कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

दिनहुँ डेढ करोड

कपडा र खाद्यान्न किन्न सीमावर्ती बजारतिर भीड लागे पनि विराटनगरमा सुनको व्यापार बढेको छ । सुनकै कारण यहाँ दैनिक डेढ करोड रुपैयाँ पुँजी चलायमान भएको छ ।
विनोद भण्डारी

विराटनगर — दसैं भन्नेबित्तिकै राम्रो लगाउने, मिठो खाने प्रसंग आइहाल्छ  । यसैका कारण बजार थप चलायमान हुन्छ  ।

दिनहुँ डेढ करोड

दसैं भन्नेबित्तिकै राम्रो लगाउने, मिठो खाने प्रसंग आइहाल्छ । यसैका कारण बजार थप चलायमान हुन्छ । यसलाई खाद्यान्न, मरमसला, चौपाया र कपडा मात्र होइन, टेलिभिजन, गाडी र गहनाजस्ता नयाँ चिजबस्तु किन्ने अवसर पनि मानिन्छ ।

पहिले सरमुकाम रहेका बजारमा बढी चहलपहल हुन्थ्यो । अचेल बजार विकेन्द्रित भएपछि किनबेचको अवस्था पनि फेरिएको छ । विराटनगरलगायत सीमावर्ती बजार र आसपासका बासिन्दा नजिकको भारतीय बजार जाने क्रम निकै थियो ।
स्थानीयस्तरमै ठूला व्यापारिक मल खुल्ने क्रमसँगै अन्य बजारमा पनि सहुलियतमा सामान दिन थालिएपछि भारत जाने उपभोक्ता स्थानीय बजारमै आकर्षित हुन थालेका छन् । तैपनि सीमावर्ती बजारको प्रभाव अझै नहटेको व्यवसायीको गुनासो छ । दसैं आगमनसँगै कपडा, सवारी साधन, पहेंलो धातु र विद्युतीय सामग्रीको खरिद बिक्री बढ्दो छ ।

‘सीमावर्ती जोगबनी बजारको प्रभाव अझै हटेको छैन । त्यसैले विराटनगर बजारमा अपेक्षाकृत चहलपहल छैन,’ ६ दशकदेखि कपडा व्यवसाय गर्दै आएका कोसी वस्त्रालयका गुञ्जरीलाल अग्रवालले भने, ‘जोगबनीमा नेपाली उपभोक्ताको बाक्लो उपस्थिति हुने परम्पराले विराटनगर बजार सुनसान छ ।’

जोगबनीमा सस्तोमा उपभोग्य वस्तु पाइने बहानामा स्थानीय ग्राहक सीमापारि पुग्दा विराटनगरको व्यापार सुस्ताउँदै गएको नारायण स्टोरका रामचन्द्र तपडियाको बुझाइ छ । जोगबनी पुगेका उपभोक्ताले जति पनि सामान ल्याउन पाउछन ।

‘भन्सारले कडाइ गर्दैन,’ उनले भने, ‘त्यसैले विराटनगरको व्यापार सुस्ताएको हो ।’ भन्सारले एक व्यक्तिलाई बढीमा ५ हजारसम्मको सामान ल्याउन दिन्छ । दसैं र तिहारको समयमा उपभोक्तामार्फत मात्र दैनिक एक करोडभन्दा बढीको सामान जोगबनीवाट भित्रिन्छ । क्यारिङमार्फत पनि दैनिक सामान भित्रिने गरेको तपडिया बताउँछन् ।

विराटनगरमा कपडाका मात्र करिब दुई दर्जन पसल छन । बिक्री अपेक्षित रूपमा बढ्न नसकेको कपडा व्यवसायी संघका अध्यक्ष विनोद बोहरा बताउँछन् । ‘एउटा पसलको कारोबार दैनिक बढीमा १० हजार छ,’ उनले भने ।

दसैंमा विराटनगरमा दैनिक सरदर १० करोडको व्यापार हुनुपर्ने हो । ‘तर, अहिले सरदर डेढ करोडको व्यापार पनि छैन,’ मोरङ व्यापार संघ अध्यक्ष पवनकुमार सारडाले भने, ‘खुला सीमाना र जोगबनी बजारले विराटनगरको व्यापार सुकायो । कपडाको व्यापार त यहाँ छँदै छैन ।’ १५ प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याटका कारण विराटनगरको तुलनामा जोगबनीमा २८ प्रतिशत कपडा सस्तो छ । सारडाका अनुसार त्यसले पनि यहाँको व्यापार सुस्ताएको हो ।

कपडा र खाद्यान्नले उपभोक्तालाई सीमावर्ती बजारतिर ताने पनि विराटनगरमा सुनको व्यापार बढेको व्यवसायीको भनाइ छ । लगनको सिजनबाहेक अन्य दिन सरदर एक किलो सुनको व्यापार हुन्थ्यो । सुनचाँदी व्यवसायी संघका अध्यक्ष गणेश भगतले भने अहिले दसैंका नाममा दैनिक सरदर अढाईदेखि तीन किलोसम्म सुनको कारोबार भइरहेको जनाए ।

राष्ट्र बैंकले विराटनगरमा साताको एक किलो सुन उपलब्ध गराउँछ । ‘त्यति सुनले अहिले एक घण्टा पनि व्यापार गर्न पुग्दैन,’ उनले भने, ‘पुरानो सुनले बजार धान्दै आएको छ ।’ सुनको व्यापारले मात्र यस बेला विराटनगर बजारमा दैनिक डेढ करोड रुपैयाँ पुँजी चलायमान भएको छ । राष्ट्र बैंकले छठसम्म दैनिक चार किलो सुन दिए पनि खपत हुने भगतको भनाइ छ ।

दसैंका नाममा सवारीसाधनको बिक्री पनि बढ्दो छ । जग्गाको कारोबारसँगै घटेको सवारीसाधन कारोबार दसैंमा फेरि बढेको अटोमोबाइल्स एसोसिएसन मोरङका उपाध्यक्ष सुवास आचार्यले बताए । ‘दसैं र तिहारमा विराटनगरमा मात्र २ हजार पिस मोटरसाइकल र २ सय पिस चारचक्के बिक्री हुने अनुमान छ,’ उनले भने, ‘दुईवटा पर्वमा एक अर्बभन्दा बढीका सवारीसाधन बिक्री हुने अनुमान गरिएको छ ।’

डिपार्टमेन्टल स्टोरले पनि विराटनगरको बजारलाई चलायमान बनाएको छ । वैशाखदेखि सञ्चालनमा आएको भाटभटेनी डिपार्टमेन्टमा स्थानीय ग्राहकको चाप बढ्दो छ । यसको दैनिक कारोबार सरदर ६० लाख छ । दसैंका बेला दैनिक करोडसम्म कारोबार हुने सञ्चालकको भनाइ छ ।

साततले भवनमा कपडा, पेयपदार्थ, जुत्ता, चप्पल, तरकारी, फलफूल, विद्युतीय सामग्री, शृंगार सामग्रीलगायत ४० करोड रुपैयाँबराबरका सामग्रीको कारोबार हुँदै आएको छ । भाटभटेनीले यहाँ कारोबार सुरु गरेपछि सीमावर्ती जोगबनी बजार जाने ग्राहक केही घटेका छन् ।

दसैं–तिहारकै नाममा टेलिभिजन, फ्रिज, वासिङ मेसिन र ओभनको बिक्री पनि बढेको छ । दसैंमा करिब २० लाख मूल्य बराबरका यस्ता सामान बिक्री गर्ने व्यापारीको लक्ष्य छ । व्यवसायी अजय गिरीका अनुसार विश्वकप फुटबलको समयमा टेलिभिजनको बिक्री बढी भयो । दसैंमा वासिङ मेसिन, ओभन र फ्रिज बढी बिक्री हुन्छ । विराटनगरमा यी सामानका ठूला पसल डेढ दर्जन छन् ।

प्रकाशित : आश्विन २४, २०७५ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?