१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

'बिचौलिया'मार्फत कल बाइपास

शिल्पा कर्ण

काठमाडौँ — केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले रुपन्देहीका रामप्रसाद न्यौपानेलाई साउन ११ मा पक्राउ गर्‍यो । ब्युरोले अवैध कल बाइपास वा भिओआइपी विरुद्धको अभियान ‘अपरेसन भोइस फक्स’ अन्तर्गत उनलाई पक्राउ गरेको थियो ।

'बिचौलिया'मार्फत कल बाइपास

उमेरले २८ पुगेका न्यौपानेले झुलेनीपुरस्थित घरमा अवैध कल बाइपास गर्ने उपकरण राखेर धन्दा चलाइरहेका थिए ।


प्रहरीले छापा मार्दा उनको कोठाबाट एउटा ६४ पोर्टकोभिओआइपी गेटवे (सिम बक्स), राउटर, ल्यापटप र दुईवटा मोबाइल सेट बरामद भए । साथै एनसेल, एनटिसी र स्मार्ट सेलका गरी ५३ वटा सिम, २६ सय रूपैयाँका रिचार्ज कार्डलगायत कल बाइपासमा प्रयोग हुने उपकरण बरामद भए ।


यसभन्दा दुई दिनअघि पनि चितवनबाट ब्युरोले दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा रुपन्देहीका ३१ वर्षीय विजय गुरूङ र चितवन मंगलपुरका २२ वर्षीय सुनील अधिकारी छन् । साउन


७ मा उनीहरूलाई भरतपुरको एक घरमा भाडा लिएर अवैध रुपमा कल बाइपास गर्दै गरेको स्थानबाट पक्राउ गरिएको थियो । गुरूङले चन्द्रागिरिस्थित घर भाडामा लिएर यो धन्दा चलाइरहेको अनुसन्धानका क्रममा बताएपछि प्रहरीले छापा मार्‍यो । दुवै स्थानमा गरी १२८ र ६४ पोर्टका दुई गेटवे मेसिन भेटिए । भरतपुरबाट २/२ वटा मोबाइल, विभिन्न ब्रान्डका राउटर, पेन ड्राइभ, ६७ थान सिमकार्ड आदि भेटिए । गुरूङको बयान अनुसार चन्द्रागिरिस्थित घरबाट ७७ थान सिमकार्ड, १८ हजारभन्दा बढी मूल्यका विभिन्न दरका रिचार्ज कार्ड र अन्य उपकरण बरामद भए ।


प्रहरीका अनुसार दुई घटनामा पक्राउ पर्नेमा यी तीन जना देखिए पनि उनीहरुलाई परिचालन गर्ने विदेशी छन् । रुपन्देहीमा छापा मारेपछि पक्राउ परेकाबाट मुख्य अभियुक्त र भिओआईपी सञ्चालकका बारे प्रहरीले निकै महत्वपूर्ण जानकारी संकलन गरेको छ । पाकिस्तानी नागरिक शोयब खान र मुनिर वकास यसमा संलग्न थिए । खान कराँचीमा र वकास टर्कीमा बस्छन् ।


पक्राउ परेका न्यौपानेले वकासलाई फेसबुकमार्फत साथी बनाए । त्यसपछि खानसँग परिचय भयो । तीन महिनाअघि हङकङबाट खानले नै न्यौपानेले पाउने गरी ‘एम्प्लीफायर’को बाकसमा प्याक गरेर भिओआईपी मेसिन नेपाल पठाइदिए । खानले उक्त उपकरण सञ्चालन गर्ने तरिका र ‘सेटअप’बारे उतैबाट न्यौपानलेलाई जानकारी दिए ।


भरतपुरको घटनामा मुख्य अभियुक्त बंगलादेशको मिर्जापुर बस्ने अन्दाजी ३४ वर्षीय मिर्जा शाहिर आलम तुर्जो रहेको प्रहरीको भनाइ छ । उनी हाल ढाकामा बस्ने र त्यहींबाट ‘मेन सर्भर’ सञ्चालन गर्ने गरेको खुलेको छ । उनकै प्रत्यक्ष निगरानीमा नेपालको राजधानीसहित बुटवल, चितवनजस्ता स्थानमा अन्य भिओआईपी सञ्चालन भइरहेको छ ।


केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी उपरीक्षक कृष्णहरि शर्माका अनुसार अवैध कल बाइपासमा दशकअघिसम्म प्रत्यक्ष रुपमा नेपालमै आएर विदेशी संलग्न हुन्थे भने अहिले यो ‘ट्रेन्ड’फेरिएको छ


। ‘अहिले उनीहरू सामाजिक सञ्जालमार्फत जोडिने र विदेशबाटै कल बाइपासमा संलग्न हुने गरेको देखिएको छ,’ शर्माले भने, ‘उपकरण उतैबाट पठाइदिने, चलाउनेबारे जानकारी गराइदिने गरेका छन् ।’ उनका अनुसार कल बाइपासका आरोपमा पक्राउ परिरहेकाहरु ‘बिचौलिया’हुन्, उनीहरूलाई ‘चलाउने’काम विदेशबाट भइरहको छ । उनीहरूलाई विभिन्न सफ्टवेयर प्रयोग गरेर विदेशबाटै काम सिकाउने र निगरानी राख्ने गरिन्छ ।


पहिले ‘आइटी’वा यस विषयमा जानकार मात्र कल बाइपासमा संलग्न हुन्थे भने अहिले त्यस्तो छैन । युवाहरू प्रविधिमा बढी रुची राख्ने भएकाले उनीहरुलाई प्रयोग गरिन्छ । विदेशबाटै तलब दिनेगरी सिम र रिचार्ज किन्न राखिएको पनि भेटिएको प्रहरीले जनाएको छ । कल बाइपास वैध वा नहुने देशले नेपालमा उपकरण पठाइदिने र यहाँका युवालाई बाँकी काम गरेबापत मासिक रकम दिने गरेको प्रहरीको अनुसन्धानमा भेटिएको छ ।


नेपालमै आएर यो धन्दा चलाउने पनि छन् । ब्युरोले असार १९ मा दिल्लीका २४ वर्षीय जफर खानलाई अवैध कल बाइपासको आरोपमा काठमाडौंको शुभकामना मार्गबाट पक्राउ गर्‍यो । खानले कल बाइपासमा प्रयोग हुने आधुनिक सिम बक्सलाई मगाउने, सिम किन्न भारतीय र नेपालीहरुको नागरिकता, पासपोर्टलगायत कागजात जम्मा गर्ने गर्थे ।



कारबाही भेगे पनि कल बाइपासमै


गत वैशाखमा प्रहरीले एक भारतीयसहित दुई जनालाई अवैध भिओआइपी सञ्चालनको आरोपमा पक्राउ गर्‍यो । पक्राउ पर्नेमा भारत मध्यप्रदेशका २४ वर्षीय विवेक शुक्ला र सिन्धुली सुनकोसी गाउँपालिका स्थायी घर हुने २५ वर्षीय लालबहादुर मगराती थिए । शुक्लालाई काठमाडौंकै एक होटेलबाट र मगरातीलाई गोठाटारमा भाडाको घरमा भिओआईपी सञ्चालन गरेको अवस्थामा पक्राउ गरिएको थियो ।


अनुसन्धानका क्रममा शुक्लाले बर्दिया जिल्लाको गुलरियालाई केही महिना कार्यक्षेत्र बनाएको र हाल काठमाडौंमै बसेर काम गर्ने गरेको देखियो । मगराती भने यसअघि पनि अवैध बाइपासमा सजाय पाइसकेका व्यक्ति हुन् । २०७१ असोजमा ललितपुरबाट पक्राउ परेका उनी १८ महिना जेल बसेका थिए । कल बाइपासमा उनीजस्ता अन्य युवा पनि छन् । उनीहरू कल बाइपासमा संलग्न हुनुमा फाइदा बढी र सजाय कम हुनु पनि कारण रहेको सम्बन्धित क्षेत्रका जानकारहरु बताउँछन् ।


ब्युरोको तथ्यांक अनुसार २०६७/६८ देखि गएको आर्थिक वर्षसम्म ‘अपरेशन भोइस फक्स’अन्तर्गत पक्राउ परेकामाथि दायर गरिएको मुद्दामा माग/दाबी गरिएको बिगो झन्डै १२ अर्ब पुग्न थालेको छ । हालसम्म नेपालका १ सय ६ स्थानमा भएका कारबाहीमा २३ हजारभन्दा बढी सिमकार्ड बरामद भएका छन् । ३४ जना विदेशीसमेत गरी १ सय ६४ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेलाई दुरसञ्चार ऐन २०५३ अन्तर्गत कारबाही चलाइन्छ ।


भीओआईपी के हो ?


फरक फरक दूरसञ्चार कम्पनीहरुको आ-आफ्नो नेटवर्क हुन्छ । नेपालको उदाहरण हेर्ने हो भने यहाँ नेपाल टेलिकम, एनसेल, स्मार्टसेलजस्ता दूरसञ्चार सेवा प्रदायक छन् । नेपाल टेलिकमका ग्राहकले एनसेलका प्रयोगकर्तालाई फोन गर्दा पनि लाग्छ र एनसेलका ग्राहकले स्मार्टसेलका ग्राहकलाई फोन गर्दा पनि लाग्छ । दूरसञ्चार कम्पनीले अर्को कम्पनीको नम्बरबाट आफ्नो नेटवर्कमा फोन आउजाउ हुने व्यवस्था मिलाएका हुन्छन् । यसलाई अन्तरआबद्धता भनिन्छ । देशभित्रका सञ्चालनमा रहेका विभिन्न दूरसञ्चार सेवा प्रदायकबीच अन्तरआबद्धता भएजस्तै संसारभरका दूरसञ्चार सेवा दिने कम्पनीहरुबीच यस्ता अन्तरआबद्धता हुन्छ ।


जस्तो: भारतको कुनै नम्बरबाट नेपाल टेलिकमको नम्बरमा फोन आउजाउ हुन्छ । यस्तै, एनसेलको नम्बरबाट पनि भारत वा अरु देशका नम्बरमा फोन आउजाउ हुन्छ । यसबापत् दुवै दूरसञ्चार कम्पनीलाई फाइदा हुन्छ । जस्तो: एसनेलको नम्बरबाट कसैले कतारको नम्बरमा फोन गर्‍यो भने एनसेलले ग्राहकबाट जति पैसा प्राप्त गर्छ त्यसको निश्चित प्रतिशत जुन देशको जुन कम्पनीको नम्बरमा उक्त कल गएको हो त्यो कम्पनीले पनि प्राप्त गर्छ ।


विदेशबाट नेपाल आउने कलमा पनि यही नियम लागू हुन्छ । जस्तो: भारतको भोडाफोनको नम्बरबाट नेपाल टेलिकमको नम्बरमा कसैले फोन गर्‍यो भने भोडाफोनले उक्त ग्राहकबाट जति रकम काट्छ त्यो रकमको निश्चित प्रतिशत नेपाल टेलिकमले पनि प्राप्त गर्छ । अन्तर्राष्ट्रिय कलमा यस्ता दुई नेटवर्कलाई संयोजनको लागि वैधानिक गेट वे हुन्छ । सामान्य भाषामा भन्दा गेट वे भनेको कल आउजाउ गर्ने बाटो हो ।


तर, भीओआईपी सञ्चालकले यस्ता कललाई वैधानिक बाटोबाट जान नदिइ इन्टरनेट जोडिएको उपकरणको सहायताले अवैध ‘गेट वे’बाट पठाउँछन् । त्यसकारण यसको तथ्यांक सम्बन्धित दूरसञ्चार सेवा प्रदायकलाई हुँदैन । यसबाट दूरसञ्चार कम्पनीले प्राप्त गर्ने आम्दानी भीओआईपी सञ्चालकले प्राप्त गर्छन् । त्यसैले नेपाल सरकारलाई फाइदाको अंश करका रुपमा पनि प्राप्त हुन्न । यसको लागि उच्च गतिको नियमित इन्टरनेट आवश्यक हुन्छ ।


कसरी रोकथाम गर्ने ?

विदेशबाट कल आउँदा नेपाली नम्बर देखिए १८८ मा कल गरी टिपाइदिन केही साताअघि नेपाल टेलिकमले आफ्ना ग्राहकलाई म्यासेज पठाएको थियो । विदेशबाट कल आउँदा आवाज प्रस्ट नसुनिने, नेपाली नम्बर देखिने भएमा प्रयोगकर्ताले भिओआइपीको प्रयोग भएको बुझ्नुपर्छ । यसमा गोपनियता पनि कम हुन्छ । नेपाल दुरसञ्चार प्राधिकरणका अनुगमन विभाग निर्देशक विजय रायका अनुसार दुईबीचको कुराकानी तेस्रो व्यक्तिले सुनिरहेको पनि हुन सक्छ ।


लाखौं नेपाली वैदेशिक रोजगारीमा छन् । नेपालका धेरै ठाउँमा इन्टरनेटको पहुँच नहुनु र अन्तर्राष्ट्रिय कल महँगो भएकोले भिओआईपी प्रयोग बढेको हो । केही देशमा भिओआईपी प्रविधिको प्रयोग वैध पनि छ । नेपालमा पनि यसलाई निश्चित क्षेत्र तोकेर वैध बनाउने वा अन्तर्राष्ट्रिय कल शूल्क सस्तो बनाउने बहसको थालनी हुनुपर्ने प्रहरी अधिकृत बताउँछन् ।


ब्युरोका प्रवक्ता तथा प्रहरी उपरिक्षक कृष्ण हरि शर्माका अनुसार अनुसन्धानका क्रममा एउटै व्यक्तिको नागरिकता प्रयोग गरी २/३ सय वटा सिम खरिद गरेको भेटिएको छ । ‘एउटै नाम तर सिम खरिद गर्न हरेक आवेदनमा फरक फोटो प्रयोग गरिएको घटना पनि छन्,’शर्माले भने, ‘यस्तोमा एउटा व्यक्तिले कतिवटासम्म सिम निकाल्न पाउने, कागजातबारे दूरसञ्चार सेवा प्रदायकले विश्लेषण गर्ने कि नगर्ने, उनीहरुको दायित्व हो कि होइन भन्ने प्रश्न खडा हुन्छ ।’उनले दूरसञ्चार प्राधिकरणले चाहे अवैध कल बाइपाससम्बन्धि अपराध निकै कम हुने विश्वास व्यक्त गरे ।


कलबाइपास सम्बन्धी उपकरण विमानस्थलबाट भित्रँदा सुरक्षा निकायलाई थाहा हुन्छ कि हुन्न भन्ने प्रश्न पनि उब्जिने गरेको छ । त्रिभुवन विमानस्थलका प्रमुख भन्सार प्रशासक श्याम भण्डारीले भने, विमानस्थलबाट सिम बक्स वा प्रयोग हुने उपकरण ल्याइएको रेकर्ड नभएको दाबी गर्छन् । भण्डरी भन्छन्, ‘सेटअप बक्स, राउटरजस्ता उपकरण अहिलेसम्म भेटिएको छैन ।’उनी इन्टरनेटबाट विदेश सहजै कल गर्न सकिने अवस्थामा अवैध विदेशी कल निकै कम हुने समेत बताउँछन् ।


प्रकाशित : श्रावण २३, २०७५ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?