त्यो कार्टुन, ती कार्टुन

राजसंस्था आज जसरी पतन भएको छ, त्यसलाई विचार गर्दा त्यो बेला कार्टुन निकै कडा भएछजस्तो लागेर आउँछ । 
दुर्गा बराल

काठमाडौँ — दलहरू राजा फालेर गणतन्त्र ल्याउनुपर्छ भन्न थालेका बेला गिरिजाप्रसाद कोइराला राजसंस्था पूरै फाल्न नहुने बरु ‘बेबी किङ’ भए पनि राख्नुपर्छ भनिरहेका थिए । सञ्चारमाध्यम नियन्त्रितजस्तो अवस्थामा थियो । 

त्यो कार्टुन, ती कार्टुन

सेन्सरसिप लागेकाले खबर दुब्लाएर आउन थालेका थिए । सम्पादकीयसमेत सामान्य विषयमा आउन थालेका थिए । समाचार हेर्दा लाग्थ्यो— चारैतिर स्खलित अवस्था छ । कार्टुन बनाउन जाँगर मरिरहेको थियो । कसलाई व्यंग्य गर्ने, केलाई हान्ने भन्ने दुविधा थियो । मलाई झोंक चलिरहेको थियो । मलाई लाग्दै थियो— कान्तिपुरभित्र पनि दुई धार छ, स्थिति राजाको पक्षमा बलियो हुन्छ या गणतन्त्रको बिस्तारै उठेको मागमा । पत्रिकाले जनताको पक्षमा लेख्थ्यो तर, समाचार हेर्दा धेरै सम्पादकीय समूहले धेरै सावधानी अपनाइरहेको जस्तो लाग्थ्यो । राजसंस्था संवैधानिक व्यवस्थामा बस्न रुचाइरहेको थिएन, बिस्तारै जनतामा राजसंस्थाप्रति नकारात्मक लहर बढ्दै थियो । जनतालाई सुसूचित गर्ने भनिए पनि सञ्चारगृहमा आखिर ठूलो लगानी छ । यसले आफ्नो भविष्यबारे सोचेन भने लगानीकर्तामात्रै होइन यसमा आश्रित सबैलाई गाह्रो पर्छ नै ।

म पोखरा बस्छु । काठमाडौंका कुरा पत्रिका, टीभी र रेडियोबाट नै थाहा पाउने हो । अभिव्यक्ति स्वतन्त्रता भएन भने पत्रकारिताको के अर्थ ∕ कसरी काम गर्लान् भन्ने लागिरहेको थियो । प्रतीक प्रधान त्यसबेला काठमान्डु पोस्टका सम्पादक थिए । एक साँझ उनले फोन गरे, ‘दाइ, केही यस्तो कार्टुन बनाउनुपर्‍यो । अलि गोद्ने खालको ।’ मैले ‘हुन्छ’ भनें । मलाई लाग्यो, गणतन्त्र पक्षधरको मत बलियो भएको अवस्था हुनुपर्छ । त्यसबेला दी काठमान्डु पोस्ट र कान्तिपुरमा एउटै कार्टुन छापिन्थ्यो । कान्तिपुरमा नेपाली, पोस्टमा त्यसैलाई अंग्रेजी बनाएर ।

कार्टुन साँच्चै चोटिलो, दनक दिने खालको बनाउन मुडमा पनि भर पर्छ । मैले धेरै सोचिनँ । कार्टुन बनाएँ, पठाएँ । पठाएपछि अफिसमा सम्पादकीय समूहको बैठक भएछ । ‘जे पर्छ पर्छ छापौं’ भन्ने सबैको सल्लाहपछि छापिएछ । पोखरामा पत्रिका त्यो बेला अलि ढिला आइपुग्थ्यो । भोलिपल्ट मात्रै मैले हेर्न पाएँ । कार्टुन गिरिजाप्रसाद कोइरालाले गधारूपी राजसंस्था बोकेको थियो ।

जीवनमा त्यसअघि पनि धेरै कार्टुन बनाएको थिएँ र अहिलेसम्म निरन्तर बनाइरहेको छु । तर, त्यो कार्टुन सधैं सम्झनामा रहिरहने बन्यो । त्यसले बहस मात्रै सिर्जना गरेन, पक्राउ पर्ने पनि सम्भावना बढायो । नारायण वाग्लेले फोन गरे, ‘कान्तिपुरका सम्पादक, प्रकाशक र कार्टुनिस्टलाई पक्राउ गर्ने कुरा छ ।’ घरमा सुनाएँ । के होला कसो होला भनेर परिवारमा अलि चिन्ता पनि भयो । त्यो फोनले सतर्क गराए पनि म घर छाडेर कतै गइनँ । बरु पक्राउ गरेर लगिहाले भने मलाई दिनदिनै चाहिने सामान के–के हुन्छ त्यो ठीक पारेर राखेँ । ती दिन प्रहरी हिँडेको देख्ता पनि मलाई लैजान आएका हुन् कि जस्तो लाग्दै थियो । तर एक, दुई, तीन दिन बित्यो तर पक्राउ गरेनन् ।

राजसंस्था आज जुन अवस्थामा पुगेको छ, त्यसलाई विचार गर्दा त्यो बेला कार्टुन निकै नै कडा भएछजस्तो लागेर आउँछ ।

म कुनै बेला ‘गोरखापत्र’ मा काम गर्थें । मनमोहन अधिकारीले ल्याएको अविश्वास प्रस्ताव फेल भएको बेला बनाएको एउटा कार्टुन थियो । सिकार खेल्न गएका मनमोहन भाँचिएको बन्दुक लिएर फर्किएको । सरकारी सञ्चारमाध्यमले त्यस्तो कार्टुन छापेर विपक्षीको मानमर्दन गरेको भनेर त्योबेला सदनमै हंगामा भएको थियो ।

मेरो कार्टुन कलाको यात्रा रमेशनाथ पाण्डेले चलाउने ‘नयाँ सन्देश’ बाट सुरु भएको थियो । ती दिन उनले मलाई के कस्तो बनाउने भनेर हिन्ट्स दिन्थे । म त्यहीअनुसार बनाउँथेँ । ती मेरा सुरुआती दिन थिए । ‘समीक्षा’, ‘मातृभूमि’, ‘राष्ट्रपुकार’ र ‘देशान्तर’ लगायत थुप्रै साप्ताहिक पत्रिकामा काम गर्दागर्दै २०५२ बाट म कान्तिपुर पब्लिकेसन्समा आबद्ध भएको हुँ । त्यसबेला श्यामबहादुर केसी सम्पादक थिए । म पोखरा घर फर्किएको थिएँ । मलाई कान्तिपुरमा काम गरौं भन्ने प्रस्ताव लिएर किशोर नेपाल भेट्न आए । मैले काम थालेँ । पत्रिका श्यामश्वेत निस्कन्थ्यो । कार्टुन पनि श्यामश्वेत नै बनाउनुपथ्र्यो । म कार्टुन बनाएर फयाक्सबाट पठाउँथें ।

पोखरामा म चित्र कोर्दै, कार्टुन बनाउँदै एउटा शैक्षिक संस्थामा ‘आर्ट’ पनि पढाउँथें । सम्पादकसँग कैलाश (सिरोहिया) सर र विनोद (ज्ञवाली) सरको सल्लाह भएछ । ‘के पोखरा बसिरहनुहुन्छ, आउनुस् । यतै आएर काम गर्नुस्,’ भन्ने बोलावट आयो । त्यसैले २०५६ पछि म ‘फुल टाइमर’ भएर काठमाडौंमै काम गर्न गएँ ।

छोराहरू हुर्किए, पढ्न काठमाडौं नै पुगे । घर हेर्ने कोही भएन । अनि म २०५८ मा फेरि पोखरा फर्किएँ । प्रविधि छिटोछिटो विकसित भइरहेको थियो । पत्रिका रंगीन भइसकेको थियो भने कार्टुन अब फयाक्समा पठाउनुपर्ने अवस्था थिएन । बनाएर ‘स्क्यान’ गरेर इमेल गर्दा हुन्थ्यो । म कार्ट‘न बनाउँथें, बजारमा मैले इमेल गर्ने साइबर थियो । शनिबार कार्टुन पठाउनुपर्ने, शनिबार नै पोखराको बजारलाई सप्ताहिक बिदा लाग्ने । पोखरामा धेरै पानी पर्छ । मैले कार्टुन मेल गर्न लिएर निस्केका दिन धेरैपल्ट भारी वर्षा भएर हैरान पारेको अनुभव छ । धन्न साइबर सञ्चालक भाइले बजार बन्द हुँदाका दिन पनि मलाई इमेल गरिदिने व्यवस्था मिलाएका थिए । गर्दागर्दै कम्प्युटर सिक्ने प्रयास गरेँ । मलाई फोटोसपमा काम गर्नुपर्ने, कम्प्युटर सिक्ने अरू धेरैका लागि फोटोसप प्राथमिकताको विषय थिएन । पछि घरमा कम्प्युटर ल्याइयो । आफैं स्क्यान गरेर पठाउन सजिलो हुन थाल्यो तर एउटा समस्या पनि आयो । त्यो के भने मेरो नाति सत्कार (छोरीको छोरा) ले चलाएर कम्प्युटर बिग्रिरहन्थ्यो । बोकेर बनाउन बजार गइरहनुपथ्र्यो । आज नाति ठूलो भएर आईटी पढ्नकै लागि काठमाडौं पुगिसकेको छ । उसलाई कम्प्युटरमा आउने समस्या फोनबाट भन्दा उसले उतैबाट अनलाइन बसेर ‘रिमोट मनिटर’ बाट कम्प्युटर बनाइदिन्छ । अहिले मैले घरैबाट कार्टुन इमेल गरेर पठाउन थालेको ६ वर्ष भयो ।

धेरैले सोध्छन्, ‘कसरी बनाउनुहुन्छ कार्टुन ? कसरी विषय फुर्छ ।’ यसको सोझो जवाफ दिन सजिलो छैन । कार्टुन धेरैपल्ट झ्वाँकले बनाइन्छ । देश, काल, परिस्थिति बुझिरहेर खबर पढ्दा–सुन्दा, चिया गफमा निस्कँदा सर्वसाधारण मान्छेका सुनेका कुरा पनि घत पर्ने हुन्छन् । ती प्रेरणाका स्रोत हुन् । धेरैलाई लाग्दो रैछ, ‘कान्तिपुरको सम्पादक र सम्पादकीय समूहले यस्तो बनाउनुस् भनेर सुझाव दिँदा होलान् ।’ तर, मेरो यत्रो वर्षको अनुभवमा कहिल्यै पत्रिकाका जिम्मेवार कसैले पनि यस्तो कार्टुन बनाएर पठाउनुस् भनेका छैनन् । जे पठायो, छापेका छन् । राजनीतिप्रेरित व्यंग्यात्मक कार्टुनले बेलाबेला चर्चा पाउँछन् । सामाजिक प्रवृत्तिमाथिका कार्टुन पनि मान्छेलाई निकै घत पर्ने रहेछन् ।

मैले कान्तिपुरमा चार जना सम्पादकसँग काम गरिसकेँ । सबैका आआफ्नै खालका बानी । श्याम केसीले कार्टुन छापिएको साता फोन गरेर कस्ता प्रतिक्रिया आए भनेर सुनाउँथे । मलाई लाग्छ, त्यो मेरा लागि हौसला बढाउन थियो । युवराज घिमिरे सालीन, कम बोल्ने र जरुरी परे मात्रै कुरा गर्ने बानीका । नारायण वाग्ले पहिल्यैदेखि काम गरेका भएकाले कुराकानीमा फरासिला । अहिलेका सम्पादक सुधीर शर्मा ठिक्क बोल्ने । के चाहिएको छ, के सहयोग गर्नुपर्छ भनेर सोध्ने बानी छ उनको । हुन त सम्पादकको ओहदा नै त्यस्तो होला, ‘पर्सनालिटी मेन्टेन’ का लागि पनि ठिक्क बोल्दा होलान् । तर, कार्टुनकै विषयमा किन यस्तो बनाउनुभयो भनेर कहिल्यै कसैले सोधेका छैनन् । यसले मलाई स्वतन्त्र निर्णय गर्दै कार्टुन कोर्न सजिलो छ ।

युवराज घिमिरे सम्पादक भएका बेला बनाएको तत्कालीन भारतीय प्रधानमन्त्री अटलविहारी वाजपेयीको कार्टुनका विषयमा दूतावासले आपत्ति जनाएछ । मलाई थाहा भयो । तर, सम्पादकले मलाई केही भनेनन् । मेरो अनुभव के हो भने जे समाचारमा प्रस्ट भन्न गाह्रो छ, त्यसलाई कार्टुनमा डयाम्म दिन पाउँदा सम्पादकीय समूह खुसी हुन्छ । मलाई दिएको जिम्मेवारीमा सम्पादकीय समूहको अपेक्षा मैले बुझेको छु । त्यसैले पनि मलाई सायद यस्तो पठाउनुस् नभनेका होलान् । कलाकारलाई आदेश, निर्देशनको परिधिभित्र बाँधिएन भने उसको सिर्जना सबैले मन पराउने बनाउन सजिलो पनि हुन्छ । म जनभावनासँग मेल नखाने विषय छान्दिनँ ।

कतिले मलाई सोध्छन्, ‘कार्टुन बनाएर के हुन्छ, कसलाई पेच पर्छ ?’ मलाई लाग्छ, नैतिकतामा बसौं भन्नेलाई धेरै घोच्छ । अनैतिकलाई जस्ता खबर र कार्टुनको पनि असर पर्दैन । अनैतिकको घेरामा पनि केही ‘इथिक्स मेन्टेन’ गरेर जानुपर्छ भन्नेहरू हुन्छन्, तिनलाई कार्टुनले पेच पर्छ । सच्चिन प्रयास गर्छन्, आफूले भन्न हुने ठाउँमा सल्लाह देलान् ।

कार्टुन बनाउने काम यथार्थ र सिर्जनशीलताको सम्मिश्रण हो । भएकै कुरालाई कार्टुनमा चोटिलो तरिकाले दिनुपर्दा चित्रका भाव र तिनमा राखिने संवादको मेल एकदमै जरुरी छ । खबरले जे शब्दमा प्रस्ट भन्न गाह्रो पर्छ वा सकिँदैन, ती कुरा कार्टुन मार्फत अभिव्यक्त गर्न सकिन्छ । मुख्य कुरा ‘कन्सेप्ट’ हो, के बनाउने भन्नेमा प्रस्ट भइयो भने चित्र कोर्न गाह्रो पर्दैन । ड्रइङ र कलर ठूलो कुरा होइन । धेरैपल्ट के बनाउने भन्नेमा अलमल हुन्छ । यसो विचार गर्दा ‘यो ठीक हुन्छ, यसलाई हान्नुपर्छ’ भन्ने भएपछि म बनाउन बसिहाल्छु ।

बराल कान्तिपुरका वरिष्ठ कार्टुनिस्ट हुन् ।

(भीम घिमिरेसँगको कुराकानीमा आधारित)

प्रकाशित : फाल्गुन ७, २०७४ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?