कान्तिपुर कन्क्लेभ–‘लैंगिक समानता पुरुषकै लागि’

सुनीता साखकर्मी

काठमाडौँ — नेपाली समाजमा महिलालाई लक्ष्मी, दुर्गालगायत देवीका अवतारसँग जोडेर सम्मान दिने गरिन्छ । आस्थाकै भरमा मन्दिरकी देवी पुजिन्छिन् ।

‘महिला पुरुषको दाँजोमा कहिले ?’ सत्रमा (बायाँबाट) सुबिना श्रेष्ठ, लुना रञ्जित, सञ्जीव उप्रेती र नयनतारा गुरुङ कक्षपती ।तस्बिर : कान्तिपुर 

तर महिला पुज्ने समाजमा कतिपयले चेलीबेटी, श्रीमती, बुहारीलाई पनि देवीको मूर्तिलाई झैं स्थिर, शान्त र सीमित पार्न चाहन्छन् । ‘पोथी बास्नु हुन्न’, ‘रुद्रघण्टी नहुनेको विश्वास गर्नु हुन्न’ जस्ता टीकाटिप्पणी र भनाइ महिलाले सुनिरहेका हुन्छन् ।

देवीलाई मन्दिरबाहिर निस्किन प्रतिबन्ध लगाएझैं महिला घरमै बस्नुपर्ने भूमिका दिइएको छ । उनले सबैको गुनासो सुन्छिन्, तर बोल्न पाउँदिनन् । समाजले पुरुषलाई शक्तिशाली, निर्भीक र महिलालाई भने सहनशील, कमजोरजस्ता चरित्रको टयाग भिराइदिएको छ ।
कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर कन्क्लेभको दोस्रो दिन यसैमा केन्द्रित रहेर ‘महिला पुरुषको दाँजोमा कहिले ?’ विषयमा चर्चा गरियो । लामो समयदेखि मानव अधिकार र लंैगिक समानताकी अभियानकर्ता एवं अधिकार संस्थाकी सहसंस्थापक लुना रञ्जित, लेखक सञ्जीव उप्रेती र फोटो डट सर्कलकी सहसंस्थापक नयनतारा गुरुङ कक्षपतीले यो सेसनमा छलफल गरे ।

लैंगिक समानता पुरुषहरूकै लागि पनि फाइदाजनक हुने सञ्जीवले दाबी गरे । समाजले सानैदेखि पुरुषमाथि कहिल्यै रुन नहुने, शक्तिशाली हुनुपर्ने, पैसा कमाउनुपर्नेलगायत अवास्तविक भारी बोकाएको समेत उनले आरोप लगाए । लैंगिक समानताले यसलाई तोडेर पुरुषहरूलाई भावुक हुन सघाउनुका साथै सम्बन्धहरू मजबुत हुने मत उनले अघि सारे ।

‘सानैदेखि भनिने असमानताका कुराहरूले बालकको मस्तिष्कमा त्यही खालको विश्व दृष्टि निर्माण गरिदिन्छ,’ उनले भने, ‘कुनै पनि पुरुष ३६५ दिन शक्तिशाली रहन्छ भन्ने कुरा असम्भव हो । अनि कुनै महिलाले सार्वजनिक क्षेत्रमा काम गर्न थालिन् र शक्तिशाली देखिइन् भने ती पुरुषको विश्वदृष्टिमा खल्याङमल्याङ हुन सक्छ । अनि पुरुषमा महिलाहरूप्रति ईष्र्या जागेर त्यो हिंसाको रूपमा प्रकट हुन जान्छ ।’ तर सबै पुरुष महिलाको प्रगतिबाट आतंकित हुन्छन् भनेर सामान्यीकरण गर्न भने नहुने उनले सुनाए ।

अहिले विश्वभर चलेको ‘ही फर सी’ (महिलाका लागि पुरुष) क्याम्पेन नै चलेको छ । जहाँ पुरुषहरूले महिला अधिकारका पक्षमा वकालत गरेका छन् । कतिपयले यो नारा नै पितृसत्तात्मक रहेको आलोचना गरेका छन् । तर सञ्जीवको हिसाबमा अहिलेसम्म समाजमा सबै बराबर नभएकोले समानताको स्थितिमा नपुगुन्जेलसम्म आरक्षण गर्नुपर्छ ।

तर त्यसो भन्दैमा कति पुरुषले महिलालाई रक्षा गर्ने भूमिकामा देखिनुपर्छ वा महिलाहरूले दु:ख पाएकोले उनीहरूमाथि दया वा सहानुभूति राख्नुपर्छ भन्नेचाहिँ उनलाई लाग्दैन । पुरुषले महिलालाई साथ सहयोगका साथै समानुभूतिको अनुभव गराउनुपर्नेमा उनले जोड दिए ।

जतिसुकै बाहिर निस्केर काम गर्ने वा प्रगति गर्ने महिला भए पनि ऊबाट पूर्व निर्धारित मान्यता वा चरित्रको परिपालन होस् भन्ने आशा राख्ने गरेको लुनाले बताइन् । आफ्नै परिवारभित्र पनि पहिलेदेखि चल्दै आएको सिस्टम मानिदिए हुन्थ्यो भन्ने आशा गर्ने गरेको उनले सुनाइन् । ‘हाम्रै परिवारभित्र पनि यस्तो समस्या छ,’ उनले भनिन्, ‘घरमा महिलाहरू भएको अवस्थामा मेरा पतिले भान्सामा आफूले खाना खाएको थाल माझ्न खोज्दा उनलाई रोकिन्छ र भनिन्छ यो महिलाहरूको काम हो, तिमी नगर ।’ यस्ता आन्तरिक उत्पीडनबाट बाहिर निस्कनुपर्नेमा उनले जोड दिइन् ।

काठमाडौंमै हुर्किएकी उनले नेवार समुदायभित्रै पनि अन्तरजातीय विवाह गरेकी हुन् । सानैदेखि देख्दै आएको वर्ग विभेद, जातीय विभेदले गर्दा यसविरुद्ध लड्नुपर्ने भावना उत्पन्न भएको उनलाई प्रोत्साहन मिल्यो ।

पत्रकार सुबिना श्रेष्ठले सहजीकरण गरेको सत्रमा नयनताराले आजको महिलाको स्थितिलाई मूल्यांकन गर्नु पहिले इतिहासमा महिलाहरूको अवस्था कस्तो थियो भनेरबुझ्नुपर्ने बताइन् । अहिले पनि महिलाको स्थान घरभित्र नै हो भन्ने बुझाइ परिवर्तन नभएको उल्लेख गर्दै नयनताराले अहिलेसम्मको अवस्थासम्म आइपुग्न धेरै महिलाले संघर्ष गरेको दाबी गरिन् ।

तर महिलाहरूले सामाजिक सहभागिता, शिक्षालगायत समाजकै दायरा फराकिलो बनाउन र श्रम समायोजन गर्न गरेको लामो संघर्षलाई दस्तावेजीकरण नगरिएकोमा दु:ख व्यक्त गरिन् । ‘अदृश्य रूपमा रहेको इतिहासलाई विस्तारै सर्वसाधारणसम्म ल्याउँदा बुझाइ फरक हुन जान सक्छ,’ उनले भनिन्, ‘यसबारे रिसर्च गर्ने शीर्षक धेरै छन् ।’

नयनताराका अनुसार नेपालमा चलेको दसवर्षे सशस्त्र द्वन्द्वमा महिलामाथि भएको यौन हिंसाबारे पीडितले, सत्तापक्षले र विद्रोही पक्षले खुलेर नबोलेको उनले स्विकारिन् । समाजमा यौन वा यौन हिंसाबारे बोल्नै हिचकिचाउने गरेको उनले बताइन् । ‘बलात्कार र हत्यापछि मात्रै यौन हिंसा वा अपराधबारे कुराहरू बाहिर आउने गरेका छन्, त्यसबारे चर्चा हुन्छ, तर घरायसी रूपमा हुने हिंसाबारे बोलिँदैन, सजिलै पचाउँदै आइएको छ,’ उनले भनिन्, ‘खुला रूपमा यसबारे चेतना फैलाउन वा बहस गर्ने वातावरण मिलाउन घरबाटै पहल हुनुपर्छ ।’

प्रकाशित : फाल्गुन ७, २०७५ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्

‘लुट्न सके लुट् कान्छा’ : व्यंग्यलाई बारबेर !

पशुपतिले नियतवश पार्टीको पक्ष–विपक्षमा बोल्नुभएको हो जस्तो लाग्दैन । तर, अहिले हामी स्वतन्त्रताको उचाइमा छौं भन्दैमा जे भन्न खोजेको हो, त्यो डाइरेक्ट भन्नुपर्छ भन्ने छैन ।- मनोज गजुरेल, हास्यव्यंग्य कलाकार
सुनीता साखकर्मी

काठमाडौँ — प्रसंग १ ‘चढ्न नि हुने, जोत्न नि हुने, तर त्यसको गोबरले पोत्न नहुने, मुख नभा ’को, पुच्छरमा टाउकोमा गा ’को, त्यो के हो ?’ ‘भैंसी’‘हैन ।’

‘लुट्न सके लुट् कान्छा’ गीतको म्युजिक भिडियोमा गायक पशुपति शर्मा (बायाँ) । 

राष्ट्रिय गाउँ खाने कथा प्रतियोगिता भाग १ मा मदनवंश (मदनकृष्ण श्रेष्ठ) ले सोधेको प्रश्नको उत्तर थाहा नभएपछि हरिकृष्ण (हरिवंश आचार्य) ले काठमाडौं नगर पञ्चायत दिँदै ‘उत्तर के त ?’ भनेर सोध्छन् ।

काठमाडौं नगरपञ्चायतको सेरोफेरो सबै आफ्नो भन्दै मदनवंशले जवाफमा भन्छन्, ‘नेपाली जनता नि ! नेपाली जनतालाई चढ्न ’नि हुन्छ, जोत्न ’नि हुन्छ । नेपाली जनताको मुख छैन, त्यसले जे गरे ’नि बोल्दैन ।’

पञ्चायती कालमा पनि हलमा उपस्थित दर्शकहरू गलल्ल हाँस्छन् ।

प्रसंग २
‘पार्टीको कार्यकर्ता भएपछि मुसाको पनि यत्रो पावर ! मुसाको जति पनि पावर नभएको जागिर के खानु ! धिक्कार नै हो ।’

राजनीतिक दलका कार्यकर्ताबारे यसै भनेका छन्, मदनकृष्ण श्रेष्ठले ‘धूम्रकेतु’ प्रहसनमा । सप्रमाण पक्रिइएको अपराधीलाई छोड्न राजनीतिक दलका नेताको दबाब आएपछि मदनकृष्णले यही प्रहसनमा व्यंग्यात्मक गीत पनि गाउँछन् :

आँखा छोपी नरोऊ भनी भन्नुपर्‍या छ
नियमकानुन मिच्नेलाई ’नि छोड्नुपर्‍या छ ।
हलभरि हाँसो गुन्जिन्छ ।

प्रसंग ३
हास्यव्यंग्यकार शैलेन्द्र सिम्खडा देश तथा विदेशमा कार्यक्रम गर्न पुग्दा कविता वाचन गर्छन् । युट्युबमा विभिन्न च्यानलले अपलोड गरेका उनका भिडियोहरू हेर्ने र उनलाई मन पराउने दर्शक पनि धेरै छन् । एक पटकको कवितामा शैलेन्द्र भन्छन् :

देशको परिस्थिति
मुटु जलेर जेठ जस्तो
मन भत्किएर असार जस्तो
आँखा बर्सिएर श्रावण जस्तो
यति राम्रो देशमा जन्मिएर पनि कष्ट भोग्नुपर्ने
किनकि नेता छानेछौं रावण जस्तो ।
०००

विगतमा कलाकारहरूले सत्तालाई निसाना बनाएका व्यंग्यवाणका केही नमुना हुन् यी । हास्यव्यंग्यको इतिहास हेर्दा प्राय: राजनीतिक दल, नेता र कार्यकर्ता नै तारो बन्ने गरेको पाइन्छ । सामाजिक व्यंग्य पनि नभएका होइनन्, तर धेरैजसोले सुरुदेखि नै समसामयिक राजनीतिलाई व्यंग्यको माध्यमका रूपमा प्रयोग गर्दै आएका छन् ।

यही पृष्ठभूमिमा गायक पशुपति शर्माले पनि ‘लुट्न सके लुट् कान्छा...’ शीर्षक व्यंग्यगीत तीन दिनअघि युट्युबमार्फत सार्वजनिक गरे । यो गीत केही बेरमै युट्युब नेपाल ट्ेरन्डिङको शीर्ष १० मा समेत पर्‍यो । तर, पशुपतिको गीतको भाग्य उपर्युक्त तीनवटा उदाहरणको जस्तो रहेन ।

किन उठ्यो विवाद ?
पशुपतिको गीत सार्वजनिक भएपछि सत्तानिकट व्यक्ति र समूहहरूबाट गीतको विरोध हुन थाल्यो । सामाजिक सञ्जाल चलाउनेहरू पक्ष–विपक्षमा धु्रवीकृत भए । सत्तासीन नेकपाको भ्रातृ संगठन युवा संघ नेपालका उपाध्यक्ष किरण पौडेलले उक्त गीतले सरकार र सम्बद्ध दलको मानमर्दन गरेको दाबी गर्दै फेसबुकमा लामो पोस्ट राखे ।

उनले त्यो गीतमा भएका ‘कमजोरी’ बुँदागत रूपमा उल्लेख गर्दै पशुपतिका कार्यक्रमहरू आ–आफ्ना ठाउँमा बहिष्कार गर्न–गराउन युवा साथीहरूलाई अपिल गरे । पशुपतिले भिन्न राजनीतिक झुकाव र चरित्रको कारण योजनाबद्ध हिसाबले कम्युनिस्ट पार्टीलाई खुइल्याउँदै चुनावी गीत जस्तो गरी कांग्रेस पार्टीको पक्षपोषण गरेको पौडेलको आरोप थियो ।

उक्त गीतमा ‘डेढ अर्बको हेलिकप्टर’, ‘यमराजको शासन’, ‘कुकुर’, ‘वाइड बडी’ जस्ता शब्दावली प्रयोग हुनुले पशुपतिको दुर्नियत देखिएको भन्दै उनले पशुपतिलाई समयमै आफ्ना ज्ञात–अज्ञात गम्भीर त्रुटि नसच्याए उनको करिअरमा असर पर्न सक्ने कदम चाल्न आफू बाध्य हुने धम्कीसमेत दिएका थिए ।

विवादले थामिने नाम नलिएपछि पशुपतिले युट्युबबाट भिडियो हटाए, सुधारेर अपलोड गर्छु भन्दै । उनलेपनि युवा संघलाई प्रस्टीकरण जस्तो फेसबुकमा लामैपोस्ट राखेका थिए । पौडेलले यसका लागि पशुपतिलाई धन्यवाद दिए र विकृति–विसंगतिविरुद्ध अझ सशक्त रूपमा आवाज उठाउनका लागि कामना गर्दै आइन्दा कुनै निश्चित विचार र समुदायप्रति पूर्वाग्रह नझल्काउन घुमाउरो चेतावनीसमेत दिए ।

गीत जस्ताको तस्तै युट्युबमा राख्न आग्रह
पशुपतिले गीत युटयुबबाट निकालेपछि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले त्यसबारे पुनर्विचारगर्न पशुपतिलाई आग्रह गरेको छ । गीतबारे बहस चुलिएपछि आइतबार प्रतिष्ठानको आकस्मिक बैठकलेयस्तो अनुरोध गरेको हो ।

प्रतिष्ठानले उक्त गीत डिजिटल प्लेटफर्ममा राख्ने वा हटाउने सम्बन्धमा कहीँकतैबाट आधिकारिक निवेदन, अनुरोध वा जानकारी संस्थामा नआएको, गीत हटाउने विषयलाई लिएर संस्थामा कसैले पनि औपचारिक प्रस्ताव दर्ता नगराएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘पशुपति शर्माको गीतमा प्रयोग भएका शब्द कलाकार आफैंलाईफेर्न योग्य लागेर गीत हटाउनुभएको हो भने त्यो उहाँको निजी स्वतन्त्रताको कुरालाई संस्था सम्मान गर्दछ, तर कुनै दबाब या धम्कीका कारण हटाउनुभएको हो भने गीतलाई जस्ताको तस्तै पुन: अपलोड गर्नुहुन संस्था अनुरोध गर्दछ ।’
पशुपति प्रतिष्ठानका उपाध्यक्षसमेत हुन् ।

म जनताको गीत गाउने मान्छे : पशुपति
‘लुट्न सके लुट् कान्छा’ गीतमा प्रयुक्त शब्द र फुटेजमाथि युवा संघले आपत्ति जनाएपछि आफूले भिडियो हटाएको पशुपतिले स्विकारे । तर नियतवश कसैको आत्मसम्मानलाई हानि पुर्‍याउने किसिमले फुटेज र फोटो वा शब्दको प्रयोग नगरेको उनले प्रस्ट्याए ।

लोकगीतले लोकका भाव, मर्म बोक्नुपर्छ र केही न केही सन्देश सम्प्रेषण गर्नुपर्छ भनेरै आफूले सिर्जना गर्दै आएको उल्लेख गर्दै पशुपतिले कान्तिपुरसँग आइतबार राति भने, ‘बाटोमा हिँडिरहँदा आमा, हजुरआमा, बुवाहरूले भनेका कुराहरूलाई टपक्क टिपेर गाउने प्रयास गरेको हुँ । मेरो सिर्जनाले कसैको आत्मसम्मानमा ठेस पुग्छ भने मलाई पनि सन्तुष्टि हुन्न । म त जनताको गीत गाउँछु । जे देख्यो त्यही गाउँछु । मैले गाएको, लेखेको गीत सुन्नेलाई यसले त ठीक भन्यो है भन्ने पर्‍यो भने आफूलाई पनि मजा हुन्छ । कसैको आत्मसम्मानमा ठेस पुग्छ भने, कसैलाई चित्त दुख्छ भने मैले एउटा शब्द फेर्दैमा साह्रै घटेर सानो हुने पनि हैन । जिन्दगीभरि सरलतामा बग्नु पनि राम्रो हो, जटिलतामा दौडनुपर्छ भन्ने पनि त हैन ।’ युवा संघको आपत्तिलाई आफूले अन्यथा नठानेको पनि सुनाए ।

प्रतिष्ठानले कलाकारलाई समर्थन गर्दै र भ्रष्टाचारमाथि कलाकारले बोल्न पाउनुपर्ने भन्दै विज्ञप्ति निकालेकामा आफूलाई राम्रो लागेको पशुपतिले बताए । ‘तर, उक्त गीत प्रतिष्ठानको आग्रहबमोजिम पूर्ववत् अपलोड गर्ने वा सम्पादनसहित अपलोड गर्ने भन्नेबारे मैले सोच्न भ्याइसकेको छैन । कार्यक्रममा व्यस्त भएको हुनाले आइतबार मात्रै काठमाडौं आइपुगेँ । सोमबार यसबारेनिर्णय गर्छु ।’

‘समालाेचना हुनु राम्रो’
लामो समयदेखि हास्यव्यंग्य क्षेत्रमै जमेका कलाकार मनोज गजुरेलका अनुसार, स्रष्टाको रचनामा आलोचना वा समालोचना हुनु राम्रो हो । पशुपतिको गीतको विवादबारे उनले भने, ‘पशुपति नेपाली माटो बुझेको सर्जक हुनुुहुन्छ । जनताको लवजलाई आफ्ना रचनामा प्रस्तुत गर्ने गायकमा पर्नुहुन्छ । उहाँले नियतवश पार्टीको पक्ष–विपक्षमा बोल्नुभएको हो जस्तो लाग्दैन ।’

सुरुदेखि नै हास्यव्यंग्यमा घोचपेच वा त्रुटिलाई हास्यव्यंग्यकारले प्रस्तुत गर्दै आएको उल्लेख गर्दै उनले पहिले हुने व्यंग्यहरूमा कलात्मक पक्ष बलियो रहने गरेको बताए । ‘पहिले राजा र पञ्चायतको समयमा गरिने व्यंग्यहरू कलात्मक हुने भएकोले जसलाई व्यंग्य गरेको हो, त्यसैलाई थाहा भएन होला,’ उनले भने, ‘अहिले हामी स्वतन्त्रताको उचाइमा छौं । समय परिवर्तन भयो भन्दैमा स्रष्टामाथि कसैले नियन्त्रण गर्न चाहिँ सक्दैन ।’

प्रकाशित : फाल्गुन ६, २०७५ ०९:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्