१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

न्यु सेन्सेसन-भीटेन

गाेकर्ण गाैतम

काठमाडौं — सुन्न त भिटेन अनेक जनराका गीत सुन्थे तर इमिनेमको स्वर सुनेपछि हुरुक्कै । त्यतिबेला बल्ल ११ वर्ष टेक्दै थिए, इमिनेमको गायिकीलाई र्‍याप भन्छन् भन्ने पत्तै थिएन । सिर्फ सुन्थे, सुनिरहन्थे ।

न्यु सेन्सेसन-भीटेन

नेपालीमा चाहिँ गिरीश खतिवडा र एड्रेका गीत औधी मन पथ्र्यो ।

अलि पछि थाहा पाए, त्यसरी निष्फिक्री गाउनुलाई र्‍याप भनिन्छ । अनि त उनी पनि के कम, त्यही शैलीमा गाउन थाले, आफंैले लेखेर तर एक्लै कोठाभित्र । यतिबेला नेपाली र्‍यापको नयाँ सितारामा गनिन थालेका भिटेन भन्छन्, ‘आफूभित्रको भावना पोख्न पाइने भएकाले र्‍यापमा मेरो आत्मा जोडिए जस्तै लाग्थ्यो । बिस्तारै र्‍याप मेरो एक्लोपनको साथी पनि हुन थाल्यो ।’ 

अहिले २० वर्ष पुग्दैछन् भिटेन तर उनको क्रेज नेपालका युवा पुस्तामाझ मात्र सीमित छैन, असार दोस्रो साता सिक्किममा समेत शो गरेर आए । अन्य देशबाट पनि अफर आइरहेको छ । र, यो डिमान्डको पछाडि उनका आधा दर्जन हिट गीतको भूमिका छ । ‘गरिब...’, ‘चुरोट...’, ‘बैनी...’, ‘लफंगा...’, ‘खलासी...’ आदि–आदि । र्‍याप धेरैले गाउँछन् तर शब्द, गायन शैली, टेक्निक अनि हुलिया, हरेक हिसाबले अलग छन् भिटेन । यही ‘युनिकनेस’ ले उनलाई खासगरी टिनएजरहरूमाझ ‘हकटेक’ बनाएको छ । फेरि उनका गीत उनका भोगाइ र बुझाइका प्रतिबिम्ब हुन् । सोही कारण उनका उमेर समूहका जोकोहीले गीतमा आफूलाई पाउँछन् । 

नेपाली र्‍यापका प्रणेता गिरीश खतिवडासमेत भिटेनलाई यो समयको ‘बेस्ट र्‍यापर’ मान्छन् । भिटेनको गायिकीलाई नजिकबाट नियालिरहेका गिरीश भन्छन्, ‘लाहुरेपछि नयाँ पिँढीको धड्कन हो भिटेन । धेरै क्षमतावान छन् ।’ गिरीश र भिटेनका फ्यानलाई खुसीको खबर छ, उनीहरू एकसाथ र्‍याप हान्दैछन् । गीत रेकर्डिङको क्रममा छ ।

भिटेनको खास नाम समिर घिसिङ हो तर भिटेन नामसँग उनको विशेष प्रेम छ । किन त ? रौतहटको चन्द्रनिगाहापुरमा उनको एउटा मिल्ने साथी थियो, जो टुहुरो र गरिब थियो । त्यही साथीले उनलाई भिटेन भनेर बोलाउँथ्यो । त्यतिबेला यो नाम खासै मन पर्दैनथ्यो । तर त्यो जिग्री दोस्त केही समयपछि हरायो । अनि यो नामबाटै उनले र्‍याप गाउन थाले र प्रसिद्धि कमाउन थाले । त्यसपछि त्यो साथीसँग कहिल्यै भेट भएको छैन । भिटेनले सुनेसम्म उनी खलासी भएका छन् । र, उसकै यादमा भिटेनले गीत लेखे र अनि गाए, ‘खलासी...’ । 
‘मेरो मन पूरै रित्तो
मेरो साथी भनेको त्यही गाडीको भित्तो
जिन्दगी फोहोर कपडामै बित्छ
त्यै पनि ठीक छ 
काम गरेको पैसाले खान मात्र ठिक्क’

भिटेनको पहिलो रेकर्डेड गीतचाहिँ ‘गरिब...’ हो । यो गीतको शब्द अझ संवेदनशील र गहन छ । जबकि त्यतिबेला जम्मा १५ वर्षका थिए । त्यति किशोरवयमै यति मार्मिक गीत ? भिटेन केही भावुक सुनिए, ‘गरिबी त हाम्रो आम नियति भइहाल्यो । त्यो गीतमा मैले देखेको र भोगेको दुवै मिसाएको छु ।’ शब्दको भाव जस्तो छ, र्‍याप हान्दा त्यस्तै एक्स्प्रेसन दिन्छन् । जस्तो, रिस पोखिएको शब्द छ भने ठूलो आवाज निकाल्छन् । पीडा पोखिएको छ भने मलिन स्वर । यसो गर्दा गीतले जीवन्तता पाउने र दर्शक/श्रोतालाई छिट्टै ‘इन्गेज’ गर्ने उनको बुझाइ छ । उनलाई चिनाउने अर्को गीत ‘चुरोट...’ त झन् एकै बसाइमा लेखेका थिए । मुस्कुराउँदै भने, ‘यो गीत त झन् पूरापुर मेरो र मेरा साथीहरूलाई सम्झेर लेखेको हुँ ।’ 

भिटेनको उदय सहरका गल्ली र रेस्टुरेन्टमा हुने अन्डरग्राउन्ड र्‍याप ब्याटलबाट भयो । फ्रि स्टाइल र्‍यापमा निकै पोख्त थिए/छन् । त्यसैले सुरुवातका गीतमा ‘रफ वर्ड’ हरू पनि राख्थे । अहिले बिस्तारै हटाउँदै लगेका छन् किनभने उनलाई लाग्न थालेछ, मासअडियन्समा पुगेपछि आफू अलि परिपक्व हुनुपर्छ । 

इमिनेमप्रतिको प्रेम कति गहिरो छ भने हातमा ‘डि–१२’ ट्याटु खोपाएका छन् । त्यो इमिनेमको क्रियुको नाम हो । त्यस्तै, अर्का हातमा इमिनेमकै एल्बम ‘ब्याड मिट्स इभिल’ को ट्याटु छ । किनभने उनलाई इमिनेम नसुनेको भए आफू र्‍यापर बन्दैन थिएँ भन्ने लाग्दोरहेछ । डेब्यु एल्बम ‘आइसकें म’ को तयारी अन्तिम चरणमा पुगेको छ । कन्सर्टको डिल गर्न र गीतहरूको बजारीकरणमा सहयोग पुगोस् भनेर म्यानेजरसमेत राखेका छन् । आजकल ट्रयाकमा र्‍याप हान्नुपर्छ । त्यसैले डीजेको लाइभ बिटमा लाइभ र्‍याप हान्नु उनको सपना हो ।

अनि उनका डाइहार्ट फ्यानलाईसमेत थाहा नहुन सक्छ, उनी थाङका आर्टिस्ट पनि हुन् । पेन्टिङ पनि गर्छन तर उनको मन चाहीं सधैं र्‍यापमै हुन्छ । तर जति आधुनिक भएको भनिए पनि हामीकहाँ संगीतमा लाग्नेलाई हेर्ने दृष्टिकोण निकै साघुरो छ, त्यसमाथि र्‍यापरलाई त आवारा वा ट्यापे ठान्ने जमात ठूलो छ । त्यस्ता अपमान उनी आफैंले पनि सहनु परेको छ बेलाबखत । तैपनी भिटेन भन्छन्, “हु केर्यस ? आखिरमा मलाई अध्यारोबाट उज्यालोतिर डोराएको त र्‍यापले नै हो ।”

प्रकाशित : असार २५, २०७४ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?