नारी दिवस विशेष: “महिला–पुरुष प्रतिस्पर्धी हैनन्”

कान्तिपुर संवाददाता

काठमाडौँ — नारी दिवसको उपलक्ष्यमा हामीले चित्रकार रागिनी उपाध्याय, रंगकर्मी निशा शर्मा र अभिनेत्री केकी अधिकारीसँग उनीहरुले कसरी नारी दिवस मनाउँदैछन् भनेर कुराकानी गरेका थियौं । त्यही कुराकानीको सम्पादित अंश :

नारी दिवस विशेष: “महिला–पुरुष प्रतिस्पर्धी हैनन्”

नारी दिवसमा के गर्दै हुनुहुन्छ ?

रागिनी : दिवस मनाउनुभन्दा पनि नारी अधिकारलाई व्यवहारमा उर्तानुपर्छ भन्ने लाग्छ । यद्यपि आजैको दिन म समाजसेवी भद्रकुमारी घलेलाई सम्मान गर्दै छु । उहाँले आफ्नो सारा जीवन समाज सेवामा लगाउनुभयो, हामी कलाकारकी आमा भएर पनि लागिरहनुभएकै छ ।


निशा : म महिलावादी होइन, कलाकार हुँ । महिला दिवस मनाउँदिनँ । दिवस मनाएर केही हुन्छजस्तो पनि लाग्दैन । महिलाको हित वा नारी अधिकारको पक्षमा काम गर्न दिवस कुनुपर्दैन ।

केकी : दिवस नै त मनाउदिनँ । तर, मलाई प्रेरणा दिने र लैंगिक समानताको पक्षमा काम गर्ने विश्वका सारा मानिसप्रति आभार प्रकट गर्छु । मलाई आज नारी अधिकारबारे जानकारी नै नभएकाहरूको सम्झना आइरहेको छ । उहाँहरू अवस्थालाई माथि उठाउन जरुरी छ ।


नारी अधिकारलाई कसरी व्याख्या गर्नुहुन्छ ?

रागिनी : पुरुषकै जस्तो अधिकार हो । महिला–पुरुष बराबर हुन् । पुरुषले जन्मसिद्ध पाएका अधिकार महिलाले मुद्दा–मामिला, अड्डा–अदालत धाएर पनि पाइरहेका छैनन् । सम्पत्तिमाथिको अधिकारमा पुरुषले एकलौटी हक जमाइरहेका छन् । छोरीले वंश राख्दैनन् भन्ने गरिन्छ । वंश त कर्मले निर्धारण गर्ने कुरा हो । भगवान् शिवको अर्धनारीश्वरझैं महिला–पुरुष आधा–आधा हुन् ।

निशा : यो भनेको समानता हो । महिला र पुरुषले एकअर्कालाई सम्मान गर्नु वा बराबर महसुस गराउनु नै एकअर्काको अधिकारको रक्षा गर्नु हो । प्रकृतिले हामीलाई अलग–अलग बनाएका छन् । हामी एक होइनौं । हाम्रा आ–आफ्नै सबल र दुर्बल पक्ष छन् । आधा–आधा मिलेर मात्रै हामी पूर्ण बन्नुपर्छ । त्यही भएर समानता जरुरी छ ।

केकी : नारी अधिकार भनेको लैंगिक समानता हो । महिलाले पुरुषसरह अवसर पाउने प्रबन्ध हो । अधिकारको सवालमा सबै समान हुन्छन् । जो अधिकारबाट वञ्चित छ, उसले न्याय पाउनुपर्छ । तर, म आरक्षणको विरोधी हुँ । मान्छेले आफ्नो क्षमताअनुसार स्थान बनाउँछ ।

शिक्षा, स्वास्थ, चेतना स्तरमा नेपाली महिलाको स्थिति कहाँ पुगेजस्तो लाग्छ ?

रागिनी : पहिलेको दाँजोमा महिलाको अवस्था सुधारिएको छ । तर, समान अधिकारको कुरा धेरै पर छ । सोचमा परिवर्तन आएको छैन । सरकारले बराबर अधिकारको पक्षमा कानुन बनाए पनि व्यवहारमा असन्तुलन छ । भर्खरै चुनाव सकियो तर मुख्यमन्त्रीमा कति महिला निर्वाचित भए ? राजनीति, ब्युरोक्रेसीमा महिला तल्लो तहमा मात्रै छन् । शिक्षामा संख्या बढेको छ । चेतना स्तर पनि । तर, यतिले पुग्दैन ।

निशा : शैक्षिक स्तर बढेको छ, स्वास्थ्य स्थिति सुध्रिएको छ । चेतना स्तर पनि फराकिलो भएकै हो । तर, अर्धज्ञानले हामीलाई कमजोर बनाएको छ । महिला अधिकारको नाममा लड्नेहरूकै परिवार भताभुंग भएको छ । डिभोर्स रेट बढेको छ । पुरुषले प्यान्ट लगायो, ब्वाइज कट कपाल काट्यो, मध्यरातमा घर आयो भनेर महिलाहरू पनि उसै गर्न खोज्छन् । तीभन्दा के कम भन्ने खालको प्रतिस्पर्धी भावना जागेको छ । महिला–पुरुष प्रतिस्पर्धी होइनन् नि ।

केकी : हाम्रो समग्र अवस्था विकासोन्मुख छ । सबै पाटोमा हामी सुध्रिँदै, परिष्कृत हुँदै, जान्दै/बुझदै् गइरहेका छौँ । समाज र सोच एकैचोटि परिवर्तन हुँदैन । जेन्डर इक्वालिटीको कुरा धेरैले बुझ्न थालेको पाउँछु । महिलाका आवाज सुनिन थालेका छन् । यसपालि मिटु अभियानमार्फत कतिले आफ्ना दबिएका कुरा, कालो इतिहास सेयर गरे । आफ्ना कुरा राख्न सक्ने शक्ति नेपाली महिलामा पनि आएको छ ।


तपाईंले आम महिलाको पक्षमा के गर्नुभएको छ वा के गर्न सक्नुहुन्छ ?

रागिनी : म कुलपति रहेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा पहिला १८ प्रतिशत मात्र महिला थिए । अहिले प्राज्ञ परिषद् र सभामा गरी ३० देखि ४० प्रतिशत हुनुहुन्छ । यसलाई म उपलब्धि मान्छु । हुन त मलाई काम गर्न सहज छैन, धेरै चुनौती झेलिरहेकी छु । मजस्तो फाइटर महिलालाई त गाह्रो छ भने अरूको हालत कस्तो होला ? हामीले घरदेखि नै लडाइँ सुरु गर्नुपर्छ । परिवार, समाज, कार्यालय र देशसँगै भिड्नुपर्छ ।

निशा : काउन्सिलिङ गर्न सक्छु । नाटकमार्फत चेतना फैलाउन सक्छु । सही ज्ञान बाँड्न सक्छु । यस्तो गर्दै पनि आएकी छु ।

केकी : अरूका लागि गर्ने त छँदै छन्, पहिले आफ्नै लागि केही गर्न सकियो भने त्यो ठूलो कुरा हुन्छ । मैले कसैसँग झुकेर वा दबिएर काम गरिनँ भने यो अरूका लागि पनि प्रेरणा बन्छ । सबैले आफूलाई बलियो बनाउँदै लगे समाज धेरै हदसम्म अनुशासित हुन्छ । समाजका लागि काम गर्नेहरू एकातिर हुनुहुन्छ । उहाँहरूले आम मानिसका पक्षमा बोल्नुहोला । मैले अभिनेत्रीका रूपमा महिला केन्द्रित वा समान अधिकारसम्बन्धी फिल्म खेलेर जानकारी फैलाउने काम गर्न सक्छु ।

घरेलु हिंसा, बलात्कारका घटनामा कमी नआउनुको कारण के होला ?

रागिनी : बालमनोविज्ञान बिग्रेको मानिसले पछि गएर अपराध गर्न सक्छ । सानोमा माया, ममता, सत्कार नपाएको बच्चा ठूलो भएपछि हिंस्रक बन्ने खतरा हुन्छ । राम्रो शिक्षा पाएकाहरू त्यस्तो गर्दैनन् । त्यसकारण स्कुल स्तरदेखि नै यौन शिक्षाको प्रबन्ध हुनुपर्छ । मिडिया र सरकारले चेतना फैलाउने काम गर्नुपर्छ । महिला पछि परेको पनि शिक्षाकै कमीले हो ।

निशा : पढाइ भनेको किताबी ज्ञान मात्र होइन । पढेको छ तर राम्रो–नराम्रो छुट्याउन सक्दैन भने ऊ ज्ञानी भएन । मान्छेले आफ्नो दायित्व र कर्तव्यबोध गर्न सक्यो भने मात्रै अपराध घट्छ । हाम्रो शिक्षा शैली बलियो छैन । पढेकाहरू नै जेब्रा क्रसिङमा गाडी/बाइक रोक्दैनन्, पैदल यात्रुलाई उछिनेर कुद्छन् । ती ज्ञानी भए त ? अर्को कुरा, कानुन कमजोर भएपछि अपराधीको मनोबल बढ्छ । अहिले इन्टरनेटले पनि मान्छेलाई अपराधी बनाइरहेको छ ।

केकी : यस्ता अपराध पहिले पनि हुन्थे, भनौँ झन् धेरै हुन्थे होलान् । त्यो बेला यसलाई लुकाइन्थ्यो । इज्जतको डरले महिलालाई बोल्न दिइन्थेन । महिला डराउँथे । अहिले त्यस्तो अवस्था छैन । महिलाहरू बोल्न थालेका छन् । असल र प्रभावकारी शिक्षाले यसलाई रोक्न सक्छ ।

प्रकाशित : फाल्गुन २४, २०७४ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?