नेपालीको बदलिँदो तस्बिर

दक्षिण एसियामा बंगलादेशपछि तीव्र रूपमा मानव विकास सूचक बढ्ने मुलुक हो नेपाल । तर अरू मुलुकको आयवृद्धि धेरै हुँदा नेपाल पछि परेको छ ।
विष्णु पोखरेल

तस्बिर एकनासे हुँदैनन् । क्षणभरमै बदलिन्छन्, बलदिन सक्छन् । सानोछँदा र लक्का जवान हुँदा तस्बिर एकै हुने भए, सायद हामी मेसिनले आकार निकालेका इँटा हुन्थ्यांै । चुरोट उद्योगबाट उत्पादित एकनासे खिल्ली बन्थ्यौं ।

तपार्इं हाम्रोजस्तै बदलिरहन्छ तस्बिर समाजको पनि । टोनी हेगनले सन् १९५० मा खिचेका तस्बिरमा लगौटी लगाउनेहरू छन् । तिनै गाउँमा आज लगौटी लगाउनेहरू भेटिदैनन् । समाजका तस्बिर भने सधैं क्यामेराको ‘लेन्स’ बाट मात्र कैद गरिँदैनन्, कुचीबाट क्यानभासमा मात्र उतारिँदैनन् । चित्र कोर्ने चित्रकार, विधा र विधि फरक–फरक हुन सक्छन् । तिनले फरक सिद्धान्त पछयाउन सक्छन् ।

मानव विकास, समाजको चित्र कोर्ने छुट्टै विधा हो, विचार हो । जसका आफ्नै सिद्धान्त छन्, सबल र दुर्बल पक्ष छन् । यसमाथिको बहस अनवरत छ । अनवरत बहसबीच हरेक वर्ष मानव विकासको एउटा तस्बिर सार्वजनिक हुन्छ– सूचकका माध्यमबाट । जहाँ अंकले कोर्छन्– समाजको तस्बिर । ग्राफ र चार्टहरू बन्छन्, क्यानभास ।

शीतयुक्तको समाप्तिसँगै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले हरेक वर्ष निकाल्न थालेको मानव विकास प्रतिवेदन (एचडीआर) मा कहाँनेर छ त नेपालको तस्बिर ? नेपालीको मुहार देखिने क्यानभासमा कोरिएको चित्र ? ‘अंकहरूको ‘एल्बम’ मा झन्डैझन्डै अन्त्यतिर,’ गएको साता सार्वजनिक भएको ‘एचडीआर’ हेरेपछि यस्तै भन्न कर लाग्छ । जहाँ १ सय ८८ मुलुकमध्ये नेपालको स्थान छ, १ सय ४४, अर्थात् अझै ‘एल्बम’ मा नेपालीको अनुहार चाउरी परेकै छ, कुपोषण ग्रस्त नै छ ।

गएको साढे दुई दशकभित्र चाउरी परेको नेपालीको अनुहारमा अलिअलि चमक नभरिएको होइन, सुकेनास लागेको शरीर सुगठित हुन नथालेको पनि होइन । तर, सुरुमा हामीभन्दा पछाडि हिँडिरहेका बंगालादेशीसँग तुलना गर्ने हो भने आफ्नै अनुहारको चमकमाथि व्यंग्ग महसुस हुन्छ । आफ्नै शरीरदेखि लाज लाग्न सक्छ । जसले हामीलाई निक्कै अगाडि उछिनिसकेका छन् । श्रीलंकन र माल्दिभियनले त नेटो काटिसकेका छन्, तिनलाई पछयाएर उनीहरूकै जस्तो चम्किलो अनुहार बनाउन लामै तपस्या आवश्यक पर्छ ।
भारतीय र भुटानीलाई भेट्नसमेत ठूलै कसरत गर्नुपर्ने भइसकेको छ ।
...
नेपालीसहित झन्डै १ सय ९० मुलुकका बासिन्दाको यस्तो चित्र कोर्ने चलन सुरु भएको हो सन् १९९० देखि । संयुक्त राष्ट्रसंघले औपचारिक रूपमा मानव विकासको चित्र कोर्न शीतयुद्धको समाप्तिसँगै सुरुवात गरे पनि प्राज्ञजगत्मा त्यसअघि नै यसले हलचल ल्याइसकेको थियो । पश्चिमा प्राज्ञजगत्मा घुसेर परम्परागत विकास अवधारणालाई केही पूर्वीय अर्थशास्त्रीले चुनौती दिएपछि हलचल नमच्चिने कुरै भएन । भौतिक विज्ञानदेखि सामाजिक विज्ञानसम्मका सिद्धान्तमाथि प्रभुत्व जमाउने पश्चिमी जमातको विकास अवधारणालाई चुनौती दिनेमा थिए– नोबेल पुरस्कार विजेता भारतीय अर्थशास्त्री अमत्र्य सेन र पाकिस्तानी अर्थशास्त्री महबुब–उल हक ।

लडाइँले जर्जर युरोप र संयोगले त्यसको उद्धारकर्ता बनेको अमेरिकाले दोस्रो विश्वयुद्धपछि आर्थिक विकासलाई महत्त्व दिए । एसिया र अफ्रिकाका औपनिवेशिक राज्यहरूमा स्वतन्त्रताको लहर चल्यो । यस क्षेत्रका स्वतन्त्र राज्यले पनि आर्थिक विकासलाई नै प्राथमिकतामा राखे । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) लगायतले मुलुकहरूलाई कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र कुल राष्ट्रिय उत्पादन (जीएनपी) जस्ता आँकडाका आधारमा विकसित र अविकसितको पगरी गुथाइदिए ।

जीडीपी र जीएनपीजस्ता आँकडालाई आधार मानेर मुलुकहरूलाई वर्गीकरण गर्नेहरूले त्यसको वितरणलाई बेवास्ता गरे । उच्च जीडीपी भएको मुलुकमा केही व्यक्ति मात्र धनी र धेरैचाहिँ गरिबसमेत हुन सक्छन् भन्ने हेक्का राखेनन् । उनीहरूका त्यही कमजोरीलाई टिपेर सन् १९७० ताका समानता र समता (इक्वालिटी एन्ड इक्युटी) को बहस चल्न थाल्यो । ‘आभारभूत आवश्यकताको अवधारणा’ लगायतका विचारहरू त्यसैको प्रतिफल थिए । जसले विश्व बैंकजस्ता संस्थालाई केही हदसम्म गरिब र स्रोतमा कमजोरहरूको जीवनस्तर सुधारमा लाग्न बाध्य पार्‍यो ।

मुलुकको आम्दानी हेरेर त्यसैलाई विकास मान्ने परम्परागत धारणाको सबैभन्दा ठूलो टकराव सुरु भयो सन् १९८० ताका । परम्परावादीका लागि दाँतको ढुंगाजस्तै बन्यो– सेनको सामथ्र्यसम्बन्धी अवधारणा (क्यापाबिलिटी एप्रोच) । जसले मौद्रिक (मनिटरी) मात्र नभई गैरमौद्रिक (नन–मनिटरी) कुरालाई समेत हेरेर मात्र कुनै पनि समाजको यथार्थ विकास आँकलन गर्न सकिने तर्क गर्छ । गरिब, अति विपन्न, पछि पारिएका र स्रोतमाथि पहुँच नहुनेको सामथ्र्य सुधार नगरी मानव विकास सम्भव देख्दैन ।

सेनकै जस्तो अवधारणमा मिसिँदै हक र पश्चिमा अर्थशास्त्री पउल स्ट्रिटेन लगायतले पनि परम्परागत विकास मान्यतालाई अस्वीकार गरे । ‘आय वृद्धि मानवको सुख बढाउने साधन हो, यो नै अन्त्य भने होइन’ तिनीहरूले भन्न थाले, ‘आयले मान्छेका चाहना र छनोट बढाउन सहयोग गर्छ, सबै सामथ्र्य भने बढाउँदैन ।’ विकासलाई मुलुकभन्दा पनि त्यहाँका व्यक्तिसँग जोडेर हेर्ने यही सिद्धान्त चिनिन थाल्यो–मानव विकास अवधारणाका रूपमा ।

प्राज्ञजगत् र विकास बहसमा चर्चा बटुलेको नयाँ अवधारणाले संयुक्त राष्ट्रसंघमा प्रवेश पायो– हक यूएनडीपीको विशेष सल्लाहकार भएपछि । सन् १९८९ मा युएनडीपीको सल्लाहकार भएका हकले आफ्नै नेतृत्वमा एक वर्षपछि मानव विकास सूचकांक (एचडीआई) मा आधारित ‘एचडीआर’ निकाल्न भूमिका खेले । आम्दानीको साथमा शिक्षा र स्वास्थ्यका सूचकहरूलाई संकलन र विश्लेषण गरी १ सय ९० मुलुकका समाजको चित्र कोर्न त्यसैबेलादेखि सुरु गरिएको हो, जुन हरेक वर्ष अनवरत रूपमा कोरिँदै आएको छ ।
...
मानव विकासको साढे दुई दशक लामो यात्रामा नेपाली समाजको चित्र पनि हरेक वर्ष कोरिँदै आएको छ । शिक्षा, स्वास्थ्य र आम्दानीको कसीमा नेपालीको विकासको गति सार्वजनिक हुने गरेको छ । अघिल्लो साता स्विडेनको राजधानीबाट सार्वजनिक पछिल्लो ‘एचडीआर’ अनुसार नेपाल निम्न मानव विकासको सूचीबाट मध्यम मानव विकासको सूचीमा चढेको छ । ‘एचडीआर’ जारी हुने अघिल्लो दिन निस्किएको ‘विश्व खुसी प्रतिवेदन–२०१७’ मा दक्षिण एसियाकै तेस्रो खुसी मुलुकमा परेको नेपाल मानव विकासमा भने दक्षिण एसियामा अन्तिमतिरबाट तेस्रोमा परेको छ ।

आफैंसँग तुलना गर्दा गएका २५ वर्षभित्र नेपालले मानव विकासमा मारेको फड्को सकारात्मक भए पनि सन्तोषजनका छैन । त्यसको मुख्य कारणको रूपमा देखिएको छ– मानव विकास अवधारणाका आविष्कारकहरूले विरोध गरेको त्यही आम्दानीले । नेपालले स्वास्थ्य र शिक्षामा यसबीच जत्ति प्रगति गरेको छ– आम्दानीमा गर्न सकेको छैन । ‘एचडीआर’ लाई नै आधार मान्दा, आम्दानीलाई हटाएर अन्य सूचकको मात्र विश्लेषण गर्ने हो भने नेपालको मावन विकास सूचक अहिलेको भन्दा १९ स्थान माथि चढ्नेछ, अर्थात् नेपाल १ सय ४४ बाट १ सय २५ स्थानमा आउनेछ ।

यूएनडीपीले अपनाएको सूत्रअनुसार क्रयशक्ति समता (पर्चेजिङ पावर प्यारिटी) का आधारमा प्रतिव्यक्ति कुल राष्ट्रिय आम्दानी (जीएनआई) लाई आय मानिन्छ । सन् २०११ को डलर मूल्यलाई आधार मानी प्रतिव्यक्ति जीएनआई निकालिन्छ । स्वास्थ्यको सूचकका रूपमा व्यक्तिको औसत आयुलाई मानिएको छ । २५ वर्षभन्दा माथिको जनसंख्याले कति वर्ष शिक्षालयमा बिताए र विद्यालय उमेरका बालबालिकाले कति वर्ष विद्यालयमा बिताउँछन् भन्ने मापनलाई शिक्षाको आधार बनाइएको छ ।

साढे दुई दशकमा नेपालको मानव विकास सूचक ४७ दशमलव ७ प्रतिशतले बढेको छ । औसत आयु १५ दशमलव ७ वर्ष, २५ वर्षमाथिका जनसंख्याले शिक्षालयमा बिताउने समय २ दशमलव १ वर्ष र विद्यालय उमेरका बालबालिकाले विद्यालयमा बिताउने समय ४ दशमलव ७ प्रतिशतले बढेको छ । दक्षिण एसियामा बंगलादेशपछि तीव्र रूपमा मानव विकास सूचक बढ्ने मुलुक नेपाल भए पनि अरू मुलुकको आयवृद्धि धेरै हुँदा नेपाल पछि परेको छ । गएको २५ वर्षमा नेपालीको आय शतप्रतिशत बढ्दा अरू मुलुकको भने साढे २ सय प्रतिशतसम्म पनि बढिसकेको छ ।

नेपाल मध्यम मानव विकास भएको मुलुकमा उक्लँदै गर्दा असमानताको खाडल भने घटिरहेको छैन । ‘एचडीआर’ कै आधारमा नेपालको असमानतालाई समान बनाउने हो भने अहिलेको मानव विकास सूचकमा २७ प्रतिशत कमी आउनेछ अर्थात् अहिले नेपालले मानव विकासका लागि पाएको अंकमा २७ प्रतिशत कम मात्र पाउनेछ । जब कि दक्षिण एसियाकै श्रीलंकामा भने असमानतालाई समान गर्दासमेत जम्मा ११ प्रतिशत मात्र अंक कटौती हुने देखिन्छ ।

मानव विकास प्रतिवेदनले देखाउने अर्को तस्बिर हो– बहुआयामिक गरिबीको । यसपालिको प्रतिवेदनअनुसार अहिले पनि ९ दशमलव ३ प्रतिशत नेपाली गम्भीर खालका गरिबीको सिकार छन्, १५ प्रतिशत आयका आधारमा गरिबीको रेखामुनि छन् र १४ दशमलव ४ प्रतिशत गरिबीको नजिक छन् । ‘एचडीआर’ अन्तर्गत सन् २०१० देखि सार्वजनिक हुँदै आएको बहुआयामिक गरिबी सूचकांकले गरिबीको अवस्था झल्काउँदै आएको छ । नेपालले सन्तोषको सास फेर्न सक्ने स्थान भने लैंगिक मानव विकासको गतिमा छ । स्वास्थ्य, शिक्षा, राजनीतिक प्रतिनिधत्व र श्रम सहभागितामा महिलाको हिस्सालाई विश्लेषण गरी निकालिने सूचकहरूमा भने नेपालको उपस्थिति दक्षिण एसियामा अब्बल नै देखिएको छ ।
...
जसरी असीको दशकमा परम्परागत विकास अवधारणामाथि आलोचना भयो, त्यसैगरी मानव विकासको अवधारणा पनि आलोचनामुक्त छैन । हरेक वर्ष यूएनडीपीले कोर्ने १ सय ९० मुलुकका जनताको चित्र यथार्थमा सही नभएको मान्नेहरू धेरै छन् । त्यसलाई यूएनडीपी आफंैले पनि स्वीकार गरेको छ । आफ्नो प्रतिवेदनमा सीमितताहरू भएको र कतिपय सूत्रहरू परिवर्तन गर्दै लगिएको प्रतिवेदनमै उसले उल्लेख गर्ने गरेको छ ।

‘मानव विकास सूचक राजनीतिक प्रतिवेदन हो । यसले समाजका हरेक पक्षलाई न्याय गर्न सक्दैन, न त समाजको समग्र तस्बिर नै कोर्न सक्छ, बेलायतस्थित युनिभर्सिटी अफ अक्सफोर्ड गरिबी तथा मानव विकास विभागअन्तर्गत ‘मल्टी डाइमेन्सन पिइर पोभर्टी नेटवर्क’ का सल्लाहकार विजन पन्त भन्छन्, ‘ यो संयुक्त राष्ट्रसंघीय संरचनाअनुसार उसैको आवश्यकतालाई हेरेर तयार पारिएको आधारपत्र भएकाले समाजका सबै पक्षलाई समेट्न सकेको छैन । हरेक मुलुकको आफ्नै विशेषता हुँदाहुँदै सबैलाई एउटै कोटिमा राखेर विश्लेषण गर्दा त्यसले सबैको सही तस्बिर दिँदैन ।’

पन्तले जस्तै धेरैले ‘एचडीआर’ माथि प्रश्न उठाउँदै आएका छन् । यूएनडीपीले भने उनीहरूका शंकाहरूलाई नयाँ सूत्र बनाएर सम्बोधन गर्दै गएको उल्लेख गर्ने गरेको छ । उसले प्रतिवेदनमा स्पष्ट रूपमा सन् १९९० देखि हालसम्म धेरै परिवर्तन गरिएकाले कतिपय कुराहरू सिधैं तुलना गर्नसमेत नमिल्ने प्रतिवेदनमा उल्लेख गरेको छ । प्रतिवेदनलाई आलोचनात्मक रूपमा हेर्ने पन्त, सूचकहरू निकाल्नका लागि प्रयोग गरिएका तथ्यांकहरूलाई केलाएर विश्लेषण गर्नुपर्ने बताउँछन् ।

संयुक्त राष्ट्रसंघीय संरचनाले नै बजारमा बिक्ने खालका प्रतिवेदनहरू तयार पार्ने भएकाले त्यस्तालाई ‘फास्ट फुड’ प्रतिवेदनको संज्ञा दिँदै पन्त भन्छन्, ‘तिनले राष्ट्रिय अन्तर्राष्ट्रिय चर्चा धेरै पाउँछन्, किनकि बिकाउ छन् । हामीले हेर्नुपर्ने भनेको प्रतिवेदनले साँच्चै मानव जीवनमा फरक पारेका छन् कि छैनन् भन्ने हो ।’ उनी बहुआयामिक गरिबी (मल्टी डाइमेन्सनल पोभर्टी) लाई आयका आधारमा निकालिएको गरिबीले नमेट्ने भएकाले अन्य पक्षहरूलाई केलाउनु जरुरी देख्छन् ।

हाम्रा लागि अढाई दशक लामो सयमजस्तो लागे पनि विचार, सिद्धान्त र अवधारणाहरू विकासका लागि खासै लामो समय होइन । परम्परागत विकासको अवधारणालाई चुनौती दिन आएको मानव विकासले समाजको समग्र तस्बिर कोर्न नसके पनि त्यसतर्फका केही पाइलाहरू पहिचान भने गर्ने गरेको छ । यसले सीमितै मात्रामा सही, सूचकको ‘लेन्स’ बाट बदलिँदो नेपालको फरक तस्बिर देखाउने कोसिस भने गरेकै छ ।

प्रकाशित : चैत्र २३, २०७३ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्

हजुरआमाहरुको पढाइ मोह

अमृता अनमोल

बुटवल — ६३ वर्षे गनीसरा बिक कक्षा एकमा पढ्छिन् । बुटवलको साधना महिला विद्यालयकी यी विद्यार्थी अहिले वार्षिक परीक्षा दिँदै छिन् । छोराछोरी र नातिनातिनासहित १० जनाकी अभिभावक घरमै पनि निकै मेहनत गरेर पढ्छिन् । आवाज निकालेर अंक र दुना कष्ठस्थ गर्छिन् । यसो गर्दा छिमेकीले जिस्क्याउँछन् । आसपासका बालबालिकाले गिज्याउँछन् ।

आफन्तले अफ्ठेरो मान्छन् । गनीसरा भने यसलाई सामान्य रुपमा रुपमा लिन्छिन् । ‘उनीहरुलाई जे मन लाग्छ त्यो गर्छन् । मैले पढ्न छोड्दिन ।’ गनीसराका अनुभवमा आँखा भए पनि पढाई नभएपछि संसारै अँध्यारो हुँदोरैछ । त्यसैले जसले जे भने पनि पढाइ नछोड्ने उनले बताइन् । उनको एउटै लक्ष्य लेखपढ गर्न सक्ने हुने छ । यो पूरा गर्ने कसरतमा छिन् ।

गनीसरा सानी छँदा पढ्न पाइनन् । उतिबेला छोरीलाई पढ्नु साटो घाँस, दाउरा गर्न लगाइयो ।

गाईबाख्रा चराउनु पर्‍यो । भान्सा सम्हाल्न भन्दै सानैदेखि पकाउन सिकाइयो । किशोरी उमेरमा प्रवेश नगर्दै विहे भयो । अक्षर नचिन्दा उनले जीवनमा धेरै पटक हण्डर र ठक्कर खाइन् । रुपैयाँ नचिन्दा घर व्यवहार गर्दा र बजार जाँदा धेरै पटक ठगिइन् । ठगिएको सुनाउँदा आफन्तबाट अपमानित पनि भइन् । तैपनि चुपचाप सहेकी गनीसरालाई पढेर टाठा भएका नातिनातिनाहरुले मोबाइल र फेसबुक चलाउँदा र देश विदेशका अनौठा कुरा देखाउँदा अक्षर सिक्न रहर लाग्यो । आफ्नो रहर घरपरिवारलाई सुनाइन् । यसपछि बुढेसकालमा कक्षा एकमा भर्ना भइन् । ‘उतिबेला उमेर थियो । समयले साथ दिएन । अहिले उमेरले साथ नदिए पनि समयले साथ दियो । पढ्न थालेँ’ गनीसराले सुनाइन् । एसएलसीसम्म पढ्ने उनको धोको छ ।

४५ वर्षीया कमला कनौजे पनि कक्षा एकमै पढ्छिन् । अहिले परीक्षाको तयारीमा जुटेकी छिन् । वैशाखदेखि पढ्न थालेकी उनी नियमित विद्यालय जान्छिन् । कक्षाकार्य र गृहकार्य पनि नियमित गर्छिन् । नपढेर जीवनमा धेरै धोका खाएकाले मन लगाएर पढेको बताइन् । बुटवल मिलनचौककी कमलाका छोराछोरी पढेर जागिरे भएका छन् । नातिनातिना पनि हुर्किसके । उनीहरु निजी स्कुलमा पढ्दै छन् । यसपछि मात्रै उनलाई स्कुल जाने मौका मिल्यो । सानी छँदा पढ्न पाइएन । त्यसपछि छोराछोरी जन्माउने हुर्काउँदैमा दिन गयो ।’ कमलाले सुनाइन् ‘नातिनातिना पनि हुर्काइसकेपछि अलिकति कामको बोझ घट्यो । त्यसपछि पढ्न आए ।’ उमेर घर्केपछि भए पनि पढ्न पाएर हौसिएकी कमलाको बीएसम्म पढ्ने धोको छ । ‘पाए भने पढेअनुसारको जागिर पनि खाएर देखाउने छु’ उनले मनको कुरा खोलिन् ।

कमला र गनीसरा जस्तै साधना महिला विद्यालयको कक्षा एकमा २९ जना विद्यार्थी छन् । उनीहरु धेरैजसो हजुरआमा बनेका छन् । केही आमा छन् । त्यसमध्येकी हुन् ५७ वर्षे कौशिला थापा मगर । ३ नातिनातिनालाई हुर्काएर मात्रै उनी पढ्न आउन पाएकी हुन् । उमेर बूढो भए पनि मन बूढो नभएकाले पढ्नलाई समस्या नभएको उनले सुनाइन् । ‘महिला शिक्षित नहुँदा जति काम गरे पनि सक्षम नभइँदो रै'छ’ कौशिलाले भनिन् ‘त्यसैले बुढेसकालमा भए पनि पढ्न आए ।’

हजुआमा र आमा भएकाले घरपरिवार र छिमेकमा हुने धार्मिक र सांस्कृतिक क्रियाकलापमा भाग लिनै पर्छ । यसैले बेलाबेलामा अनुपस्थित हुनुपर्ने उनीहरुको बाध्यता छ । यस्तो बाध्यताले छुटेको पढाइलाई उनीहरु अतिरिक्त कक्षा लिएर पूरा गर्छन् । कक्षामा पनि निकै मेहनत गरेर पढ्छन् । उपलब्धि हासिल गर्न अंक र अक्षर सिक्न निकै ध्यान दिएका छन् । सानो उमेरमा भन्दा पाको उमेरमा सिक्न कठिन हुँदोरहेछ । निमित्त प्रधानध्यापक तेजकुमारी लुइँटेल भन्छिन् ‘तैपनि आमाहरुले मेहनत गर्नुभएको छ । उपलब्धि राम्रो छ ।’

सानो उमेरमा अक्षर चिन्नै नपाएका, विहेबारी लगायतका कारण पढाइ बीचमै छोडेका बुटवल र आसपासका आमाहरुका लागि साधना महिला विद्यालय अहिले वरदान नै बनेको छ । घर नजिकै महिला विद्यालयखुलेपछि आमा मात्रै होइन हजुरआमा बनेका निरक्षर पनि पढ्न गएका छन् । बीचमै पढाइ छोडेका किशोरीले पुन: पढ्न थालेका छन् । कालो अक्षर भैंसी बराबर भएकाहरु अक्षर चिन्न र हरहिसाब गर्न जानेपछि आफ्नो घरव्यवहार सजिलोसँग चलाएका छन् । केहीले जागिर खान र व्यवसाय समेत गर्न थालेका छन् । त्यसमध्येकी हुन् सीता हमाल । छोराछोरी हुर्काएर पढ्न आएकी उनले एसएलसीपछि अहिले विटिआइमार्फत टेक्नीकल इस्टिच्युटमा जागिर गर्छिन् ।

निरक्षरता र अधुरो शिक्षाले महिला विभेद भएको देखेपछि शिक्षाबाट महिला सशक्तिकरण गर्न १० वर्षअघि साधना महिला विद्यालय स्थापना भएको हो । ५० जना महिलाले सार्वजनिक गुठीद्वारा सञ्चालन गरेको विद्यालय अहिले सामुदायिक बनेको छ । कक्षा १० सम्म पढाइ हुन्छ । अहिलेसम्म १ हजार ३ सय पढ्ने अवसर पाएको विद्यालयमा हाल १ सय ३५ महिला अध्ययनरत छन् । ५ वर्षअघिदेखि एसएलसी परीक्षामा सहभागी विद्यालयबाट अहिलेसम्म २९ जना आमाहरुले एसएलसी उत्तीर्ण गरेका छन् । त्यसमध्ये २४ जनाले उच्च शिक्षा पढ्न थालेका छन् । चारजनाले जागिरसमेत पाएका छन् । महिलाहरुले सार्वजनिक गुठीद्वारा सञ्चालन गरेको विद्यालयलाई सामुदायिक बनाउन सरकारले अहिले पूर्व प्रावि तह अर्थात् कक्षा ४ सम्मको स्वीकृति दिएको छ । यसबापत एकजना शिक्षक उपलब्ध गराएको छ । अन्य १० जना शिक्षक र एकजना कार्यालय सहायकलाई सहमतिमा विद्यार्थीबाट केही शुल्क लिने र पारिश्रमिक दिने गरेको छ ।

विद्यालयमा दुईथरी विद्यार्थी छन् । त्यसमध्ये एकथरी कालो क समेत नजान्ने आमाहरु छन् । उनीहरु घरमा छोराछोरी विद्यालय वा कलेज र श्रीमान्‌लाई कार्यालय पठाएर फुर्सदमा विद्यालय आउने गरेका छन् । यस्ता आमाहरु सानो कक्षामा छन् । अर्कोथरी विपन्नताका कारण पढाइ बीचमै छोडेका वा घरेलु श्रमिकका रुपमा काम गर्न बाध्य किशोरीहरु छन् । उनीहरु घरमालिकलाई दिउँसो केहीबेर फुर्सद दिन आग्रह गरेर विद्यालय आएका हुन् । घरेलु मजदुर किशोरीहरु निमावि र मावि तहमा बढी छन् । दुवैथरी विद्यार्थीको फुर्सदलाई लक्षित गरी बिहान ११ देखि ३ बजेसम्म विद्यालय सञ्चालन गरिएको छ । गृहिणी महिला वा घरेलु मजदुर किशोरीहरु बिहान घरमालिक वा उनका छोराछोरीलाई अफिस वा विद्यालय पठाएर र साँझ उनीहरु घर नफर्कंदै पुगुन् भनेर यसो गरेको शिक्षक विष्णु केसीले बताइन्।

विद्यालयकी अध्यक्ष सावित्रा अर्याल शिक्षा नहुँदा आत्मनिर्भरता रोजगारी र अवसरका धेरै बाटो बन्द भएको देखेपछि महिला विद्यालय खोल्न प्रेरणा जागेको बताउँछिन् । यसपछि महिलाले मात्रै पढ्ने विद्यालय खोल्ने र पढ्न नपाएका र पढाइ पूरा गर्न नपाएका महिलालाई पढ्ने अवसर जुटाइदिने सोचले समूह बनाएर काम थालेको उनले सुनाइन् । सुरुमा महिलाहरुले विद्यालय खोल्ने योजना सुनाउँदा मागी खाने भाँडो बनाउन लागे भन्दै धेरैले गिज्याएका थिए । विद्यालय सञ्चालनको स्वीकृति जुटाउन शिक्षा विभाग र मन्त्रालयमा समेत निकै मेहनत गर्नुपरेको थियो । ‘जसले जे भने पनि हामी अडिग थियौं ।’ विद्यालय खोल्दा खेरीको अनुभव सुनाउँदै अध्यक्ष अर्यालले सुनाइन् ‘अधुरो शिक्षा पूरा गरौं पढ्नलाई उमेरले छेक्दैन भन्ने नारा बोकेर विद्यालय खोलेका हौं । यसलाई धेरै महिलाहरुले प्रमाणित गरिदिएका छन् ।’ औंठा छाप लगाउन विवश महिला सभासदहरुदेखि रुपैयाँ नचिनेर ठगिएका धेरै महिलाहरु भएका बेला बुढेसकालमा यहाँ पढेका धेरैले नयाँ जीवन पाएका छन् । विद्यालयमा महिलाहरुको आकर्षण बढेपछि विद्यालयले २ तले नयाँ भवन बनाएको छ । बुटवल उपमहानगरपालिकाले उपलब्ध गराएको जग्गामा भवन बनाउन स्थानीय निकाय, संसद विकास कोष लगायतले सहयोग गरेका छन् ।

साधना महिला विद्यालय जस्तै अधुरो शिक्षा पूरा गर्न पाका महिलाका लागि खोलिएका महिला विद्यालय नेपालमा ६ वटा छन् । काठमाडौं बाहिर भने एउटा मात्र बुटवलमा छ । यस्ता विद्यालयहरुमा आमा उमेर समूह झण्डै तीन हजार र हजुरआमा समूहका झण्डै तीन सय विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । अघिल्लो वर्ष काठमाडौंबाट माओवादी नेता मोहन वैद्यकी पत्नी सुष्मा वैद्य एसएलसी उत्तीर्ण गरिन् । एमाले पूर्वसभासद शान्ता चौधरीले कक्षा ८ उत्तीर्ण गरेबाट पनि अनपढ हजुरआमा र आमाहरुले धेरै प्रेरणा लिएका छन् ।

प्रकाशित : चैत्र २३, २०७३ १३:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्