२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

फूलहरूको व्यथा

फूलजस्ता बालिकामाथि कल्पना पनि गर्न नसकिने सामूहिक बलात्कारको घटना दिन–प्रतिदिन बढिरहनु राष्ट्रिय लज्जाको विषय हो ।
जनकराज सापकोटा

काठमाडौँ — ‘तपाईले खाई–नखाई दिनरात नभनी हुर्काएकी आफ्नी फूलजस्तै कोमल, निश्चल छोरीको जीवन कसैले चुँडिदियो भने  ! वा ठूलो सपना सजाएको आफ्नो छोरो बलात्कारी बन्न पुग्यो भने  ! त्यसैले अहिले नै सोचौं ।

फूलहरूको व्यथा

यो समाजलाई बलात्कारी मुक्त कसरी बनाउने ? नत्र एकदिन तपाई–हामी जो पनि पीडित बन्नुपर्ने दिन नजिकिँदै छ ।’

माथिको वाक्य सामाजिक अभियन्ता मेनुका थापाको सामाजिक सञ्जाल फेसबुकको वालबाट साभार गरिएको हो । यो पढ्दा दिनहुँजसो सार्वजनिक भइरहेका बलात्कारका घटना र त्यसले उत्पन्न गराउने आम मनोविज्ञानलाई प्रतिबिम्बित गर्छ । के थापाले भनेजस्तै हाम्रो समाज बलात्कारीका निम्ति उपयुक्त बन्दै गएको हो ? के शृङ्खलाबद्ध रूपमा सार्वजनिक भइरहेका कलिला फूलजस्ता छोरीमाथि भइरहेको बलात्कारका घटना हाम्रा निम्ति लज्जाको विषय होइन ?

कलिला छोरीहरूको चित्कार
फागुन १६ को घटना हो । पर्सा पटेवा सुगौलीकी ७ वर्ष ३ महिनाकी एक बालिका ३ जना छिमेकी युवाबाट सामूहिक बलात्कारको सिकार बनिन् । घाँस काट्न गएकी उनी घर फर्किंदै गर्दा बलात्कारको सिकार भएकी थिइन् । हामीसँग आऊ, माछा दिन्छौं भन्दै ३ युवाले फकाएर नजिकैको उखुबारीमा लगेर उनीमाथि घिनलाग्दो हर्कत गरेका थिए ।

अर्धनग्न र अचेत अवस्थामा भेटिएकी उनलाई बाबुले उपचारका निम्ति तत्कालै वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल लगे । त्यहाँ उपचार हुन नसकेपछि काठमाडौं पुर्‍याए । चिकित्सकका अनुसार उनको गोप्य अंगमा बाहिरपट्टि १२ र भित्रपट्टि ७ टाँका लगाइएको छ । योनिको गहिरो घाउ निको हुनेमा डाक्टरहरू नै विश्वस्त छैनन् । घटना सार्वजनिक भएपछि बालिकाका बाबुले आँखाको डिलभरि आँसु लिएर भनेका थिए, ‘यस्तो घिनलाग्दो काम होला भन्ने सपनामा पनि सोचेको थिइन ।’

रक्षा नेपालको संरक्षणमा रहेकी यी बालिका अहिले पनि पूर्ववत दैनिकीमा फर्किनसकेकी छैनन् । उनको ओँठको हाँसो र अनुहारको निश्चलता गुमेको महिना दिनभन्दा बढी भइसक्यो । एउटी फूलजस्ती बालिकामाथि कल्पना पनि गर्न नसकिने सामूहिक बलात्कारको घटना कुनै अनौठो होइन । यो न पहिलो घटना थियो, न अन्तिम नै ।


प्रहरी प्रधान कार्यालयका अनुसार बलात्कारको सिकार हुनेहरूमा १० वर्ष मुनिका बालिकाहरूको संख्या उल्लेख्य रहेको छ । आर्थिक वर्ष २०७०/७१ यताका ३ वर्षमा मात्रै ६ सय ७४ जना १० वर्ष मुनिका बालिकाहरू बलात्कारको सिकार भएका देखिन्छन् । यो तथ्यले प्रत्येक २ दिनमा एकजना १० वर्ष मुनिका बालिका बलात्कारको सिकार हुने गरेको डरलाग्दो तस्बिर देखाउँछ । प्रत्येक वर्ष फूलजस्ता कलिला बालिकाहरूमाथि हुने बलात्कारका घटनाको संख्या उकालोलाग्दो छ । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७०/७१ मा २ सय ३७, आर्थिक वर्ष २०७१/७२ मा २ सय २४ र आर्थिक वर्ष २०७२/७३ मा २ सय १३ जना १० वर्ष मुनिका बालिकाहरू बलात्कारको सिकार भएका थिए । जबकि यो ३ वर्षको अवधिमा बलात्कारको सिकार हुने १० वर्ष मुनिका बालकको संख्या भने दुईमात्रै छ ।

प्रहरीको तथ्यांकले बलात्कारको सिकार हुनेमा ११ देखि १६ वर्ष उमेरका फक्रिंँदा बालिकाहरूको संख्या सबैभन्दा उल्लेख्य छ । आर्थिक वर्ष २०७०/७१ यताका ३ वर्षमा मात्रै १ हजार २८ जना ११ देखि १६ वर्ष उमेर समूहका बालिकाहरू बलात्कारको सिकार भएका छन् ।

सन् २०१६ मा महिला पुन:स्थापना केन्द्रले देशव्यापी रूपमा गरेको अध्ययन अनुसार बलात्कारमा परेकामध्ये धेरैजसो १६ वर्ष मुनिका बालिका हुने गरेका छन् । संस्थाको अध्ययनले बलात्कारबाट पीडित भएकामध्ये ४६ प्रतिशत १६ वर्ष मुनिका बालिकाहरू रहेको तथ्य बाहिर ल्याएको थियो । अध्ययनले बलात्कारमा परेका १७ देखि ३० वर्ष उमेर समूहका महिलाको हिस्सा ५५ प्रतिशत रहेको देखाएको छ ।

गाउँ र देहातका कुरा छाडौं, शिक्षितहरूको जनघनत्व रहेको सहरमा पनि बलात्कारको घटना उल्लेख्य देखिन्छ । र लज्जाको विषय, बलात्कारबाट पीडित हुने भने सधंै हुर्किँदै गरेका, भर्खरमात्रै सपना देख्न थालेका कलिला बालिकाहरू भइरहेका छन् । प्रहरी परिसर काठमाडौंका डीएसपी मोहन थापाका अनुसार राजधानी काठमाडौंमा बलात्कारजन्य अपराधको घटनना लागुऔषधपछि सबैभन्दा धेरै हुने घटनामा पर्छ । परिसरको मुद्दा शाखामा कार्यरत थापाको अनुभवमा बलात्कारको सिकार सबैभन्दा धेरै फूलजस्ता नानीहरू भएका छन् । लोभमा, करकापमा र परिबन्दमा पारेर कलिला नानीहरूमाथि झम्टिने प्रत्येक घटना हृदयविदारक छन् । डीएसपी थापाका अनुसार काठमाडौंमा महिला तथा बालबालिकामाथि हुने हिंसाका अनेकन घटनामध्ये बालिकामाथि हुने बलात्कारको घटनाको संख्या नै शीर्ष स्थानमा छ ।

काठमाडौंस्थित रक्षा नेपाल (गैरसरकारी संस्थ) को सेल्टरमा मात्रै बलात्कारबाट पीडित भएका ५० बालिकाले आश्रय लिइरहेका छन् । उक्त संस्थाकी प्रमुख मेनुका थापाका अनुसार तीमध्ये ४ देखि ११ वर्ष उमेरका बालिकाहरूको संख्यामात्रै ३० रहेको छ । पछिल्लो एक महिनायता प्रत्येक दिन २ देखि ७ वटासम्म बलात्कारका घटना उनीकहाँ आइपुगेका छन् । तिनमा अधिकांश फूलजस्ता कलिला नानीहरू छन् । पछिल्लो २ सातामात्रै रक्षा नेपालमा सामूहिक बलात्कारबाट पीडित ३ बालिका आइपुगे । मेनुकाले गत मंगलबारको घटना सुनाउँदै भनिन्, ‘त्यो दिनमात्रै हामीकहाँ बलात्कारका ५ वटा घटना आए ।’ थापाका शब्दमा, ‘आधुनिक भनिएको राज्य व्यवस्थाका निम्ति योभन्दा लाजमर्दो कुरा के हुन्छ ?’

बारम्बार चुँडिन्छ मन
बलात्कारबाट पीडित अधिकांश नानीहरू विक्षिप्त मानसिकताको सिकार भएर बाँच्न अभिशप्त देखिन्छन् । मनोवैज्ञानिक रूपमा परिपक्व नभएका उनीहरू बलात्कारको चोटभन्दा त्यसपछि आइपर्ने अनेकन अप्ठ्यारासँग जुध्न सकिरहेका देखिन्नन् । बलात्कृत बालिकाहरूको पुन:स्थापनाको क्षेत्रमा १५ वर्षदेखि कार्यरत संस्था अन्तरदृष्टि नेपालमा पछिल्ला १० वर्षयता मनोपरामर्शदाताको रूपमा कार्यरत रजनी भारतीको अनुभवले भन्छ, ‘बलात्कृत बालिकाहरूको संवेदनशीलतालाई बुझ्ने सामाजिक संरचनाको अभावमा उनीहरू अथाह चोट सहेर हुर्किन विवश छन् ।’

भारती कार्यरत संस्थाको हेटौंडास्थित सेल्टरमा अहिले २७ जना बलात्कार पीडित छोरीहरू छन् । ती मध्ये अधिकांशको उमेर ७ देखि २० वर्षको छ । अपशोचको कुरा बलात्कारबाट पीडित भएकामध्ये धेरैजसो आफ्नै परिवारका सदस्य, आफन्त र ७ जना त आफ्नै बाबुबाट बलात्कृत भएका समेत छन् । भारतीको अनुभवमा बलात्कारको चोटमा परेका बालिकाहरूलाई मनोवैज्ञानिक रूपमै बलियो बनाउन र समाजमा पुन:स्थापना गर्नु सजिलो छैन । उनले अनुभव मिसिएको स्वरमा भनिन, ‘बलात्कारबाट पीडित भएका बालिकाहरूको संवेदनशीलतालाई ख्याल गरेर थुप्रै संरचना र कानुनी प्रणाली बनेका छन् । तर त्यसमा पनि सुधारको खाँचो छ ।’

भारतीले आफ्नो सेल्टरमा ९ वर्षदेखि रहेकी एक बालिकाको दर्दनाक कथा सुनाइन् । ८ वर्षको उमेरमा आफ्नै बाबुबाट बलात्कार हुनपुगेकी नानी सेल्टरमै हुर्केर अहिले १७ वर्षकी भइन् । बलात्कार गर्ने उनका बाबु अहिले जेलमा सजाय भोगिरहेका छन् । तर ती बालिका भने अझै पनि बलात्कारको चोटबाट बाहिर निस्कनसकेकी छैनन् । भारतीले भनिन्, ‘उनी अझै पनि मानसिक समस्यामा छन् ।’ माया र स्नेह गर्ने बाबुबाटै गहिरो चोट पाएकी ती बालिकाले न आफ्नो पढाइलाई अगाडि बढाउन सकिन्, न उमेरजन्य परिपक्वता नै उनीमा हुर्किंदै गयो । बल्ल–बल्ल ३ कक्षामा पुगेकी ती बालिका अभिभावकको मायाबाट त बञ्चित भइन् नै, आफन्तहरूबाट समेत टाढा भइन् । भारतीले भनिन्, ‘बलात्कृत बालिकाहरूलाई सामाजिक पुन:स्थापना कति जटिल छ भन्ने बुझाउन यही घटना काफी छ ।’

बलात्कारबाट पीडित भएका स–साना छोरीहरू न्यायिक उपचारका निम्ति बारम्बार घटनाको बयान बताउँदा मानसिक रूपमा हतास भइसक्छन् । जाहेरी दर्खास्त लेख्ने बेला, प्रहरीमा मौखिक बयान दिने बेला, अस्पतालका स्वास्थ्य परीक्षणका क्रममा ७ पाने फारम भर्ने क्रममा र अदालती बयानमा उनीहरूले बारम्बार दुस्वप्नजस्तो घटनाको साविती कहनुपर्छ । थापाथलीस्थित प्रसूति गृहकी डाक्टर देवी गुरुङ बलात्कारबाट पीडित भएका बालिकाहरू मनोवैज्ञानिक रूपमा संवेदनशील हुने गरेको अनुभव सुनाउँछिन् ।

न्यायिक प्रक्रियामा होस् वा स्वास्थ्य जाँचका क्रममा द्रुतगतिमा काम नहुँदा बलात्कारबाट पीडित भएका बालिकाहरू हतास भइसक्छन् । जस्तो कि, प्रसूति गृह पुगेका बालिकाहरू स्वास्थ्य परीक्षणका निम्ति घन्टौं पर्खिनुपर्ने बाध्यतामा हुन्छन् । प्रसूति गृहकी डाक्टर गुरुङका अनुसार ‘अप्रेसन थिएटर’भित्र गम्भीर प्रसूतिका बिरामीको उपचार चलिरहेका बेला बलात्कारबाट पीडित भएका बालिकाहरू स्वास्थ्य परीक्षणका निम्ति कुरिरहेका हुन्छन् । उनले भनिन्, ‘त्यस्तो बेला आमा र बच्चाको ज्यान बचाउने कि बलात्कृत बालिकाको स्वास्थ्य परीक्षण छिटो गर्ने भन्ने द्विविधा हुन्छ ।’ डाक्टर गुरुङका अनुसार जनशक्तिको अभाव र बलात्कारको स्वास्थ्य जाँच गर्ने छुट्टै टिम नहुँदा यस्तो समस्या बारम्बार देखिने गरेको छ ।

यस्तै समस्या प्रहरीकहाँ पनि छ । न्यायिक उपचारका क्रममा दर्जनौं अन्य कामले थिचिएका प्रहरीहरू बलात्कारजस्तो गम्भीर मुद्दाको अनुसन्धानमा पर्याप्त समय दिनै भ्याउँदैनन् । प्रहरी परिसर काठमाडौंका मुद्दा शाखाका डीएसपी मोहन थापाले अनेकन मुद्दाका चापले किचिएका प्रहरीले बलात्कारको घटनामा भनेजति समय दिन नभ्याउने बाध्यता रहेको स्वीकारे । उनले योभन्दा पनि गम्भीर कुरा अर्को रहेको भन्दै सुनाए, ‘प्रहरीकहाँ सेल्टर नहुँदा आफ्नै परिवारबाट बलात्कार परेकाहरूलाई पनि मुद्दा दर्तापछि घरमै पठाउनुपर्ने बाध्यता छ । यस्तो अवस्थामा उनीहरू थप मानसिक ताडनामा पर्ने जोखिम रहन्छ ।’

को–कोबाट बलात्कृत ?
केन्द्रीय बाल कल्याण समितिले हालै प्रकाशित गरेको बालबालिका सम्बन्धी विभिन्न घटनाको चौमासिक विश्लेषण प्रतिवेदनले बालबालिका हिंसाको चपेटामा पनि उत्तिकै पर्ने गरेको देखाएको छ । उक्त प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७४/०७५ को प्रथम ४ महिना (साउनदेखि कात्तिक) मा २ सय ११ जना बालबालिका विभिन्न हिंसा तथा शोषणबाट प्रभावित भएका थिए । यो संख्या पछिल्लो ४ महिना (मंसिरदेखि फागुन) मा बढेर ४ सय ३ पुगेको छ । यसले बालबालिका विरुद्ध भएका घटनाहरूको संख्यामा वृद्धि हुँदै गइरहेको देखिन्छ ।

प्रतिवेदनले पछिल्लो ४ महिनामा सञ्चार माध्यममार्फत मात्रै ७८ जना बालबालिकामाथि बालयौन दुव्र्यवहार र बलात्कार भएका घटनाहरू सार्वजनिक भएको र त्यसमा ७४ जना बालिका बलात्कारको सिकार भएको उल्लेख छ । प्रतिवेदनले फागुन महिनामा मात्रै ३१ बालिका शोषणमा परेको तथ्य सार्वजनिक गरेको छ । उदेकलाग्दो त के छ भने सार्वजनिक भएका घटनामध्ये ८ प्रतिशत बलात्कारका घटनामा बालिकाहरू सामूहिक बलात्कारको सिकार भएका देखिन्छन् । प्रतिवेदनले भनेको छ, बलात्कारका घटनामा ४१ प्रतिशत बालिका चिनेजानेका मान्छेबाट पीडित भएका छन् भने २७ प्रतिशत छिमेकीबाट, हाडनाताबाट १५ प्रतिशत र सामाजिक सञ्जालमार्फत चिनजान भएका ९ प्रतिशत, शिक्षकबाट ४ प्रतिशत बलात्कारका घटना भएका छन् ।

राजधानीमै बढ्ता
फागुन १७ गते घरबाट हिँडेकी १५ वर्षकी एक बालिका धेरै दिनसम्म परिवारको सम्पर्कमै आइनन् । मानसिक अवस्था कमजोर रहेकी छोरी हराएपछि आलसतालस भएका परिवारका सदस्यले कैयन ठाउँ भौंतारिए । तर घटनाको १२ दिनपछि अर्थात २८ गते हराएकी छोरी स्वयम्भुबाट भेटिइन् । तर यो बीचमा छोरीमाथी काठमाडौंका विभिन्न सवारी चालकले अनकेन ठाउँ पुर्‍याउँदै उनीमाथि बलात्कार गर्न भ्याइसकेका रहेछन् ।

प्रहरीका अनुसार रिङरोडमा चल्ने बा. ४ ख ३८५१ नम्बरको बसका चालक सन्तोष घिमिरे, सहचालक दिवस गड्तौलाले बसुन्धराको एक ग्यारेजमा लगेर बालिकामाथि बलात्कार गरेका रहेछन् । सन्तोषले ६ दिनसम्म आफ्नो कोठामा बन्धक बनाएर राखेकी बालिका २४ गते भागिछन् ।

त्यही दिन अर्को बसका सहचालक सुदिप बजगाईंले बालिकालाई भेट्टाए, बलात्कार गरे र छोडिदिए । २५ गते सहचालक दिवसले बालिकालाई पुन: भेट्टाएर चालक सन्तोषको जिम्मा लगाए । सन्तोषले फेरि आफ्नो कोठामा लगेर बालिकामाथि बलात्कार प्रयास गरे । २७ गते सन्तोषले बालिकालाई सातदोबाटोबाट रिङरोड चढ्ने गाडीमा चढाइदिए । बा. २ ख ४१९५ नम्बरको गाडीका चालक भोला तामाङ र सहचालक चन्द्र सापकोटाले बालिकालाई दिनभर गाडीमा घुमाए र राति ग्यारेजमा लगेर बलात्कार गरे । २८ गते उनीहरूले बालिकाको स्वास्थ्य बिग्रेको भन्दै स्वयम्भुमा ल्याएर छाडिदिए । सुन्दै दुर्दान्त कथाको अंशजस्तो लाग्ने घटना राजधानी काठमाडौंमै भएको थियो, त्यो पनि १२ दिनसम्म लगातार ।

सुन्दै आङ सिरिङ–सिरिङ हुने बलात्कारका घटना राजधानीका निम्ति नौलो कुरा होइन । काठमाडौंमा आर्थिक वर्ष २०७१/७२ यताका ४ वर्षमा १८ हजार २ सय २५ अपराधका घटना दर्ता भएका छन् । तिनमा ३ सय ९२ जबर्जस्ती करणी र १ सय १८ जबर्जस्ती करणी उद्योगका मुद्दा छन् । अर्थात कुल अपराधमा बलात्कारजन्य घटनाको मुद्दाको कुल संख्या ५ सय १० देखिन्छ ।

आर्थिक वर्ष २०७१/७२ यताका प्रत्येक वर्ष काठमाडौंमा बलात्कारको घटनामा उल्लेख्य वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०७१/७२ मा ९२ वटा बलात्कारका घटना दर्ता भएका थिए भने आर्थिक वर्ष २०७३/७४ का ९ महिनामा मात्रै ८९ बलात्कारका घटना दर्ता भएका छन् । प्रहरी परिसर काठमाडौंका डीएसपी मोहन थापाका अनुसार जनसंख्या वृद्धि, बलात्कारका घटना दर्ता गर्ने प्रवृत्ति र सामाजिक सञ्जालको माध्यम हँुदै स्थापित भएका कच्चा सम्बन्धजस्ता कारणहरूले बलात्कारका घटनामा वृद्धि गराइदिएको छ ।

राजधानीका प्रहरी प्रशासनका निम्ति कलिला नानीहरूको बलात्कारको मुद्दा नौलो विषय होइन । किनकि प्रत्येक दिन आङै सिरिङ–सिरिङ पार्ने घटना प्रहरीकहाँ पुगिरहेका छन् । जस्तो कि, फागुन २७ गते काठमाडौंस्थित काँडाघारी बस्ने १३ वर्षीया बालिका बलात्कारको सिकार भएको भन्दै महानगरीय प्रहरीवृत्त बानेश्वरमा उजुरी पर्‍यो । असोज २४ गते टिकाथलीका एक बालक आफ्नै बाबुबाट यौन हिंसाको सिकार बने । इँट्टाभट्टामा काम गर्ने आमा घरमा नभएको मौका छोपेर बाबुले नै ती बालकमाथि यौनहिंसा गरेपछि एक गैरसरकारी संस्थाको सहयोगमा महानगरीय अपराध महाशाखामा उक्त घटना पुग्यो । गत पुस १४ गते महानगरीय प्रहरीवृत्त बानेश्वरले १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा नेपाली सेनाका मेजर प्रभवविक्रम शाहलाई पक्राउ गर्‍यो र आवश्यक कारबाहीका निम्ति प्रभवलाई नेपाली सेनामा बुझाइयो । मेजर शाहले घरमै कार्यरत किशोरीमाथि यौन शोषण गर्दै आएका थिए ।

एकपछि अर्को कलिला बालिकामाथि भइरहेको बलात्कारजन्य हिंसाको शृङखलाबद्ध घटनाले यौन हिंसाको जघन्य घटना कसरी गुपचुप भइरहेको छ भन्ने गम्भीर प्रश्नमात्रै खडा गरिदिएको छैन, साक्षरहरूको जनघनत्व रहेको भनिएको सहरमा पनि किन यस्तो भइरहेछ भन्ने पेचिलो प्रश्न खडा गरिदिएको छ ।

काठमाडौं प्रहरी परिसरमा मात्रै २०७४ फागुन १ गतेदेखि चैत १३ गतेसम्म जबर्जस्ती करणीका २६ मुद्दा दर्ता भए । तिनमा संलग्न २६ प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार तीमध्ये १० वर्ष मुनिका ३ जना, १५ वर्ष मुनिका ९ जना, १५ देखि २० वर्ष उमेरका २ जना, २० देखि ५० वर्ष उमेरका १० जना र ५० वर्ष माथिका १ जना रहेका छन् । परिसरका प्रमुख एसएसपी विश्वराज पोख्रेलका अनुसार देशका अन्य भागमा जस्तै राजधानीमा पनि बालिकाहरू बलात्कारीको निसानामा परेका देखिन्छन् । उनले भने, ‘यो राजधानीको निम्ति लज्जाको विषय हो ।’

यौनका भोका विवाहित पुरुष
घिनलाग्दो बलात्कारको हर्कत कोबाट भइरहेछ त ? बलात्कार सम्बन्धी सार्वजनिक घटनाहरूलाई केलाउँदा यस्तो काम पुरुषबाट र त्यो पनि विवाहित पुरुषबाट सबैभन्दा धेरै भइरहेको छ । आर्थिक वर्ष २०७३/७४ का ९ महिनामा काठमाडौं प्रहरी परिसरमा दर्ता भएका १ सय १२ वटा बलात्कारका मुद्दा केलाउँदा विवाहित पुरुषबाटै सबैभन्दा धेरै बलात्कार भएका देखिन्छन् । प्रहरी परिसर काठमाडौंका डीएसपी मोहन थापाका अनुसार बलात्कारमा संलग्न पुरुषमध्ये धेरैजसो विवाहित देखिन्छन् भने पीडितचाहिँ अविवाहित देखिन्छन् ।

बलात्कारको घटनामा संलग्न अभियुक्तहरूको उमेरगत विश्लेषण गर्दा २६ देखि ३५ वर्ष उमेर समूहका अभियुक्तहरूको संख्या सबैभन्दा धेरै देखिन्छ । पछिल्लो ९ महिनामा दर्ता भएका जम्मा १ सय १७ घटनाको विश्लेषण गर्दा १७ देखि १८ वर्ष उमेर समूहका अभियुक्त २१ जना छन् भने १९ देखि २५ वर्ष उमेर समूहका २४ जना अभियुक्त छन् । त्यस्तै ३६ देखि ४५ वर्ष उमेर समूहका अभियुक्त ७ जना छन् भने ४६ वर्ष माथिका अभियुक्त ११ जना रहेका छन् । प्रहरीका अनुसार २१ वर्ष उमेर माथिका अधिकांश अभियुक्त विवाहित देखिन्छन् ।

दलित बढी पीडित
बलात्कारको मारमा सबैभन्दा धेरै कुन समुदाय र कुन वर्गका हुन्छन् होला ? सामाजिक र आर्थिक हैसियतले कमजोर वर्गका मान्छे नै बलात्कारको सबैभन्दा धेरै सिकार भइरहेको तथ्यांकहरूले देखाउँछ । दलित अधिकारको क्षेत्रमा कार्यरत संस्था जागरण नेपालका अनुसन्धानकर्मी शिवहरि ज्ञवालीले गरेको एक अध्ययनले आर्थिक वर्ष २०७३ मा भएका बलात्कारका ५ सय २७ घटनालाई विश्लेषण गर्दा १६ प्रतिशत दलित पीडित भएका देखिन्छन् । त्यस्तै ८ प्रतिशत मधेसी, ३९ प्रतिशत आदिवासी जनजाति, १९ प्रतिशत क्षत्री, १० प्रतिशत बाहुन, १ प्रतिशत मुस्लिम पीडित भएको देखिन्छ । जनसंख्याको हिस्साको आधारमा हेर्ने हो भने बलात्कारको सिकार भएका १६ प्रतिशत दलितको संख्या सबैभन्दा ठूलो देखिन्छ । किनकि पछिल्लो जनगणनाले नेपालको कुल जनसंख्यामा दलितको जनसंख्या १३ दसमलव २ प्रतिशतमात्रै रहेको छ ।

बढेको बढ्यै
प्रहरी प्रधान कार्यालयका अनुसार २०७०/७१ यताका ३ आर्थिक वर्षमा मात्रै बलात्कारका ३ हजार ५ वटा घटना दर्ता भएका छन् । जस अनुसार प्रत्येक दिन औसतमा ३ वटा बलात्कारका घटना भएका देखिन्छन् । यो त प्रहरीकहाँ दर्ता भएको घटनामात्रै हो । प्रहरीका अनुसार दर्ता नभएका वा सार्वजनिक नभएका बलात्कारका घटनाहरूलाई पनि जोड्ने हो भने बलात्कारको कहालीलाग्दो तथ्यांक भेटिन्छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७०/७१ मा ९ सय ३५ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएका थिए । त्यस यताका वर्षहरूमा बलात्कारका घटना बढ्दो क्रममा रहेको देखिन्छ । आर्थिक वर्ष २०७१/७२ मा ९ सय ८१ वटा बलात्कारका घटना दर्ता भए भने यो संख्या आर्थिक वर्ष २०७२/७३ मा बढेर १ हजार ८९ पुगेको देखिन्छ । आर्थिक वर्ष २०७३/७४ का ९ महिनामा मात्रै बलात्कारका ११ सय ३० घटना दर्ता भएका छन् । यो अघिल्लो आर्थिक वर्षभन्दा ४१ ले बढी हो ।

३ वर्षको आँकडालाई केलाउँदा प्रत्येक वर्ष जबर्जस्ती करणीको मुद्दामा उल्लेख्य वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०७१/७२ को तुलनामा आर्थिक वर्ष २०७२/७३ मा बलात्कारको घटनामा ९ दसमलव ९१ प्रतिशतले वृद्धि भएको छ । जबर्जस्ती करणीमात्रै होइन, जबर्जस्ती करणी उद्योगको घटनामा पछिल्लो वर्ष उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०७२/७३ मा ४ सय ५२ जबर्जस्ती करणी उद्योगका घटना प्रहरीमा दर्ता भएका थिए भने आर्थिक वर्ष २०७३/७४ का ९ महिनामै ५ सय ३१ जबर्जस्ती करणी उद्योगका घटना दर्ता भएका देखिन्छन् । यो भनेको अघिल्लो आर्थिक वर्षभन्दा १४ दसमलव ८ प्रतिशतले बढी हो ।

महान्यायधिवक्ताको कार्यालयका अनुसार आर्थिक वर्ष २०७०/७१ यताका ३ वर्षमा मात्रै जबर्जस्ती करणी उद्योगका १४ सय ५३ मुद्दा अदालतमा दर्ता भएका देखिन्छन् । यो तथ्यांकले पनि प्रत्येक दिन एकभन्दा धेरै जबर्जस्ती करणीको उद्योग भइरहेको देखाउँछ ।

टिप्पणी>> यो कस्तो समाज ?
म कस्तो समाजको सदस्य हुँ ? जहाँ बलात्कारी छाती फुकाएर हिँंड्छन् र बलात्कृत छोरी प्रत्येक दिन आँसु पिएर बाँच्नुपर्छ र प्रत्येक दिन मर्नुपर्छ ।

मेनुका थापा
हि जोआज प्रत्येक दिन छटपटिन्छु । जब सेल्टरमा रहेका ६० बलात्कृत बालिकाको मुर्झाएको अनुहार सम्झिन्छु, मलाई आफैप्रति हीनताबोध हुन्छ । कस्तो समाजमा हुर्केछु, तथ्यले मलाई बारम्बार घोचिरहन्छ ? कोही भन्छन्, यो बुद्ध जन्मेको देश, कोही भन्छन्, यो तपोभूमि, कोही भन्छन्, यो पशुपतिनाथको देश । तर यो कस्तो देश, जहाँ प्रत्येक दिन फूलजस्ता छोरीहरू आफ्नै परिवारका सदस्य, आफन्त र छिमेकीबाट बलात्कृत हुन्छन् । अनि यस्तो घटना पनि हामी थाहा नपाए जस्तो गरी बसिदिन्छौं ।

बलात्कारबाट पीडित भएका छोरीहरू बलात्कारको चोटले भन्दा त्यसपछिका दिनमा झेल्नुपर्ने झिरजस्ता प्रश्नले बारम्बार मानसिक बलात्कारको सिकार भइरहन्छन् । हाडनाता करणीमा परेका छोरीहरूको हालत त सबैभन्दा दयनीय देखिन्छ । उनीहरू बलात्कारपछि परिवारबाटै असुरक्षित हुन्छन् । कल्पना गरौं त परिवारबाटै अलग्गिएर जिन्दगी चलाउनु ? यिनीहरूको जीवन जिउँदै मरेतुल्य देखिन्छ ।

बलात्कार भएपछि सामाजिक संघ/संस्थाले केही दिन साथ दिन्छन् । मिडियाले केही दिन आत्मबल दिन्छ । कानुनले केही दिन उपचार दिन्छ । तर सिंगो जिन्दगी त उनीहरूले अनेकन तिखा प्रश्न झेलेर, अनेकन लाञ्छना सहेर बाँच्नुपर्ने हुन्छ । हाम्रो सेल्टरमा रहेका छोरीहरू वर्षाँै लामो मानसिक परामर्शपछि मात्र थोरै तङग्रिन्छन् । जीवनप्रति आशावादी पनि बन्छन् । तर जब म उनीहरूलाई लिएर फिल्म हेर्न जान्छु र फिल्ममा बलात्कारको दृश्य देख्छन्, त्यसपछि हप्तांैसम्म उनीहरूको अनुहार मुर्झाएको फूलजस्तो हुन्छ । जब बाबुबाटै बलात्कारको सिकार भएका छोरीहरू वर्षौंपछि स्कुलमा भर्ना गर्न जाँदा बाबुको नाम सोधिन्छ, उनीहरू फेरि मरेतुल्य हुन्छन् ।

तपाई कल्पना गर्नुस्, यौनबारे केही थाहै नपाएका, पुरुषको यौन अंगबारे केही विचार नै गर्न नसक्ने १० वर्ष मुनिका छोरीहरू बलात्कारको सिकार हुन्छन्, त्यसले उनीहरूको मनोविज्ञान कस्तो बनाउँछ ? सुरुका केही वर्ष त उनीहरूले पुरुषले दिएको पीडाका रूपमा मात्रै त्यसलाई बुझ्छन् । तर जब उनीहरू हुर्केर पूर्ण युवती बन्छन् र जब आफूमाथिको घटनाबारे थाहा पाउँछन्, उनीहरू फेरि मरेतुल्य हुन्छन् ।

म धेरै वर्षदेखि २४ सै घन्टा बलात्कृत छोरीहरूको उदास अनुहार हेरेर बाँचेको छु । उनीहरू सयौंचोटी मुच्र्छा परेर रोएको देखेको छु । बलात्कारपछि समाजले मानसिक रूपमा गर्ने बलात्कार झेल्दै उनीहरू हुर्केको देखेको छु । त्यस्तो बेला मलाई एउटै कुरा मनमा खेल्छ, म कस्तो समाजको सदस्य हुँ ? जहाँ बलात्कारी छाती फुकाएर हिंँड्छन् र बलात्कृत छोरी प्रत्येक दिन आँसु पिएर बाँच्नुपर्छ र प्रत्येक दिन मर्नुपर्छ । यी सबै थाहा पाउँदा मलाई आफू बाँचिरहेको समाज देखेर दिक्क लाग्छ ।

थापा रक्षा नेपालकी अध्यक्ष हुन् ।

प्रकाशित : चैत्र २४, २०७४ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?