कलाकारिताबाट समाजसेवा

दीपक अधिकारी

काठमाडौँ — २०७२ वैशाख १२ गतेको भूकम्पले हास्य कलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को जीवनमा नयाँ मोड ल्यायो । उनीहरू कलाकारिताबाट कल्याणकारितातर्फ मोडिए ।

ZenTravel

नेपाल टेलिभिजनबाट प्रसारित ‘मेरी बास्सै’ टेलिशृंखलाबाट जमेको यो जोडीले विनाशकारी भुइँचालोको प्रत्यक्ष अनुभव भने गर्न पाएन । त्यतिखेर उनीहरू काठमाडौंदेखि झन्डै ८ हजार माइल टाढा अमेरिकाको न्युयोर्क राज्यको सिराक्युज सहरस्थित एक नेपालीको घरमा थिए ।

एक महिना लामो सांगीतिक यात्राका क्रममा ९ वटा सोमार्फत अमेरिकामा रहेका सयाँै नेपाली र नेपालीभाषी भुटानीसमक्ष प्रस्तुति दिइसकेका थिए । उनीहरूको टोलीमा प्रमोद खरेल, पशुपति शर्मा, संगीता थापामगर लगायत कलाकार थिए । भोलिपल्ट बिहानै सेन्ट लुइस राज्यतर्फको हवाई यात्रा निर्धारित थियो । अस्ट्ेरलियामा बसोबास गरिरहेकी कुञ्जनाकी बहिनीले भूकम्पको खबर दिइन् ।

टेलिभिजन खोलेर हेर्दा काठमाडौं तहसनहस भएको दृश्य प्रसारण भइरहेको थियो । त्यसको एक महिनाअघि मात्र ‘मेरी बास्सै’ को एक शृंखलामा भूकम्पकेन्द्रित प्रस्तुति गरेका उनीहरूलाई ती दृश्य सपनाझैं लाग्यो । लगत्तै उनीहरू एक वर्ष पनि नपुगेकी छोरी सुविहानीलाई सम्झेर पिरोलिए ।

दिदी–भिनाजुको रेखदेखमा रहेकी छोरी र परिवारका अन्य सदस्य सकुशल भएको थाहा पाएपछि मात्र ढुक्क भए ।
अमेरिकामा छँदै उनीहरूले सामाजिक सञ्जालमार्फत सहयोगका लागि आहवान गरिसकेका थिए । नेपाल आएको भोलिपल्टै त्रिपाल, म्याट, दालचामल, चाउचाउलगायत राहत सामग्री लिएर सिन्धुपाल्चोक, नुवाकोट, धादिङ गए । स्थिति भयावह थियो ।

भूकम्पपीडितले बास र गाँस दुवै गुमाएका थिए । नेपाल सरकारको सरसफाइ दूतसमेत रहेका सीताराम र कुञ्जनाले सहयोग रकम शौचालय निर्माणमा खर्चिने सोच बनाएका थिए । काभ्रेको डाँडागाउँका अल्पसंख्यक पहरी जातिको अवस्था देखेपछि उनीहरूका लागि एउटा बस्ती नै बनाइदिने संकल्प गरे । अमेरिकामा जम्मा भएको १७ लाख रुपैयाँ सिन्धुपाल्चोकको पीपलडाँडामा १० वटा र नुवाकोटको ओखरपौवामा ४४ परिवारका लागि शौचालय तथा सोही जिल्लाको एक स्कुल भवन बनाउँदा सकिइसकेको थियो ।

जहाँ इच्छा, त्यहाँ उपाय भनेझैं उनीहरू एकातिर सहयोग रकम जुटाउन र अर्कोतिर स्वयंसेवकको दस्ता तयार गर्नतिर लागे । दुवै जना दिलोज्यानले निर्माण कार्यमा लागे, जसले अरूलाई पनि प्रेरित गथ्र्यो । दुई महिनाभन्दा बढी समय लगाएर करिब ६० लाख लागतमा पहिलो एकीकृत नमुना पहरी बस्ती निर्माण भयो । अरू भएको भए सायद यात्रा यहीँ टुंगिन्थ्यो ।

यो जोडीले सिन्धुपाल्चोकको गिरानचौरस्थित तामाङ बाहुल्य गाउँमा अर्को नमुना बस्तीको निर्माण गर्ने निधो गर्‍यो । सहयोग रकम उठाउने प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन धुर्मुस–सुन्तली फाउन्डेन स्थापना गरियो । तगाराहरू सामुन्ने थिए । कलाकारले पनि कहीँ घर बनाउँछ भनेर सुरुमा शंका गरिएको कुञ्जनाले बताइन् । ‘सीतारामजीहरूलाई लखेटियो तर बस्ती बनाएरै छाड्छु भनेर उहाँ लाग्नुभएको थियो,’ उनले भनिन् ।

त्यसरी बनाइएका घरलाई सरकारले मान्यता नदिने हो कि, सरकारी ऋण नपाइने हो कि भन्ने गाउँलेको चिन्ता थियो । ती चुनौतीलाई चिर्दै आफैं खटेर गिरानचौरमा धुर्मुस–सुन्तली फाउन्डेसनले १०० रोपनी जग्गामा ६५ वटा घर बनायो ।

धारा, बगैंचा, शौचालय र सामुदायिक भवनसहितको उक्त बस्ती २०७३ कात्तिक १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट भव्य समारोहबीच हस्तान्तरण गरियो । ‘वास्तवमा यसरी सामूहिक रूपमै बस्नुपर्ने रहेछ भन्ने सबैलाई महसुस भएको छ,’ बस्तीको सञ्चालक समितिका अध्यक्ष रामबहादुर तामाङ भन्छन्, ‘छरछिमेकमा केही पर्दा तत्कालै सबै जुटछन् ।’

सीताराम या कुञ्जनासँग निर्माणसम्बन्धी रत्तिभर अनुभव थिएन । धुर्म‘स–सुन्तली फाउन्डेसनको अभियान र निर्माण कार्यमा सामेल हुँदै गर्दा उनीहरूले सिक्दै गए । ती आयोजनाको शिलान्यास हुँदा निर्माण सम्पन्न हुने समयसीमा तोकिएको थियो । स्वयंसेवक बिहान ६ नबज्दै आयोजनास्थलमा लामबद्ध भइसक्थे ।

‘५० वटा घर बनाउनुपर्ने छ भने हामी १० वटा समूह बनाउँछौँ, पहिला आफ्नो जिम्मेवारी पूरा गर्नेलाई थप काम लगाउँछौँ,’ सीताराम भन्छन्, ‘यो सबै ऊर्जा र अनुशासनका कारण सम्भव भएको हो ।’ विदेशमा बस्ने नेपालीले पठाएको चन्दाबाट बनेका छन् अधिकांश आयोजना । त्यस्तो ‘पब्लिक मनी’ दुरुपयोग नहोस् भन्नेमा सचेत रहेको उनी बताउँछन् । ‘हाम्रा आयोजनामा नेपालीका भावना जोडिएका छन्, हरेक सामानको खरिदमा मै जान्छु र अन्तिमसम्म पनि मोलमोलाइ गर्छु,’ उनी भन्छन् ।

सोलुखुम्बुको नेचाबेतघारी गाउँमा जन्मिएका उनको परिवार २०४८ सालमा झापाको गौरादह बसाइँ सर्‍यो । निर्वाहमुखी किसान परिवारमा हुर्किएका उनी सानैदेखि सहयोगी थिए । ‘कक्षा ७ देखि हलो जोत्दै पढेँ,’ सीताराम भन्छन् । चित्रकलाका सौखिन उनी उच्च शिक्षाका लागि काठमाडाैं आएपछि हास्य कलाकार बने ।

पत्नी कुञ्जनाका अनुसार काममा दत्तचित्त हुने स्वभावले सफलता मिलेको हो । ‘म अलिक रमाइलो गर्नुपर्ने खालकी छु,’ उनले भनिन्, ‘उहाँ त अभिनय गर्दा मात्रै हँसाउने हो । अरू बेला काममा केन्द्रित रहनुहुन्छ ।’

हालैको एक मध्याह्न पुरानो बानेश्वरस्थित धुर्मुस–सुन्तली फाउन्डेसनको कार्यालय पुग्दा एक दिनअघि मात्र भरतपुर नगरपालिकासँग भएको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माण सम्झौताको चर्चा हुँदै थियो । ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको रंगशालाको विस्तृत परियोजना प्रतिवेदन बनाउनेदेखि साइट अफिस खोल्नेलगायत कामको चटारो थियो । धेरैले यो जोडीलाई राज्यले गर्नुपर्ने काम गरेको भन्ने टिप्पणी गरेका छन् ।

हुन पनि ठूल्ठूला परियोजना समयमा नटुंगिने र भ्रष्टाचार हुने क्रम बढिरहेका बेला उनीहरूले मानवीय सहायताको उदाहरणीय पहल गरेका छन् । ‘यो काम राज्यले नै गर्ने हो, हाम्रो कामले राज्यमाथि झन् दबाब परेको छ । त्यसमाथि राज्यले काम नगर्दा हामीले कस्ता मान्छे चुनेर पठाएछौं भन्नुपर्ने अवस्था आएको छ,’ सीताराम भन्छन् ।

प्रकाशित : फाल्गुन २, २०७५ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्

सरकारकाे एक वर्ष : अर्थतन्त्रका सूचक नकारात्मक

यज्ञ बञ्जाडे

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो ६ महिनामा अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक देखिएका छन् । गत वर्षको पहिलो ६ महिनाको तुलनामा शोधनान्तर स्थिति, व्यापार घाटा, प्रत्यक्ष वैदेशिक लगानी, विदेशी विनिमय सञ्चिति, मूल्यवृद्धिलगायत सूचक खस्किएका हुन् । 

राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आवको ६ महिनाको समग्र आर्थिक तथा वित्तीय प्रतिवेदनमा अर्थतन्त्रलाई चलायमान बनाइरहेको रेमिट्यान्स आप्रवाह भने घटेको छैन ।

अर्थतन्त्रका प्रमुख सूचक नकारात्मक देखिनु राम्रो संकेत नभएको अर्थविद् केशव आचार्यले बताए । ‘यो डरलाग्दो अवस्थाको संकेत हो,’ उनले भने, ‘अब तिनको कारण पहिचान गरी समाधानको उपाय खोजी गर्नुपर्छ ।’ विदेशी लगानीका लागि सरकारले आग्रह गरे पनि लगानीकर्ताले विश्वास नगर्दा यस्तो अवस्था आएको उनले बताए । ‘विदेशी लगानीकर्तालाई मुखले मात्र आह्वान गर्‍यौं,’ उनले भने, ‘व्यावहारिक रूपमा उनीहरूलाई लगानीमैत्री वातावरण भएको विश्वास दिलाउन सकेनौं ।’

चालु आवको पहिलो ६ महिनामा मूल्य वृद्धिदर ४.६ प्रतिशत छ । गत वर्षको सोही अवधिको तुलनामा यो ०.६ प्रतिशतले बढी हो ।

०७४ पुससम्म वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ४ प्रतिशत थियो । उक्त अवधिमा घरायसी सेवा तथा उपयोगिता, लुगा तथा जुत्ता, यातायात र फर्निसिङ तथा घरायसी उपकरणलगायतको मूल्य बढेकाले समग्र वृद्धिदर बढेको राष्ट्र बैंकले बताएको छ । क्षेत्रगत रूपमा सबैभन्दा धेरै मूल्यवृद्धि काठमाडौं उपत्यकामा छ ।

गत पुसमा काठमाडौं उपत्यकाको मूल्य वृद्धिदर ५.२ प्रतिशत छ । सोही अवधिमा पहाडमा ४.९ प्रतिशत, हिमालमा ४.५ र तराईमा ४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मूल्य वृद्धिदर काठमाडौं उपत्यकामा २.९, पहाडमा ४.४, हिमालमा ५.५ र तराईमा ४.४ प्रतिशत थियो ।

अहिले पनि नेपालको कुल व्यापारको करिब ६५ प्रतिशत हिस्सा भारतसँग हुन्छ । त्यहाँको मूल्यवृद्धिले नेपाली बजार पनि प्रभावित हुँदै आएको छ । गएको ६ महिनामा भारतको मूल्य वृद्धिदर २.०५ प्रतिशत छ । गत वर्षको तुलनामा पछिल्लो ६ महिनामा भारतको मूल्य वृद्धिदर घटेको हो । ०७४ पुसमा भारतको मूल्य वृद्धिदर ५.१ प्रतिशत थियो । भारतको मूल्य वृद्धिदर घटदा नेपालमा बढ्नु राम्रो संकेत नभएको अर्थविद् आचार्यले बताए ।

मुलुक साढे ६३ अर्ब घाटामा
पछिल्लो ६ महिनामा मुलुकमा भित्रिनेभन्दा बाहिरिने रकम (शोधनान्तर स्थिति) करिब साढे ६३ अर्ब रुपैयाँ बढी छ । राष्ट्र बैंकका अनुसार मुलुकको भुक्तानी सन्तुलन ६३ अर्ब ६८ करोड रुपैयाँले घाटामा छ । ०७४ पुसमा शोधनान्तर अवस्था ६ अर्ब ६६ करोडले ऋणात्मक थियो ।

मंसिरको तुलनामा पुसमा भुक्तानी सन्तुलनको अवस्था सुधारिएको हो । मंसिरसम्म अर्थतन्त्र करिब ८५ अर्ब रुपैयाँले घाटामा थियो । पुसमा १७ अर्ब ५६ रुपैयाँ विदेशी ऋण प्राप्त भएकाले शोधनान्तर घाटामा कमी आएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले बताए । चालु आवको ६ महिनामा सरकारले कुल ३३ अर्ब ३२ करोड रुपैयाँ विदेशी ऋण प्राप्त गरेको शोधनान्तर विवरणमा उल्लेख छ ।

चालु वर्षको ६ महिनामा ४ अर्ब ३६ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिएको छ । गत वर्षको यही अवधिको तुलनामा यो करिब ७० प्रतिशतले कम हो । ०७४ पुससम्ममा १४ अर्ब ३३ करोड रुपैयाँ एफडीआई भित्रिएको थियो । राजनीतिक स्थिरता आएको भनिए पनि अपेक्षित रूपमा लगानीमैत्री वातावरण बन्न नसकेकाले एफडीआई घटेको अर्थविद्हरू बताउँछन् ।

विदेशी विनिमय सञ्चिति घट्यो
गत पुससम्म कुल विदेशी विनिमय सञ्चिति १० खर्ब ५८ अर्ब २० करोड रुपैयाँ छ । अघिल्लोचोटिको तुलनामा यो ९ अर्ब १४ करोड रुपैयाँले कम हो । ०७४ पुसमा विदेशी विनिमय सञ्चिति १० खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ थियो । यस्तै, असारको तुलनामा पुसमा विदेशी विनिमय सञ्चिति करिब साढे ४४ अर्ब रुपैयाँले घटेको देखिन्छ ।

गत असारमा कुल सञ्चिति ११ खर्ब २ अर्ब ५९ करोड रुपैयाँ थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति ०७५ असार मसान्तमा १० अर्ब ८ करोड रहेकोमा ०७५ पुससम्म ९ अर्ब ४१ करोडमा झरेको राष्ट्र बैंकको तथ्यांक छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश साढे २४ प्रतिशत छ ।

६ महिनाको कुल आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ८.९ महिनाको वस्तु आयात र ७.८ महिनाको वस्तु तथा सेवा आयात गर्न पर्याप्त हुने राष्ट्र बैंकको दाबी छ ।

साढे ४ खर्ब रेमिट्यान्स
६ महिनामा रेमिट्यान्समार्फत ४ खर्ब ४३ अर्ब ३६ करोड रुपैयाँ मुलुक भित्रिएको छ । यो ३०.२ प्रतिशत वृद्धिदर हो । अघिल्लो वर्षको सोही अवधिमा ३ खर्ब ४० अर्ब रुपैयाँ रेमिट्यान्स आएको थियो । त्यति बेला रेमिट्यान्स आप्रवाह वृद्धिदर ०.५ प्रतिशतले घटेको (ऋणात्मक) थियो ।

पछिल्ला वर्ष रोजगारीका लागि बिदेसिने नेपालीको संख्या घटदै गएको छ । ‘अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३९.१ प्रतिशतले घटेको छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ, ‘अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.८ प्रतिशतले घटेको थियो ।’

व्यापार घाटा पौने ७ खर्ब
आयातको तुलनामा निर्यात धेरै कम हुँदा ६ महिनामा मुलुकले ६ खर्ब ७८ अर्ब ५३ करोड रुपैयाँको व्यापार घाटा बेहोरेको छ । गत वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा ३२.१ प्रतिशतको वृद्धि हो । ०७४ को पहिलो ६ महिनामा कुल व्यापार घाटा ४ खर्ब ९३ अर्ब रुपैयाँ थियो ।

उक्त अवधिमा ४५ अर्ब ४१ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । यो १०.३ प्रतिशतको वृद्धि हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १३.५ प्रतिशतले बढेको थियो । चालु वर्षको पहिलो ६ महिनामा पोलिस्टर यार्न, जस्तापाता, जडीबुटी, ऊनी गलैंचालगायत वस्तुको निर्यात बढेको छ । अलैंची, रोजिन, छाला, जुत्ता तथा चप्पल आदिको निर्यात घटेको सरकारी तथ्यांक छ ।

यसैगरी ६ महिनामा ७ खर्ब २३ अर्ब ९४ करोड रुपैयाँ बराबरको कुल आयात भएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो साढे ३० प्रतिशतको वृद्धि हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९.४ प्रतिशतले बढेको थियो । उक्त अवधिमा पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपुर्जा, एमएस बिलेट, तयारी पोशाक, अन्य मेसिनरी तथा पार्टपुर्जा लगायतको आयात बढेको छ ।

प्रकाशित : फाल्गुन २, २०७५ ०७:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×