१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

सगरमाथा भन्दा अग्ला

‘हिमाल चढ्नु भनेको ज्यान जोखिम भएको गाह्रो खेल खेल्नु हो’

न्युजिल्यान्डका एडमन्ड हिलारी र पछि भारतीय नागरिकता लिनपुगेका नेपाली तेन्जिङ नोर्गेबारे धेरै बेलिबिस्तार लगाइरहनु परेन । विश्वकै अग्लो शिखर सगरमाथामामा यी दुई जनाले पहिलो मानव पाइला राखेको ६४ वर्ष बितिसकेको छ ।

सगरमाथा भन्दा अग्ला

त्यो ‘बेलायती सगरमाथा अभियान’ पछि आजसम्म सगरमाथाको चुचुरोमा पुग्नै भनेर करिब २० हजार जना आधार शिविरसम्म पुगिसकेका छन् । यीमध्ये करिब ७ हजार आरोहीले मात्रै चुचुरोमा पाइला टेक्न र झन्डा गाड्न सकेका छन् । विभिन्न स्रोतहरूका अनुसार, यस क्रममा करिब ३ सय आरोहीले सगरमाथा आसपासमा ज्यान गुमाएका छन् ।

तर पनि, एकपटक सगरमाथा पुगेर विश्वसम्मान आर्जन गर्ने होडबाजी घटेको छैन, बरु बढेको छ । यस्तै होडबाजीबीच यस वर्षको वसन्तकालमा करिब ४ सय ५० आरोहीहरू हिउँ नछिर्ने बुट लगाएका आफ्ना पाइलाहरूलाई संसारको अग्लो छानोमा पुर्‍याउन सफल भए । तीमध्ये कोहीले आफ्नो समुदायबाट पहिलो, कोही मुलुकबाट पहिलो, दोस्रो, कान्छो, जेठो, छिटो, रित्तो (बिना अक्सिजन) लगायतका कैयन कीर्तिमान कायम गरे ।

यिनैमध्ये थिए सोलुखुम्बुको पासाङल्हामु गाउँपालिकास्थित थामेका कामीरिता शेर्पा । सरकारी तथ्यांकअनुसार ४७ वर्षीय कामीरिता यो वर्ष २१ औं पटक चुचुरोमा पुगे । यति धेरैपटक सगरमाथा आरोहण गर्नेमा अहिलेसम्म तीन नेपाली शेर्पाको कीर्तिमान छ । सबैभन्दा पहिले आप्पा शेर्पाले सन २०११ मा यो कीर्तिमान राखेका थिए । सन २०१३ मा फुर्बा तासी शेर्पाले उनलाई भेटे । यी दुईकै हाराहारीमा यस सिजनमा कामीरिताले पनि आफूलाई उभ्याए । अब सगरमाथामा सबैभन्दा धेरैपटक पुग्ने रेकर्डमा कामीसहित तीन नेपाली शेर्पाको नाम जोडिएको छ ।

हुन त कामीरितासँग २२ औं पटक सगरमाथाको चुचुरोमा पुगेका प्रमाण छ । तर, पर्यटन विभागले उनी चौथो क्याम्पबाट फेरि फर्केर उक्लेको रेकर्डलाई मान्यता दिइसकेको छैन ।
0 0 0
सगरमाथाको उचाइ, पहिचान र अंग्रेजी नाम ‘माउन्ट एभरेस्ट’ न्वारन गर्ने बेलायती मूलका सर्जन क्लिन्टन थोमस डेन्टले ‘सगरमाथा आरोहण सम्भव छ’ भनेको १ सय ३२ वर्ष बित्दै छ ।

पर्वतारोहीसमेत रहेका सर्जन डेन्टको पुस्तक ‘अबव द स्नोलाइन’ मा यस्तो लेखिनुभन्दा ३९ वर्षअघि बेलायती अन्वेषक जर्ज एभरेस्टले सगरमाथालाई पहिल्याएका थिए । एभरेस्टले सन् १८४१ मा (१ सय ७६ वर्षअघि) सगरमाथाको उचाइ निर्धारण नगर्दासम्म यो धर्तीकै अग्लो चुचुरो हो भन्ने विश्वका धेरै मुलुकलाई हेक्का नै थिएन । त्यसताका यसको स्थानीय नाम छँदै थियो । तर, इस्ट इन्डिया कम्पनीका सर्वेक्षकले अहिले नेपालका प्रदेशहरूलाई अंकमा नामकरण गरेजस्तै गरी सगरमाथाको नाम दिए— अंग्रेजी शब्द पिक अनि रोमन नम्बर एक्स भी (१५) । जसलाई नेपाली विद्वान् र हिमालप्रेमीहरूले पछि पन्ध्रौं चुली पनि भने । त्यस बेला नेपालको राजनीतिक वागडोर जंगबहादुर राणाको हातमा पुगिसकेको थिएन । शाहवंशीय पाँचौं राजा राजेन्द्रविक्रम शाह वसन्तपुरको राजगद्दीमा थिए ।
0 0 0
विदेशीहरूका लागि नेपाल प्रवेश खुला भइसकेको थिएन । बेलायती सेनाको लेफ्टिनेन्ट पदबाट पहिलो विश्वयुद्ध लडेको अनुभव बटुलेका हर्बट मेलोरीले सगरमाथाको चचुरोमा पहिलो मानव पाइला राख्ने प्रयास गरे । त्यसताका उनी बेलायतका सर्वाधिक चर्चित ‘पर्वतारोही’ थिए । मेलोरीले सन् १९२१ मा दार्जिलिङबाट तिब्बत हुँदै उत्तरी मोहोडाबाट पहिलोपटक सगरमाथा आरोहणको प्रयास गरे । उनी संलग्न आरोहण अभियान सफल भएन । दोस्रो वर्ष फेरि यही आरोहण दलले तिब्बततर्फबाटै प्रयास गर्‍यो । त्यस वर्ष पनि सफल भएन । दुई वर्ष उत्तर भारतको बाटो हुँदै सगरमाथाको छेउछाउमा बिताएका उनी १९२३ मा अमेरिका फर्किए । त्यस वर्षको मार्च १८ मा उनले न्युयोर्क टाइम्सलाई दिएको अन्तर्वार्ता अहिलेसम्म चर्चित छ । ‘क्लाइम्बिङ माउन्ट एभरेस्ट इज वर्क फर सुपरम्यान’ शीर्षकमा छापिएको त्यो अन्तर्वार्तामा उनलाई पत्रकारले सोधेका थिए, ‘तपाईं किन सगरमाथा चढ्न चाहनुहुन्छ ?’ जवाफमा उनले भने, ‘बिकज इट्स देयर अर्थात् किनकि यो त्यहाँ छ ।’ उनको यो उत्तर अहिले हिमाल आरोहणका क्षेत्रमा प्रख्यात ‘कोटेसन’ बनेको छ ।

त्यो अन्तर्वार्तापछि फेरि तिब्बततर्फबाट सगरमाथा उक्लेका मेलोरी ३७ वर्षको उमेरमा १९२४ मा सहयात्री एन्ड्रयू इर्विनसहित बेपत्ता भए । सगरमाथामा पहिलो मानव पाइला पुर्‍याउने प्रयत्न गर्ने उनी सफल भए वा भएनन् ? आरोहण इतिहासमा अझै खोजीको विषय हो यो । मेलोरी बेपत्ता भएको ७५ वर्षपछि १९९९ मे १ तारिख उनको मृत शरीर भेटियो ।

मेलोरीको प्रयासपछि उनले बयान गरेजस्तो ‘सुपरम्यान’ हरूले गर्ने काम कैयौंले गरिसके । तीमध्ये केही वास्तवमै ‘सुपरम्यान’ छन् । तिनीमध्ये पर्छन् कामीरिता । उल्लेख गर्नैपर्ने के छ भने, कामीरिता सगरमाथामा पहिलो मानव पाइला पुर्‍याउने प्रयत्न गर्ने उनै मेलोरीसम्बन्धी एक अभियानमा पनि सहभागी भए । मेलोरीले सगरमाथा चढे वा चढेनन् भन्ने रहस्य खोतल्न तीन वर्षपछि सञ्चालित उक्त अभियान तिब्बती मोहोडाबाट सुरु भएको थियो, उनको शव फेला परेपछि सन् २००१ मा । मेलोरीले प्रयोग गरेको डायरी, क्यामरालगायतका सामग्री खोज्ने उक्त आरोहण दलको नेतृत्व अमेरिकी पर्वतारोही एरिक सिमोनसनले गरेका थिए । त्यसताका केही फेला परेका अवशेष बोकेर एरिकको टोली अमेरिका फर्कियो । कामीरिता नेपाल आए । त्यति बेलासम्म कामीरिताले नेपालतर्फको मोहोडाबाट ५ पटक चुचुरोमा टेकिसकेका थिए ।
0 0 0
कामीरिताले सुरुका दुई वर्ष चुचुरोमा पुग्न गरेको प्रयास विफल भएका थिए । माइला भिनाजु र दाइको लहलहैमा लागेर पर्वतारोहणमा उक्लेका उनी २४ वर्षको उमेरमा बिक्रम संवत् २०५१ मा पहिलोपटक चुचुरोमा पुग्न सफल भए । ‘मिति ठ्याक्कै याद छैन, डायरीमा त लेखेको छु,’ पछिल्लोपटक सगरमाथाको चुचुरो टेकेर काठमाडौं फर्किएका कामीरिताले भने, ‘२२ पटकमा १ पटक तिब्बतबाट चढें, बाँकी नेपालतर्फबाटै उक्लिएको हुँ ।’

काठमाडौंस्थित बौद्ध, टुसालमा बस्दै आएका कामीरिताले २०६५, ०६९ र ७० को वसन्तकालमा दुई–दुईपटक सगरमाथा आरोहण गरे । तर, ०६९ को दुईपटकका यात्रामध्ये एउटाले मात्रै सरकारी मान्यता पायो । त्यस वर्ष उनी ‘बाटो बनाउँदै’ पहिले ८८४८ मिटर उचाइको चुचुरोमा पुगे । बाटो बनाइसकेर ओर्लिएपछि चौथौं क्याम्पबाट फेरि उक्लिनुपर्ने अवस्था आइपर्‍यो । ‘मेरो गेस्टहरू तलबाट चौथो क्याम्प (७९५० मिटर) सम्म आइपुगेका थिए, म आधार शिविरमा फर्किने कुरै भएन, फेरि उनीहरूलाई डोर्‍याउँदै उक्लिएँ,’ उनले सुनाए ।

उक्त आरोहणले सरकारी मान्यता नपाएकोमा उनलाई कुनै पीर छैन । ‘मेरो पेसा नै हिमाल चढ्ने हो, अझै केही वर्ष आरोहण गर्छु,’ ४ कक्षासम्मको औपचारिक शिक्षा लिएका उनले भने । कामीलाई यो पेसामा ल्याउने उनका एक्ला दाजु लाक्पारिताले पनि १७ पटक सगरमाथा आरोहण गरेर हाल चुचुरोमा उक्लिने कामलाई विश्राम दिइसकेका छन् । कामीरिताचाहिँ अझै कतिपल्ट हिमाल चढ्लान् त ? ‘२५ पटक पुगेपछि छोडिदिन्छु,’ उनले भने । त्यसपछि पनि उनी हिमाल मात्र उक्लने छैनन्, पेसाका रूपमा भने यसै क्षेत्रमा रहनेछन् ।

हिमाल आरोहण सेना र प्रहरीको जस्तै युद्धशैलीको काम भएको कामीरिताको बुझाइ छ । ‘हिमाल चढ्नु सोचेजस्तो सजिलो छैन, पहिलेभन्दा इक्युपमेन्टहरू राम्रा र हलुका आएका छन्,’ उनले भने, ‘तर हिमाल चढ्नु भनेको ज्यानको जोखिम भएको ग्राहो खेल खेल्नु हो ।’ यही भएरै होला, काठमाडौंका निजी विद्यालयहरूमा १० कक्षा अध्ययनरत छोरी पासाङ डोल्मा र १२ कक्षा पढिरहेका छोरा लाक्पा तेन्जिङलाई यो पेसामा सकभर ल्याउने मनस्थितिमा छैनन् । ‘दु:ख धेरै छ, मेरा छोराछोरीले यसमा नलागेकै राम्रो,’ उनको निष्कर्ष छ ।

कामीरिता बेला बेला विदेश घुम्न त जान्छन् तर बुढेसकाल भने नेपालमै बिताउन चाहन्छन् । अधिकांश कीर्तिमानधारीहरू अमेरिकालगायतका मुलुकमा पलायन भई उतैको नागरिकता लिएको सुनाउँदै उनले आफू भने त्यो बाटो नपछ्याउने बताए । ‘मलाई नेपालै राम्रो लाग्छ, विदेशी पासपोर्टको रहर छैन,’ उनले भने ।

२०७० को आरोहणमा पहिलो कतारी राजपरिवारका सदस्य शेख मोहम्मद बिन अब्दुल्लाह अलथानीको दल ‘अरब हुइथ अल्टिच्युट’ लाई पनि सफल आरोहण गराएका थिए उनले । त्यो अभियान सफल भएपछि मोहम्मद अल थानीले कामीरितालाई कतार र साउदी अरबको एक महिने भम्रणको निम्तो दिएका थिए । ‘एक महिनाको भिसा थियो तर १५ दिनमै नेपाल फर्के,’ उनले भने । शेखले सबै प्रायोजन गरेको यात्रा सकेपछि काठमाडौं फर्किने बेला उनलाई २ लाख ५० हजार थप पुरस्कार रकम दिइएको थियो ।

काठमाडौंमा रहेको सांग्रिला नेपाल ट्रेक र अमेरिकाको सियाटल मुख्यालय रहेको अल्पाइन एसेन्टस् इन्टरनेसनलसँग आवद्ध कामीरिता वर्षमा ६ महिना काठमाडौंमा आराम गर्छन् भने ६ महिना हिमालतिर हुन्छन् । ‘हिउँदमा तीन महिना, बर्खामा तीन महिना मेरो समय काठमाडौंमा श्रीमती लाक्पा जाङ्मुसँग पूजापाठ र स्तूप घुमेर बित्छ,’ अंग्रेजी बोल्ने र इमेल– इन्टरनेटसमेत चलाउने उनले भने ।

दुई सिजनमा गरेर वर्षमा १३ लाख हाराहारी आम्दानी गर्ने कामीरिताले हिमालमा उक्लिने/ओर्लिने काममा २७ वर्ष बिताइसकेका छन् । २० वर्षको उमेरमा यो पेसामा आएका उनले हालसम्म आफ्नै आरोहण दलका ६ जना शेर्पाले ज्यान गुमाएको देखिसकेका छन् । हरेक सिजनमा जब उनी सगरमाथा आधार शिविरबाट चुचुरोतर्फ लम्किन्छन्, त्यस बेला कुनै न कुनै खोंच वा जंघारमा हिउँले पुरिएका आरोहीको शव देख्छन् । त्यति बेला उनको मनमा पनि लाग्छ रे, ‘मेरो पनि यस्तै हालत पो हुने हो कि । अब परिवारसँग भेट होला कि नहोला !’ त्यो त उनको मनमा आएको तर्कना न हो, ‘डरको अघि जित’ भनेजस्तै उनी हिमाललाई जितिरहेका छन् ।

प्रकाशित : असार ३, २०७४ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?