२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

गणतन्त्र गान

काठमाडौँ — ठूलठूला आन्दोलनमा राजधानीका जमल, रत्नपार्क र प्रदर्शनीमार्ग निकै तात्ने गर्छन् । हामी संस्थापक सदस्य रहेको काठमाडौं मोडल हस्पिटल प्रदर्शनीमार्गतिरै भएकाले आन्दोलनका घाइतेहरू त्यहाँ आउँथे । २०६२–६३ को जनआन्दोलनमा घाइतेको ओइरो थियो । सरकारी स्वामित्वका अस्पताल जाँदा प्रहरीले समात्ला भन्ने डर भयो । त्यसैले आन्दोलनका बेला मोडल अस्पताल खचाखच हुने मात्र होइन, बिस्तारै त्यहाँका औषधिमुलो सकिन थाले । घाइतेसँग पैसा लिने कुरा पनि भएन, औषधिमुलो जुटाउने उपाय पनि भएन ।

गणतन्त्र गान

दोस्रो जनआन्दोलन चैत २२ देखि वैशाख ११ सम्म चल्यो । हामीले चैत २९ तिर ‘जनआन्दोलन प्राथमिक स्वास्थ्य उपचार कोष’ स्थापना गर्‍यौं । महले १ लाख रुपैयाँ राखेर सुरु गरेको कोषमा जनस्तरबाट ठूलो डोनेसन आयो । कान्तिपुरका पत्रकारहरूले एक दिनको पारिश्रमिक उपलब्ध गराए । यसमा २ करोड ५५ लाख रुपैयाँ जम्मा भयो । त्यत्रो पैसा राख्न जोखिम थियो । बोरामा हालेर लुकायौं । लक्ष्मी बैंकका राजेन्द्र खेतानले ‘रसिद दिन्नँ तर बैंकमा राखिदिन्छु’ भनेर राखिदिए । त्यो पैसाबाट हामीले सात हजार घाइतेको उपचार गर्‍यौं । विष्णुलाल महर्जनको फोक्सोमा डायफ्राम (पेसमेकर) जडान गर्न ३० लाख दिएका थियौं, तर उहाँलाई बचाउन सकिएन । मुकेश कायस्थलाई २ लाख ५० हजार दियौं । प्रद्युम्न खड्कालाई एयर एम्बुलेन्स मगाएर दिल्ली पठायौं । उनी पनि उतै बिते । हातखुट्टा भाँचिएका धेरै घाइतेलाई फलोअपमा आउँदासमेत कोषबाटै उपचार खर्च जुटयो । त्यो बेला सरकार आन्दोलन दबाउनपट्टि लागेको थियो । उसले गोली, लाठी, अश्रुग्यास प्रहारबाट घाइते भएकाहरूको उपचार गर्दिने कुरै भएन । सरकार परिवर्तनपछि चाहिँ राज्यले नै उपचारको अभिभारा लियो । हामीले बाँकी भएको ५० लाख रुपैयाँ मोडल अस्पतालाई हस्तान्तरण गर्‍यौं । र, कोष विघटन भयो ।

लोकतान्त्रिक आन्दोलनका बेला कान्तिपुर पब्लिकेसन्ससँग हाम्रो गहिरो नाता जोडिन पुग्यो । कान्तिपुर पत्रिका कडै रूपले आन्दोलनका पक्षमा लागेको थियो । सरकारले यसको भवन नै जफत गर्देलाजस्तो भएको थियो । चैत अन्तिमतिर आन्दोलन अलि शिथिल भएका बेला हामी कान्तिपुर प्रांगणमा जम्मा भएका थियौं । कुरैकुरामा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले भुइँको माटो समाएर ‘यो आन्दोलनलाई जसरी पनि वार कि पार पार्नुपर्छ’ भने । ‘आन्दोलन सफल पार्नैपर्छ’ भनेर हामी बाहिर निस्किँदै गर्दा उनले ‘तपाईंका मुखमा दूध र भात’ भन्नुभएको थियो ।

हामी सडकमा निस्किएको दिन कफ्र्यु लागेको थियो । पुरानो बानेश्वर उकालोको गुरुकुल थिएटर (यो अहिले छैन) बाट हातमा कालो पट्टी बाँधेर निस्कियौं । चोकमा पुगेपछि हाम्रो काँधैमाथिबाट स्वाट्ट गोली गयो । झसङ्ग त हुने नै भयौं । धेरै वर्षपछि एक जना प्रहरी भाइले ‘त्यो गोली याद छ ?’ भनेर सोधे । हामी दुवैलाई प्रस्ट याद थियो । उनले भने, ‘त्यो मैले नै हानेको थिएँ । माथिको आदेश थियो । तर, नलाग्ने गरी हानेको थिएँ ।’

त्यो बेला हामीलाई ‘आन्दोलनमा किन ढिलो उत्रियौ ? राजावादी हौ कि ?’ भन्ने खालका प्रश्न धेरै आए । कतिले ‘कलाकर्मीहरू पनि संघर्षमा जुट्नुपर्‍यो’ भन्दै आलेख छपाए । कलाकारहरूले स्थापना गरेको ‘लोकतान्त्रिक चलचित्र मञ्च’ मा हामी थिएनौं । यसर्थ, हाम्रो सहभागिता अलि ढिलाइ भएको हुन सक्छ । त्यो बेला छिनछिनमा आन्दोलन भइरहन्थ्यो र सबै आन्दोलनमा हिँड्न सम्भव पनि थिएन । अर्को कुरा, हामीलाई त्यो आन्दोलन सही हो कि गलत भन्ने छुटयाउनै समय लाग्यो । नेताहरूको चरित्रै त्यस्तो थियो । हामी त २०४६ सालदेखि नेताहरूको पछि लागेका मान्छे । पञ्चायती व्यवस्थाविरुद्ध लडेकाहरूबाट कत्रो आशा राखिएको थियो । उनीहरूलाई कति विश्वास गरेका थियौं । तर, उनीहरूले जनआकांक्षा अनुरूप काम गरेनन् । उल्टै कत्राकत्रा काण्डमा मुछिए । देशभन्दा परिवारको मोहमा रुमलिए । अनि उनीहरूले नै आह्वान गरेको आन्दोलनमा किन जाने भन्ने लाग्यो, सुरुसुरुमा । तर, जसै जनता भिड्न थाले, हाम्रो दुविधा हटयो । ‘यो आन्दोलन नेताको नभई जनताको हो’ भन्ने आभास हुनासाथ हामी पनि निस्किहाल्यौं ।

हामी सधैँ डेमोक्रेटिक सिस्टमका पक्षधर रहयौं । मह बन्नुअघि एक्लाएक्लै छँदा पनि दरबार, राजा र तत्कालीन व्यवस्थाविरुद्ध कार्यक्रम गरेका थियौं । मदनकृष्णको आबद्धता मुनास क्लब, मंका खल: आदिमा थियो । यिनले प्रहसन प्रतियोगिताहरू गर्थे, जसमा निरंकुशता र अन्यायविरुद्ध व्यंग्य गरिएको हुन्थ्यो । २०३८ सालमा गायक रुबि जोशीले हामीलाई एक गराएपछि हामीले सामाजिक सन्देशसहितका हास्यव्यंग्य कार्यक्रम बनाउन थाल्यौं । ‘१७ हजार ५ सय’, ‘बनपाले’ जस्ता शृंखलामाथि प्रशासनका तर्फबाट आपत्ति जनाइयो । जुन बेला राजनीतिक पार्टीहरू प्रतिबन्धित थिए, त्यो बेला हामीले परिवर्तनका लागि पहल गरेका थियौं ।

पञ्चायतकालमा हरेक कार्यक्रम र स्टेज सोको स्क्रिप्ट अञ्चलाधीश कार्यालयमा पठाउनुपथ्र्यो । त्यहाँ सेन्सर हुन्थ्यो । सेन्सरले केके काट्छ भन्ने हामीलाई थाहा थियो । त्यसैले काटिने चीज उल्लेख नगरी पठाउँथ्यौं । पास भएर आएपछि उल्लेख नभएका चीज पनि राखेर कार्यक्रम देखाउँथ्यौं । ती कार्यक्रमको अडियो क्यासेट निकालेर बाँड्थ्यौँ । चिनियाँ रेडियो छयापछयाप्ती हुनु र हामीले क्यासेट चक्का निकाल्नु एकैपल्ट भएकाले हाम्रा कार्यक्रम नेपालीका घरघर पुगे । देशमा राजनीतिक आन्दोलन सुरु हुनुअघि नै हामीले हास्यव्यंग्य मार्फत क्रान्ति सुरु गरिसकेका थियौं ।

पञ्चायत ढलेर बहुदलीय व्यवस्था आएपछि जनताले नेताहरूबाट जुन आशा राखेका थिए, त्यो पूरा भएन । तिनले जनताले चिताएअनुसार काम गर्न सकेनन् । नेताहरू त पञ्चायतकालका भन्दा पो फोहोरी भएर निस्किए † यसले आमजनतामा चरम निराशा उत्पन्न गरायो । नेतृत्व परिवर्तनको चाहना बढ्दै गयो । हामी नेपालीको दुर्भाग्य, २०४६, २०६२/६३ पछि र अहिले पनि त्यही नेतृत्व दोहोरिइरहेको छ † जननिराशाले जनआन्दोल–२ त जन्मायो, तर त्यो बेला राजा ज्ञानेन्द्रले हस्तक्षेप नगरेका भए सायद गणतन्त्र आउने थिएन । गणतन्त्र वास्तवमा ज्ञानेन्द्रले ल्याइदिएका हुन्, सत्ता हत्याएर । हाम्रा (केही) राजनीतिक पार्टीले गणतन्त्रसम्मको लक्ष्य लिएकै थिएनन् ।


कलाकार भनेका समाजले चिन्ने वर्ग परे । हामी आन्दोलनमा लाग्यौं भने अरूलाई प्रेरणा मिल्छ । पब्लिक प्रेसर क्रिएट गर्न सजिलो हुन्छ । तर, जुन पायो त्यही आन्दोलनमा लाग्नु हुँदैन । हामीलाई राजनीति आउँदैन । जानेको चीज कलाकारिता मात्रै हो । हामीजस्ता राजनीति नजान्ने मान्छे राजनीतिमा भएकाले नै नेपालको राजनीति बिग्रिएको हो । तिनीहरूबाट नहुने देखेर कतिपयले हामीलाई राष्ट्रपति, प्रधानमन्त्री बनिदिए हुन्थ्यो भन्दै सामाजिक सञ्जालमा फोटा राखेको देखिन्छ । जनता निराश भएर हामीलाई विकल्पमा राखेका हुन् ।

कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री छँदा हामीलाई एक पटक राजनीतिको प्रस्ताव आएको थियो । उनले टिकट दिलाउँला भनेका थियो रे † हामीले ‘पार्टीमा लाग्दैनौं, तटस्थ बस्छौं’ भन्यौं । उनले ‘ठीक निर्णय’ भने । हामी कुनै एउटा पार्टीका मान्छे हुन चाहँदैनौं । सबै पार्टीसँग समान निकटता राख्नुपर्छ भन्ने हाम्रो मान्यता छ । हरिवंश बाहुन आचार्यमा मात्र सीमित हुन चाहँदैन । त्यस्तै, मदनकृष्ण नेवारलाई सबै जातिले आफ्नो ठानून् भन्ने लाग्छ । एउटा पार्टीको सदस्य भयो भने अरू पार्टीले पराई ठान्लान् । हामीलाई कसैको पराई हुनु छैन ।

राजनीतिमा लाग्यो भने मर्ने बेला बदमान होइएला भन्ने डर पनि छ हामीलाई । यत्रो वर्ष लगाएर आर्जेको मानसम्मान खस्किन्छ । राजनीतिले भन्दा बढी कलाकारिताले सम्मान दिएको छ । हामीलाई पार्टीमा लागेर विभाजित हुनु छैन । कतिपय कलाकार पार्टीमा लागेका छन् । कोमल वलीकै कुरा गरौं, उनको पृष्ठभूमि बलियै छ । पहिलेदेखि नै राजनीतिका लागि बाटो बनाउँदै आएकी थिइन् । बोल्न सिपालु छिन् । नेतृत्व लिने क्षमता पनि छ । सांसद बनिन्, राम्रै गर्लिन् । हामीले चाहिँ कहिल्यै कुनै पार्टीको सदस्य हुने कल्पनासम्म गरेनौं ।

लोकतन्त्रका लागि हामी कलाकारले आआफ्नै किसिमले भूमिका खेल्यौं । हरेक क्षेत्रका लागि यो व्यवस्था उत्तम छ । लोकतन्त्र नभएको देशमा विदेशीले लगानी गर्नै डराउँछन् । लामो संघर्षपछि लोकतन्त्र त आयो, तर हाम्रो लोकतन्त्र अनुशासित हुन सकेन, छाडा छ । हाम्रा हरेक संघसंस्था राजनीतिक पार्टीका भ्रातृ संगठनजस्ता छन् । लोकतन्त्रले कला क्षेत्रलाई पनि अनुशासित बनाएको छैन । प्रज्ञा भवन खण्डहर बनेको छ । राजनीतिक आस्था राख्नेहरू मात्र प्राज्ञ बन्छन् । हाम्रो लोकतन्त्रलाई अब अनुशासित बनाउनुपर्छ ।


(सजना बरालसँगको कुराकानीमा आधारित ।)

प्रकाशित : फाल्गुन ७, २०७४ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?