नाफाको जिन्दगी !

कोमाबाट होसमा आएका शिव खनाल भन्छन्, 'मेरो जीवनका ३३ दिन गायव भएछन् ।'
प्रतिमा बाँस्कोटा

क्यालिफोर्निया (अमेरिका) — करीब ६ महिनाअघि सान्फ्रान्सिस्को बे एरियामा बस्ने नेपालीहरु माझ एउटा कहाली लाग्दो दुर्घटनाको खबर फैलियो । दुर्घटनामा परेका व्यक्तिलाई अस्पतालमा भेटेर आएकाहरुले घाइते जीवितै घर फर्किनेमा शंका गरिररहेका हुन्थे । दुर्घटनामा परेका व्यक्ति थिए, शिव खनाल ।

नाफाको जिन्दगी !

डिभी परेर चार वर्षअघि अमेरिका आएका तनहुँका खनालका लागि गत जुन १ गते शुक्रबार कालोदिन बनेर आयो । त्यही दिन उनी लिफ्ट (आफ्नो निजी गाडीलाई ट्याक्सीको रुपमा चलाउने सेवा) चलाउँदै गर्दा दुर्घट्नामा परे । त्यही दिनदेखि उनको जीवनको गति रोकिएको छ । ठुलो दुर्घटनमा परेर बाँचेका उनी अहिले कोठामा आराम गरिरहेका छन् ।


अलमादेन एक्सप्रेस वे नर्थमा अर्को तिरबाट तीब्र गतिमा आएको गाडीले आफ्नो गाडीलाई हिर्काएकोसम्म थाहा छ उनलाई । त्यसपछि के भयो ? उनलाई थाहा छैन, ३३ दिन पछि मात्रै उनी होसमा आए । भन्छन्, 'मेरो जीवनका ३३ दिन गायव भएछन् ।'


उनका काका नारायाण खनालको घरको ढोकामा अर्को दिन बिहान शिव दुर्घटना परेको भन्दै प्रहरीको भिजिङ कार्डमा घटना नम्बर र फोन नम्बर टाँसिएको थियो । सूचनामा अस्पताल र सम्पर्क गर्नुपर्ने व्यक्तिको फोन नम्बर थियो । नारायण बे एरियामै बस्छन् ।


नारायणका अनुसार दुर्घटना परेलगत्तै शिवलाई प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएका कारण बाच्न सफल भए । ‘प्लाष्टिकमा बेरेर अस्पताल लगिएको रहेछ, डाक्टरहरुले माया मारिसकेका रहेछन्,’ नारायणले भने, ‘९५ प्रतिशत बाँच्दैन भनेको मान्छे बाँच्यो ।’


अस्पतालमा हेर्न नारायणसँगै अर्का नेपाली ईश्वर सापकोटा पनि पुगेका थिए । ‘डाक्टरले बिरामी हेर्न सकिने अवस्थामा छैन, हेर्न सक्छस् भने हेर भनेका थिए,’ नारायणले भने, ‘दुई तीन पटक त ढोकामा पुग्दै फर्कियौं, तर मैले उसको परिवारलगायत अरुलाई पनि भन्नुपर्ने भएकाले हिम्मत गरेर भित्र पसें ।’ उनलाई श्वासप्रश्वास चलाउने विभिन्न प्रकारका २७ वटा मेसिन जोडेर राखिएको थियो ।


‘पेटमा रगत बगेको भन्दै आन्द्राभुडी बाहिर निकालिएको थियो,’ नारायण सम्झन्छन्, ‘मैले त्यस्तो त खसी काट्दा मात्र देखेको थिएँ ।’


उनलाई हेर्न जाने अधिकांश मानिस आत्तिँदै फर्किन्थे । बिरामी भेट्ने हरेक मानिसको मुखबाट बाँच्ने जस्तो त देखिँदैन भनेको सुनिन्थ्यो । दुईजना डाक्टर नियमित उनकै लागि खटिरहन्थे । डाक्टरसँगै आगन्तुकले भेट्न पाउँथे । डाक्टरका आँखा जतिखेर पनि अगाडिको मनिटरमा हुन्थ्यो । मेसिनबाट आउने आवाजमा डाक्टरहरुको निकै गहिरो ध्यान देखिन्थ्यो । भेट्न आउनेलाई डाक्टरहरु आस्वस्त बनाउन खोज्थे, 'नआत्तिनुस् हामी अधिकतम् प्रयास गरिरहेका छौं ।'


झण्डै ५ महिनापछि खुट्टा खोल्च्याउँदै अलि अलि हिँड्न सक्ने भएका शिवलाई अहिले नाफाको जीवन बाँचेको जस्तो लाग्छ । ‘यस्तो ठुलो दुर्घटनामा परेर बाँच्नु भाग्य हो,’ कुर्सीमा बसेका उनले लामो सास फेर्दै भने, ‘यो त कालसँग खोसेर ल्याएको मेरो नाफाको जिन्दगी हो ।’


दुई वर्ष अघिदेखि उबर/लिफ्ट चलाउन सुरु गरेका खनालले त्यो शुक्रबार ४० जना यात्रुलाई गन्तव्यमा पुर्‍याइसकेका थिए । लिफ्टले त्यो दिन ३ पटक यात्रु बोकेपछि अत्तिरिक्त १५ डलर दिने देखेपछि उनले चलाउन सुरु गरेका थिए । दुईजनालाई गन्तव्य पुर्‍याएर फर्किएका उनी तेस्रो बोक्न नपाउँदै दुर्घटनामा परे । टाउकोमा चोट लागेका कारण ब्रेन इन्ज्यूरी भयो, दुईवटै हात, खुट्टा भाँचिए ।


‘होसमा आएर आखाँ खुल्दा शरिर हल्लाउन मिलेन, मलाई कसले ल्याएर बाँधेर राखेछ जस्तै भयो,’ उनले भने । काका नारायणले दुर्घटनामा परेको र ३३ दिनपछि होस् आएको बताउँदा उनलाई अचम्म लाग्यो ।


अस्पतालबाट घर आउँदा पनि उनलाई सहज थिएन । ह्विलचेयर र वाकरको सहारामा हिँड्नुपर्ने । सानोसानो काममा पनि अरुको मद्दत चाहिने । त्यो बेला साथी सञ्जिव भट्टले निकै सहयोग गरे । त्यति पुरानो चिनजान पनि होइन, तर दुई महिनादेखि एउटै कोठामा बस्दै आएका उनका साथीले ठुलो गुन लगाए । ‘अप्ठ्यारो अवस्थामा गरेको मद्दत बिर्सिंदैन,’ उनले भने । थेरापीका लागि हप्तामा २ पटक अस्पताल जानुपर्छ । साथीहरुले नै लैजाने र ल्याउने गरेका छन् ।


उनलाई त्यो दिन रातीसम्म गाडी नकुदाएको भए हुन्थ्यो जस्तो लाग्छ अहिले । ‘बेलाबेलामा सोच्छु, तर फेरी यस्तो हुन लेखेकै थियो भनेर मन बुझाउँछु,’ उनी भन्छन् । अमेरिका आएको मानिस सामान्यतया फुर्सदमा बस्दैन । उनलाई यो दुर्घटनाले झण्डै एक सालका लागि फुर्सद दिएको छ । थेरापी सकिएपछि नेपाल जाने योजनामा छन् । ‘केहि समय बसेर फर्किन्छु,’ उनले भने ।


दुर्घटनामा परेको खबर नेपालमा रहेका आमा, बुवा र खनालकी श्रीमतीलाई दिइयो, त्यो पनि आधा लुकाएर । ‘सम्पुर्ण विवरण दिनसक्ने अवस्था नै थिएन, आधा आधा गर्दै भन्यौ,' काका नारायण खनालले भने, ‘बाँचेर आउलान् भन्ने आशै थिएन ।’


बुवा बिश्वनाथ र आमा भगवती तथा श्रीमतीले भिसाका लागि दूतावासमा आवेदन दिए । तर आमा र बुवालाई मात्र आउन दियो ।


‘उनी उता झन् चिन्तामा छिन्,’ शिवले भने, ‘उनलाई परिवार ल्याउने प्रक्रिया अन्तर्गत आवेदन दिएको हुनाले भिसा दिइएन ।’ छोरो दुर्घटनामा परेको खबरले आमा र बुबा मरे झैं भए ।


‘नारायणले फोन नउठाइदिंदा छोरो बितेछ जस्तो लग्थ्यो,' आमाले सुनाईन् । उनीहरु मरेर बाँचेको छोरो हेरेर यसै साता फर्किंदैछन् । उनीहरुलाई धेरै पटक छोरो अमेरिका नगएको भए हुन्थ्यो लागिरह्यो । गाडी कुदाउन राति नगएको भए हुन्थ्यो झैं लागिरह्यो । नयाँ जीवन पाएर आयो, त्यसैमा सन्तोष छ ।


अस्पतालले उनको उपचारको खर्च ९ लाख डलर निकाल्यो । औसत मानिसले यो खर्च व्यहोर्न सक्दैन । उनको उपचारको सम्पूर्ण खर्च स्वास्थ्य बिमाले ब्योहोर्‍यो । अमेरिकामा स्वास्थ्य बिमा अनिर्वाय छ ।


उनको उपचारमा मद्दत गर्न बे एरियामा सक्रिय रहेका नेपाली संस्था सन्नी सगरमाथाले गो फण्डमार्फत पैसा उठायो । सहयोगी नेपालीहरुले उनको उपचारमा सहयोगका लागि १२ हजार डलर दिए ।


उबर र लिफ्ट अमेरिकामा धेरै चल्ने ट्याक्सी जस्तै सेवा हो । सर्वसाधारण आफ्नो निजी सवारी साधनलाई उवर र लिफ्टका रुपमा प्रयोग गरेर आम्दानी गर्छन् । अमेरिकामा सवारी चलाएर आम्दानी गर्न जति सजिलो छ, ठुलो दुर्घटनामा पर्ने संभावना पनि उत्तिकै छ ।


नेसनल हाइवे ट्राफिक सेफ्टी डिर्पामेन्टका अनुसार पछिल्लो रिर्पोट अनुसार अमेरिका दैनिक १७ हजार २ सय ५० वटा सवारी दुर्घटना हुने गर्छन् । सन् २०१७ मा दुर्घटनामा परेर ४० हजार १ सय जनाले ज्यान गुमाए । त्यस्तै २०१६ मा ३७ हजार ४ सय ६१ जनाले ज्यान गुमाएका थिए ।

क्षतिपुर्ति पाएनन्

उनले हालसम्म न त लिफ्टबाट न त दुर्घटना गराउनेबाट क्षतिपूर्ति पाएका छन् । उनलाई दुर्घटना गराउने गाडीको इन्स्युरेन्स कम भएका कारण उनले कुनै प्रकारको क्षतिपूर्ति पाएनन् । उनले चलाई राखेको लिफ्टले दुर्घटना पर्दा यात्रु नभएको र यात्रु लिनसमेत नगएको हुनाले क्षतिपूर्ति दिन नमिल्ने बतायो ।


खनालको आफ्नै गाडीको बिमा भएपनि लिफ्ट चलाई राहेको भन्दै रकम दिन मानेन । उनको गाडी दुर्घटनास्थलबाट निजी ‘टो’ कम्पनीले लगेको छ । त्यसका लागि पनि पैसा खनालले नै तिर्नुपर्छ । गाडी अहिलेसम्म फिर्ता ल्याएको छैन, हरेक दिन पैसा उठिरहेको छ ।


प्रकाशित : मंसिर ७, २०७५ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?