१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

शुक्रबारेमा राखिँदै घण्टैपिच्छे बज्ने मौलिक धुनसहितको घडी

चन्द्र कार्की

तेह्रथुम — च्याब्रुङकै धुनमा घण्टैपिच्छे बज्ने घडी । घडीको आकार पनि च्याब्रुङकै । लिम्बू जातिको संस्कृति बोक्ने च्याब्रुङ घर (केपाङ) नै बन्दै छ छथर गाउँपालिकाको केन्द्र शुक्रबारेमा । त्यहींबाट आसपासका गाउँ–टोल सबैले थाहा पाउने गरी घण्टैपिच्छे बज्ने मौलिक धुनसहितको घडी पनि राख्न लागिएको हो ।

शुक्रबारेमा राखिँदै घण्टैपिच्छे बज्ने मौलिक धुनसहितको घडी

घडी त एउटा आकर्षण मात्र पो । च्याब्रुङ घरभित्र बेग्लै संग्रहालयसमेत हुनेछ । त्यसमा लिम्बू जातिभित्रका अनेक थरले चाडबाडमा प्रयोग गर्दै आएका सामान, जन्म, मृत्यु र विवाह संस्कारलगायत झल्कने सामान हुनेछन् । ‘परम्परागत लिम्बू संस्कृतिलाई च्याब्रुङले बचाइराख्नेछ । त्यही कारण यो घर बनाउन लागिएको हो,’ छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले भने । एक करोड रुपैयाँ लागत अनुमान गरिएको यो घरको काम सुरु भइसकेको छ । तीन वर्षभित्रै बनाइसक्ने लक्ष्य राखिएको छ । लिम्बू भाषामा ‘के’ को अर्थ बाजा अर्थात् ढोल र ‘पाङ’ को अर्थ घर भन्ने हुन्छ । च्याबु्रङ घरमा लिम्बू जातिको संग्रहालयबाहेक ५ सयजना अट्न सक्ने फराकिलो सभाहल पनि बन्दै छ । घरको माथिल्लो भागमा टाढैबाट देखिने गरी च्याब्रुङकै आकारमा घडी पनि हुने गाउँपालिका प्रवक्ता राजन नेपालीले जानकारी दिए ।

यो कामका लागि गत वर्ष नै २० लाख रुपैयाँ छुट्याइएको थियो तर समय अभावले ३ लाख रुपैयाँ मात्र खर्च भएको छ । क्रमागत योजनाका रूपमा बजेट व्यवस्था गरेर घर निर्माण गरिने अध्यक्ष लिम्बूले बताए । छथर क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले च्याबु्रङ घर निर्माण थालिएको हो । संग्रहालयमा राख्न सामान खोजी गर्ने कामसमेत भइरहेको छ । लिम्बू जातिका पुर्खाले पूर्वी नेपालमा राज्य गर्दा प्रयोग गरेका हतियारहरू ढाल, तरबार, तोप, भरुवा बन्दुकलगायत सामानसमेत संकलन गरेर राखिने लिम्बू संस्कारका जानकार थानाहाङ तिगेलाले बताए ।

छथर गाउँपालिकाभित्रै २ स्थानमा निसानहरू छन्, जहाँ पुराना सामग्री बेवारिसे छन् । घरलाई जातीय संग्रहालयका रूपमा विकास गरी इतिहास, धर्म, संस्कार, संस्कृति र पहिचानसँग जोडिएका पुस्तकसमेत राख्ने गरी पूर्वाधार निर्माण थालिएको हो । चालु आवमा खर्च गर्ने गरी गाउँपालिकाले २० लाख रुपैयाँ खर्च छुट्याएको छ । गत वर्ष बचत भएको १७ लाख रुपैयाँसमेत यसै वर्ष खर्च गर्ने गरी काम भइरहेको अध्यक्ष लिम्बूले जानकारी दिए । यसअघि ‘प्रधानमन्त्री पार्क’ निर्माण सुरु गरिसकेको छ । गाउँपालिकाले शुक्रबारे बजार नजिकैको डाँडामा छथर भ्युपार्क पनि बनाइरहेको छ ।

च्याब्रुङ लिम्बू समुदायको परम्परागत लोकबाजा हो । उधौली र उभौली पर्वमा यो बाजा बजाएर नाच्ने चलन छ । झन्डै मादलजस्तै ठूलो काठको ढुंग्रोमा दुवैतिर पातलो छाला मोडेर बनाइने यो बाजामा खरीको प्रयोग गरिँदैन ।च्याबु्रङ लिम्बू समुदायको प्रचलित नृत्य पनि हो । घरपैंचो (नयाँ घरमा सरेका बेला) जस्ता रमाइला अवसरमा च्याब्रुङ बजाएर नाच्ने चलन छ । यो नाच वृत्ताकार शैलीमा घेराबन्दी भएर मुन्धुम गाउँदै नाचिने च्याबु्रङ नाचमा पूर्वमा कहलिएका युवा लालीगुराँस नगरपालिका–९ सोल्माका दिलकुमार लिम्बूले बताए । च्याब्रुङ बजाउँदा प्रायजसो दाहिने ताल हातले एकपटक र देव्रे ताल लट्ठीले दुईपटक हिर्काएर बजाइने गरेको लिम्बूले बताए ।

च्याब्रुङ नाचको आधारभूत ताल कुसरक्पा हो । यसमा पनि विविधता हुने गरेको लिम्बूले बताए । यो कहिले गोलो घेरामा, कहिले अर्धगोलाकार त कहिले सरल रेखामा नाचिन्छ । यसमा सबैले एउटै तालमा खुट्टाहरू अघिपछि सार्छन् भने हातले गर्ने अभिनय पनि रोचक हुन्छ । रमाइलो के भने, च्याबु्रङ पारखीहरूले त्यसको गति, बोल र अभिनय हेरेरै नृत्य कहाँ पुग्यो भन्ने थाहा पाउन सक्छन् ।यो नृत्यमा कुखुराको भाले, परेवा, मयूर, ढुकुर, कोइली, भँगेरा, सर्प, पतली, दुम्सी, मृग, बाँदरजस्ता जीवजन्तुको हाउभाउको अनुकरण गरिने लिम्बूले बताए । च्याब्रुङ नाच विवाह, भोजभतेरमा तन्नेरीहरू नाच्छन् भने देवीदेवताको पूजाआजामा परिवारका सदस्यहरू समूहमा नाच्छन् । यो नाचमा गाइने मुन्धुममा पृथ्वीको वर्णन गरिन्छ ।

लिम्बू समुदायको धर्मग्रन्थ मुन्धुमअनुसार सृष्टिको उत्पत्तिदेखि मानव सभ्यताको विकासक्रमसँगै सोदुगेन लेमुहाङको पालादेखि च्याब्रुङ बजाउन सुरु भएको पाइन्छ । यो बाजा बजाउँदा दाहिनेपट्टिबाट ‘च्याङ’ र देब्रेपट्टि ‘बरुङ’ साङला (ध्वनि) निस्कन्छ । च्याब्रुङसँगै केलाङ नाच्दा गाइने गीतलाई ‘केसाम’ भनिन्छ । केसाममा प्रगति र उन्नतिको आशीर्वाद दिइन्छ । केसाम सोदुगेन लेमुहाङको छोरा पाजइबाको पालायता सुरु भएको पाइन्छ । मुन्धुमअनुसार पाजाइबाले घर बनाएपछि अनुष्ठान नगर्दा अनिष्ट हुने, घर भत्किरहने, किच्याएर मार्नेलगायत अनिष्टहरू देखापर्न थाले ।

त्यसपछि नयाँ घर बसाइमा केसाममार्फत उन्नति र प्रगतिको आशीर्वाद माग्न र दिन थालियो । पहिले पहिले बस्तीहरू थिएनन् । घना जंगलहरू मात्र थिए । त्यतिबेला जंगली जनावरबाट बच्न च्याब्रुङ बजाउँदै
हिँड्दा जंगली जनावरहरू भाग्ने गर्थे । जनावरहरू भागेको र नाचेको जस्तै बजाउन र नाच्न थालेयता च्याब्रुङमा विभिन्न जीवजन्तुहरूको नाच पनि नाच्ने गरिन्छ ।

केपाङ निर्माणपछि छथर क्षेत्रमा सांस्कृतिक पर्यटनको विकास हुने र यसले पूर्वी नेपालका साथै भारतको सिक्किम, दार्जिलिङलगायत स्थानका पर्यटकलाई समेत आकर्षित गर्ने सांसद भवानीप्रसाद खापुङले बताए ।विश्वरभर छरिएर रहेका लिम्बू समुदायको संस्कृतिसँग जोडिएको केपाङले छथर क्षेत्रको मात्र नभई समग्र पूर्वीक्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने प्रदेश सांसद लक्ष्मण तिवारीले बताए । केपाङ निर्माणका लागि गाउँपालिकाको बजेटले नपुगे प्रदेश सरकारको समेत सहयोग रहने उनले बताए ।

प्रकाशित : आश्विन ३, २०७५ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?