अस्पतालले उपचार मात्र नभई तालिम पनि दिने गरेको छ । गुरुङले काठमाडौंमा मात्रै केन्द्रित उपचार सेवा देशका अन्य भागमा पनि पुर्‍याउने उद्देश्य राखेका छन् । ईआरसीपीजस्तो अत्यावश्यक उपचार सेवा सरकारी अस्पतालले नै प्रदान गर्नुपर्ने उनको बुझाइ छ । त्यसका लागि प्रयास पनि गरिरहेका छन् ।

महँगो उपकरण र विशिष्ट तालिम आवश्यक पर्ने हुँदा यो सेवा प्रदान गर्ने चिकित्सक थोरै छन् । गुरुङले धुलिखेल अस्पतालमा रहेर दिएको सेवाले पित्तथैली, पित्तनली वा पेटका अन्य भागको इआरसीपी गर्न भारत जानुपर्ने बाध्यता हटेको छ ।


सिक्कलसेल उपचारमा तल्लीन

डा. राजन पाण्डे सिक्कलसेल एनिमियाविज्ञ हुन् । उनी भेरी प्रादेशिक अस्पतालमा ११औं तहका मेडिसिन विभाग प्रमुख छन् । थारू समुदायमा महामारीकै रूपमा देखिएको सिक्कलसेल एनिमिया रोग पहिचान, अध्ययन र उपचार गर्नमा उनको विशेष योगदान छ । सिकलसेल परीक्षण गर्न भारत पठाउनुपर्दाका दिन सम्झिँदै उनी भन्छन्, ‘अहिले त भेरी प्रादेशिक अस्पतालमा इलेक्ट्रोफोरोसिस गर्ने अत्याधुनिक मेसिन छ ।’

आफ्नो अध्ययन र खोजकै कारण सिक्कलसेल एनिमियाका बिरामीले सरकारबाट एक लाख सहयोग प्राप्त गर्ने अवस्था आएकोमा उनी गर्व गर्छन् । पाण्डेका अनुसार बर्दिया नगरपालिकामा सिक्केलसेल एनिमियाका बिरामीको स्क्रिनिङ भइरहेको छ । त्यसले थारू समुदायमा यो रोग कति व्याप्त छ भन्ने तथ्यांक निकाल्न मद्दत गर्छ । अहिले थारू समुदायका १० प्रतिशत बिरामीमा यो रोग रहेको अनुमान छ । उनले बिरामीको उपचार मात्रै गरेनन्, तिनलाई अस्पताल ल्याउन विभिन्न कार्यक्रम पनि गरे । त्यसपछि अन्य अस्पताल र धामीझाँक्रीले पनि त्यस्ता बिरामीलाई भेरी अस्पताल पठाउन थाले । गुरुङले आफ्नो कामका लागि नेपाल सरकारबाट प्रवल जनसेवाश्री पदक प्राप्त गरेका छन् ।


गम्भीर बिरामीको उपचारमा दक्खल

डा. जेन्टल सुन्दर श्रेष्ठ एनेस्थेसिस्ट तथा क्रिटिकल केयर स्पेसलिस्ट हुन् । गम्भीर बिरामीको उपचारमा दख्खल राख्ने चिकित्सक । टोरोन्टोस्थित क्रिटिकल केयर सेन्टरमा अध्ययन तथा काम गरेका श्रेष्ठ नेपालका थोरै क्रिटिकल केयर विज्ञमध्ये पर्छन् । गम्भीर बिरामी भएकाको उपचार गरी तिनलाई दैनिक जीवनमा फर्काउनुभन्दा महान् कार्य अरू हुन नसक्ने प्रेरणाले उनी यो क्षेत्रमा अघि बढेका हुन् ।

इमरजेन्सी न्युरोलोजिकल लाइफ सपोर्ट एन्ड अक्युट केयर अल्ट्रासाउन्ड वर्कसपका कोर्स निर्देशकका रूपमा उनी स्वदेश–विदेशमा अध्यापन पनि गराउँछन् । श्रेष्ठ हाल शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत छन् । त्यहाँ उनी एमडीका विद्यार्थीलाई पनि पढाउँछन् । नेपालको प्रतिनिधित्व गर्दै धेरै अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएका उनले विश्वस्तरका जर्नलमा सय हाराहारी लेख प्रकाशित गराएका छन् । अहिले उनी विश्वस्तरका अनुसन्धाता मिलेर प्रकाशन गर्न लागेको पाठयपुस्तकको विकासमा काम गरिरहेका छन् । सेप्सिसको व्यवस्थापन तथा उपचारको अन्तर्राष्ट्रिय टास्क फोर्समा पनि आबद्ध छन् ।

प्रकाशित : फाल्गुन ७, २०७५ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?