केबलकार निर्माण अन्योलमा

राजेन्द्र मानन्धर

दोलखा — कालिञ्चोकमा जमिनको स्वामित्व विवादले केबलकार निर्माण योजना अन्योलमा परेको छ । वन कार्यालय र गुठी संस्थानले आआफ्नो स्वामित्वको दाबी गर्न थालेपछि समस्या जटिल बन्दै गएको हो ।

उक्त क्षेत्रमा केबलकार निर्माणका लागि संस्थानले अनुमति दिएकामा बिहीबार कुरीको स्टेसनमा निर्माण हुन लागेका संरचना सामुदायिक वनका उपभोक्ताले तोडफोड गरेपछि विवाद चुलिएको छ । निर्माणको चरणमा रहेको केबलकार योजना स्वामित्वका कारणले अनिश्चित बनेको छ । सामुदायिक वन उपभोक्तालाई हस्तान्तरण गरिएको क्षेत्रमा केबलकारका संरचना बन्न लागेको भन्दै वन कार्यालयकै सहयोगमा तोडफोड भएको हो । ‘समूहको नाममा हस्तान्तरित उक्त क्षेत्रलाई गुठी संस्थानले जमिन भाडामा लगाएर केबलकार सञ्चालन अनुमति दिएपछि समूहले संरचना भत्काएको हो,’ जिल्ला वन अधिकृत विष्णुप्रसाद भण्डारीले भने, ‘विवाद बढेपछि संरचना निर्माण रोकिएको छ ।’

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन हुन लागेको केबलकार बनाउन गुठीले स्वीकृति दिएको हुँदा लगानीको जवाफदेही गुठी नै हुनुपर्ने प्रवद्र्धकहरूको दाबी छ । ‘जग्गा विवादसँग कम्पनीलाई कुनै सरोकार छैन,’ केबलकार प्रवद्र्धक बालकृष्ण शिवाकोटीले भने, ‘लगानी जोगाउने काम अब गुठीको हो ।’

केबलकार निर्माणकर्ताहरूले वातावरण प्रभाव मूल्यांकन अनुमति वन मन्त्रालयसँग लिएको देखिन्छ । उक्त क्षेत्र गुठीको नभई वनकै भएकाले अवैध प्रक्रियाबाट सञ्चालनमा ल्याउन लागिएको केबलकारको निर्माण रोक्न उपभोक्ताले दबाब दिएको बताउँछन् । दोलखास्थित सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष कमला बस्नेतले गैरकानुनी ढंगले सामुदायिक वन अतिक्रमण भएको थलोलाई उपभोक्ताले खाली गराउन खोजेको बताइन् ।

प्रकाशित : मंसिर २९, २०७३ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?