तराईमा आफ्नै शैलीको दसैं

तराईका आदिवासी समुदाय पनि दसैं मान्छन् । तर, उनीहरु टीका लगाउँदैनन् । नाचगान गर्ने, आफन्तकोमा जानो, मिठोमसिनो खाने चलन छ ।
पर्वत पाेर्तेल

झापा — समुदायपिच्छे दसैंका फरकफरक रङ छन्  । तराईका आदिवासी तथा सीमान्तकृत समुदायको पनि साझा पर्व हो यो  ।

समुदायपिच्छे दसैंका फरकफरक रङ छन् । तराईका आदिवासी तथा सीमान्तकृत समुदायको पनि साझा पर्व हो यो । झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने आदिवासी समुदायले अनौठो र रोचक शैलीमा दसैं मनाउँछन् ।

खडिया समुदायले दसैंलाई सामान्य चाडका रूपमा मात्रै मान्छ । कुलपूजा गर्ने, मिठोमसिनो खाने, नाचगान गर्ने चलन छ । यिनीहरू टीका लगाउँदैनन् । समुदायका अगुवा दशरथ खडियाले भने, ‘मन्दिर जाने, पूजा गर्ने, टीका लाउने चलन हाम्रोमा छैन ।’

बढीजसो झापामा बसोबास गर्ने सादरीभाषी समूहका मुन्डा, किसान, उराउ, मालपाडे, घाँसी, ग्वाल, बिर्जा, करुवा, रौतियालगायत जातिको दसैं मनाउने शैली मिल्दोजुल्दो छ । जुन पहाडे समुदायको भन्दा बिल्कुल भिन्न छ । मुन्डा समुदायमा कुल पूजा गर्ने, मिठोमसिनो खाने, एकअर्काका घरमा आउजाउ गर्ने चलन छ ।

समुदायका अगुवा बन्धनकुमार मुन्डाले सादरीभाषीअन्तर्गत पर्ने एक दर्जनभन्दा बढी जातिको दसैं मनाउने तरिका एउटै रहेको बताए । उनका अनुसार सादरीभाषीहरू टीका लगाउँदैनन् । खानपिन गर्छन् । मेला, महोत्सव जान्छन् । रमाइलो गर्छन् । ‘दसैंमा हामी पितृको पूजा गर्छौं, कसैकसैले दुर्गा देवीलाई पुज्छन्’, मुन्डाले भने, ‘सबै आदिवासीले प्रकृतिलाई पूजा गर्छन, हामी प्रकृतिपूजक हौं ।’

मुन्डाका अनुसार यी आदिवासी दसैंभन्दा तिहार र फागु पूर्णिमालाई विशेष चाड ठान्छन् । पहाडे समुदायले तिहारको औँसीलाई विशेष रूपमा मनाउँछ । उनीहरू पूर्णिमालाई विशेष चाड ठान्छन् । मुन्डाले भने, ‘सादरीभाषीको दसैं मनाउने शैली अन्यभन्दा फरक छ ।’

आदिवासी सन्थाल (सतार) लाई भने दशाँए एनेका अर्थात् दसैं नाचको चटारो हुन्छ अष्टमीदेखि एकादशीसम्म । टोलटोल, बजारमा वाद्यवादनसहित नाच निकाल्छन् । यो समुदायले दसैंलाई यसरी नै मनाउँछ । टीका लगाउने चलन सन्थालहरूमा पनि छैन । झापाका गौरादह, लखनपुर, कोहबरा, बैगुनधुरा, कोरोबारी, गरामनीलगायत स्थानमा सन्थालहरूको बाक्लो बसोबास छ ।

दशाँएमा उनीहरू सामूहिक नृत्य गर्छन् । एक समूहमा २० देखि १ सय २० जनासम्म नर्तक सहभागी हुन्छन् । महिलालाई भने नृत्यमा सहभागी गराइँदैन । ‘तर, उनीहरू नर्तकलाई भरपूर हौसला प्रदान गर्छन्,’ गरामनीका टेप्रा मुर्मु भन्छन्, ‘नृत्यमा शक्ति प्रदर्शन र वीरगाथा गाइने हुनाले पुरुष मात्रै सहभागी भएका हुन् ।’

सन्थालहरू लामो बाँसमा मयूरको प्वाँख बाँधिएको आलम अगाडि उभ्याउँछन् र तुम्दा, तामाक, कुरताल, दारामलगायत बजाउँदै तालमा ताल मिलाएर नाच्छन् । उनीहरू मयूरको प्वाँखलाई सद्भाव र विजयको प्रतीकका रूपमा लिन्छन् । नर्तकहरू शिरमा फेटा बाँधेर मयूरको प्वाँख सिउरिन्छन् ।

समुदायका अगुवा तथा पूर्वसभासद मोहन टुडुका अनुसार पहाडे समुदायको तीजजस्तै हुन्छ, उनीहरूको दसैं । चेलीबेटी बोलाएर मिठोमसिनो ख्वाउने चलन छ । ‘दुर्गाको पूजा गर्छन् । टीकाचाहिँ लगाउँदैनौं’, उनले भने, ‘हिजोआज त टीका लगाउने चलन पनि भित्रिँदै गएको छ ।’

खासगरी पहाडे समुदायसँग बिहे गर्नेहरूले टीका लगाउन थालेको उनले बताए । लोपोन्मुख मेचे समुदायमा पनि दसैंमा टीका लगाइँदैन । मिठोमसिनो खानपिन, आफन्त नातागोतासँग भेटघाट अनि रमाइलो गरिन्छ । समुदायका अगुवा सानबहादुर मेचेले भने, ‘हाम्रो पुरानो पुस्ताले टीका लगाएको थाहा छैन तर नयाँ पुस्ताहरूमा प्रभाव पर्दै गएको छ । अन्तरजातीय बिहेजस्ता कारणले पनि टीका लगाउने चलन स्विकार्न थालेको देखिन्छ ।’

लोपोन्मुख किसान समुदायका अगुवा कहरू किसानका अनुसार यो समुदायले पनि टीका लगाउँदैन । तर, मिठोमसिनो खाएर नाचगान गर्दै दसैं मनाउँछ । खासगरी नवमी र दशमी दुई दिन मात्रै मान्ने चलन छ । ‘दसैंभन्दा तिहार भव्य रूपमा मान्छौं,’ कहरूले भने, ‘लक्ष्मीपूजादेखि पूर्णिमासम्म नै मनाउँछौं ।’ यो समुदायमा यसै बेला न्वागीसमेत खाने परम्परा छ ।

राजवंशी समुदायमा नवमीदेखि एकादशीसम्म दसैं मनाउने चलन छ । खासगरी मेला जाने, घुङ्नी मुरी, जलेवी खाने, रमाइलो गर्ने गरिन्छ । नवमीमा गरामनीमा मेला लाग्छ । त्यसपछि क्रमश: चारआली, शनिश्चरे, वैशाबारी तथा फूलबारीमा मेला लाग्छ । तर, यो चलन क्रमश: हट्दै गएको राजवंशी समुदायका अगुवा पत्रकार इन्द्रसिंह राजवंशीले सुनाए । ‘मेला भर्ने ठाउँ सबै अतिक्रमित भइसक्यो,’ उनले भने, ‘सहरीकरणका कारण घरहरू थपिए. ।’

विगतमा गच्छेअनुसार हात्ती, घोडा र गोरुगाडामा चढेर टाढाटाढा मेला भर्न जाने चलन थियो । तर, अहिले लोप हुँ‘दै गएको छ । ‘हिजोको जस्तो दसैं छैन अहिले,’ इन्द्रसिंहले भने । राजवंशीहरू टीका लगाउँदैनन्, दुर्गा पूजा भने गर्छन् ।

तराईको लिम्बू मानिने धिमाल समुदायले दसैँ मनाउँदैन् । तर, दसैं मान्ने समुदायको बाहुल्यका कारण पछिल्लो पुस्तामा भने यसको प्रभाव पर्दै छ । कसैकसैले दसैं मान्न थालेका छन् । धिमालको मुख्य चाड दुङदुङे हो । यसलाई नै उनीहरू दसैंजस्तै ठान्छन् ।

मंगोल नेसनल अर्गनाइजेसनका प्रवक्ता दिलीप धिमालका अनुसार अनुसार दसैं आदिवासीको चाड होइन । यो पार्टीले लामो समयदेखि दसैं बहिष्कार अभियान सञ्चालन गर्दै आएको छ । धिमाल भन्छन्, ‘दसैं हाम्रो चाड होइन, पुर्खा पतन भएको दिन हो ।’

प्रकाशित : आश्विन २४, २०७५ १३:०४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सिलिगुडीबाट ३२ किलो सुनसहित तीन पक्राउ

पर्वत पाेर्तेल

काँकडभिट्टा — यहाँ ३३ किलो सुन हराएको काण्ड चर्चामा रहेकै बेला भारतको सिलिगुडीबाट ३२ किलो सुनसहित तीन भारतीय पक्राउ परेका छन्  ।

भारतको केन्द्रीय राजश्व गुप्तचर विभागको टोलीले शुक्रबार अपरान्ह सिलिगुडीको सेवोक रोड क्षेत्रबाट सुनसहित तीन जनालाई पक्राउ गरेको हो।

भारतीय प्रहरीलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएअनुसार पक्राउ पर्नेमा प्रवीण समराव फदम, धनाजी साहेव राव वावर र अक्षय हरिदास छन्। तीनै जना महाराष्ट्रका बासिन्दा हुन्।
उनीहरुले कम्मरमा वाँधिएको विशेष किसिमको पेटीभित्र लुकाएर सुन तस्करी गरी महाराष्ट्र लैजान लागेका थिए। उक्त सुन चीनबाट नाथुला मार्ग हुँदै सिलिगुडी भित्रिएको प्रहरी अनुमान छ।

प्रकाशित : जेष्ठ १९, २०७५ ११:३६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×