३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

पुराना दिनहरू 

कान्तिपुरमा पनि त्यस्ता केही कुरा छन् पंक्तिकारकै कारणले । तिनलाई अहिले नखोल्दा नै राम्रो । आज पनि ती ठाडै देखिने र कुनैचाहिँ नदेखिने रूपमा छन् ।
सौरभ

काठमाडौँ — ‘कृष्णे/गोरखापत्र हेरेर/फिस्स हाँस्छ/फिस्स हाँस्छ/फिस्स हँँस्छ ।’ यसलाई पंक्तिकारले उद्धृत गरेको छ, कान्तिपुरको पहिलो अंक ७ फागुन, २०४९ मा, जुन दिन स्वयं कृष्णभक्त श्रेष्ठ गोरखापत्रको प्रधान सम्पादक हुनुहुन्थ्यो । कविता लेखिएको चाहिँ थियो, उहाँ प्रधान सम्पादक हुनुअघि नै एक पाठकका हैसियतले ।

पुराना दिनहरू 

प्रतिद्वन्द्वी छापाका रूपमा जन्मिन पुगेको दैनिकको पहिलो अंकमै अग्रज एक मात्र दैनिकलाई घुमाउरो पारामा गरिएको यो व्यंग्यको मर्म कतिले त्यति बेला बुझे होलान् वा बुझेनन्, थाहा छैन । उहाँले मलाई ‘मिस्कोटेड’ गरिदियो मात्रै भन्नुभयो । हाम्रो सद्भावना यथावत् छ । आजभोलि उहाँ घरमै अवकाश जीवन बिताइरहनुभएको छ । तर, त्यस दैनिकलगायत अरू कतिपय प्रकाशनहरूले प्रकाशन पनि एउटा प्याकेज हो भन्ने कुरा बुझेजस्तो चाहिँ लाग्दैन ।

***


‘नक्सलाइट’ भए पनि फरक पर्दैन तपाईं, तर तपाईंको राजनीतिक झुकाव के हो, मैलेचाहिँ थाहा पाउनुपर्छ, ड्युटी मिलाउनलाई भन्ने प्रश्न गर्ने गरेको थिएँ जागिर खान आउने ‘पास’ भएकाहरूलाई । त्यो बेला नक्सलाइट नै भन्ने गरिन्थ्यो माओवादी हैन, उग्रवामपन्थी विचार राख्नेहरूलाई ।

यसरी गोपेन्द्रबहादुर शाहको भनिने त्यो घर, अहिले नर्भिक हस्पिटल नजिकै २५ युवालाई भर्ना गरेथें । सर्त थियो– निश्चित शैक्षिक योग्यता, अंग्रेजीबाट नेपालीमा उल्था गर्ने क्षमता आदि–आदि । तर, यी जनताले पटक्कै नचिनेका कोही थिएनन्– कांग्रेस, एमाले, पञ्च, नक्सलाइटको बारना थिएन ।


चलेको तलब २२ सय रुपैयाँ थियो तर मैले न्यूनतम ५ हजार हुनुपर्ने ब्ल्यांकेट सर्त राखेको थिएँ । अतिरिक्त आम्दानी गर्नुपर्ने बाध्यतामा पारिएन भने गुणस्तरसँग सम्झौता गर्नु पर्दैन भन्ने मेरो तर्कलाई श्याम गोयन्काले माने, उदारता देखाए, जसको जगमा अहिले कान्तिपुरको कर्पोरेट हाउस छ भन्ने लाग्छ ।


बजारमा १२ करोडको छापा विज्ञापन छ, २ करोडमात्रै तान्न सकियो भने पनि चल्छ भन्ने गर्थें म । यसैले गोयन्काले जुन व्यवसायमा हात हालेका थिए, त्यो सही ठाउँमै थियो । तर जे कुरालाई पनि हुन्छ भन्ने विशिष्ट गुण उनकै आफ्नै लागि घातक भयो भन्ने लाग्छ मलाई । उनी अर्का लोकेन्द्रबहादुर चन्द थिए ।

***


इलिस माछालाई वाण हानेर मार्न नपाइने कानुन बनेको थियो भारतमा, किनभने अंग्रेजहरू स्थानीयले जस्तै वाणले हानेर माछा मार्न सक्दैन थिए– भन्ने पढेथें टाइम्स अफ इन्डियामा ।

कान्तिपुरको लोगोसँगैको वर्तमान काष्ठमण्डपको रेखा ठ्याक्कै त्यही कारणले बनेको हो आजको । सफ्टबोर्डले मण्डप बनाउन दुई शिल्पीहरूलाई ल्याइएको थियो । तिनले सूक्ष्म मोडतोडसहितको प्रतिलिपि कसैगरी पनि बनाउन सकेनन् । मूल प्रवेशद्वारमा राखिएको त्यो कपी नै हुबहु उतार्ने क्रममा जे रेखांकन भयो, त्यही इलिस माछालाई हान्न नपाइने वाण बन्यो ।


रामराज पौडेल युगपूर्वका मुख्य सम्पादक हुन् गोरखापत्रका । उनले एकपल्ट पंक्तिकारसँग भनेका थिए– दर्ता नं. ००२ किन भयो गोरखापत्रको, तपाईंलाई थाहा छ ? यसलाई अर्कैले उछिनेर एक नम्बर लिएपछि हामी सम्पादक वर्गलाई झोंक चल्यो । एकभन्दा अघि शून्य आउँछ भनेर, एउटाले पनि चित्त नबुझेर दुइटा शून्य हालेको हो ।


कान्तिपुरमा पनि त्यस्ता केही कुरा छन् पंक्तिकारकै कारणले । तिनलाई अहिले नखोल्दा नै राम्रो । आज पनि ती ठाडै देखिने र कुनैचाहिँ नदेखिने रूपमा छन् । तर नखोलेकै राम्रो ।

***


‘कागजशून्य कार्यालय’ भन्ने सिद्धान्त थियो, त्यसैका निम्ति रेमिङ्टन टाइपराइटर आइपुगेको थियो, किबोर्ड अभ्यासका लागि (तर कसैले छोएनन्) । मर्कन्टाइलले कम्प्युटरहरू जडान गरिदिएको थियो (तर, गलत ‘कि’ थिचेर पूरै सिस्टम सट डाउन भइरहन्थ्यो) ।


मोटरसाइकल सिकेर एक महिनाभित्र लाइसेन्स लिइसक्न सबैलाई आदेश दिइसकिएको थियो । पत्रकारिताको ‘क्रयासकोर्स’ विज्ञहरू बोलाएरै चलाइएको थियो तिनका निम्ति । जससँग अभ्यास थियो तर सैद्धान्तिक ज्ञान थिएन । अर्थशास्त्र र विज्ञानको सामान्य ज्ञान नभई बीसौं शताब्दीको पत्रकारिता हुनै सक्दैन भनेर त्यसका स्रोत व्यक्तिहरूलाई क्लास लिन नै लगाइएको थियो । वैज्ञानिक नास्टबाटै आएका थिए ।


अरू दुई वटा कुरा त्यस बेला उठाइएको थियो । आफ्नै डाटा ब्यांक र युद्ध रिपोर्टिङको दोस्रो फेजसम्मको सैद्धान्तिक भए पनि तालिम । किनभने त्यो फेजको तालिमका निम्ति फिल्ड अवश्य थिएन । तर, त्यसले पक्का साहसी रिपोर्टरहरू जन्माउँछ भन्ने ठानिएको थियो । आखिर २–३ वर्षपछि माओवादी विद्रोह सुरु हुने नै रहेछ । छैटौं इन्द्रियले काम गरेको सम्भँmदा गौरवबोध नै हुन्छ ।


यद्यपि ती दुवै जाँगरका अभावमा मरे । अन्यथा आज जे छ, त्यसभन्दा अर्को फड्को हालिसकेको हुने थियो भन्ने जरुर लाग्छ ।

***


एउटा मेच, कार्पेट र क्यालेन्डरसम्म पनि नभएको ठूलो कोठा दिएर दुई महिनाभित्र मुद्रणको चरणमा पुर्‍याइदिनुपर्ने आग्रहमा पंक्तिकारलाई निम्त्याइएको थियो, यो लेखपढकै संसार त्यागेर व्यवसाय गर्छु भन्ने अठोटले किग्ंसवेतिर व्यस्त हुन थालिसकेका बेलामा ।


६ महिनादेखि काठमान्डू पोस्टमा भर्ती भएका दुई जनाले उनीहरूको कार्यकक्षको ढोकामा कम्प्युटर तेस्र्याएर के–के न गरिराखेको जस्तो गरी नेपालीपट्टिकालाई इख्याउने, तर्साउने गरिराखेका रहेछन् । ३५ दिनपछि पहिलो डमी निकालेको साँझ ७ बजे म बिदा भएँ र त्यही दैनिकमा एक राजनीतिक लेखक मात्रका रूपमा जन्मिएँ ।

***


‘शुभप्रभात प्रधानमन्त्रीज्यू’ – १३ असार २०५० मा कान्तिपुरमा छापिएको पंक्तिकारको लेख हो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला थिए । यो कसरी लेखियो भन्ने प्रकाशकद्वयलाई मात्र थाहा थियो । यसैले सम्पादक मण्डलका केहीबाट नछाप्नलाई परेको तीव्र दबाब सम्पादकले थेग्न सक्ने कुरै भएन । छापिएपछि दबाब दिने पक्षले राजीनामा नै गर्ने भयो भन्ने सूचना दिँदै उनले के गर्ने भनेर सोधे । पंक्तिकारले घरबाटै भन्यो– राजीनामा लिइदिने । भयो त्यही । एकजनाको अनाहकमा जागिर गयो ।


तत्कालीन राजसभा स्थायी समितिमा सदस्य रहेका व्यापारीले राति ११ बजे फोन गरेर भने– भेटौं । पंक्तिकारले भन्यो– तपँईं व्यापारी भएकाले एक्लै नभेटौं । सन्देशगृह जस्तो सबैले देख्ने ठाउँमा भेटौं । उनले मुरीमुरी धन्यवाद दिएर भने– त्यो गिरिजा शत्रुलाई सल्लाहकार बनाउन जान्दैन । ठूलै उपलब्धि हासिल गरेजस्तो लाग्यो पंक्तिकारलाई भने ।

***


‘ग्रे कोटमा लागेको आलो रगत’ – २४ असार २०५० मा छापिएको लेख हो ।

त्यसमा एक पंक्ति परेको थियो । ‘अगाडिबाट पाँच सूत्रीय माग पेस गरे पनि पछाडिबाट एमालेका हजारौं कार्यकर्ता यति बेला हरेक घरमा एउटा मूली छोडेर भूमिगत भइसके ।’ नभन्दै त्यसपछि भूमिगत भएकाहरूले माओवादी विद्रोहलाई जन्म दिए । यो लेख माओवादी विद्रोह हुने कुराको अग्रिम आकलन नै थियो ।


यो लेख एमालेका कार्यकर्ताहरूले दसौं हजार प्रति फोटोकपी गरेर वितरण गरेछन् । अहिले भएको भए भाइरल हुन्थ्यो होला । दबाब व्यापक थियो उनीमाथि । काकताली थियो वा नाटक त्यसपछि गिरिजा संसद्मै झन्डै मूर्छा परेर ढले । गणेशमानको भेडो जनता– त्यतिमै सहानुभूति उरालिहाल्यो । उनी उम्के दबाबबाट ।


तर, माओवादीमा पछि विलय भएका पार्टीका नेताहरू गिरिजाले अन्धाधुन्ध गोली चलाइदिऊन्, जसले गर्दा बोल्सेभिक क्रान्ति नै जन्मिहाल्छ भन्ने दाउमा रहेछन् पछि बुझ्दा । गिरिजाले सातजना मारिएपछि दाउ बुझेर आफूलाई रोकेका रहेछन् ।

***


कालान्तर यस्तो भयो गिरिजाप्रसाद कोइरालालाई पटक्कै नरुचाउने हुँदा उनीसँग सोझै सामनाचाहिँ किन नगरेको ? भन्ने गाइँगुइँ पंक्तिकारले सुन्यो । र, त्यसपछि उनको सामना गर्नैपर्छ भन्ने लाग्यो । समय मिल्यो, तर एक्लै कुरा नगर्ने सर्त आयो उनीबाट ।


पंक्तिकारले खबर पठायो– बहालवाला राजा ज्ञानेन्द्रसँग त एक्लै कुरा भएको छ भने उनीसँग अरू मानिस राखेर कुरा गर्न पंक्तिकार पनि तयार छैन । उनी एक्लै बैठक कोठामा उपस्थित भए । विशेष कुरा केही थिएन । समसामयिक राजनीतिमाथि कुरा भए । तर पाठकहरूसँग एउटा अर्थपूर्ण कुरा सेयर गर्नुपर्ने भएको छ । उनी एक्लै कुरा गर्न तयार हुनुको पछाडि संयोगवश ज्ञानेन्द्र शाहको नाम पंक्तिकारले लिएकाले हो भन्ने लाग्छ अहिले ।


पछि के थाहा भयो भने १२ बुँदेका निम्ति दिल्ली जाने निम्तो आउँदा उनी ज्ञानेन्द्र शाहसँग माधव नेपालसहित भेट्ने चाहनामा रहेछन् । तीनपटक प्रयास गर्दा पनि सचिवले फोन उठाउने तर भेट नमिलाउने भइरहेको रहेछ । (सचिवले पाएको आदेशै त्यस्तै पो थियो कि ?)


उनी दिल्ली नगएर यहीं कुरो मिलाउनेमा रहेछन् । विमानस्थलको भीभीआईपी कक्षमा पनि दरबारको फोन पर्खेका रहेछन् । भर्‍याङ चढ्दै गर्दा पनि फोन आएर फर्किनु पो पर्ने हो कि भनेका रहेछन् । पंक्तिकारले शाहको नाम लिएपछि केही सन्देश पो आएको हो कि भनेर तुरुन्तै एक्लै कुरा गर्न तयार भएका रहेछन् कि भन्ने लाग्छ अहिले । गिरिजा २०४६ पछिको नेतृत्व गर्न लायक पात्र थिएनन् भन्ने पंक्तिकारको ठम्याइ आज पनि बदलिएको छैन । तर, त्यो भन्न दिने माध्यम कान्तिपुर नै थियो, सम्पादक कांग्रेस झुकाव राख्ने हुँदाहुँदै पनि । प्रजातन्त्रमै यो सम्भव छ ।

***


भोजनालय खोलेपछि धान खेती गर्न गएजस्तो अनुभव भयो पंक्तिकारको, आफ्नो लेख्य सामग्री छाप्न आफैंले छापाको रेखांकन गर्नुपर्ने ।


तर अब राजनीतिमाथि लेख्न र बोल्न मन लाग्दैन । पटक्कै बोल्न मन लाग्दैन । स्तर खस्केकाले मात्रै होइन, नेपालमा राजनीतिको रौनक नै छैन । त्यो जिउँदो जागेको मानिसको रातो गालाजस्तो छैन, मृतलासको गालामा दलेको लालीजस्तो छ ।

कान्तिपुरका संस्थापक सम्पादकीय टोलीमा रहेका सौरभ हाल स्वतन्त्र लेखनमा सक्रिय छन् ।

प्रकाशित : फाल्गुन ७, २०७४ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?