कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जो चुपचाप मरेनन् 

दिवाकर बागचन्द

न्युयोर्क — प्रसिद्ध लेखक खुश्वन्त सिंहले आफ्नो "नट अ नाइस म्यान टु नो" भन्ने किताबमा "मरणोपरांत” भन्ने लेखमा आफु मरेपछि आफ्नो श्रदाञ्जली पत्रिकाले कस्तो लेख्लान् र त्यसपछि आफन्त, मित्र, विभिन्न व्यक्तिले कस्तो प्रतिक्रिया देलान् भन्ने बारे लेखेका छन् ।

जो चुपचाप मरेनन् 

त्यसले उनीहरुको जीवनमा के परिबर्तन आउला भनेर आफु मरेको कल्पना गरेका छन् । उनले आफ्नो मृत्युपछि संसारले गर्ने व्यवहारको चित्रणसमेत गरेका छन् ।


आफ्नो पार्थिक शरिरले संसारको "बिजनेश एज युजल" मा कुनै प्रभाव नपर्दा जीवित छँदा अपरिहार्य हुँ भन्ने मानवीय प्रबृत्ति भ्रम भएको कुरा सिंहले चित्रकार झै चित्रण गरेका छन् । यसमा कटाक्ष मात्र छैन, जीवन र मृत्यु छान्नु पर्दा, मृत्यु छान्न आफुलाई आपत्ति नहुने अभिव्यक्ति पनि उनको छ । त्यो लेख पढे पछि मैले कुनै व्यक्तिको मृत्यु पश्चात गुणगान या आलोचनात्मक लेख नलेख्ने सोच बनाएको थिएँ । तर केहि व्यक्ति यस्ता हुन्छन्, जसका बारेमा मौन रहँदा इतिहासले माफ गर्दैन । पद्मरत्न तुलाधर यस्तै एउटा व्यक्ति हुन् । उनको अबसानले मलाइ “रंग दे बसन्ती” भन्ने चलचित्रको एउटा शक्तिशाली सम्वादको याद आयो । “मलाइ लाथ्यो संसारमा दुई प्रकारका मान्छे मात्र हुन्छन् । एक जो चुपचाप मृत्युबरण गर्छन् । दोस्रो, जो रोइकराई बिलाप गर्दै मृत्युको हात पकड्छन् । बल्ल आज मलाई ज्ञात भयो तेस्रो सोचका व्यक्ति पनि हुन्छन् ।" तेस्रो सोच भन्नाले ति व्यक्ति जसले परविर्तन र सुधारका लागि सिस्टम भित्र रहेर बिद्रोह गर्छन् ।


एकात्मक निरकुंश पञ्चायती व्यवस्थामा रहेर लोकतन्त्रको माग राष्ट्रिय पञ्चायतभित्र गर्ने साहसिक नेता पद्मरत्न नै थिए । उनी जोगमेहर श्रेष्ठसंग चुनावमा उठेका थिए । उनी बास्तवमा जोगमेहरबिरुद् नभई ब्यबस्थाको खिलाफमा उठेका थिए । लोकतन्त्रको पक्षमा उठेका थिए । “सुर्य” चुनावी चिन्ह लिएर उठेका पदमरत्नको ओज सुदुरपश्चिमको गाउँमा पनि पुगेको थियो, त्यसैबेला । उनी नायक थिए, लोकतन्त्रका लागि । उनले चाहेको लोकतन्त्र सामाजिक न्यायमा आधारित थियो । लोकतन्त्रको स्थापना पछि उनी एउटा नयाँ अवतारमा देखिए, युद्धरत माओबादीलाई शान्ति प्रक्रियामा ल्याउने एउटा महत्वपुर्ण पात्र थिए उनी । तत्पश्चात, उनी मानव अधिकारकर्मीका रुपमा बढि चिनिए । रेपोर्टिङ्गको क्रममा मेरो अनेकौ पटक भेट भो पद्मरत्नसंग । उनीसंगको हरेक भेटमा मैले न्यानोपन पाएँ । भाषणमा आगो ओकल्ने पद्मरत्न मृदुभाषी र शालीन थिए । मेरो बिचारमा उनी मानव अधिकारकर्मी भन्दा न्यायका अभियन्ता थिए । सामाजिक न्याय राजनीतिको आत्मा हो भन्ने उनको बुझाई थियो । सामाजिक न्याय उनको जीवन पथ थियो ।

यद्यपि पछिलो समय उनी जनजाति नेता, अगुवाको रुपमा मात्र चित्रित हुन थाले । यसको कारण उनका केहि अभिव्यक्ति पनि हुनसक्छन् । उनका केहि बिचारसंग मेरो पनि बिमति नभएको होइन । बिमति लोकतन्त्रको सौन्दर्य हो । यसले एक अर्कालाई दुश्मन बनाउनु हुँदैन। बिमतिलाई कदर गर्दा विचार मन्थनबाट "गुण" दृष्ट्रिगोचर हुन्छ । यसले एक अर्काका गुण लिएर रास्ट्र निर्माणको "शुत्र" तयार पार्ने दुरदृष्टि प्रदान गर्छ । जुन हामीले सायद अहिलेसम्म मनन गरेका छैनौं, मनन गर्न चाहेका छैनौं ।


उनलाई एउटा जनजाति नेताको रुपमा मात्र परिभाषित गर्नु उनको बिराट व्यक्तित्वलाई संकुचित गर्नु हो । देश, काल, परिस्थिति, राजनीतिक र सामाजिक चिन्तनले उनलाई एउटा समुदाय बिशेषको पगडी लगाइयो या उनी लगाउन बाध्य भए । जीवनका विभिन्न भूमिका निभाएका एक सरल मानव थिए, पद्मरत्न । उनले सबै भूमिका बेजोड ढंगका साथ निभाए । सायद पद्मरत्नलाइ नै पनि थाह थिएन, समाजले आफुलाई मन नपरेको विचार/कार्यलाई मान्छेको पहिचान बनाई दिन्छ । बास्तवमा पद्मरत्नले देश र जनताको भलाइलागि खेलेका बिभिन भूमिका र गरेको योगदान नै उनको सहि पहिचान हो ।

कुनै पनि व्यक्तिलाई उसको, उसले निभाएको एउटा भूमिकाको आधारमा उठाउने या थेचार्ने काम न्याय संगत हुँदैन । पञ्चायती व्यवस्थाको बर्खिलाफ ज्यानको पर्बाह नगरी लड्ने पद्मरत्न, बन्दुकद्वारा सिस्टम बदल्न खोज्ने माओबादीलाई शान्ति प्रकृयामा ल्याउने पद्मरत्न, सबैसंग मिठो बोल्ने पद्मरत्न कसरी कुनै समुदाय बिशेषको मात्र हुन सक्छ? पद्मरत्न आफ्नो माटोलाई माया गर्ने एक नेपाली थिए । हामीले व्यक्तिका असल पक्षको अनुसरण गर्दै कमजोरीलाइ त्याग्दै अगाडि बढ्नु पर्छ । “रंग दे बसन्ती” मा भनिए झैँ पद्मरत्न तेस्रो प्रकारका, तेस्रो सिद्धान्त बोकेका व्यक्ति थिए, जो चुपचाप मरेनन्, रोएर बिलाप गरेर मरेनन्, अन्तिम पलसम्म न्यायपूर्ण समाज निर्माणको लडाई लड्दै बिदा भए । आज देशलाई यस्तै अनमोल रत्नहरुको खाँचो छ । नयाँ दुनिया सम्भव छ ।

प्रकाशित : कार्तिक २७, २०७५ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?