कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

फोहोरबाट मोहोर

विद्या राई

काठमाडौँ — स्वयम्भुकी सानुमाया महर्जन भान्साबाट दैनिक निस्कने फोहोरलाई कुहिने र नकुहिने गरेर दुई भागमा छुट्याउँछिन् । कुहिने फोहोर जति भेला पारेर मल बनाउँछिन् । उनले दुई खाले मल बनाउँछिन्, पहिलो बिन कम्पोष्टिङ्ग र अर्को भर्मि कम्पोष्टिङ्ग मल ।

फोहोरबाट मोहोर

‘बिन’ प्लाष्टिकको भाँडो हो । त्यसैमा कुहाएर बनाएको मललाई नै बिन कम्पोष्टिङ्ग मल भनिन्छ । उनी भान्सामा काम नलाग्ने सागसब्जी, फलफुल, खानेकुरालाई भाडोमा जम्मा गर्छिन् । बेला–बेला फोहोरलाई ओल्टाइपल्टाइ गर्ने, हावा, पानी र ठोसको मात्रा मिलाउँछिन् । यसो हुँदा भाडोभित्र सड्न थालेको फोहोर सजिलै मल बन्छ । चुहिने, गन्हाउने, हिलाम्मे हुनबाट जोगिन्छ ।

माथिल्लो कौसीमा भर्मि कम्पोष्टिङ्ग मल तयार पार्छिन् । यसलाई गड्यौला मल पनि भनिन्छ । गड्यौलालाई फोहोर खुवाएर पचाएपछि बिष्टाएको पदार्थ नै भर्मि मल हो । कौसीको एकछेउमा चारवटा क्याबिनेट छन् । दुईवटामा नयाँ फोहोर जम्मा हुन्छ । सागसब्जी र फलफुललाई स–साना टुक्रा पारेर गड्यौलालाई खान दिइएको छ । गड्यौलाले बिष्टाएर तयार भएको मल अर्को दुईवटा क्याबिनमा छन् । गड्यौला र मललाई बोरा र प्लाष्टिकले छोपेर हावापानीको मात्रा मिलाइएको छ । त्यसलाई त्रिपालले राम्ररी छोपिएको छ । यसलाई पनि बेला बेला ओल्टाइल्टाइ गर्नुपर्छ ।

भान्साबाट निस्कने कुहिने फोहोरमध्ये ‘फ्रेस’ फोहोरलाई भर्मिको लागि प्रयोग गर्छिन् । अन्य सडेगलेका र भर्मिका लागि अनुपयुक्त मललाई बिन कम्पोष्टिङ्ग गर्छिन् । तयारी मल कौसी खेतीमा प्रयोग गर्छिन् । उभ्रेको भर्मि मल प्रतिकिलो ५० रुपैयाका दरले वर्षेनी हजार किलो बिक्रिसमेत गर्छिन् । गड्यौला पनि प्रतिकेजी तीन हजार रुपैयाँसम्ममामा बिक्री गर्छिन् ।

घरबाट निस्कने फोहोरलाई मोहोर बनाउने उदाहरणीय पात्र हुन्, उनी । उनले घरैमा यसरी मल बनाउन थालेको झण्डै डेढ दशक हुँदैछ । भन्छिन्, ‘मल तयार पार्नुपनि एक्वैरियमको माछालाई स्याहारे जस्तै हो, समयमा हेरचाह गर्‍यो भने राम्रै फाइदा हुन्छ, नभए बेकारको बिकार बन्छ ।’ फोहोरबाट मल बनाउनु सामान्य लागेपनि प्रक्रिया केहि झन्झटिलो छ । जाडो महिनामा मल तयार गर्न तीनदेखि साढे तीन महिना लाग्छ भने गर्मीमा ४५ दिनभित्रैमा बन्छ । उनी दैनिक १० देखि २० मिनेट मलका लागि समय छुट्याउँछिन् ।

बिन कम्पोष्टिङ्ग र भर्मि कम्पोष्ट मल बनाउने अवधारणाको करिब १६ वर्षअघि सुरुवात काठमाडौं महानगरपालिकाले थालेको थियो । महानगरमा फोहोरको मात्रा बढेर व्यवस्थापनमा चुनौती थपिएपछि बैकल्पिक समाधान स्वरुपमा यी दुई अवधारणा ल्याएको थियो । घरैमा फोहोरको मल बनाउने रहर भएका तर खुल्ला स्थान नभएका महानगरबासीलाई बिन कम्पोष्टिङ्ग गर्न तालिम तथा जनचेतना जगाउने काम गरेको थियो । महानगरपालिकाले दिएको तालिमबाटै उनले सिकेकी हुन् ।

सुरुवातीकालमा ३० प्रतिशत अनुदानमा बिन उपलब्ध गराइन्थ्यो । अहिले ५० प्रतिशत अनुदान छ । हालसम्म महानगरले ८ देखि १० हजार बिन वितरण गरिसकेको छ ।


बिन कम्पोष्टिङ्ग पछि भर्मि मलको अवधारणा आयो । २०५५ सालमा भारतको बैग्लोरबाट आइसिनिया फेडिरा जातिको गड्यौला ल्याएर अनुसन्धान गरियो । इच्छुक महानगरबासीलाई आवश्यक तालिम दिएर भर्मि मल बनाउन महानगरले नै हौसाएको थियो । विश्वमा झण्डै तीन हजार बढि प्रजातिका गड्यौला पाइन्छन् । त्यसमध्ये पाँचले मात्रै मल बनाउँछन् ।

सिसडोलको ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न समस्या थपिंदै गएपछि फोहोर संकलन गर्दै आएका निजी संस्थाले पनि कम्पोष्ट मल व्यावसायिक रुपमा उत्पादन थालेका छन् । नेपाल प्रदूषण नियन्त्रण तथा वातावरण निर्माण केन्द्र (नेप्सेम्याक) ले २०५४ बाट फोहोर उठाउन थालेको थियो । कुहिने फोहोरलाई ०५९ सालदेखि मल बनाउन सुरु गर्‍यो । नकुहिने फोहोरलाई पुन:प्रयोग केन्द्रमा लगेर बिक्री गर्छन् । कुल फोहोरको झण्डै २५ प्रतिशत फोहोर पुन: प्रयोग हुने खालका हुन्छन् ।

फोहोर कागजलाई प्रशोधन गरेर प्रयोग गर्न मिल्ने कागज तयार पार्छन् । जोरपाटीमा आफ्नै कागज कारखाना छ । भक्तपुरको राधेराधेमा कम्पोष्ट मल बनाउने कारखाना छ । जावलाखेल चिडियाखानामा १० वर्षदेखि कम्पोष्ट मल बनाइरहेको छ । चोभारको १३ रोपनी क्षेत्रफलमा ८ वर्षदेखि कम्पोष्ट मल बनाउदै आएका थिए । फास्टट्र्याकमा परेकोले हटाउन थालिएको छ ।


नेप्सेम्याकले काठमाडौं, ललितपुर र भक्तपुरको १० वटा नगरपालिकाबाट दैनिक दुईसय टन फोहोर उठाउँछ । तयारी मल बनाउन दुई महिना जति मेहनत लाग्छ । त्यसमध्ये दैनिक तीन देखि चार टन कम्पोष्टिङ गर्छन् । यहाँ करिब चार सय जनाले रोजगारी पाएका छन् । फोहोर संकलन गर्ने निजी संस्था काठमाडौंमा झण्डै दर्जन छन् ।

प्रभावकारी भएन बिन कम्पोष्टिङ

सकेसम्म फोहोर उत्पादन कम गर्न तथा फोहोरबाट मल बनाउन सहुलियत अनुदानमा महानगरले वितरण गर्दै आएको बिन कार्यक्रम भने खासै प्रभावकारी हुन सकेको छैन । ‘कुहिने र नकुहिने छुट्याऊ, कुहिनेलाई कम्पोष्ट मल बनाऊ र कौसी खेती गर भनी बिन दिएका छौं, कमैले मात्र जिम्मेवारीबोध गरेका छन्, धेरैले बिनलाई घरैमा थन्क्याएर राखेका छन्,’ महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला भन्छन् ।

महानगरबासीलाई लक्षित गर्दै वातावरण विभाग अन्तर्गत नमुनाको रुपमा स्रोतमा नै फोहोर वर्गिकरण गर्ने, मल बनाउने, पुन:प्रयोग गर्ने कार्यक्रम सञ्चालन तथा अनुगमन गर्न गत वर्ष १० लाख रुपैया खर्चेको थियो । यसवर्ष कुहिने फोहर जन्य मल बनाउन कम्पोष्ट बिन खरीदका लागि ५० लाख रुपैया विनियोजन गरिएको छ ।

फोहोर व्यस्थापनका चुनौतीलाई कम गर्न कार्यक्रम ल्याएपनि महानगरबासीहरुले बेवास्ता गरिदिंदा प्रभावकारी नभएको महानगरका अधिकारीहरुको भनाई छ । यसमा पानीको समेत समस्या दर्शाएका छन् । सरसफाई तथा घरायसी काममा प्रयोग गर्न अपुग भैरहेका बेला कौसी खेती गर्न पानीको जोहो हुन नसकेको स्थानीयको गुनासो छ ।

‘फोहोर बनाएर मात्रै नहुने, काठमाडौंमा खानालाई त पानी पुग्दैन, मल हालेर कौसी खेती गर्ने पानी कहाँबाट ल्याउनु ?’ रहर भएपनि प्राविधिक तथा भौतिक समस्याहरुले बिन कम्पोष्टिङ प्रभावकारी नभएको उनीहरु बताउँछन् ।

महानगरले हालसम्म ८ देखि १० हजार बिन अनुदानमा वितरण गरेको बताएपनि कतिले प्रयोग गरिरहेका छन् भन्ने बारेमा महानगर अनविज्ञ छ । धेरै थोरैले मात्रै प्रयोग गरेको अधिकारीहरु स्वीकार्छन् ।

घरैमा मल बनाए फाइदै फाइदा

कुहिने र नकुहिने फोहोरलाई छुट्याउने, कुहिनेलाई बिनमा हालेर कम्पोष्ट मल बनाउने र नकुहिनेलाई पुन: प्रयोग गर्ने वा कवाडीलाई विक्री गरी लाभ आर्जन गर्न सकिन्छ । उपत्यकामा दैनिक एक हजार ११ मेट्रिक टन फोहोर उत्पादन हुन्छ । जसमा ६ सय ६ मेट्रिक टन कुहिने फोहोर निस्किन्छ । कुहिने फोहोरलाई घरैमा व्यवस्थापन गर्ने हो भने मात्रै पनि ल्याण्डफिल्ड साइटमा बिसर्जन गर्नुपर्ने फोहोर निकै कम हुन जान्छ । उपत्यकामा प्रदुषणको मात्रा कम हुन सहयोग पुग्ने तथा रोजगार सिर्जना गर्ने नेप्सेम्याकका अध्यक्ष टिकाराम दाहाल बताउँछन् ।

कम्पोष्ट मल बनाएर कौसी खेती गर्ने हो भने विदेशबाट तरकारी आयात घट्छ, स्वच्छ ताजा तरकारी सेवन गर्न सकिन्छ, समय र खर्चको बचत हुन्छ, फोहोर उत्पादन पनि घट्छ । ‘आफैंले उत्पादन गरेको तरकारी खाँदा जति सन्तुष्टि लिन सकिन्छ उति नै वरपरको हरियाली वातावरणले पनि आनन्द दिलाउँछ,’ रातोपुलमा कौसी खेती गर्ने दिलिप श्रेष्ठको अनुभव छ । कौसी खेतीबाट चार/पाँच जनाको परिवारलाई पुग्ने तरकारी उत्पादन गर्न सकिन्छ । घरैमा मल उत्पादन गर्दा खर्च गरेर अन्यत्रैबाट किन्नुपर्दैन । रासायनिक मल खरिदमा लाग्ने खर्च पनि कटौती हुन्छ ।


प्रकाशित : मंसिर १४, २०७५ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?