बैंकिङ क्रेज

बैंक तथा वित्तीय क्षेत्रका झन्डै ३८ हजार कर्मचारीमध्ये ७० प्रतिशतभन्दा बढी युवा छन् । 
यज्ञ बञ्जाडे

काठमाडौँ — दीपेश शर्मा पेसाले बैंकर हुन् । ३५ वर्षे उनी हाल एक निजी वाणिज्य बैंकमा विभागीय प्रमुख छन् । मासिक आम्दानी राम्रो छ । जन्मथलो दाङ भएपनि एसएलसीपछिको सबै शिक्षा काठमाडौंमै हासिल गरे । डाक्टर बन्ने सोचले काठमाडौं छिरेका शर्मा ‘प्लसटु’पछि व्यवस्थापनका विद्यार्थी बने । त्यही ‘टर्निङ प्वाइन्ट’ ले उनलाई आज यो सफलतामा ल्याइपुर्‍याएको छ । शर्मासँग अहिले काठमाडौंमै घर छ, गाडी छ । बैंक खातामा धेरथोर बचत पनि छ । उनी आफ्नो पेसामा सन्तुष्ट छन् । 

बैंकिङ क्रेज

यति बेला करिब २७ हजार युवा वित्तीय क्षेत्रमा भविष्य सुरक्षित गर्नसंघर्षरत छन् । पछिल्ला वर्ष यो क्षेत्रको रोजगारीमा युवा आकर्षण निकै बढेको छ । बैंकिङ क्षेत्रमा अहिले कुल ३८ हजार कर्मचारी छन् । तीमध्ये ७० प्रतिशतजति ४० वर्षभन्दा कम उमेरका छन् । यो तथ्यांकले नेपाली वित्तीय क्षेत्र युवा पुस्ताले धानेको प्रस्ट हुन्छ ।


हरेक वर्ष रोजगारीमा प्रवेश गर्नेमध्ये करिब ८० प्रतिशतको रोजाइ बैंक तथा वित्तीय क्षेत्र हुने जानकारहरू बताउँछन् । यसको कारण बैंकमा काम गर्दा आर्थिक अवस्था सबल हुने र एकै पटक धेरै संख्यामा रोजगारी खुल्नु नै हो ।


वित्तीय क्षेत्र युवाले धानेको भन्न हिचकिचाउन नपर्ने नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह बताउँछन् । ‘अहिले युवाको पहिलो छनोट नै वित्तीय क्षेत्र भएको छ,’ उनले भने, ‘उनीहरूसँग नयाँ जोस, जाँगर मात्र होइन, वित्तीय क्षेत्रको ज्ञान पनि छ ।’ अन्य क्षेत्रको तुलनामा बैंकिङ करियरमा आर्थिक रूपमा ढुक्क हुने अवस्था रहेकाले युवा आकर्षण बढेको उनको ठहर छ । ‘यो क्षेत्रमा काम गरेपछि परिवार पाल्न र घर–व्यवहार चलाउन अप्ठेरो हुँदैन,’ उनले भने, ‘घरपरिवार पाल्नकै लागि घुस खानु पर्दैन ।’ पछिल्ला वर्ष संख्यात्मकसँगै गुणात्मक जनशक्ति पनि बढेको उनको बुझाइ छ । ‘व्यवस्थापन विषय पढेका, इमानदार र क्षमतावान् जनशक्ति भित्रिएका छन्,’ उनले भने, ‘यसकारण आउँदा दिन बैंकिङ क्षेत्र झनै प्रतिस्पर्धी र व्यावसायिक बन्न सक्छ ।’ शाहका अनुसार नेपाली युवाले विदेशी बैंक तथा वित्तीय संस्थामा पनि काम सुरु गरेका छन् ।


अन्य क्षेत्रको तुलनामा बैंक तथा वित्तीय संस्थामा युवा आकर्षण धेरै रहेको रोलिङ प्लान्सका अध्यक्ष अनुप जंगमले बताए । रोलिङ प्लान्सले करिब डेढ दशकदेखि विभिन्न क्षेत्रमा जनशक्ति आपूर्ति गर्दै आएको छ । ‘रोजगारीका लागि बजारमा आउने जनशक्तिमध्ये करिब ८० प्रतिशतको रोजाइ बैंक तथा वित्तीय क्षेत्रमै भेटिन्छ,’ उनले भने, ‘स्कुल कलेजमा स्थलगत भ्रमण जाँदा पनि धेरैको आकर्षण बैंकिङ क्षेत्रमा रहेको भन्छन् ।’


जंगमका अनुसार रोजगारीका लागिपर्ने आवेदनमा पनि वित्तीय क्षेत्रकै धेरै हुन्छ । ‘सामान्य अवस्थामा अन्य कर्पोरेट क्षेत्रमा एक सिटमा औसत २० वटा आवेदन आउँछन् । बैंकिङ क्षेत्रमा यस्तो अनुपात एक सिटमा १ सयसम्म भेटिन्छ,’ उनले भने ।


बैंकिङ क्षेत्रका कर्मचारीमध्ये बहुसंख्यक युवा रहेको सानिमा बैंककी जनशक्ति विभाग प्रमुख रमिला श्रेष्ठले बताइन् । ‘बैंकिङ क्षेत्रमा युवा क्रेज बढेको हो,’ उनले भनिन्, ‘नाम र दाम दुवै पाइने भएकाले पनि होला ।’ पछिल्ला वर्ष बैंकिङ क्षेत्रलाई नै लक्षित गरी बीबीए, एमबीए पढाउने कलेज थुप्रै खुलेका छन् । विद्यार्थीले पढ्दादेखि नै बैंकिङ क्षेत्रबारे राम्रो जानकारी पाउँछन् । ‘युवा छिटो कुरा बुझ्ने र स्मार्ट रूपले काम गर्ने खालका छन्,’ श्रेष्ठले भनिन् । सक्षम भएकै कारण केही जनशक्ति अध्ययन तथा रोजगारीका लागि विकसित राष्ट्र जाने क्रम बढेको उनले बताइन् ।

युवा कर्मचारीकै कारण समग्र वित्तीय क्षेत्रको विकास तथा विस्तार राम्रो रहेको प्रभु बैंककी चिफ कर्पोरेट प्लानिङ अफिसर रश्मी पन्तले बताइन् । ‘प्रभु बैंकका करिब ८० प्रतिशत कर्मचारी ४० वर्षभन्दा कम उमेरका छन् । कुल कर्मचारीको औसत उमेर २९ वर्ष छ,’ उनले भनिन्, ‘समग्र वित्तीय क्षेत्रमा पनि ७० देखि ७५ प्रतिशत जनशक्ति ४० वर्षभन्दा तलका हुनुपर्छ ।’ विगत समयको तुलनामा वित्तीय संस्थामा भित्रिने कर्मचारी सिर्जनशील अनि लगनशील रहेको पन्तको दाबी छ । ‘उनीहरू इन्नोभेटिभ र कामप्रति जिम्मेवार छन्,’ उनले भनिन्, ‘जागिरे मानसिकता मात्र भएकाहरू निकै कम छन् ।’


वित्तीय क्षेत्रका बहुसंख्यक कर्मचारी युवा रहेको राष्ट्र बैंकले पनि स्विकारेको छ । बैंकिङ क्षेत्रको विकासले डेढ दशकयता मात्र गति लिएकाले पनि युवा धेरै भएको राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विभागका निर्देशक गुरुप्रसाद पौडेलले बताए । ‘वर्किङ तहमा युवा जनशक्ति धेरै छ, नीति निर्माण तहमा वयस्क धेरै छन्,’ उनले भने, ‘युवाको जोस–जाँगर र वयस्कको अनुभवबाट नै वित्तीय क्षेत्र सक्षम तथा प्रतिस्पर्धी बनेको हो ।’ राष्ट्र बैंकमा पनि झन्डै आधा जनशक्ति ४० वर्षभन्दा कमका रहेको पौडेलले बताए । ‘अहिले राष्ट्र बैंकमा करिब ११ सय कर्मचारी छन्,’ उनले भने, ‘तीमध्ये झन्डै ५० प्रतिशत युवा छन् ।’ पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थामा ३८ हजार ३ सय कर्मचारी छन् । वाणिज्य बैंकमा करिब २८ हजार, विकास बैंकमा ७ हजार ५ सय, वित्त कम्पनीमा १ हजार ८ सय र लघुवित्त वित्तीय संस्थामा १ हजार २ सय कर्मचारी रहेको सम्बन्धित संघहरूको तथ्यांक छ ।


मुलुक संघीयतामा गएपछि बनेका ७ सय ५३ स्थानीय तहमा वाणिज्य बैंक पुर्‍याउने सरकारी योजना छ । यसका लागि राष्ट्र बैंकले सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएसँगै एक वर्षमा करिब ५ सय नयाँ शाखा स्थापना भइसकेका छन् । गत वर्ष वाणिज्य बैंकमा कर्मचारीको संख्या करिब १८ प्रतिशत बढ्नुले पनि यसको पुष्टि हुन्छ । पहिले वाणिज्य बैंकमा २३ हजार ६ सय ९२ कर्मचारी कार्यरत रहेकामा गत वर्ष झन्डै २८ हजार पुगेका छन् । कुल कर्मचारीमध्ये २४.६० प्रतिशतसरकारी स्वामित्वका तीन बैंकमा कार्यरत छन् । राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंक सरकारी स्वामित्वका हुन् ।

प्रकाशित : फाल्गुन ७, २०७५ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?