कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

मरनीदेवीको मुहारमा उज्यालो

मरनीदेवीले न्याय पाएको घटनापछि महोत्तरीका कुनै पनि महिला बोक्सी आरोपमा यातना र दुव्र्यवहारको सिकार हुनुपरेको छैन । 
रवीन्द्र उप्रेती

काठमाडौँ — ‘सिमरदहीमा अब बोक्सी नचाउने रे १’ अकस्मात् उठेको यो हल्लाले सदरमुकामलगायत जिल्लाको दक्षिणी भेगमा हुरीबतास मात्र ल्याएन, यसको रापले प्रतिनिधिसभालाई समेत ततायो । आजको फेसबुके भनाइमा त्यो खबर एकाएक भाइरल भयो । 

मरनीदेवीको मुहारमा उज्यालो

गाउँलाई कथित बोक्सीरहित बनाउने नाममा आफ्नै पहलमा भारतबाट धामीझाँक्री झिकाउने निर्णय गाविसले गरेको थियो । यसका लागि गाविसकै अगुवाइमा हस्ताक्षर संकलन गरिएको थियो । प्रसाद खान नजाने महिलाका परिवारबाट ५० हजार जरिवाना असुलउपर गर्ने उर्दी गाविसले नै जारी गरेको खबर थियो ।

सत्यतथ्य बुझ्न म ०५८ साउन ३० गते बिहानै साइकल चढेर सिमरदहीतर्फ लागंेंं । बाटाभरि बोक्सी बकाएको हेर्न जाने मान्छेको लर्को थियो । अधिकांशका हातमा लाठी थियो । लाग्थ्यो, कतै हमला वा लडाइँका लागि जाँदैछन् । उनीहरूले आपसमा स्थानीय भाषामा भनेको सुनिन्थ्यो, ‘साबित भएपछि डायनलाई त्यहीं ढाल्नुपर्छ ।’ कोही भन्थे, ‘यो धामीले मसान सिद्ध गरेको छ ।’ अर्कोले सुनायो, ‘यसले सिमरदही आउनेबित्तिकै मसाने हड्डीबाट भारतमा रहेकी आफ्नी भाउजूसँग टेलिफोनमा झैं कुरा गर्‍यो ।’ फेरि सुनियो, ‘यो भक्ता (धामी) मा यति शक्ति छ कि उसको अगाडि कस्तै अबिजालो बोक्सी पनि टिक्न सक्दैन ।’

सिमरदहीमा विद्यालयनजिक आँप बगैंचामा मानिसको भीड देखियो । भारतबाट झिकाइएका धामी नयाँ धोती लगाएका सहयोगीसाथ वेदी बनाई पूजा गर्ने तरखरमा थिए । नजिकै मलिन अनुहार भएका महिलाको लाम थियो । गाविसको उर्दी भएकाले आफू बोक्सी हो/होइन भनी साबित गर्न उनीहरू धामीले मन्त्रेको प्रसाद खान बाध्यताले आएका थिए । उनीहरूका अनुहारमा ‘आफू पनि बोक्सीमा दरिने त हैन ?’ भन्ने भय र आशंका झल्केको देखिन्थ्यो ।

धामीको वेदी नजिकै गहुँ र चामलको भुटेको पिठोमा सख्खर मिसाएर बनाइएको प्रसादका ढाकी थिए । प्रसादमा सबैको उत्सुकता टिकेको थियो । धामीले मन्त्र फुकेर दिएको प्रसाद खाँदा जो बोक्सी छ उही मूर्छित हुने, अरूलाई केही नहुने प्रचार गरिएको थियो । वरिपरि तैनाथ लठैत समूहको आक्रामक व्यवहारले माहोललाई थप भयाक्रान्त बनाएको थियो ।

मेरो मनमा अनेकन प्रश्न पैदा भए । तर यसविपरीत बोल्दा भीडको सिकार हुने सम्भावना प्रबल थियो । महोत्तरीमा बोक्सी आरोपमा महिलामाथि निर्घात कुटपिट गर्ने, मलमूत्र ख्वाउने, चारपाटा मुड्ने, बलि दिन खोज्नेजस्ता घटना त्यसअघि पनि नघटेका हैनन् । ०५२ सालमा सोनमाकी बुधनी खातुन र जलेश्वरकी पम्फा देवी, ०५४ सालमा हरिगोरिगामाकी कलावती देवी, ०५५ मा लक्ष्मीनियाकी बुचिया देवी, ०५६ मा वलवाकी सुनैनादेवी यादव, ०५७ मा गौशालाकी धनवन्ती देवी, सिङियाहीकी सुमित्रादेवी र किसाननगरकी अनुरदेवी अनि सिमरदही घटनाको महिना दिनअघि हतिसर्वाकी मुनेश्वरी देवीले अमानवीय यातना पाएको घटना मैले लेखिसकेको थिएँ ।

सिमरदहीको घटना केही भिन्न थियो । गाविसकै अगुवाइ र उर्दीमा गाउँभरका महिलालाई बोक्सी बकाउन धामी झिकाइएको घटनाले सभ्य समाजलाई अन्योल र आश्चर्यमा पारेको थियो ।

केहीबेरपछि मैले जलेश्वरमा फोटो स्टुडियो चलाउँदै आएका विश्वनाथ साहलाई भेटें । उनले क्यामेरा ल्याएका रहेछन् । त्यतिबेला रिल क्यामेरा मात्र थिए । फोटो स्टुडियो पनि जनकपुरमा मात्रै थियो । मैले आफ्नो यासिका क्यामेरा झिक्दा खोसिन सक्थ्यो । विश्वनाथलाई ‘म धामीसँग एकछिन भए पनि भेट गर्छु, तिमीले छिटोछिटो एक–दुई स्न्याप फोटो खिच्नु’ भनी कुरा मिलाएँ ।


त्यत्रो भीडमा सबैको केन्द्रविन्दु भएका धामीसँग भेट्न कठिन थियो । जलेश्वरका घनश्याम भगत भेटिए । उनको प्रयासमा धामी एकछिनका लागि हामीनजिक आए । मेरो प्रश्नमा उनले आफ्नो नाम रामकृपाल पण्डित र घर भारत विहारको वैशाली जिल्ला सराय बस्ती भएको बताए । मैले उनलाई फकाउन प्रशंसा गर्दै उनकै भाषामा यसअघि सुनेको जिज्ञासा राखें, ‘तपाईं त घरमा रहेकी आफ्नी भाउजूसँग मसाने हाडबाटै कुरा गर्नुहुन्छ रे हो ? हामीलाई पनि गरेर देखाइदिनुस् त ।’ उनले कुटिल हाँसो हाँस्दै भने, ‘कसले यस्तो गफ लायो ? यी सब हल्ला मात्र हुन् ।’

मैले अर्को प्रश्न सोधें, ‘तन्त्रमन्त्रको कारणले नै कसैको मृत्यु हुन गएको पुष्टि गर्ने आधार के हो ?’ उनी अकमकाए । एकछिनपछि भने, ‘ए मर्छ मर्छ मन्तरले पनि मान्छे मर्छ ।’ विश्वनाथले धामीको २ स्न्याप फोटो क्लिक गर्न भ्याए । मैले हतारहतार अर्को प्रश्न गरें, ‘मृत्यु रोगब्याध लागेर दुर्घटना वा चोटपटकले हुन्छ कि डायन जोगिन तन्तरमन्तरले ?’ अन्तिम प्रश्न सोध्दासोध्दै हामीलाई भीडले घेर्‍यो । अप्रिय नहोस् भनेर धामीप्रति नाटकीय सम्मान दर्शाउँदै भीडले देख्ने गरी नमस्कार गरें । क्यामेरा खोसिने भयले विश्वनाथ लुसुक्क अर्कोतिर लागे । धामी फर्केपछि किन र के कुरा गरेको भनेर भीडले प्रश्न गर्‍यो । तर मैले जवाफ दिनुभन्दा पहिले नै एक जनाले बोक्सी त अस्ति नै पत्तो लागिसकेको छ, प्रमाणित गर्न मात्र बाँकी छ भनी सुनाए । उनैले मरनीदेवी नाम गरेकी महिलाले एउटाको ज्यान लिएकाले उनैलाई बकाउन धामी झिकाइएको जानकारी दिए ।

मैले मनमनै मरनीदेवीलाई भेट्ने निधो गरें । मरनीदेवीबारे बुझ्न गाउँ घुम्दै जाँदा मुस्लिम टोल पुगें । गाउँमा महिला देखिँदैन थिए । त्यहाँका केहीले बोक्सी बकाउने नाममा महिलामाथि गरिएको अत्याचारको विरोधमा मसँग सानो स्वरमा कुरा गर्न थाले । गाउँका महिला सबै भक्तै (धामीको वेदी भएको ठाउँ) मा गएको सुनाए ।

उनीहरूका अनुसार यो सारा नाटक रामलखन साहकी बेकत (श्रीमती) मरनीदेवीलाई बोक्सी साबित गर्न रचिएको हो । उनीहरूले भन्दै गए– मरनीको घरको साँधसिमाना जोडिएको पञ्चायतकालका उपप्रधानपञ्च रामविलन साहसँग बलेसीको पानी चुहिने केही इन्च जमिनलाई लिएर केही दिनअघि झगडा भएको थियो । महिना दिनअघि अर्का छिमेकी योगेन्द्र साहको छारे रोगबाट पीडित १६ वर्षीय छोरो सञ्जयको मृत्यु भएको थियो । रामविलनले गाविस अध्यक्ष नवलकिशोर सहनीसँग मिलेर योगेन्द्रलाई मरनीविरुद्ध उकासे । योगेन्द्रले ‘मेरो छोरोलाई मरनीदेवीले बोक्सेरो मन्त्र प्रयोग गरी मारेको’ भनी आरोप लगाए । आरोपको प्रतिवाद गर्दै मरनीका श्रीमान् रामलखनले मरनी बोक्सी प्रमाणित भए सर्वस्व हार्नेछु, नभए आरोप लगाउने योगेन्द्रले सर्वस्व हार्नुपर्नेछ भनी घोषणा गरे । त्यसपछि योगेन्द्रले २० हजार भारुमा भारतबाट धामी झिकाए । गाउँका राजलाल कर्णले ‘सिमरदहीमा बोक्सी निर्मूल गराउन मेरो मञ्जुरी छ’ भन्ने व्यहोराको लिखत तयार पारे । त्यो लिखतमा सिमरदहीका ६ वटै वडामा पुगेर योगेन्द्रले घरमूलीको हस्ताक्षर गराए । हस्ताक्षरलगत्तै गाविस अध्यक्ष सहनीको पहलमा ‘बोक्सी बकाउने धामीको वेदीमा घरका महिला नपठाउने परिवारलाई ५० हजार जरिवाना हुने’ ढोल पिटाए ।


एक जनाले भने, ‘मरनीदेवी त स्वयंसेविका हुन् । गाउँभरका बच्चालाई औषधि, पोलियो ख्वाउँछिन् । कसैलाई केही भएको छ ?’ आफ्नो धर्मपरम्पराविपरीत मुस्लिम महिलालाई हिन्दु प्रसाद ख्वाउन बाध्य पारेकामा उनीहरू बढी आक्रोशित थिए । तर खुलेर विरोध गर्न सकिरहेका थिएनन् ।

प्रसाद ख्वाउने ठाउँमा फर्कंदै गर्दा एक जनाले मरनी देवीको घर देखाइदिए । घर सुनसान थियो ।

उता धामीले महिलालाई प्रसाद ख्वाउन सुरु गरिसकेका थिए । प्रसाद खाइसकेकी मरनीदेवी छेउमै बसेकी थिइन् । सबैको नजर उनीमाथि थियो । भीडले ‘मरनी अब ढल्छे’, ‘प्रसादले असर गर्न लाग्यो’, ‘आँखा तर्न थाली’, ‘मुन्टो बटार्न लागी...’ जस्ता चर्चा र हल्ला हुन थाल्यो । तर उनी कतिबेला त्यहाँबाट घर फर्किछन्, थाहा भएन ।

अपराह्नपछि अचानक हूलदंगा सुरु भयो । कुटपिट, हानाहान, भागाभाग हुन लाग्यो । कारण बुझ्ने समय थिएन । भाग्नुको विकल्प थिएन । विश्वनाथ र म नजिकै रहेको विष्णु मन्दिरमा पस्यांै । हेर्दाहेर्दै मन्दिरमा ४०/५० जना जम्मा भए । सबै भीडबाट जोगिन आएका थिए ।

हामी दुवैले मन्दिरमा दर्शन गर्‍यौं । शान्त र सौम्य देखिने महन्थले फूलको माला लगाई प्रसाद र पञ्चामृत दिए । महन्थले अत्यन्त नम्र वाणीमा ‘भोकै हुनु होला प्रसाद (भात) तयार छ, ग्रहण गर्ने कि’ भनी शुद्ध मैथिलीमा आग्रह गरे । महाराज (मन्दिरका भान्से) ले कमलको पातमा खाना दिए । त्यहाँ शरण लिन पुगेका सबैजसोले खाना खाए ।

खाना खाँदै गर्दा एकजनाले बोक्सी बकाउन प्रपञ्च रच्ने गाविस अध्यक्ष सहनीविरुद्ध नै भीड खनिएको सुनाए । उनका अनुसार धामीले मरनीदेवी मात्र नभएर प्रसाद खाएकामध्ये १३ जना बोक्सी भएको बताएपछि मतान्तर सुरु भएछ । गाविस अध्यक्षका समर्थक मरनीदेवीलाई मात्र सावित गरे पुग्ने अडानमा थिए भने युवा समूह भने साबित भएका सबैलाई सार्वजनिक कारबाही गर्नुपर्ने पक्षमा थियो । विवादका क्रममा सहनीका समर्थकले ‘एक जनालाई भनेकामा तिमीले १३ जनालाई किन बोक्सी बनाएको ?’ भन्दै धामीविरुद्ध जाइलागेपछि घटनाले हिंस्रक रूप लिएको रहेछ ।

हामी खाइरहेकै बेला मन्दिर छेउमै होहल्ला हुन थाल्यो । भीडले पोखरीमा ढुंगा, इँटा हानिरहेको थियो । भीड गाविस अध्यक्ष सहनीमाथि खनिएको रहेछ । आक्रमणबाट उनी भाग्दै त्यही पोखरीमा हाम फालेका रहेछन् । उनी पोखरीमा मखानको काँढेपातले छोपिएका थिए । एकछिनपछि अलि पर पानीबाट फुत्त बाहिर निस्के । भीडले उतै ढुंगामुढा गर्न थाल्यो । उनले फेरि पानीमा डुबुल्की लगाए ।

प्रहरीले दुई राउन्ड हवाई फायर गरेपछि भीड तितरबितर भयो । तत्कालै अर्को हल्ला सुनियो– सहनीका समर्थकले मरनीदेवीको घरमा पुगेर उनलाई निर्घात कुटपिट गर्दैछन् । हामी पुग्दा मरनी बीच सडकमा ढलेकी थिइन् । शरीर धुलाम्मे थियो । एउटा आँखाबाट रगत बगिरहेको थियो । उनले हातका इसाराले केही भन्न खोजिरहेकी थिइन् ।

उनीप्रति सहानुभूति दर्शाउँदा आफूलाई आक्रमण हुने डर थियो । फर्केर मन्दिर नजिक रहेको प्रहरी टोलीसमक्ष पुगें । त्यतिन्जेल उनीहरूले गाविस अध्यक्ष सहनीलगायत केहीलाई हिरासतमा लिइसकेका थिए । मैले मरनीदेवी रगताम्य भई बीच सडकमा बेहोस भएको सुनाएँ । प्रहरीले आफ्नै गाडीमा उनलाई अस्पताल पुर्‍याइदिए । भीड विस्तारै तितरबितर भयो । म पनि जलेश्वर फर्कें ।


यति ठूलो प्रपञ्च रचिए पनि ३ किमिको दूरीमा रहेको प्रहरी प्रशासनलाई किन थाहा भएन ? प्रश्न उब्जेको थियो । जलेश्वरमा केन्द्रित मानव अधिकारवादी, महिला संगठन, राजनीतिक दल, तत्कालीन जिल्ला विकाश समिति कसैले घटनालाई गम्भीरतासाथ नलिनु आफैंमा अनौठो थियो । यही मनोवादसाथ समाचार लेखें । समाचार फ्याक्स गरेपछि कान्तिपुरबाट फोन आयो ।

तिनताका जिल्ला ब्युरोमा विश्वमणि पोखरेल थिए । उनले केही प्रश्नसाथ प्रहरी हिरासतमा रहेका गाविस अध्यक्षको कुरा पनि समावेश गर्न सुझाव दिए र फोटो पठाउन भने । युवा पत्रकार कञ्चन भण्डारीले जनकपुर पुगेर स्टुडियोमा फोटो प्रिन्ट गरिवरि स्क्यान गरेर मेल पठाइदिएर सहयोग गरे ।

भोलिपल्ट कान्तिपुरमा प्रमुख समाचार बनेर छापिएपछि मुुलुकभर हल्लीखल्ली मचियो । सभामुख तारानाथ रानाभाटले सिमरदही घटनाको यथार्थ विवरण साता दिनभित्र सदनलाई जानकारी गराउन तथा दोषीमाथि अविलम्ब कारबाही गर्न सरकारलाई रुलिङ गरे । त्यसपछि प्रहरी प्रशासन तात्न थाल्यो । सिमरदही तनावग्रस्त बन्यो । मरनीको परिवारमा घटना अगाडि नबढाउन दबाब पर्न थाल्यो ।

गाउँको कुरालाई देशभर फिँजाएर बदनाम गरेको भन्दै मलाई धम्की आउन थाल्यो । शुभेच्छुकले ‘बचेर बस्न र एक्लै नहिँड्न’ सुझाव दिए । जटिलता बुझेर होला, कान्तिपुरले फोटो पत्रकार सुधिरा शाहसहित पत्रकार किरण भण्डारीलाई जलेश्वर पठाएपछि मैले राहत महसुस गरें । त्यसपछि काठमाडौंबाट अधिकारवादी र महिलावादी अनि अन्य सञ्चार गृहका पत्रकारको लस्कर देखिन थाल्यो ।

रूढिवाद र मध्ययुगीन सोचले जरा गाडेको समाजमा यस्ता समाचारले तत्कालै प्रभाव पार्दोरहेनछ । तर मरनीदेवीका पीडकउपर कारबाही थपिँदै जाँदा र कानुन व्यवसायीदेखि नीति निर्माता गम्भीर बन्दै गएपछि निरन्तरजसो घट्ने बोक्सी घटना कम हँुदै गयो । बोक्सीविरुद्ध कानुनसमेत बनेर आयो । सर्वोच्चसम्म पुगेरै किन नहोस्, मरनीदेवीका पीडकले पनि अन्तत: सजाय पाए । उनले न्याय पाइन् । मरनीदेवीको मुहारमा उज्यालो फर्कियो । र, डेढ दशकयता महोत्तरीका कुनै पनि महिलाले बोक्सी आरोपमा यातना र दुव्र्यवहारको सिकार हुनुपरेको घटना सार्वजनिक भएको छैन ।


उप्रेती कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

प्रकाशित : फाल्गुन ७, २०७४ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?