कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सामाजिक मनोविज्ञानमा परिवर्तन : ७२ हजारले गरे अाँखा दान गर्ने इच्छा

मरेपछि शव जलाउँदा खरानी हुने आँखा नानीको दान गरेका कारण १३ हजार ५ सय ७५ जना दृष्टी गुमाएका व्यक्तिले पुन:संसार देख्न पाएका छन् । 
भिषा काफ्ले

काठमाडौँ — चौबिस वर्षअघिको कुरा हो, डा. सन्दुक रुइतले भरखरै मात्र मानिसको मृत्युपछि नानी झिकेर अर्कैको संक्रमित भएर दृष्टि गुमेका आँखामा प्रत्यरोपण गर्ने अभियान सुरु गरेका थिए । त्यही बेला तत्कालीन राजगुरु अम्बिका प्रसाद विरामी भएर वीर अस्पतालमा भर्ना भएको थाहा पाए ।

सामाजिक मनोविज्ञानमा परिवर्तन : ७२ हजारले गरे अाँखा दान गर्ने इच्छा

उनी भेट्न पुगे, एक वर्षअघि अम्बिका प्रसादको आँखाको सल्यक्रिया पनि उनैले गरेका थिए ।


डा. रुइतको दुवै हात समाउदै अम्बिका प्रसादले भने, ‘अरु सबै काम गर्नु तर घाटमा पोल्न ठिक्क पारेको मान्छेको आँखा निकाल्ने काम चाही नगर्नु है ।’


हिजोआज डा. रुइत अम्बिका प्रसादको त्यो भनाइलाई त्यसबेलाको आँखादान सम्बन्धी सामाजिक मनोविज्ञानको रुपमा उल्लेख गर्छन् । डा. रुइतकै भनाइमा २४ वर्ष पहिले र अहिलेको आँखा दान सम्बन्धी सामाजिक मनोविज्ञानमा आकाश–पताल फरक आएको छ । ‘त्यो बेला मरेको मानिसबाट आँखा झिक्न हुँदैन भन्ने समाज अहिले आँखा दान, महादान भन्ने अवस्थामा पुगेको छ’ उनी भन्छन्, ‘सामाजिक चेतना परिर्वतन हुन समय लाग्छ । तर, परिर्वतन गराउनै नसकिने भने हैन ।’

२१ मंसिर २०५१ मा पहिलोपटक नेपालमै आँखाको नानी निकालेर दुई जना व्यक्तिमा प्रत्यारोपण गरिएको थियो । नेपालीबाटै निकालेर पहिलो प्रत्यारोगण गरेको २४ वर्षमा साँढे १३ हजार बढी दृष्टी गुमाएका मानिसले पुन: संसार देख्ने मौका पाएका छन् । तिलगंगा आँखा प्रतिष्ठानको आइ बैंकको तथ्यांक अनुसार हालसम्म १३ हजार ५ सय ७५ जनाको नानी प्रत्यारोपण गरिएको छ । ७ सय ६३ जनामा भने विदेशबाट दान स्वरुप उपलब्ध भएका नानी प्रत्यारोपण गरिएको छ ।


मृत्युपछि आँखा दान गर्न इच्छा राख्दै हस्ताक्षर गर्नेको सख्या ७२ हजार पुगेको छ । तर इच्छापत्रमा हस्ताक्षर गर्ने सबैको मृत्युको खवर नआइपुग्ने हुँदा नानी निकाल्न नपाइने गरेको बैंकका व्यवस्थापक शंख नारायण त्वाएना बताउँछन् । ‘आँखा दान गर्छु भनेर इच्छापत्र दिने मध्ये कतिपय दुर्गम स्थानमा पनि हुनुहुन्छ, सबैको मृत्यु भएको हामीलाई थाहा पनि हुदैन’ उनले भने, ‘नियमित सम्पर्कमा रहनको लागि पनि नैतिक रुपमा मिल्दैन, जसको परिवारबाट जानकारी आउँछ उहाँहरुकोमा हामी पुग्ने गरेका छौं ।’


नेपालमा हालसम्म सबैभन्दा बढी नानी संकलन काठमाडौं उपत्यकामा भएको छ । प्रत्यारोपणको ८० प्रतिशत संकलन काठमाडौबाटै हुन्छ । काठमाडौं बाहिर विराटनगर, पोखरा, कैलाली, विरगञ्जबाट पनि हुँदै आएको छ । पछिल्लो ५ महिनादेखि मेची र भरतपुरबाट पनि संकलन सुरु भएको छ । काठमाडौंका वीर, पाटन, गंगालाल अस्पताल,त्रिवि शिक्षण अस्पताल र पशुपति आर्यघाटमा आँखा संकलन हुन्छ । ‘अव उपत्यका बाहिर पनि संकलन केन्द्र स्थापना भएका छन्, पहिलेको भन्दा केही सहज हुन्छ,’ त्वाएनाले बताए । उपत्यकामा आँखा संकलन बढी भएतापनि आवश्यकता अनुसार संकलित नानी प्रत्यारोपण गर्ने पुर्वधार भएका उपत्यका बाहिरका अस्पतालहरुमा पनि पुर्‍याइन्छ ।


मनोमोहनको घोषणाले ल्याएको तरंग

३१ भाद्र २०५१ मा आँखा बैंकको स्थापना भएसंगै विदेशवाट नानी ल्याएर तिलगंगा अस्पतालमा प्रत्यारोपण हुनथाल्यो । त्यसको ६ महिनापछि पशुपतिमा दाहसंस्कार गर्न ल्याएका एक व्यक्तिको नानी निकालेर दुई जनामा प्रत्यारोपण गरियो । तर, त्यसले निरन्तरता पाउन सकेन । ‘विदेशबाट कतिवेला नानी आइपुग्ला भनेर दिनभर एयरपोर्टमा कुरेर बस्थ्यौं’ डा. रुइत सम्झन्छन्, ‘अनि रातभर लगाएर प्रत्यारोपण गर्थ्यौं ।'


२०५२ सालमा तत्कालिन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष मनोमोहन अधिकारीले आफ्नो मृत्युपछि आँखा दान गर्ने घोषणा गरे, त्यसपछि आँखा दानको लहरै चल्यो । अधिकारीको इच्छा अनुसार नै उनको मृत्युपछि आँखा निकालेर अर्को मानिसलाई प्रत्यारोपण गरियो ।


कम्युनिष्ट नेता निर्मल लामा, साहित्यकार केदारमान व्यथित, सर्वोच्च अदालतका पुर्व न्यायाधीश भरतराज उप्रेती, साहित्यकार जगदीस घिमिरे, चरित्र अभिनेत्री शान्ति मास्के, हास्य कलाकार हरिवंश आचार्यकी श्रीमती मिरा आचार्य, पूर्व प्रधानमन्त्री किर्तिनिधि विष्ट, पूर्व प्रधानमन्त्री माधव नेपालका वाबु मंगलकुमार उपाध्ययले पनि मृत्यु पश्चात आँखादानको इच्छा पत्रमा हस्ताक्षर गरेका थिए । उनीहरुको अन्त्यष्टी अघि आँखा निकाली अन्य मानिसमा प्रत्यारोपण गरिएको थियो ।

मृत्युपछि आँखा दान गर्ने इच्छा पत्रमा हस्ताक्षर गर्नेमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली पनि छन् । त्यसैगरी पुर्व प्रधानमन्त्री झलनाथ खनाल, माधव कुमार नेपाल, पुर्व उपसभामुख पुर्ण कुमारी सुवेदी, एमाले नेता प्रदीप नेपाल, कलाकारहरु हरिवंश आचार्य, मदन कृष्ण श्रेष्ठ, राजेश हमाल, करिश्मा मानन्धरलगायतले पनि मृत्युपछि आफ्नो आँखा दान गर्ने इच्छापत्रमा हस्ताक्षर गरेका छन् ।


९६ प्रतिशतमा सफल

प्रतिष्ठानकी नानी प्रत्यारोपण विशेषज्ञ डा. लिना बज्रचार्यका अनुसार मानिसमा आँखाको नानीको संक्रमणको कारण हुने अन्धोपन हटाउन नानी प्रत्यारोपण गर्नुपर्ने हुन्छ । नानीको माथिल्लो पारदर्शी भागमा कुनै कारणले फुलो परेको छ भने प्रकाशभित्र जान पाउँदैन र मानिसमा अन्धोपना हुन्छ । चोटपट लाग्नु, साना केटाकेटीमा भिटामीन एको कमी हुनु, प्रोटिनको कमीको कारण मालन्यूट्रिसन हुनु पनि यसको कारण हो । साथै वंशाणुगत कारण हुने क्याटोकोलसले पनि अन्धोपन हुने बज्रचार्यको भनाइ छ ।


यस्तो समस्या भएकाहरुमा समयमै समस्या पत्ता लगाएर गरिने प्रत्यरोपणको सफलताको दर उच्च रहेको उनको भनाइ छ । क्याटोकोलस तरुण अवस्थाबाटै सुरु हुने डा. बज्रचार्य बताउँछिन् । जुनसुकै कारण भएपनि आँखाको नानीमा हुने अन्धोपन निवारणको लागि प्रत्यारोपणको विकल्प छैन । प्रत्यारोपण अघि मात्र नभएर प्रत्यारोपण पछि पनि विरामीले धेरै विचार पुर्‍याउनु पर्नेमा जोड दिन्छिन्, उनी ।


‘अंग प्रत्यारोपण त्यसैपनि जटिल हुन्छ’ उनी भन्छिन्, ‘प्रत्यारोपण पछि चिकित्सकले दिएको सल्लाहलाई पालना गरे समस्या हुँदैन ।’ हालसम्म आँखा प्रत्यारोपण गरिएका मध्ये ९६ प्रतिशतमा सफल भएको तिलगंगा आँखा प्रतिष्ठान आइ बैंकको तथ्यांक छ । सफल नभएका ४ प्रतिशतमा पनि प्रत्यारोपण गर्ने विरामीले चिकित्सकको सल्लाहलाई वास्ता नगर्दा समस्या हुने गरेको विज्ञहरु बताउँछन् ।


प्रकाशित : कार्तिक ८, २०७५ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?