भीडले विवेक गुमाउँदा...

रमण घिमिरे

काठमाडौँ — झन्डैझन्डै कौरव–पाण्डवको शैलीमा करिब दुई घण्टासम्म निरन्तर आक्रमण भइरहयो । अहिले पनि मलाई के कुरामा आशंका लाग्छ भने डेढ–दुई सय मिटर नजिकको प्रहरी कार्यालयमा नलगी किन कान्तिपुरमै ल्याइए ती राहदानी भरिएका बोराहरू ? यो कतै कान्तिपुरमाथिको नियोजित षड्यन्त्र त थिएन ? आशंका गर्ने प्रशस्त ठाउँ छन् । 

इराकमा १२ जना नेपालीको नृशंस हत्या भएको समाचार सम्प्रेषण भएको थियो । काठमाडौं बिहानैदेखि स्तब्ध र शोकाकुल मानसिकतामा थियो । सवारी साधन पनि फाट्टफुट्ट मात्र चलेका थिए । मूल सडक, गल्ली, कुनाकाप्चा जताततैबाट धूवाँको मुस्लो उडेको देखिन्थ्यो । राजधानीको आकाशमा बाक्लो कालो धूवाँले छपक्कै ढाकेको थियो । किनभने आक्रोशित जनसमूहले हरेकजसो म्यानपावरको मुकाम खोजीखोजी डढेलो सल्काइरहेका थिए । हिजोसम्म म्यानपावरबाट कुस्त भाडा–रकम असुल्दै आएका घरधनीहरू आफ्नो घर जोगाउन धमाधम म्यानपावरका नामपाटीहरू उक्काउँदै फ्याल्दै थिए । समय र परिस्थिति यति छिटो प्रतिकूल भएको थियो कि हेर्दाहेर्दै आफ्ना मान्छे र पराई मान्छेबीचको सीमारेखा मेटिँदै थियो ।
१६ भदौ २०६१ को घटना हो ।

यस अवस्था र परिस्थितिको अवलोकन गर्दै म ओमकारेश्वरबाट भीमसेनगोला, अनामनगरको एक फन्को लगाएर पुरानो बानेश्वरको मूल सडक हुँदै कान्तिपु्रको कार्यालय, सुविधानगर पुग्दा अन्दाजी दस बजेको थियो । सबैतिर शान्ति छाएको थियो, एक गहिरो सन्नाटा । भन्छन् नि आँधी आउनुअघि समुद्र शान्त देखिन्छ । हो, त्यस्तै थियो कान्तिपुर अगाडिको मूल सडक, छेउछाउका गल्लीको अवस्था । सर्वत्र शान्ति थियो । सडकमा मानिस चेतशून्यजस्तो मानसिकतामा हिँडिरहेका थिए । कार्यालय आउने बेलै भएको थिएन ।

त्यतिबेला कान्तिपुर कार्यालयमा टेलिभिजन र पब्लिकेसन्सका गरी यस्तै २०–२५ जना सहकर्मीहरू थियौं कि † यत्तिकैमा दुई–चार जना ठिटाहरू बोरा बोकेर कान्तिपुरभित्र छिरे । बाहिर भवनहरू जलिरहेछन्, हामी मात्र बाँसुरी बजाएर बस्न सक्ने अवस्था पटक्कै थिएन । त्यसैले हामी पनि प्राङ्गणमा झर्‍यौं । बोरामा के छ भन्ने अनुसन्धान गरियो । विदेशमा काम गर्नजानेहरूले म्यानपावरमा जम्मा गरेका राहदानी रहेछन् । तिनलाई कान्तिपुरले सुरक्षितराखिदियोस् भनेर ल्याइएको रहेछ । तिनलाईनष्ट भएको रमिता हेरेर ती सयौं नेपाली कामदारहरूको भविष्यमा पनि आगो लाग्नदिनु त निश्चय नै न्यायोचित थिएन । अनि कान्तिपुरका कुनै अधिकारीले जनताको सम्पत्ति जनताको सद्भावबाट चलेको पब्लिकेसन्सले जिम्मा लिनु मनासिव ठाने र मूलद्वारको छेउमा राखिदिनु भन्ने निर्देशन दिए ।
यतिबेलासम्म कान्तिपुर वरिपरि रहेका दुई–चारवटा जति म्यानपावरका कार्यालयहरू थिए, तिनमा पनि कालो धूवाँको मुस्लो हुर्रहुराउन थालिसकेको थियो । तर हामी निश्चिन्त थियौं ।

कान्तिपुरजस्तो जनआस्था र विश्वासमा चलेको संस्थामा कसले कुभलो चिताउला र ? जनताको पक्षमा सधैं वकालत गर्दै आएका हाम्रा प्रकाशनहरूमाथि कसैको कुदृष्टि पर्ला भन्ने सोच्नुसम्म पनि विकृत मानसिकताजस्तो हुन्थ्यो ।

सुधीर शर्मा, मुकुल हुमागार्इं, म र एकजना साउद थरका सहायकलगायत पाँच–छ जना मात्र थियौं नेपालको कार्यालयमा । हामी झ्यालबाट सडक र छेउछाउमा भइरहेका क्रियाकलापहरूको अवलोकन गरिरहेका थियौं । अचानक यस्तै २५–२६ वर्षका एक जमात युवाहरू कान्तिपुर परिसरभित्र छिरे । त्यतिबेला कान्तिपुरको मूलद्वार पनि खासै गतिलो थिएन । यसअघि कसैको मगजमा कान्तिपुरभित्र यस्तो ताण्डव मच्चिएला भन्ने कल्पनासम्म थिएन । त्यसैले अहिलेजस्तो बलियो गेट बनाउनुपर्छ भन्ने विचारै थिएन । बाहिरको मूल सडकदेखि कान्तिपुर छेउसम्म मानिसको घुइँचो लागेको थियो । मानिसहरू भित्रबाहिर ओहोरदोहोर गरिरहेका थिए । त्यसैले त्यो जमात छिरेपछि पनि हामीले अन्यथा अर्थमा लिएनौं । रमितेहरू रमिता हेर्न भित्र पसे भन्ने अड्कल लगायौं । तर हाम्रो अनुमान फेल खायो । त्यसमध्येको एउटा, जसले रातोरातो रङको ज्याकेट लगाएको थियो– त्यो अचानक कान्तिपुरका विरुद्ध प्रलाप गर्न थाल्यो । ऊसँगै आएकाहरू पनि उसको आक्रोशमाआफ्नो आक्रोश मिसाउँदै कुर्लिन थाले । कान्तिपुरले के कसुर गरेको थियो र ? जनताको सम्पत्ति सुरक्षित राखिदिन जनताले नै आग्रह गरेकाले परिस्थिति साम्य नहुञ्जेलसम्मका लागि दुई–तीन बोरा राहदानी राखिदिएको थियो । बस्, कसुर यति थियो ।

तर यहाँ त अनर्थ हुन थाल्यो । रातो कपडा लगाउने युवाले एउटा गाडीमा आगो झोसिहाल्यो । उसका मतियारहरू पनि सक्रिय हुन थाले । छेउछाउमा राखेका बाइकहरूमा आगो झोस्न उत्तेजित देखिए ।

आगो झोस्दै एउटाले कान्तिपुर मूल भवनको दोस्रो तलाको झ्यालमा ताकेर इँटा प्रहार गर्‍यो । झ्यालको सिसा चकनाचुर भएर झ्यालमै टाँसियो । प्लास्टिक कोडेट भएकाले छन्द्र्याङछुन्द्रुङ भुइँमा खसेन । त्यसैमध्येको एउटाले बन्द सटरमा कस्सेर लात्ती बजार्‍यो र भवनभित्र छिर्ने प्रयन्त गर्‍यो । तर यसमा ऊ सफल भएन । अनि ऊ आफ्ना दस्ताका दुई हमलाकारीलाई बटुलेर पश्चिमपट्टिको क्यान्टिनछेउ पुग्यो । त्यहाँबाट तिनीहरू टेलिभिजनको स्टुडियोमा उक्लिने प्रयत्न गर्दै थिए । एउटाले माथि जाने सानो भर्‍याङको बन्द ढोकामा जुत्ता बजार्‍यो । तर हाम्रा सुरक्षाकर्मीहरूले तिनीहरूको प्रयासलाई असफल पारे र भगाए । बढो कोलाहलपूर्ण वातावरण थियो । कतैबाट कुनै सुरक्षाको अपेक्षा गर्न सकिने अवस्था थिएन । त्रास र आतङ्कले वातावरण यति हदसम्म कब्जा गरेको थियो– एक जना टेलिभिजनका समाचारवाचक झ्यालबाहिरको कोलाहलपूर्ण दृश्य देखेर किंकर्तव्यविमूढ अवस्थामा समाचारपढ्दापढ्दै बीचैमा छाडेर एक तलामुनिको पर्खालबाट हामफालेर बल्लतल्ल ज्यान जोगाउन सफल भए ।

अवस्था र वातावरणले विस्तारै एकतर्फी युद्धको भूमिका बाँध्दै थियो । हाम्रा साथीहरू जो कार्यालय आउन हिँडेका थिए, मानिसको भीड छिचोलेर भित्र आउन सक्ने अवस्था थिएन । तिनीहरू केही गर्न नसकेकामा चुकचुकाउँदै बाहिरै छटपटाइरहेका थिए । हामी भित्र छटपटाउँदै थियौं । ठीक यति नै बेला टेलिभिजनको माथिल्लो तलाबाट हडबडाउँदै झरे कैलाश सर । उनीसँगै थिए तीर्थ कोइराला पनि । हामीसँगै उभिएर कैलाश सरले पनि घटनाको जानकारी लिए । के गर्ने ? छेवैको प्रहरी परिसर चकमन्न निदाएको छ । मानौं, केही भएकै छैन । कैलाश सर भन्दै थिए– ‘प्रहरीलाई खबर गरेको र सहायता मागेको तर प्रहरीको कतै उपस्थिति देखिँदैनथ्यो ।’ तल त्यो जमात रणभूमि बनाउन उद्यत देखिन्थ्यो । कान्तिपुरमाथि हमला गर्न खोज्नेहरू धेरै थिएनन्, भीडका अधिकांश मानिस कान्तिपुरप्रति आस्थावान् थिए । हामीले यस्तै अनुमान गरेका थियौं ।
वास्तवमा हामीले कान्तिपुरमाथि यस्तोहमला हुन्छ भनेर सोचेकै थिएनौं । केही युवा जो तल वितण्डा मच्चाइरहेका थिए, तिनीहरूले नबुझेर यसो गरिरहेछन् भन्ने हामीलाई लागेको थियो । तर होइन रहेछ । नबुझ्नेले यति धेरै भौतिक सम्पत्तिको क्षति हुने क्रियाकलाप गर्न सक्तैनथ्यो ।

यत्तिकैमा कान्तिपुर पब्लिकेसन्सको मूल भवन (जुन भूकम्पले क्षति पुर्‍याएपछि ढालियो) तिर पनि विध्वंश गर्न त्यो जत्था अघि बढ्यो । तर सबै सटर बन्द गरिसकिएकाले त्यो जत्था त्यहाँभित्र पस्न भने सकेन । तर टेलिभिजनको भुइँतलाको ‘रिसेप्सन’ कक्षमा पसेर टेलिभिजन,झ्यालका सिसालगायत जेजे भेटे तिनको अस्तित्व एक झिमिकमा नामेट पारिदिए ।

अनि भने कैलाश सर तातिए । उनीसँगै हामी पनि तातियौं । हामी सबै एक तलामाथि गएर आत्मरक्षाका लागि केही लाठीमुङ्ग्रा पाइन्छन् कि भनेर खोज्यौं । समाचार बनाउने अफिसभित्र त्यस्ता सामग्री कहाँ पाउनु ? अनि कैलाश सरले क्यामेरा ठढ्याउने फलामको एउटा लाठो समाते । कैलाश सर, सुधीर शर्मा, तीर्थ कोइराला, मुकुल हुमागाईं र म, हामी यति थियौं । आगजनीको क्रम रोकिएको छैन । जेजे भेटिन्छ, त्यसैले पुल्ठो झोस्दै विनाशको मुखमा लग्दैछ हाम्रो भौतिक संरचनालाई ।

कैलाश सरले कान्तिपुर टेलिभिजन भवनको मूलद्वारमा पूर्वपट्टि फर्किएर भने– ‘कान्तिपुर जनताको स्वामित्व हो, तपाईंहरूको सम्पत्ति हो । हामी तपाईंहरूकै हितमा, तपाईंहरूकै अभिव्यक्ति पोख्तै आइरेहका छौं । तपाईंहरूकै न्यायका लागि र शोषणविरुद्ध आवाज उठाइरहेछौं । अनि किन यसरी आफ्नै घरभित्र धावा बोल्नु हुन्छ ?’ उनको कुरा सुनेर विस्तारै भीडको स्वभाव परिवर्तित भयो । विस्तारै भीड हट्यो।

अहिले पनि मलाई के कुरामा आशंका लाग्छ भने डेढ–दुई सय मिटर नजिकको प्रहरी कार्यालयमा नलगी किन कान्तिपुरमै ल्याइए ती राहदानी भरिएका बोराहरू ? जीउधनको सुरक्षाका लागि बारम्बार सुरक्षाका उच्च अधिकारीहरूलाई गुहार गर्दा पनि किन कुनै व्यवस्था गरिएन र छेवैमा रहेको प्रहरी परिसरका प्रहरीहरू पनि किन मूकदर्शक भएर बसे ? यो कतै कान्तिपुरमाथिको नियोजित षड्यन्त्र त थिएन ?

यो एकतर्फी युद्ध थामिएको दुई घण्टापछि आए सेना र प्रहरीका केही मानिस । अपराहनको ४ बजेको हुनुपर्छ । र, हामी सुरक्षाको जिम्मेवारी लिन्छौं, नआत्तिनुस् भने । तर आगो निभाइसकेपछि तिनीहरू सहानुभूतिको खाली बाल्टी बोकेर आउनुको कुनै प्रयोजन थिएन ।

घिमिरे नेपाल साप्ताहिकका कला संयोजक हुन्।

प्रकाशित : फाल्गुन ७, २०७४ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्

मरनीदेवीको मुहारमा उज्यालो

मरनीदेवीले न्याय पाएको घटनापछि महोत्तरीका कुनै पनि महिला बोक्सी आरोपमा यातना र दुव्र्यवहारको सिकार हुनुपरेको छैन । 
रवीन्द्र उप्रेती

काठमाडौँ — ‘सिमरदहीमा अब बोक्सी नचाउने रे १’ अकस्मात् उठेको यो हल्लाले सदरमुकामलगायत जिल्लाको दक्षिणी भेगमा हुरीबतास मात्र ल्याएन, यसको रापले प्रतिनिधिसभालाई समेत ततायो । आजको फेसबुके भनाइमा त्यो खबर एकाएक भाइरल भयो । 

गाउँलाई कथित बोक्सीरहित बनाउने नाममा आफ्नै पहलमा भारतबाट धामीझाँक्री झिकाउने निर्णय गाविसले गरेको थियो । यसका लागि गाविसकै अगुवाइमा हस्ताक्षर संकलन गरिएको थियो । प्रसाद खान नजाने महिलाका परिवारबाट ५० हजार जरिवाना असुलउपर गर्ने उर्दी गाविसले नै जारी गरेको खबर थियो ।

सत्यतथ्य बुझ्न म ०५८ साउन ३० गते बिहानै साइकल चढेर सिमरदहीतर्फ लागंेंं । बाटाभरि बोक्सी बकाएको हेर्न जाने मान्छेको लर्को थियो । अधिकांशका हातमा लाठी थियो । लाग्थ्यो, कतै हमला वा लडाइँका लागि जाँदैछन् । उनीहरूले आपसमा स्थानीय भाषामा भनेको सुनिन्थ्यो, ‘साबित भएपछि डायनलाई त्यहीं ढाल्नुपर्छ ।’ कोही भन्थे, ‘यो धामीले मसान सिद्ध गरेको छ ।’ अर्कोले सुनायो, ‘यसले सिमरदही आउनेबित्तिकै मसाने हड्डीबाट भारतमा रहेकी आफ्नी भाउजूसँग टेलिफोनमा झैं कुरा गर्‍यो ।’ फेरि सुनियो, ‘यो भक्ता (धामी) मा यति शक्ति छ कि उसको अगाडि कस्तै अबिजालो बोक्सी पनि टिक्न सक्दैन ।’

सिमरदहीमा विद्यालयनजिक आँप बगैंचामा मानिसको भीड देखियो । भारतबाट झिकाइएका धामी नयाँ धोती लगाएका सहयोगीसाथ वेदी बनाई पूजा गर्ने तरखरमा थिए । नजिकै मलिन अनुहार भएका महिलाको लाम थियो । गाविसको उर्दी भएकाले आफू बोक्सी हो/होइन भनी साबित गर्न उनीहरू धामीले मन्त्रेको प्रसाद खान बाध्यताले आएका थिए । उनीहरूका अनुहारमा ‘आफू पनि बोक्सीमा दरिने त हैन ?’ भन्ने भय र आशंका झल्केको देखिन्थ्यो ।

धामीको वेदी नजिकै गहुँ र चामलको भुटेको पिठोमा सख्खर मिसाएर बनाइएको प्रसादका ढाकी थिए । प्रसादमा सबैको उत्सुकता टिकेको थियो । धामीले मन्त्र फुकेर दिएको प्रसाद खाँदा जो बोक्सी छ उही मूर्छित हुने, अरूलाई केही नहुने प्रचार गरिएको थियो । वरिपरि तैनाथ लठैत समूहको आक्रामक व्यवहारले माहोललाई थप भयाक्रान्त बनाएको थियो ।

मेरो मनमा अनेकन प्रश्न पैदा भए । तर यसविपरीत बोल्दा भीडको सिकार हुने सम्भावना प्रबल थियो । महोत्तरीमा बोक्सी आरोपमा महिलामाथि निर्घात कुटपिट गर्ने, मलमूत्र ख्वाउने, चारपाटा मुड्ने, बलि दिन खोज्नेजस्ता घटना त्यसअघि पनि नघटेका हैनन् । ०५२ सालमा सोनमाकी बुधनी खातुन र जलेश्वरकी पम्फा देवी, ०५४ सालमा हरिगोरिगामाकी कलावती देवी, ०५५ मा लक्ष्मीनियाकी बुचिया देवी, ०५६ मा वलवाकी सुनैनादेवी यादव, ०५७ मा गौशालाकी धनवन्ती देवी, सिङियाहीकी सुमित्रादेवी र किसाननगरकी अनुरदेवी अनि सिमरदही घटनाको महिना दिनअघि हतिसर्वाकी मुनेश्वरी देवीले अमानवीय यातना पाएको घटना मैले लेखिसकेको थिएँ ।
सिमरदहीको घटना केही भिन्न थियो । गाविसकै अगुवाइ र उर्दीमा गाउँभरका महिलालाई बोक्सी बकाउन धामी झिकाइएको घटनाले सभ्य समाजलाई अन्योल र आश्चर्यमा पारेको थियो ।

केहीबेरपछि मैले जलेश्वरमा फोटो स्टुडियो चलाउँदै आएका विश्वनाथ साहलाई भेटें । उनले क्यामेरा ल्याएका रहेछन् । त्यतिबेला रिल क्यामेरा मात्र थिए । फोटो स्टुडियो पनि जनकपुरमा मात्रै थियो । मैले आफ्नो यासिका क्यामेरा झिक्दा खोसिन सक्थ्यो । विश्वनाथलाई ‘म धामीसँग एकछिन भए पनि भेट गर्छु, तिमीले छिटोछिटो एक–दुई स्न्याप फोटो खिच्नु’ भनी कुरा मिलाएँ ।

त्यत्रो भीडमा सबैको केन्द्रविन्दु भएका धामीसँग भेट्न कठिन थियो । जलेश्वरका घनश्याम भगत भेटिए । उनको प्रयासमा धामी एकछिनका लागि हामीनजिक आए । मेरो प्रश्नमा उनले आफ्नो नाम रामकृपाल पण्डित र घर भारत विहारको वैशाली जिल्ला सराय बस्ती भएको बताए । मैले उनलाई फकाउन प्रशंसा गर्दै उनकै भाषामा यसअघि सुनेको जिज्ञासा राखें, ‘तपाईं त घरमा रहेकी आफ्नी भाउजूसँग मसाने हाडबाटै कुरा गर्नुहुन्छ रे हो ? हामीलाई पनि गरेर देखाइदिनुस् त ।’ उनले कुटिल हाँसो हाँस्दै भने, ‘कसले यस्तो गफ लायो ? यी सब हल्ला मात्र हुन् ।’

मैले अर्को प्रश्न सोधें, ‘तन्त्रमन्त्रको कारणले नै कसैको मृत्यु हुन गएको पुष्टि गर्ने आधार के हो ?’ उनी अकमकाए । एकछिनपछि भने, ‘ए मर्छ मर्छ मन्तरले पनि मान्छे मर्छ ।’विश्वनाथले धामीको २ स्न्याप फोटो क्लिक गर्न भ्याए । मैले हतारहतार अर्को प्रश्न गरें, ‘मृत्यु रोगब्याध लागेर दुर्घटना वा चोटपटकले हुन्छ कि डायन जोगिन तन्तरमन्तरले ?’अन्तिम प्रश्न सोध्दासोध्दै हामीलाई भीडले घेर्‍यो । अप्रिय नहोस् भनेर धामीप्रति नाटकीय सम्मान दर्शाउँदै भीडले देख्ने गरी नमस्कार गरें । क्यामेरा खोसिने भयले विश्वनाथ लुसुक्क अर्कोतिर लागे । धामी फर्केपछि किन र के कुरा गरेको भनेर भीडले प्रश्न गर्‍यो । तर मैले जवाफ दिनुभन्दा पहिले नै एक जनाले बोक्सी त अस्ति नै पत्तो लागिसकेको छ, प्रमाणित गर्न मात्र बाँकी छ भनी सुनाए । उनैले मरनीदेवी नाम गरेकी महिलाले एउटाको ज्यान लिएकाले उनैलाई बकाउन धामी झिकाइएको जानकारी दिए ।

मैले मनमनै मरनीदेवीलाई भेट्ने निधो गरें । मरनीदेवीबारे बुझ्न गाउँ घुम्दै जाँदा मुस्लिम टोल पुगें । गाउँमा महिला देखिँदैन थिए । त्यहाँका केहीले बोक्सी बकाउने नाममा महिलामाथि गरिएको अत्याचारको विरोधमा मसँग सानो स्वरमा कुरा गर्न थाले । गाउँका महिला सबै भक्तै (धामीको वेदी भएको ठाउँ) मा गएको सुनाए ।

उनीहरूका अनुसार यो सारा नाटक रामलखन साहकी बेकत (श्रीमती) मरनीदेवीलाई बोक्सी साबित गर्न रचिएको हो । उनीहरूले भन्दै गए– मरनीको घरको साँधसिमाना जोडिएको पञ्चायतकालका उपप्रधानपञ्च रामविलन साहसँग बलेसीको पानी चुहिने केही इन्च जमिनलाई लिएर केही दिनअघि झगडा भएको थियो । महिना दिनअघि अर्का छिमेकी योगेन्द्र साहको छारे रोगबाट पीडित १६ वर्षीय छोरो सञ्जयको मृत्यु भएको थियो । रामविलनले गाविस अध्यक्ष नवलकिशोर सहनीसँग मिलेर योगेन्द्रलाई मरनीविरुद्ध उकासे । योगेन्द्रले ‘मेरो छोरोलाई मरनीदेवीले बोक्सेरो मन्त्र प्रयोग गरी मारेको’ भनी आरोप लगाए । आरोपको प्रतिवाद गर्दै मरनीका श्रीमान् रामलखनले मरनी बोक्सी प्रमाणित भए सर्वस्व हार्नेछु, नभए आरोप लगाउने योगेन्द्रले सर्वस्व हार्नुपर्नेछ भनी घोषणा गरे । त्यसपछि योगेन्द्रले २० हजार भारुमा भारतबाट धामी झिकाए । गाउँका राजलाल कर्णले ‘सिमरदहीमा बोक्सी निर्मूल गराउन मेरो मञ्जुरी छ’ भन्ने व्यहोराको लिखत तयार पारे । त्यो लिखतमा सिमरदहीका ६ वटै वडामा पुगेर योगेन्द्रले घरमूलीको हस्ताक्षर गराए । हस्ताक्षरलगत्तै गाविस अध्यक्ष सहनीको पहलमा ‘बोक्सी बकाउने धामीको वेदीमा घरका महिला नपठाउने परिवारलाई ५० हजार जरिवाना हुने’ ढोल पिटाए ।

एक जनाले भने, ‘मरनीदेवी त स्वयंसेविका हुन् । गाउँभरका बच्चालाई औषधि, पोलियो ख्वाउँछिन् । कसैलाई केही भएको छ ?’ आफ्नो धर्मपरम्पराविपरीत मुस्लिम महिलालाई हिन्दु प्रसाद ख्वाउन बाध्य पारेकामा उनीहरू बढी आक्रोशित थिए । तर खुलेर विरोध गर्न सकिरहेका थिएनन् ।

प्रसाद ख्वाउने ठाउँमा फर्कंदै गर्दा एक जनाले मरनी देवीको घर देखाइदिए । घर सुनसान थियो ।
उता धामीले महिलालाई प्रसाद ख्वाउन सुरु गरिसकेका थिए । प्रसाद खाइसकेकी मरनीदेवी छेउमै बसेकी थिइन् । सबैको नजर उनीमाथि थियो । भीडले ‘मरनी अब ढल्छे’, ‘प्रसादले असर गर्न लाग्यो’, ‘आँखा तर्न थाली’, ‘मुन्टो बटार्न लागी...’ जस्ता चर्चा र हल्ला हुन थाल्यो । तर उनी कतिबेला त्यहाँबाट घर फर्किछन्, थाहा भएन ।

अपराह्नपछि अचानक हूलदंगा सुरु भयो । कुटपिट, हानाहान, भागाभाग हुन लाग्यो । कारण बुझ्ने समय थिएन । भाग्नुको विकल्प थिएन । विश्वनाथ र म नजिकै रहेको विष्णु मन्दिरमा पस्यांै । हेर्दाहेर्दै मन्दिरमा ४०/५० जना जम्मा भए । सबै भीडबाट जोगिन आएका थिए ।

हामी दुवैले मन्दिरमा दर्शन गर्‍यौं । शान्त र सौम्य देखिने महन्थले फूलको माला लगाई प्रसाद र पञ्चामृत दिए । महन्थले अत्यन्त नम्र वाणीमा ‘भोकै हुनु होला प्रसाद (भात) तयार छ, ग्रहण गर्ने कि’ भनी शुद्ध मैथिलीमा आग्रह गरे । महाराज (मन्दिरका भान्से) ले कमलको पातमा खाना दिए । त्यहाँ शरण लिन पुगेका सबैजसोले खाना खाए ।

खाना खाँदै गर्दा एकजनाले बोक्सी बकाउन प्रपञ्च रच्ने गाविस अध्यक्ष सहनीविरुद्ध नै भीड खनिएको सुनाए । उनका अनुसार धामीले मरनीदेवी मात्र नभएर प्रसाद खाएकामध्ये १३ जना बोक्सी भएको बताएपछि मतान्तर सुरु भएछ । गाविस अध्यक्षका समर्थक मरनीदेवीलाई मात्र सावित गरे पुग्ने अडानमा थिए भने युवा समूह भने साबित भएका सबैलाई सार्वजनिक कारबाही गर्नुपर्ने पक्षमा थियो । विवादका क्रममा सहनीका समर्थकले ‘एक जनालाई भनेकामा तिमीले १३ जनालाई किन बोक्सी बनाएको ?’ भन्दै धामीविरुद्ध जाइलागेपछि घटनाले हिंस्रक रूप लिएको रहेछ ।

हामी खाइरहेकै बेला मन्दिर छेउमै होहल्ला हुन थाल्यो । भीडले पोखरीमा ढुंगा, इँटा हानिरहेको थियो । भीड गाविस अध्यक्ष सहनीमाथि खनिएको रहेछ । आक्रमणबाट उनी भाग्दै त्यही पोखरीमा हाम फालेका रहेछन् । उनी पोखरीमा मखानको काँढेपातले छोपिएका थिए । एकछिनपछि अलि पर पानीबाट फुत्त बाहिर निस्के । भीडले उतै ढुंगामुढा गर्न थाल्यो । उनले फेरि पानीमा डुबुल्की लगाए ।

प्रहरीले दुई राउन्ड हवाई फायर गरेपछि भीड तितरबितर भयो ।तत्कालै अर्को हल्ला सुनियो– सहनीका समर्थकले मरनीदेवीको घरमा पुगेर उनलाई निर्घात कुटपिट गर्दैछन् । हामी पुग्दा मरनी बीच सडकमा ढलेकी थिइन् । शरीर धुलाम्मे थियो । एउटा आँखाबाट रगत बगिरहेको थियो । उनले हातका इसाराले केही भन्न खोजिरहेकी थिइन् ।

उनीप्रति सहानुभूति दर्शाउँदा आफूलाई आक्रमण हुने डर थियो । फर्केर मन्दिर नजिक रहेको प्रहरी टोलीसमक्ष पुगें । त्यतिन्जेल उनीहरूले गाविस अध्यक्ष सहनीलगायत केहीलाई हिरासतमा लिइसकेका थिए । मैले मरनीदेवी रगताम्य भई बीच सडकमा बेहोस भएको सुनाएँ । प्रहरीले आफ्नै गाडीमा उनलाई अस्पताल पुर्‍याइदिए । भीड विस्तारै तितरबितर भयो । म पनि जलेश्वर फर्कें ।

यति ठूलो प्रपञ्च रचिए पनि ३ किमिको दूरीमा रहेको प्रहरी प्रशासनलाई किन थाहा भएन ? प्रश्न उब्जेको थियो । जलेश्वरमा केन्द्रित मानव अधिकारवादी, महिला संगठन, राजनीतिक दल, तत्कालीन जिल्ला विकाश समिति कसैले घटनालाई गम्भीरतासाथ नलिनु आफैंमा अनौठो थियो । यही मनोवादसाथ समाचार लेखें । समाचार फ्याक्स गरेपछि कान्तिपुरबाट फोन आयो ।

तिनताका जिल्ला ब्युरोमा विश्वमणि पोखरेल थिए । उनले केही प्रश्नसाथ प्रहरी हिरासतमा रहेका गाविस अध्यक्षको कुरा पनि समावेश गर्न सुझाव दिए र फोटो पठाउन भने । युवा पत्रकार कञ्चन भण्डारीले जनकपुर पुगेर स्टुडियोमा फोटो प्रिन्ट गरिवरि स्क्यान गरेर मेल पठाइदिएर सहयोग गरे ।

भोलिपल्ट कान्तिपुरमा प्रमुख समाचार बनेर छापिएपछि मुुलुकभर हल्लीखल्ली मचियो । सभामुख तारानाथ रानाभाटले सिमरदही घटनाको यथार्थ विवरण साता दिनभित्र सदनलाई जानकारी गराउन तथा दोषीमाथि अविलम्ब कारबाही गर्न सरकारलाई रुलिङ गरे । त्यसपछि प्रहरी प्रशासन तात्न थाल्यो । सिमरदही तनावग्रस्त बन्यो । मरनीको परिवारमा घटना अगाडि नबढाउन दबाब पर्न थाल्यो ।

गाउँको कुरालाई देशभर फिँजाएर बदनाम गरेको भन्दै मलाई धम्की आउन थाल्यो । शुभेच्छुकले ‘बचेर बस्न र एक्लै नहिँड्न’ सुझाव दिए । जटिलता बुझेर होला, कान्तिपुरले फोटो पत्रकार सुधिरा शाहसहित पत्रकार किरण भण्डारीलाई जलेश्वर पठाएपछि मैले राहत महसुस गरें । त्यसपछि काठमाडौंबाट अधिकारवादी र महिलावादी अनि अन्य सञ्चार गृहका पत्रकारको लस्कर देखिन थाल्यो ।

रूढिवाद र मध्ययुगीन सोचले जरा गाडेको समाजमा यस्ता समाचारले तत्कालै प्रभाव पार्दोरहेनछ । तर मरनीदेवीका पीडकउपर कारबाही थपिँदै जाँदा र कानुन व्यवसायीदेखि नीति निर्माता गम्भीर बन्दै गएपछि निरन्तरजसो घट्ने बोक्सी घटना कम हँुदै गयो । बोक्सीविरुद्ध कानुनसमेत बनेर आयो । सर्वोच्चसम्म पुगेरै किन नहोस्, मरनीदेवीका पीडकले पनि अन्तत: सजाय पाए । उनले न्याय पाइन् । मरनीदेवीको मुहारमा उज्यालो फर्कियो ।र, डेढ दशकयता महोत्तरीका कुनै पनि महिलाले बोक्सी आरोपमा यातना र दुव्र्यवहारको सिकार हुनुपरेको घटना सार्वजनिक भएको छैन ।

उप्रेती कान्तिपुरका महोत्तरी संवाददाता हुन्।

प्रकाशित : फाल्गुन ७, २०७४ १२:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्