मंसिर १९ : सुर हराएको त्यो दिन

संगीत
जोकोहीलाई थाहा छ, नारायणगोपालको स्मृति दिवस मंसिर १९ मा पर्छ । धेरैलाई थाहा नहुन सक्छ, यही मंसिर १९ भक्तराज आचार्यको जीवनमा पनि कालो दिन बनेर आएको थियो
भूपेन्द्र खड्का

काठमाडौं — विद्यार्थीकालमा त्रिचन्द्र क्याम्पसमा टेबल ठटाएर मुकेश, रफी र मन्ना डेका गीत गाउने नारायणगोपाल त्यति बेला अल्लारे नै थिए । र, नेपाली सांगीतिक क्षेत्र पनि ५० वर्षको अल्लारे नै थियो । साथीहरूमाझ गुमसुम बस्ने उनी लजालु स्वभाव भएकै कारण रेडियो नेपालको स्वर परीक्षामा पहिलोपटक फेल भएका थिए ।

मंसिर १९ : सुर हराएको त्यो दिन

माणिकरत्न र प्रेमध्वज प्रधानको सहयोगमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका उनलाई बीसको दशकको मध्यसम्म आइपुग्दासम्म पनि गायक भएरै जीवन बिताउँछु भन्नेमा विश्वास थिएन । प्रसिद्ध सितारवादक आशागोपाल गुरुवाचार्यका छोरा भए पनि, भारतको बडौदाबाट शास्त्रीय संगीतको अध्ययन गरेर फर्किए पनि शास्त्रीय संगीतमा कुनै लगाव राखेनन्, उनले । बरु आफ्नै स्वभाव र अन्तरजातीय विवाहका कारण धेरै वर्ष आफ्नो घरबाहिरै रहे । कहिले कवि भूपी शेरचनको घर पोखरामा त, कहिले हेटौँडामा, कहिले दार्जिलिङमा ।

समय फेरियो, २०१९ सालमा भारतको कोलकातामा पहिलोपटक रेकर्ड गरिएका उनका ६ गीतहरू नै लोकप्रिय भए ! २०२३ र २०२४ सालमा रेडियो नेपालबाट सर्वोत्कृष्ट संगीतकार र गायकको पुरस्कार उनले आफ्नो पोल्टामा पारिसक्दा संगीतकार एवं गीतकार गोपाल योञ्जनसँग उनको मितेरी साइनो गाँसिइसकेको थियो । अम्बर गुरुङको संगीतमा पनि उनले गीत गाइसकेका थिए । 

२०३० साल चैत २० गते एकाएक नेपाली संगीतमा अर्का एक युवा देखा परे । ‘होसियार यसबखत समयको मुखलाई चिन...’ बोलको गीत अम्बर गुरुङको रचना–संगीतमा गाएर देशव्यापी आधुनिक गायन प्रतियोगितामा प्रथम हुने ती युवा थिए— भक्तराज आचार्य । नारायणगोपालले गीत रेकर्ड गराएको १२ वर्षपछि एउटा प्रतिभावान् गायकको रूपमा भक्तराज आचार्यको नेपाली संगीतमा प्रवेश भइसकेको थियो । संयोग कस्तोसम्म थियो भने २०३० सालको उक्त आधुनिक गायन प्रतियोगितामा भक्तराज आचार्य प्रथम हुँदा मुख्य निर्णायक गायकद्वय नारायणगोपाल र बच्चु कैलाश थिए । यो संयोग एउटा शक्तिशाली गायक–संगीतकारले उस्तै अर्को गायक–संगीतकारलाई नेपाली संगीतमा स्वागत गरेको क्षणमात्र थिएन, नेपाली संगीतको इतिहासमा एउटा नवीन मोडसमेत थियो । 

समानता र विविधता 
नेपाली संगीतमा प्रवेश फरक समयमा भए पनि नारायणगोपाल र भक्तराज आचार्यका जीवनमा थुप्रै समानता भेटिन्छन् । एउटै कालखण्ड, उस्तै सांगीतिक प्रवृत्ति हुँदाहुँदै पनि यी दुईको जीवनशैली र सिर्जनामा विविधता पनि उत्तिकै भेटिन्छन् । 

नारायणगोपालले शास्त्रीय संगीतमा भारतको बडौदाबाट आधारभूत दुईवर्षे अध्ययन गरेका थिए । संगीत विशारद गर्ने बेलामा उनी सो अध्ययन हापेर हिँडेका थिए । भक्तराज आचार्य २०२० सालमै रेडियो नेपालमा स्वर परीक्षा दिन आएका थिए तर त्यसमा सहभागी हुन नसकेपछि जन्मथलो भारतको पश्चिम बंगालस्थित डुवर्सको सामसिङ फर्किएका थिए । दोस्रोपटक २०३० सालमा नेपाल आउँदा उनी संगीत प्रभाकर (संगीतमा स्नातक) भइसकेका थिए । 

नारायणगोपाल स्वर र सुरमा पक्का पकड राख्थे भने भक्तराजको पनि स्वर र सुरमा खोट लगाउने ठाउँ भेट्टाउन गाह्रो पथ्र्यो । रेडियो नेपालमा भक्तराज आचार्यले गीत रेकर्डिङ गर्दा स्टुडियोको बाहिरी कक्षमा नातिकाजी, शिवशंकरहरू हुन्थे, दर्शकको रूपमा ।

रायणगोपालले एनालग रेकर्डिङमा वान टेक गाउँदा आफैंले ओके गर्थे । गीतको रेकर्डिङमा जति शुद्धता होस् या नहोस् उनी अरूको कुरै सुन्थेनन् । नारायणगोपाल शब्द र संगीत छनोटमा माहिर थिए । समकालिक राम्रा गीतकारका डायरीका पाना आफँै च्यातेर ल्याउँथे र आफैं संगीत भर्थे वा मनले खाएको संगीतकारलाई संगीत भर्न दिन्थे । भक्तराज आचार्य भने आफ्नो कालका उदाउँदै गरेका गीतकार प्रतिभालाई ठाउँ दिन मन पराउँथे र उनीहरूकै गीत गाउँथे । संगीत पनि आफैँले भर्थे । 

अरूको संगीतमा गीत गाउने यो मेसोमा संगीतकारसँगको संगत अलि कम थियो, भक्तराज आचार्यको । अर्कोतर्फ, नारायणगोपाल साहित्यमा पनि रुचि राख्थे । लेख लेख्थे । ‘बागिना’ नामक सांगीतिक–सांस्कृतिक पत्रिकाको सम्पादकसमेत बनेका थिए । भक्तराज आचार्य संगीतमा गहिरा थिए । स्टाफ नोटेसन लेख्थे, आफ्ना गीतको आफैं प्रोग्रामिङ र संयोजन गर्थे । उनको त्यो प्रतिभा देखेर उनका समकालिक संगीत संयोजक दिव्य खालिङ, मदन परियार, गणेश परियारहरू तीनछक पर्थे । 

समानताको अर्को विन्दु थियो— मदिरा प्रेम । दुवै मदिराका पारखी थिए । सँगै सुरपान गरेपछि दुई–तीनपटक नारायणगोपालले आफ्नो सिजी बाइकमा चढाएर भक्तराज आचार्यलाई उनको निवास ललितपुरको महालक्ष्मीस्थानसम्म पुर्‍याएको सम्झन्छन्, आचार्यपुत्र सत्यराज । नारायणगोपाल खानाका पनि सोखिन थिए । माछामासु, रसभरी र गँुदपाक उनका प्रिय परिकार थिए । भक्तराज आचार्य भने नेपाली दालभात र तरकारीका सोखिन थिए । 

संगीतबाहेकका रुचिका विषयमा यी दुवै समान थिए । नारायणगोपाल इतिहास र भूगोलमा रुचि राख्थे । कलेजमा त्यही विषय अध्ययन गरेका थिए । उनी त्यो बेला नै ‘नेसनल जियोग्राफी’ पत्रिकाका ग्राहक थिए । भक्तराज आचार्य पनि इतिहास अध्ययन गर्थे । भूगोल र भौगोलिकताबारे आफ्ना समकालिकलाई रनभुल्ल पार्ने यथार्थ सुनाउँथे । 

नारायणगोपालले ३० वर्षको गायन जीवनमा एक सय पैंतालीसजति गीत रेकर्ड गराएका छन् । तिनमा सुगम संगीत, लोक, राष्ट्रिय, सिनेमा र नेपाल भाषाका गीतसम्म पर्छन् । भक्तराज आचार्यले भने भजन मात्रै एक सय पैंतालीसभन्दा बढी रेकर्ड गराएका छन् । त्यत्तिकै मात्रामा सुगम, बाल र राष्ट्रिय गीतमा स्वर दिएका छन् । भक्तराज आचार्यले मोतीराम भट्टको ‘यतिसम्म प्रीति गरीगरी...’ गजल आफ्नै संगीतमा गाए । नारायणगोपालले पनि ‘मेरो बेहोसी आज...’ लाई ‘मैले यो गीत गजल शैलीमा गाएको हुँ’ भनेका छन्, आफ्नो जीवनकै एकल गायन कार्यक्रममा । कालान्तरमा नारायणगोपाललाई नेपाली जनमानस र सांगीतिक क्षेत्रले ‘स्वरसम्राट’ को उपाधि दियो भने भक्तराज आचार्यलाई ‘भजनशिरोमणि’ को । उस्तै गला, उस्तै स्वर, उस्तै कला भएका यी दुवै प्रतिभालाई नेपाली संगीतप्रेमी समुदायले सम्राटभन्दा तल राख्न चाहेन । 

सुर र उच्चारण
दुवै शास्त्रीय संगीतमा दक्ष थिए । सुर र तालका पक्का थिए । शब्द छनोटमा अब्बल थिए । सुन्दा उस्तै सुनिन्थे । दुवैको स्वरको गुणस्तर र स्केल उस्तै लागे पनि केही फरक भने अवश्य थियो । 

नारायणगोपाल जस्तोसुकै संगीतलाई पनि सजिलै गाउने गलाका धनी देखिन्छन् । संगीतको प्राविधिक आँखाबाट हेर्दा उनको गायकी मन्द्र सप्तकदेखि तार सप्तकसम्म सजिलै पुगेको देखिन्छ । जब उनले तार सप्तकमा गीत गाउँथे, उनको त्यो आवाज पातलिन्थ्यो । फिल्म परिवर्तनमा समावेश लोकलयको गीत ‘बैनीको दया छ भने...’ पहिलोपटक सुन्ने श्रोतालाई नारायणगोपालले नै गाएको हो र भन्ने लाग्न सक्छ ।

उता भक्तराज आचार्यको गला पनि मन्द्रदेखि तार सप्तकसम्म सजिलै खेल्न सक्थ्यो । तर, फरकफरक स्केलमा पनि उनको स्वरको स्तर भने समान पाइन्छ । उनको स्वर भने धोद्रो पनि होइन, तीखो पनि होइन । 

सबै स्केलमा समान पकडले गाउन सक्ने यी दुई गायकको गायकीमा पाइने मुख्य फरक हो— शब्द उच्चारण । नारायणगोपाल उच्चारणमा अलि लापरबाह देखिन्छन् । उनले गाएका गीतका सर्जक दिनेश अधिकारी भन्छन्, ‘नारान दाइको आफ्नो हठी बानी अजिबको थियो । रेकर्डिङमा प्राय: गीतकारलाई लैजाँदैनथे । आफूले जे बुझ्यो, गीतका शब्दलाई त्यसरी नै उच्चारण गरेर गाउँथे । उच्चारण बिगारेपछि फेरि रेकर्ड गरौँ न दाइ भन्दा नारायणगोपालले गाएपछि गायो, गायो, त्यही हो भन्थे ।’ भैरवनाथ रिमाल ‘कदम’ को गीत ‘जुन फूल मैले चाहेको थिएँ...’ को अन्तरामा उनले ‘बाँची नै रह्यो केवल चाह’ हुनुपर्नेमा ‘बाँची नै रह्यो केवल चाहिँ’ बनाइदिएका छन् । र, उनको जीवनको अति महत्त्वाकाङ्क्षी एकल गायन कार्यक्रम ‘स्वर्णिम सन्ध्या’ मा गाइएका प्राय: गीतमा ‘टटमम’ को प्रभाव पाइन्छ । जस्तै— ‘टिमीले भनेका सारा डेव छोएर... ।’
शब्द उच्चारण र शुद्धताको मामिलामा भक्तराज आचार्य आजसम्मकै प्रशंसित गायक–संगीतकार हुन् । उनको हरेक गीतमा तत्सम र तद्भव शब्दहरूको सही उच्चारण कसरी हुन्छ भन्ने दृष्टान्त पाइन्छ । उनले गाएका प्राय: भजनहरूमा संस्कृतका तत्सम शब्दहरू भएका कारण पनि सुगम संगीतमा सही उच्चारण हुन सकेको हो । 
गीतकार विश्ववल्लभ भन्छन्, ‘नातिकाजी, शिवशंकर, ईश्वरवल्लभहरू भएको एक बैठकीमा भक्तराज आचार्यले नारायणगोपाललाई गीतको उच्चारण सुधार्न अनुरोध गरेका थिए । तर, नारायणगोपालले कुनै जवाफ दिएनन् ।’

वैराग्यका गायक
नारायणगोपाल र भक्तराज दुवैको गायन जीवन उत्कर्षमा पुगेको क्षण नेपाली समाजमा सञ्चार प्रविधि विस्तारित भएको समय हो । रेडियो नेपालले सर्टवेभ र मिडियम वेभ माध्यमबाट गाउँगाउँसम्म उपस्थिति जनाइरहेको थियो भने रत्न रेकर्डिङ संस्थान, इन्द्रेणी रेकर्डसजस्ता रेकर्डिङ स्टुडियो र उत्पादकको उपस्थितिले क्यासेट एल्बमहरू सहज पहुँचमा पुगेका थिए । पूर्व–पश्चिम राजमार्गको निर्माण र पहाडी मार्गहरूको निर्माणसँगै रात्रि र दिवा बसहरूले मालसामान र यात्रु मात्र बोकेनन्, राजधानी सहरका गीतहरूलाई गाउँ–गाउँसम्म पुर्‍याए । एकातर्फ, रोजगारी र अध्ययनको सिलसिलामा सहर छिर्ने युवा र अर्कोतर्फ सहरका गीत बोकेर गाउँ–गाउँ पुग्ने रेडियो र क्यासेट एल्बम, यी दुवैले प्रसार गरेका गायक थिए, नारायणगोपाल र भक्तराज आचार्य । स्वर, संगीत र सुरका साथै दुवैका गीतमा पाइने समानता अर्को पनि थियो— वैराग्य । 

प्रजातन्त्र, खुलापनसँगै वैयक्तिक सम्बन्धमा पनि खुलापन आउन थालेको थियो । मास्टर मित्रसेनको समयमा युवावयका वैंशालु रुमानी प्रस्तुतिका माध्यम मात्र बनेका गीतहरू यी दुई गायकको समयमा युवावयको प्रेम विछोडको प्रस्तुतिमा पुगिसेकेको थियो । कमजोर आर्थिक अवस्था, तमाम सामाजिक बन्धन र निरंकुश राजनीतिक व्यवस्थामा थिचिएको नेपाली समाजमा वैराग्य र पीडा साझा थियो । दुवै गायकले वैराग्यका गीत गाए र कुनै न कुनै हिसाबले समाजको दु:ख उजागर गरे । ‘हजार सपनाहरूको माया लागेर आउँछ’ भन्ने भक्तराज आचार्यको गीतमा होस् वा नारायणगोपालको ‘पर्खिबसें आउला भनी मेरो उठ्ने पालो’, दुवैमा वैराग्य र सहज जीवनको खोजी र प्रतीक्षा पाइन्छ । 

दुवै गायकले गाएका अधिकांश गीतमा तिनै नेपाली जनजीवनका दु:ख, पीडा, दर्द, आँसु, कारुणिकता, विछोड र वियोगको योग छ, जसको जगमा आज पनि नेपाली संगीत उभिइरहेको छ । 

तीतो संयोग
१९ गते नेपाली इतिहासमा बदनाम छ । जेठ १९, असोज १९, माघ १९... । नेपाली संगीतका जानकारले यो सूचीमा थपेका छन्, मंसिर १९ ।

मंसिर १९ यी दुवै गायकको जीवनमा दु:खद दिन बनेर आयो । जोकोहीलाई थाहा छ, नारायणगोपालको स्मृति दिवस यही दिन पर्छ । २०४७ साल मंसिर १९ गते काठमाडौंको वीर अस्पतालमा राति साढे नौ बजे नारायणगोपालले आफ्नो इहलीला त्याग गरेका थिए । उनको स्मृतिमा यही दिन पारेर अनेक कार्यक्रम आयोजना गरिन्छन् । उनको नामबाट राखिएको संगीत कोषले उनकै निवास महाराजगन्जमा विशेष कार्यक्रम पनि गर्छ । रेडियो–टेलिभिजनले यो दिन उनकै गीत बढी बजाउँछन् र विशेष कार्यक्रम पनि गर्छन् । 

धेरैलाई थाहा नहुन सक्छ, यही मंसिर १९ भक्तराज आचार्यको जीवनमा पनि कालो दिन बनेर आएको थियो । नारायणगोपालको स्वर्गारोहणको ठ्याक्कै एक वर्षअघि २०४६ सालमा सोही महिना, गते र समयमा आचार्यमाथि काठमाडौंको बौद्धस्थित ‘छिरिङ रेस्टुरेन्ट’ मा सांघातिक आक्रमण भएको थियो । आक्रमणका कारण घाइते उनलाई वीर अस्पताल नै पुर्‍याइएको थियो । 

आक्रमणका कारण उनको टाउकोमा मात्रै सयजति टाँका लगाइएका थिए । १२ दिनसम्म अप्रेसन हुन सकेन । कवि/गीतकार राममणि रिसालले अति नै अनुनय गरेपछि बल्ल डा. उपेन्द्र देवकोटाले उनको अप्रेसन गरेका थिए । अप्रेसन हुन किन यति ढिलो भयो, खोज र चिन्ताकै विषय हो । अप्रेसनपश्चात् उनी निको त भए तर जिब्रोमा एकाएक देखापरेको सेतो दागले उनलाई क्यान्सरको रोगी बनाइसकेको थियो । अन्तत: २०५० साल असोज ११ गते दिल्लीस्थित एम्स अस्पतालमा क्यान्सरग्रस्त उनको जिब्रो काटियो । त्यसको ६ वर्षपछि कनकमणि दीक्षित र जर्मनीका लागि तत्कालीन नेपाली राजदूत नोबलकिशोर राईको पहलमा जर्मनीमा उनको जिब्रो प्रत्यारोपण त भयो तर उही पुरानो लय, सुर र तालमा गायक बनेर उनी फर्कन भने सकेनन् । 

१६ वर्षे सांगीतिक जीवनमै नेपाली संगीतमा अमिट र उल्लेख्य स्थान बनाएका भक्तराज आचार्य अहिले फरक छन् । आफ्ना गीत सुनेर प्रभावित हुने श्रोतालाई प्रत्यारोपित जिब्रोको सहारामा जवाफसम्म दिन सक्छन् । गायनलाई दुर्घटनावश निरन्तरता दिन नसकेका उनी नेपाली संगीतको पछिल्लो अभ्याससँग भने सन्तुष्ट छैनन् । यद्यपि उनले नेपाली संगीतलाई सत्य–स्वरूपराजजस्ता गायक छोरा उत्तराधिकारीको रूपमा दिएका छन्— जसरी नारायणगोपालले आफ्नो गायनशैली पछ्याउने थुप्रै ‘नारायणगोपालहरू’ जन्माएर गएका छन् । 
२०४७ सालमा नारायणगोपालको स्वर गुमाएको नेपाली संगीतले त्योभन्दा एक वर्षपहिले नै भक्तराज आचार्य स्वरविहीन भएको साक्षी बस्नुपरेको थियो । त्यसैले मंसिर १९ नेपाली धर्तीबाट दुई ‘सम्राट’ हरूको स्वर हराएको दिन हो ।
ट्वीटर : @khadkabhupendra 

प्रकाशित : मंसिर १६, २०७४ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?