मुखौटो उतार्न

मनोविज्ञानका विद्यार्थीका हिसाबले हेर्दा मलाई ‘मान्छे कस्तो हुनुपर्छ’ भन्ने आदर्शवादी दृष्टिकोणभन्दा ‘मान्छे कस्तो छ’ भन्ने जिज्ञासा ज्यादा विचारणीय लाग्छ । यसरी हेर्दा कतिपय अवस्थामा मैले शोषितको भूमिका निभाएां पनि ।
भूषिता वशिष्ठ

काठमाडौँ — यज्ञश दाइले युवा नाटयकर्मीका रूपमा केही लेख्न भन्दा मैले झट्ट हुन्छ भन्न सकिनँ । कहिलेकाहीँ मलाई लाग्छ, जिन्दगी एउटा विशाल ‘म्युजिकल चियर’ खेल हो । यहाँ असंख्य कुर्सीहरू छन्, असंख्य कुर्सीहरूमा असंख्य लेबलहरू छन्– भरिया, डाक्टर, सूचीकार, पत्रकार, कलाकार, फलानाकार, ढिस्कानाकार, यावत् यावत् ।

मुखौटो उतार्न

पाश्र्वमा कलाचक्रको अनवरत धुन बजिरहेको छ । निमेषभरलाई झयाप्प धुन बन्द हुन्छ अनि हामी थपक्क नजिकको कुर्सीमा बस्न पुग्छौं । कहिलेकाहीँ त्यो कुर्सी हाम्रो रोजाइको पर्न जान्छ, कहिलेकाहीं अरुचिपूर्ण पनि हुन सक्छ । एउटै मान्छे कहिले सन्तको कुर्सीमा बस्न जान्छ, कहिले सैतानको ।

म आफैं अनेकन बार अनेकन कुर्सीहरूमा बसिसकेकी छु । त्यसैले मलाई यी लेबलहरूमाथि त्यति गहिरो आस्था छैन । काकतालीले यसपालि झयाप्प धुन बन्द भएको बेलामा म बसेको कुर्सी नाटयकर्मीको परेछ । हैन, हैन यसपालि म कुर्सीमा हैन काउचमा बस्न पुगिछु, कालो सिन्थेटिक छालाले मोरेको काउच, जहाँ मसँगै बसेका थिए नीर शाह, हरिहर शर्मा, कुमार नगरकोटी र घिमिरे युवराज ।

बाहिर शिशिरको सिरेटो सुसाउँदो थियो । बेलाबेलामा पोलेको मासुको हरकले कोठा भरिन्थ्यो । युवराज दाइबाहेक सबैलाई म पहिलोपटक भेट्दै थिएँ । नीर शाह र हरिहर शर्मा कसैको मलामी गएर आर्यघाटबाट आउँदै थिए, नगरकोटी मानौं आर्यघाटमै धुनी रमाउने अघोरी थिए ।

कालो कफी मगाउँदै नगरकोटीले भने, ‘ब्ल्याक कफी पिउने मान्छेको मन ब्ल्याक हुन्छ ।’ हाँसोको फोहरा छुटयो । ‘एउटा सेकुवा सेट,’ युवराज दाइले भने । हामी बत्तीसपुतलीस्थित बाजेको सेकुवाको तेस्रो तल्लाको उत्तरी प्रकोष्ठको काउचमा बस्न पुगेका रहेछौं ।

‘अब स्क्रिप्ट पढौं,’ कफीको चुस्की लिँदै नगरकोटीले भने । काउचमुनि पातलो कपडाको जुत्ताभित्र मेरा पैताला बाफिला हुन थालेका थिए । पाण्डुलिपिको कापबाट धूवाँधूवाँजस्ता आकृतिहरू निस्किएर सल्बलाउन थाले । यो कुहिरोमा हरिहर शर्माको शरीर बिस्तारै बाफिएर उड्दै थियो । एकैछिनमा त्यो बाफिँदो आकृतिले मयलपोस पहिरियो र बिलायो । उनको ठाउँमा निकोटिन मिश्रित धूवाँ उडाउँदै ब्रजेश खनाल आएर बसेका थिए । त्यत्तिकैमा एउटी आकृति मेरै छेउमा आएर बसी । आफ्नो चिल्लो तालुमा हत्केला खेलाउँदै उसले भनी, ‘म अनिद्रा ।’

म झसंग भएँ । त्यो बाटुलो मुडुलो टाउकोमुनि मेरै अनुहार थियो । मेरो मुटु ढुकढुक गर्न थाल्यो । मैले अनेकन जतन गरेर लुकाएका नीलडाम उसले खुलेआम पहिरिएकी थिई । ती सिक्रीहरू जसलाई म जसोतसो कपडाले छोपेर हिँड्थें, ऊ निर्वस्त्र ती सिक्रीहरू पहिरेर बसेकी थिई । उसको नांगा नितम्बमा रगतका बाछिटा थिए– उसको पाठेघरमा बाथटब फुटेको थियो वा नि:शब्द शमशेरको रगतले उसको आङ भिजेको थियो मैले सोध्नै सकिनँ । कताकता मनको कुन कुनामा हो गुलाम अली अस्पष्ट स्वरमा गाउँदै थिए–

‘दिलका लुटनेका सबब ना पुछो सब के सामने,

नाम आएगा तुम्हारा ये कहानी फिर सही है ।’

मिटुको जमानामा धेरैलाई यो रुमानी आदर्श असंगत लाग्न सक्छ । तर, मलाई न्याय र अन्याय, शोषक र शासितलाई छुट्याउने रेखा पानीको छाल झैं तरल र तिलष्मी लाग्छ । बाइबलमा एउटा कथा छ– एक समय इशु कुनै गाउँ भएर गुज्रिँदै थिए । गाउँको बीचमा परपुरुष गमनको आरोपमा एउटी महिलालाई सामूहिक रूपमा ढुंगा हानेर मृत्युदण्ड दिइँदै रहेछ । गाउँलेहरूले इशुलाई पनि ढुंगा हान्न उक्साए तर गहिरो करुणाले अभिभूत हुँदै उनले महिलाको पक्षमा वकालत गरे । गाउँलेहरू उल्टै खनिएर महिला पापी भएको जिकिर गरे । त्यसपछि इशुले भने, ‘ती व्यक्तिले मात्रै यी महिलालाई ढुंगा हानून् जसले कर्ममा मात्र हैन विचारमा पनि कुनै पापपूर्ण कृत्य चिताएको छैन ।’ कहानीअनुसार त्यसपछि कसैले ढुंगा उठाउने साहस गर्न सकेन ।

निश्चित रूपमा एउटा सानो सहरबाट आफ्नो पहिचान बनाउन राजधानी आएका कैयन् युवतीले झैं मैले पनि यो सहरको बीभत्सतम् चेहरा देखेकी छु । तर, मनोविज्ञानका विद्यार्थीका हिसाबले हेर्दा मलाई ‘मान्छे कस्तो हुनुपर्छ’ भन्ने आदर्शवादी दृष्टिकोणभन्दा ‘मान्छे कस्तो छ’ भन्ने जिज्ञासा ज्यादा विचारणीय लाग्छ । यसरी हेर्दा कतिपय अवस्थामा मैले शोषितको भूमिका निभाएँ पनि । कतिपय स्थितिमा मैले पनि आफूमुनिकालाई शोषण गरेकी छु । मलाई जति आफू शोषित भएकामा पीडा हुन्छ, त्यति नै उदेक आफूभित्रको शासकीय वृत्तिलाई देखेर हुन्छ ।

फेरि शासन गर्न चाहनु र शोषित हुन चाहनु हाम्रो मनोविज्ञानका आधारभूत लक्षण हुन् । गहिरो प्रेममा पर्दा व्यक्तिले या त सम्पूर्ण रूपमा आफूलाई सुम्पिएर वा सम्पूर्ण रूपमा अर्को व्यक्तिको जिम्मेवारी बहन गरेर प्रेम अभिव्यक्त गर्दछन् ।

कतिपय स्थितिमा आफ्नै मनोविज्ञान नबुझ्नाले हामी बिस्तारै सम्बन्धको त्यो चक्रब्यूहमा फस्छौं, जहाँबाट हामीलाई आघात पुग्न थाल्छ । ममाथि घटेका कतिपय शोषणका किस्सालाई विश्लेषण गर्दा पाउँछु, मैले प्रेमको नाममा केवल रुग्णता मात्रै जानेकी थिएँ । बाल्यकालदेखि नै प्रेमप्रतिको हाम्रो धारणा नकारात्मक हुन्छ । जिन्दगीको तिक्तताले रन्थनिएर क्लेस र सम्झौतामा जेलिएका सम्बन्धहरूको देखासिकी गर्दै मैले माया गर्न सिकें । ठूलो हुँदै जाँदा जहाँ क्लेस र सम्झौता हुँदैनथ्यो, त्यहाँ मलाई प्रेम नै हुँदैनजस्तो लाग्थ्यो । म जानीजानी प्रेमका नाममा त्यो अन्तरंग दु:ख खोज्दै हिँड्थें ।

त्यसैले मलाई थाहा थियो मिटुको ढुंगा उठाउनुअघि मैले आफैंभित्रका रुग्णतालाई बुझ्न र रेचन गर्न जरुरी थियो । बाथटब यही रेचनको गहिरो प्रयोग सावित भयो ।

अनिद्रा जसरी सपना र विपनाको दसगजामा उभिएकी छ, त्यसैगरी ऊ महिला र पुरुषबीचको पनि सन्धिकालजस्तो लाग्छे मलाई । उसमा बालसुलभ चाञ्चल्य त छ नै, साथै हयाम्लेटको विषदा र दर्शन पनि छ । जति उसमा स्त्रीसुलभ लयात्मकता छ, त्यति नै पुरुषगत दृढता पनि । यो मानेमा अनिद्रा न स्वास्नी मान्छे हो, न लोग्नेमान्छे– ऊ एउटा सिंगो मान्छे हो । कपाल फालेर मुडुलो भएको दिन मेरो मुखौटाको एउटा पत्र पखालिएर गयो । ऐनाबाट मलाई हेरिरहेको अनुहार हिजोजस्तो ‘सुन्दर’ र ‘स्त्रैण’ थिएन । त्यो अनुहार लोग्ने मान्छेको पनि हुन सक्थ्यो तर म त स्वास्नी मान्छे नै थिएँ । कि हैन ? म को थिएँ ? रटाइएका लिंगगत पहिचानका सबै प्रारूप नष्ट गरेमा हामी को हुन्छौं ? मलाई ऐना हेरेर बेस्सरी रुन मन लाग्यो । म पखालिँदै थिएँ, एकपछि अर्को मुखौटो मेटिँदै थियो । मेटिँदै गरेका मुखौटो शोषितको पनि थियो र शाषकको पनि । म नाटयकर्मी हैन । म त निजत्वको खोजमा निस्किएको अनाम पात्र हुँ । तर, जिन्दगीको सम्मोहन यति गहिरो छ कि हाम्रा सारा व्यक्तित्वका खोल केवल मुखौटो हो भनेर बुझ्न एउटा सानो नाटकघरको सेटमा छिर्नुपर्दो रहेछ । नाटक गरिरहँदा मलाई थाहा भयो, चरित्र निर्वाह गर्नु मानिसको नियति हो तर निर्वाह गरिरहेको चरित्रभन्दा बाहिर पनि हाम्रो अस्तित्व छ । अरूले निर्धारण गरेका भाष्यहरूभन्दा पर पनि हाम्रो निजत्व छ ।


नाटक गरिरहँदा मलाई थाहा भयो चरित्र निर्वाह गर्नु मानिसको नियति हो तर निर्वाह गरिरहेको चरित्रभन्दा बाहिर पनि हाम्रो अस्तित्व छ ।

प्रकाशित : फाल्गुन ७, २०७५ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?