ब्युझिँदै रञ्जना

सुनीता साखकर्मी

काठमाडौँ — नेपालले मौलिक भनेर गर्व गर्न लायकमा पर्छ, रञ्जना लिपि । यही लिपिमा नेपालको प्राचीन इतिहास, धर्म, संस्कृति, कला लेखिएका छन् । केही समय यसको महत्त्व ओझेलमा परे पनि अहिले यसलाई लिएर पुनर्जागरण सुरु भएको छ ।

ब्युझिँदै रञ्जना

यसको झल्को पाउन ठमेलको ज्याठास्थित सानो गल्लीमा रहेको नेपाल लिपि गुठीको भवनमा जानुपर्छ । बेलुकाको साढे ६ बज्दै थियो, चारतले घरको भुइँतलामा पुग्दा विभिन्न उमेर समूहका मानिस एकै ठाउँ बसेर पढिरहेका थिए ।

कपाल सेतै फुलेका वृद्धदेखि तन्नेरीसम्म । सबै उत्साहले लेखिरहेका थिए । शिक्षक कालोपाटीमा चकले विभिन्न अक्षर कोर्दै थिए । विद्यार्थी नेपालभाषामा सोध्थे, ‘यो कुन अक्षर हो ?’ शिक्षक बिकी बज्राचार्य नेपालभाषामै भन्थे, ‘यो घ हो, योचाहिँ ङ ।’ हरेक दिन बिहान र बेलुकाको ६ देखि ७ बजेसम्म एक घण्टा रञ्जना लिपि पढ्ने र पढाउने यहाँ भेला हुन्छन् । कक्षामा सबैभन्दा पाका छन्, ६९ वर्षे मोती तुलाधर । उनी असनदेखि पुगेका थिए । सानै छँदा उनका बाजे पत्रहरूमा रञ्जना लिपि लेख्ने र पढ्ने गर्थे । उनलाई बाजेले सिक भने पनि नसिकेकामा पछुतो लागेको रहेछ ।

‘त्यतिखेर विद्यालयमा पढाइने देवनागरी र अंग्रेजी सिक्नमै ध्यान गयो,’ उनले भने, ‘अहिले पछुतो मेट्न रञ्जना पढ्न आएँ ।’ धेरैले ‘यो उमेरमा पढेर के गर्छाै ?’ समेत भन्ने गरेको उनले सुनाए । उनलाई यसले फरक पर्दैन । भन्छन्, ‘पढ्नलाई उमेरले छेक्दैन । हामीले नसिक्नु गल्ती भयो । अब मैले सिकेर छोरानातिलाई सिकाउँछु ।’ उनले कक्षामा सिकेर घरमा गई श्रीमतीलाई पनि सिकाउने गरेको बताए । त्यही कक्षामा सिकिरहेका छन्, स्युचाटारका सुनील श्रेष्ठ । ५६ वर्षीय श्रेष्ठले ३८ वर्षअघि नेपालभाषाकै ‘प्रचलित’ लिपि सिकेका थिए । प्रचलित लिपि रञ्जनाभन्दा फरक हुने भएकाले उनलाई रञ्जना सिक्न मन लागेको हो ।

‘नेपालभाषा बोल्न मात्रै आएर हुन्न,’ उनले भने, ‘लिपि आएन भने यो भाषा चाँडै मर्छ ।’ लाजिम्पाटका विद्यासागर तुलाधरले रञ्जना लिपि सिक्न जापानीबाट प्रोत्साहन मिलेको बताए । ठमेलमा उनको होटल छ । विभिन्न देशका पर्यटक आउने भएकाले उनले विश्वभाषा क्याम्पसबाट जापानी र स्पेनी भाषा सिक्न थाले ।

त्यस क्रममा जापानी शिक्षक मियोरी सेन्सेले सोधे, ‘तिमीहरूको आफ्नै लिपि छ, त्यो लेख्न पढ्न आउँछ ?’ त्यसपछि आफू झस्किएको विद्यासागरले बताए । ‘यही बेला नेपाल लिपि गुठीले वैशाखमा असनमा रञ्जना लिपि वर्कसप गरेको थाहा पाएँ,’ उनले भने, ‘अहिले नियमित कक्षामा आइरहेको छु ।’ कक्षामा सबैभन्दा कम उमेरकी छन्, ओमबहालकी निजिता स्थापित । उनी प्रेसिडेन्टल बिजनेस स्कुलमा बीबीए दोस्रो वर्षमा पढछिन् । पढाइभन्दा बाहिर आफ्नो संस्कृति पनि उत्तिकै सिक्नुपर्ने उनको धारणा छ ।

समृद्ध लिपि
संस्कृतिविद् ओम धौभडेलका अनुसार सातौं शताब्दीतिर तान्त्रिक विद्या सुरु भएसँगै रञ्जना लिपिमा मन्त्र लेखिन थालेका हुन् । मठमन्दिरमा हिन्दु, बौद्ध धर्मसम्बन्धी श्लोक, मन्त्र, तान्त्रिक विधि, स्वास्थ्य उपचार विधि शिलालेख, ताम्रपत्रलगायत हजारौं पुस्तक रञ्जना लिपिमै लेखिएका छन् । मल्लकालमा १४ औं शताब्दीमा मात्रै नेपाल लिपि प्रचलन आएको थियो ।

त्यसपछि लिच्छवि, मैथिली, पाँचुँ, भुजी मोल, क्वयंमोल, कुटिला अक्षर, गुप्त लिपि, हिमोल प्रचलनमा थिए । नेपालकै तामाङ, लामा समुदायमा पनि रञ्जना लिपिमै लेखिने प्रचलन छ । उनका अनुसार तत्कालीन समयमा तिब्बत, भारतसम्म नेपाली लिपि, भाषा र मुद्रा फैलिएको थियो ।

प्रचलित लिपिमा देवनागरी जस्तै अक्षर छुट्याएर लेख्न मिल्छ । रञ्जना लिपिमा एक अक्षरमै जोडेर छोटा विषयवस्तु झनै छोटो तरिकाले लेखिने चलन छ । रञ्जना लिपि तान्त्रिकले मन्त्र अरूले थाहा नपाऊन् भनेर बढ्ता प्रयोग गरे । कसैको नाम लेख्नुपर्‍यो भने उनीहरू रञ्जना लिपिमै लेख्थे । प्राय: देवीदेवतासम्बन्धी, हिन्दु, बौद्ध स्वास्थ्य, आयुर्वेद, वैद्य, इतिहास धेरै विधामा पहिले किताब लेखिएका थिए । राष्ट्रिय अभिलेखालय र असनको रक्तकालीमा रहेको आशा सफु गुठीमा रञ्जना लिपिमा लेखिएका थुपै्र पुस्तक संकलित छन् ।

अभिलेखालयमा झन्डै दुई लाख र गुठीमा पचास हजार पुस्तक छन् । तिनको अध्ययन गर्न सक्ने कमै छन् । अभिलेखालयमा भएकामध्ये ९० प्रतिशत पुस्तक भक्तपुरबाट ल्याएको धौभडेलले जनाए । ‘पहिले एक जनाले एउटा मात्रै पुस्तक लेख्न सक्थ्यो । प्रेस थिएन,’ उनले भने, ‘त्यसैले एक एक पुस्तकको त्यत्तिकै महत्त्व छ ।’ नेपालमा मल्लकालको पतन भएसँगै यी लिपिको प्रचलन पनि टुट्यो । पृथ्वीनारायण शाहले उपत्यका जितेपछि उनका भाइ र भारद्वारले ७ दिनसम्म यहाँका पुस्तक जलाएको इतिहासमा लेखिएको पाइने धौभडेलले जनाए ।

चन्द्रशमशेरका पालामा रञ्जना लिपिमा लेख्नेलाई दण्डित गरेर देवनागरीमै लेख्न लगाइयो । लेखिएका किताब जलाउने काम गरियो । ‘हामीले लिपि जान्यौं भने पुर्खाले लेखेर गएको सभ्यता कति धनी छ भन्ने थाहा पाउथ्यौँ,’ उनले भने, ‘हामी लिपि नजानेरै दु:खमा छौं । हामीले पुर्खाले दिएर गएका अनगन्ती राम्रा तथ्यको अर्थ बुझ्न सकिरहेका छैनौं । यो लिपि युवाले बुझ्न जरुरी छ । अहिलेका पुस्ताले लिपि जानेन भने पुर्खाले लेखेर गएका किताब, ग्रन्थ, इतिहास र सभ्यताका उपलब्धि गुम्छन् ।’ उनका अनुसार रञ्जना लिपि एक किसिमको कला पनि हो । यसमा अक्षरसँगसँगै कलाकारिता पनि हुन्छ । यो नेवारको मात्रै नभएर नेपालकै पहिचान हो । पहिले–पहिले बाँसको चोयालाई कलमका रूपमा प्रयोग गरी फल, पात, बेसार, ओखरको बोक्रा लगायतको रसमा चोबेर लेखिने गथ्र्यो ।

लोप हुँदै लिपिहरू
नेपाल लिपि गुठीका अध्यक्ष अनिल स्थापितका अनुसार नेपालभाषामा १२ लिपि छन् । तीमध्ये नेपाल लिपि, भुँजी मोल लिपि र रञ्जना लिपि मात्रै प्रचलनमा छन् । उनका अनुसार सन् १९५५ मा नेपाल संयुक्त राष्ट्रसंघको सदस्य हुँदा रञ्जना लिपि नेपालको हो भनेर चिनाइएको थियो ।

मल्लकालमा बाहिरबाट पण्डित बोलाएरै यो लिपिमा लेख्ने गरेको इतिहास उनले सुनाए । ‘चन्द्रशमशेरले पछि यो लिपि लेखपढ गर्नै बन्द गरिदिए । यो लिपिमा लेख्ने–बोल्नेलाई सजाय दिन थाले । त्यसपछि भाषा बचाउने कि लिपि भन्ने संकट आयो,’ उनले भने, ‘त्यतिबेला नेवारले बोलीमा मात्रै भए पनि यो भाषा जोगाउनुपर्छ भनेर बोल्न सिकाउन थाले ।’ त्यसकै कारण रञ्जना लोप हुनबाट जोगियो । नेपालभाषाका १२ लिपिमध्ये रञ्जनासहित तीनवटाबाहेक बाँकी प्रचलनबाट हराउँदै गए । सरकारले यी लोपोन्मुख भाषा जोगाउन कुनै पहल नगरेको उनले गुनासो गरे ।

सरकारी तवरबाटै बालबालिकालाई यो लिपि सिकाउने व्यवस्था गर्नुपर्नेमा स्थापितले जोड दिए । उनले सिक्किमको उदाहरण दिँदै भने, ‘सन् १९९६ तिर सिक्किमकी मीना प्रधान नेपालभाषा सिक्न काठमाडौं आइपुगिन् । सरकारले खर्च गरेर उनलाई नेपालभाषा पढ्न नेपाल पठाएको थियो । ६ महिनामा उनले सबै सिकिन् । त्यसपछि उनी सिक्किम फर्किन् । केही महिनापछि उनले मलाई फोन गरेर सिक्किममा पनि नेपालभाषा सिकाइदिन निमन्त्रणा गरिन् । त्यसपछि मैले त्यहाँ थुपै्रलाई नेपालभाषा र लिपि सिकाएर आएँ ।’

सन् १९९७ देखि सिक्किममा कक्षा १ देखि ९ सम्म नेपालभाषा पढाउने र लेखाउने पाठयक्रमै बनेर अहिले निरन्तर सञ्चालनमा छ । गुठीले नियमित कक्षा सञ्चालनमा ल्याएको तीन दशकभन्दा बढी बितेको उनले सुनाए । अहिले मासिक हजार रुपैयाँ लिएर उनीहरू लिपि सिकाउँछन् । ‘अहिले जति पनि सिकिरहेका छन्, सबैले सोखका रूपमा सिकेका छन् । विदेशी भाषा सिकेर जागिर पाइने भएकाले युवा अन्य भाषा सिक्नतर्फ आकर्षित भए,’ उनले भने, ‘रञ्जना लिपि सिकेर रोजगारी पाउने व्यवस्था सरकारले गर्‍यो भने यो सिक्न पनि युवा उत्साहित हुन्छन् । सरकारले यसतर्फ ध्यान दिनुपर्छ ।’

व्यापक पहल
लिपि गुठीले रञ्जना मात्रै नभई क्यालिग्राफी पनि सिकाइरहेको छ । असन, थिमिलगायत विभिन्न ठाउँमा कार्यशाला गरिसकेको छ भने अन्यत्र गर्नेक्रम जारी छ । यसमा पूर्वमिस नेवा: सुनीता डंगोल र सफ्टवेयर इन्जिनियर आनन्द महर्जनले विभिन्न ठाउँमा सिकाइरहेका छन् । लिपि मोटो हुने भएकाले फाउन्टेन पेनको निब काटेर रङमा चोप्दै रञ्जना लिपि लेख्न सिकाइन्छ । सुनीताले कार्यशालामा बाँसको चोयाले पनि लेख्न सिकाउँछिन् ।

रञ्जना लिपिको युनिकोड बनाएर विश्वव्यापी रूपमा प्रचलनमा ल्याउन पहल गरिरहेको आनन्दले सुनाए । उनका अनुसार सन् २०१४ मा उनीहरूले यो लिपिलाई युनिकोड बनाएर सफ्टवेयरमा राख्न अमेरिकी कम्पनीलाई अनुरोध गरेका थिए । अमेरिकाबाट २०१६ जुलाईमा लिपिलाई स्टान्डराइजेसन गरी आईएसओ मान्यता दिइसकेको छ । माइक्रोसफ्ट, एन्ड्रोइड, आइफोनलगायतमा नेपालभाषा पनि छान्न मिल्छ । लिपिको फन्ट भने तयार भइसकेको छैन । आनन्दले भने, ‘भाषा इन्स्टल भयो, लिपि आएको छैन । यो चाँडै अपडेट हुन्छ अनि हामी हाम्रो मोबाइल, कम्प्युटरमा प्रचलित लिपि र रञ्जना लिपिमै लेख्न सक्छौँ ।’

रञ्जना लिपि गैरनेवार समुदायले पनि सिक्न थालेका छन् । भैंसेपाटीका ३५ वर्षे आगमनराज पौडेल लिपि सिक्ने कक्षामा भेटिए । उनलाई रञ्जना लिपिको कलात्मकताले तानेको रहेछ । उनलाई यो नेवारको मात्रै हो भन्ने लाग्दैन । उनी भन्छन्, ‘रञ्जना नेपालको लिपि हो । हामी सबैको हो ।’ उनलाई नेवार समुदायको चाडपर्व, कलासंस्कृति, परम्परा यत्तिकै मौलिक लाग्छन् । उनलाई रञ्जना लिपिको ‘कुताक्षर’ अर्थात् शब्दहरू जोडेर लेख्ने तरिका मन परेको छ ।

प्रकाशित : श्रावण ८, २०७५ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?