कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भेटीले दुई स्कुल

वीरेन्द्र केसी

अर्घाखाँची — सुपादेउराली मन्दिरमा शनिबार भीड धेरै हुन्छ । वर्षमा ४० देखि ६० लाख भेटी जम्मा हुन्छ । यही आम्दानीले खाँचीकोटको आदर्श मावि र सीतापुरको शान्ति निमावि धानिएका छन् । १० शिक्षकलाई तलब पुगेको छ ।

भेटीले दुई स्कुल

‘भेटी नभएको भए ९ र १० कक्षा सञ्चालन गर्न सम्भव थिएन,’ आदर्श माविका प्रधानाध्यापक डिल्लीराज थापाले भने, ‘६ शिक्षकलाई तलब पुगेको छ ।’ १८ मध्ये ४ शिक्षक मात्रै स्थायी छन् । शान्तिमा रहेका १० मध्ये ४ शिक्षकलाई तलब दिन पुगेको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष हीरासिंह गुरुङले मन्दिरबाट पैसा नआएको भए कक्षा ७ सम्म सञ्चालन गर्न असम्भव रहेको बताए । धेरैजसो गुरुङ, मगर र दलितका छोराछोरी पढ्न सजिलो भएको उनले बताए ।


बस्तीबाट स्कुलमा आउन घण्टौं लाग्छ । ‘आदर्शका ६ शिक्षकका लागि १ लाख र शान्तिका ४ शिक्षकका लागि ६२ हजार रुपैयाँ मासिक दिएका छौं,’ मन्दिर सञ्चालन समिति सचिव यादवप्रसाद घिमिरेले भने, ‘भक्तजन बर्सेनि बढिरहेका छन् । भेटीको पैसा पनि बढेकाले सजिलो भएको छ ।’ दुवै स्कुलको भवन निर्माणका लागि ३२ लाख रुपैयाँ खर्च भएको छ । मन्दिरमा वैशाख, जेठ, असोज, कात्तिक र मंसिरमा भक्तजनको घुइँचो लाग्छ । ‘वैशाखको भेटी ८ लाख पुग्यो,’ घिमिरेले भने । तीन पुजारीलाई मासिक ३० हजार तलबमा खर्च हुन्छ । अरू पैसा शिक्षा, विकास निर्माण र गरिब असहायका लागि खर्च हुन्छ ।


पछिल्लो समय भारतीय श्रद्धालुको घुइँचो लाग्न थालेको छ । सीतापुरमा बिजुली विस्तारका लागि गत वर्ष ४ लाख, सीतापुर–घुम्ती मोटरबाटो, देउराली–खर्‍यान–भुवनडाँडा मोटरबाटो मर्मतका लागि ८ लाख रुपैयाँ खर्च भएको समिति अध्यक्ष पृतमबहादुर थापाले बताए । भूकम्पपीडितका लागि प्रधानमन्त्री राहत कोषमा १ लाख रुपैयाँ पठाइएको थियो ।


थापाका अनुसार २ करोडमा देउरालीमा धर्मशाला भवन निर्माण भइरहेको छ । ‘मन्दिरको भेटी बेलुका दैनिक हिसाब गरी राख्छौं,’ उनले भने, ‘सबै पैसा बैंकमा जम्मा हुन्छ । त्यसपछि महिना र वर्षको हिसाब गरी गाउँको विकासमा लगानी गर्दै आएका छौं ।’


अर्घाखाँची, गुल्मी र प्यूठानका पायक पर्ने गाउँबाट कपिलवस्तुको पत्थरकोट पुगी नुन बोक्ने ढाक्रे देउरालीमै बास बस्थे ।


पहाडको खोपीजस्तोमा देउता भेटिएपछि ०४२ देखि त्यहीं पूजा गरिएको थियो । नर्तनाञ्चल पहाडको बीचबाट सदरमुकाम जोड्न पूर्वपश्चिम राजमार्गको गोरुसिंगे–सन्धिखर्क सडक निर्माण भएपछि पूजा गर्ने ठाउँलाई तलबाट माथि बाटाको छेउमै सारियो । खाँचीकोट र नरपानीका स्थानीयले कच्ची मन्दिर बनाए । सुपादेउरालीमा भक्तजनले इच्छाएको पूरा हुने विश्वास छ । ०६४ सालमा बाबा गुरुका नाममा चिनिने नरनारायणले करिब ३ करोडमा आधुनिक मन्दिर निर्माण गरेका थिए ।

प्रकाशित : आश्विन १२, २०७५ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?