कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

फोहोरमा फूलबारी

रमेशचन्द्र अधिकारी

धनकुटा — चारैतिर हरियाली वन र मध्य भागमा कुनै कलाकारले मन लगाएर बनाएको चित्रझैं सुन्दर फूलबारी । त्यहाँ पुगेर रमाइरहेका बाह्य र आन्तरिक पर्यटकले आफू फोहोरको थुप्रोबाट सजिएको फूलबारीमाथि उभिएको छु भन्ने भेउ पाउँदैनन् ।

फोहोरमा फूलबारी

धनकुटा नगरपालिकाले ल्यान्डफिल साइटको फोहोर व्यवस्थापनबाट वडा नम्बर ६ स्थित सल्लेरी वनमा निर्माण गरेको फूलबारीले पछिल्लो समय हरेकको मन जित्दै गएको छ । सामान्यतया फोहोर व्यवस्थापनस्थल भन्नासाथ झिँगा भन्किएको र दुर्गन्धले वातावरणीय असर पुर्‍याएको ठाउँ भन्ने मनमा आउँछ । तर धनकुटा नगरले संकलित गरेको फोहोरलाई उचित व्यवस्थापन गरेर सुन्दर फूलबारीको रूप दिएको हो ।

फूलबारीमा माहुरी र भँवरा मात्र होइन, चराचुरुङ्गीसमेत रमाइरहेका हुन्छन् । अवलोकनका लागि पुग्नेहरू लोभिन्छन् । फोहोर व्यवस्थापनको यो नमुनाको चर्चा देशभर फैलिएको छ । त्यो पनि बस्तीभन्दा मुस्किलले डेढ सय मिटर दूरीमा आकर्षक फूलबारीे । बस्तीभन्दा नजिक रहेर पनि नगरसँग स्थानीयवासीको कहिल्यै विवाद र अन्य झमेलाको अवस्था आएको छैन । बस्ती नजिकै यस्तै प्रकारको संकलन केन्द्र र फूलबारी बगैंचा निर्माण गरिदिन ‘डेलिगेसन’ आउने क्रम बढेको नगरपालिकाका वातावरण अधिकृत उपेन्द्र खनालले बताए ।

धनकुटा नगरले २०६३ मा फोहोर व्यवस्थापनको पूर्वाधार बनाएर २०६६ देखि सल्लेरीस्थित ल्यान्डफिल साइटको काम सुरु गरेको थियो । जुन स्थल पछिल्लो समय वातावरण तथा फोहोर व्यवस्थापनप्रति चासो राख्नेका लागि सिकाइको थलो बनेको छ । ३ करोड लागतमा निर्माण गरिएको ल्यान्डफिल साइटमा फोहोर वस्तु कुहाएर बनाएको आकर्षक फूलबारीमा ४५ प्रजातिका फूल ढकमक्क छन् ।


धनकुटाको सल्लेरी वनस्थित ल्यान्डफिल्ड साइटमाथि निर्मित फूलबारी ।तस्बिर : कान्तिपुर

२०६६ देखि २०७० सम्म जम्मा गरिएको फोहोरबाट कम्पोस्ट मल बनाएको स्थानलाई फूलबारीको रूप दिइएको हो । पहिलो चरणमा बनाइएको फूलबारी नमुना भएपछि अब संकलन गरिँदै आएको स्थानमा पनि फूलबारीको रूप दिन लागिएको छ ।

सिकाइको थलो बन्दै
फोहोर व्यवस्थापनको नमुना हेर्न ३ उपप्रधानमन्त्री, दर्जनांै मन्त्री तथा मुख्यसचिवलगायत स्वदेशी–विदेशी संघसंस्थाका प्रतिनिधि आइसकेका छन् । हालसम्म मुलुकका १ सय ८० विभिन्न नगरपालिका र हजारौंका रूपमा त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै गएको छ । चैतयता मात्र ११ नगरपालिकाका प्रतिनिधिले भ्रमण गरिसकेका छन् ।

स्थानीय तहको निर्वाचनपछि भ्रमण गर्ने जनप्रतिनिधिको संख्या बढेको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए । केही नगरपालिकाले अग्रिम बुकिङसमेत गरिसकेका छन् । जसमा कैलालीको गोदावरी नगर, कञ्चनपुरको भीमदत्त नगरलगायत छन् । अवलोकन गर्ने १ सय ८० स्थानीय तहमध्ये महानगरपालिकाको पहिलो प्रतिनिधित्व भरतपुर महानगरले गरेको छ ।

प्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीसहित विभिन्न वडाध्यक्षलगायतले अवलोकन गरेका थिए । भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले धनकुटाबाट धेरै कुरा सिक्न सकिने बताए ।

फोहोर व्यवस्थापनकै कारण ‘सर्वोत्कृष्ट सफा नगर’ घोषणा भएपछि चर्चा चुलिँदै गएको प्रमुख प्रशासकीय अधिकृत टीकादत्त राईले बताए । फोहोर व्यवस्थापनलाई अझ व्यवस्थित गरिँदै जाने उपप्रमुख शकुन्तला बस्नेतले बताइन् । नगरमा दैनिक करिब १६ टन फोहोर वस्तु उत्पादन हुने भए पनि हाल ५ टन संकलन गर्न सकिएको वातावरण अधिकृत खनालले बताए । टोल विकास संस्था, बाल क्लब तथा महिला समूहसमेत फोहोर व्यवस्थापनका लागि जुटदै आएका छन् । वनभित्र प्राकृतिक रूपमा बनेका ठूलाठूला खाल्डोमा नगरबाट उत्पादित फोहोर संकलन गरिन्छ । पर्यटकीयस्थल तथा फोहोर व्यवस्थापनको सिकाइका रूपमा फेरिएको ल्यान्डफिल साइटलाई अन्य स्थानीय तहले पनि अनुकरण गर्न सकिने नगरपालिकाका पर्यटन शाखा प्रमुख विकास अधिकारीको दाबी छ ।

अवलोकन गर्दा शुल्क
फूलबारी अवलोकनका लागि आउने संघसंस्थालाई नगरपालिकाले ५ हजार रुपैयाँ शुल्कबापत लिन थालेको छ । अवलोकन गर्नेको संख्या बढेसँगै नगरपालिकाले शुल्क लिन थालेको नगरपालिकाका प्रमुख तामाङको भनाइ छ । तत्कालीन वन मन्त्रालयको स्वामित्वमा रहेको सल्लेरी वनमा मन्त्रिपरिषद्को ०६५ असोज १९ को निर्णयबाट नगरपालिकाले भोग अधिकार पाएको थियो । लगत्तै निर्माण थालिएको फोहोर संकलन केन्द्रमा फूलबारी निर्माण गरिएको हो ।

ल्यान्डफिल साइटका लागि तत्कालीन स्थानीय विकास मन्त्रालय जगेडा कोष, धनकुटा नगरपालिका, यूएन हेबिटास र धनकुटा नगर स्थानीय सामुदायिक विकास कार्यक्रमअन्तर्गत २ करोड १० लाख खर्चिएको थियो । शुल्क लिएसँगै प्याकेजका आधारमा नगरपालिकाले भ्रमण गराउँदै आएको छ ।

प्रकाशित : श्रावण ४, २०७५ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?