राजनीति र पत्रकारिता छाडेर बाख्रा स्याहार्दै

'पढेकाले कृषि कर्म गरे मात्रै कृषिमा क्रान्ति गर्न सकिन्छ'
अमृता अनमोल

बुटवल — पढाइ पूरा गरेपछि त्यसअनुसारको जागिर वा व्यवसाय थाल्ने चाहना धेरैको हुन्छ । रूपन्देहीमा राजनीति र पत्रकारितामा जमेको एक जोडी त्यस्ता चाहना त्यागेर व्यावसायिक कृषिमा रमाएका छन् । उनीहरूले उच्च शिक्षा हासिल गरेका छन् । अखिल छैटौंका केन्द्रीय महासचिव बनिसकेका प्रेमसागर पौडेलको जोडी आफ्नै लगानीमा १८ घण्टासम्म काममा घोटिने, घाँस काट्ने र बाख्रा स्याहार्ने गर्छन् ।

राजनीति र पत्रकारिता छाडेर बाख्रा स्याहार्दै

‘राजनीति, लेखन र पत्रकारिता पेसाभन्दा कृषिमा घाँस काट्न र बाख्रा स्याहार्नमा आनन्द मिलेको छ,’ पौडेलले सुनाए । बागलुङको कैयौंका पौडेल र पत्नी ज्ञानकुमारी पुनले जिल्लाको सैनामैना नगरपालिका ४ मा जग्गा भाडामा लिएर बाख्रापालन र घाँस खेती गरेका हुन् । पौडेलले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्य र शिक्षा शास्त्रमा स्नातकोत्तर र एमफिल गरिसकेका छन् । साहित्य र दर्शनका बारेमा लेखिएका आफ्नै १६ वटा किताब प्रकाशन गरेका र कैयौं पुस्तक अनुवाद गरेका छन् । पुनले बेलायतको लन्डन युनिभर्सिटीबाट बिजनेस म्यानेजमेन्ट अध्ययन गरेकी छन् । 

राजनीति र लेखन दुवैमा उनको दख्खल छ । ‘पढेकाले कृषि कर्म गरे मात्रै कृषिमा क्रान्ति गर्न सकिन्छ । आर्थिक परिवर्तन हुन्छ,’ ४३ वर्षे प्रेमले भने, ‘त्यसैले व्यावसायिक कृषिमा लागेका हौं ।’ चार वर्षयता व्यावसायिक कृषिमा रमाएको जोडीले सैनामैना कृषि उद्योग र सैनामैना सामुदायिक बाख्रापालन तथा नश्ल सुधार केन्द्र पनि सञ्चालन गरेका छन् । फार्ममा करिब ४ सय बाख्रा छन् । बाख्रालाई घाँस खुवाउन स्थानीय पर्रोहा उमाविको ४ हेक्टर र अन्य किसानको गरी करिब १० हेक्टरमा घाँस खेती गरेका छन् । ‘बाख्रा फार्म र घाँसमा गरी अहिलेसम्म डेढ करोड लगानी भइसकेको छ,’ उनले भने, ‘अझै बढाउने सोचमा छौं ।’ 

फार्ममा २७ जातका बहुवर्षे घाँसको खेती गरेका छन् । बिरुवा पनि उत्पादन गर्छन् । उनले हुर्काएका बिरुवा अहिलेसम्म ५३ जिल्लामा पुर्‍याइएको छ । स्थानीयबाहेक उन्नतमा अफ्रिकी, अस्ट्रेलियन लगायतका १३ प्रजातिका बाख्रा रहेको पुनले बताइन् ।

उनका अनुसार बाख्रा फार्ममा उन्नत जातका बोका लगाएर त्यसबाट जन्मिएका पाठापाठी बिक्री–वितरण हुन्छन् । माग आउँदा कहिलेकाहीं माउ बाख्राको पनि बिक्री गरेका छन् । वार्षिक करिब चार सय पाठापाठी बिक्री हुने गरेको फार्मबाट यो वर्ष पाँच सयभन्दा बढी बिक्री गर्ने लक्ष्य छ । घाँस र बाख्राबाट गरी यो वर्ष २५ लाख रुपैयाँ आम्दानी गर्ने उनीहरूको लक्ष्य छ । फार्ममा ७ नियमित कामदार छन् । ५ देखि ७ जनाले सहायकका रूपमा सघाएका छन् । नियमित कामदारले मासिक १० देखि २५ हजार रुपैयाँसम्म तलब पाउँछन् ।
 
‘आफैंले नगरी केही हुन्न । सक्ने र भ्याउने कामजति आफैंले गर्छौं’ ज्ञानकुमारीले भनिन्, ‘नभ्याउने कामका लागि मात्रै कामदार राखेका हौं ।’ जिल्ला पशु सेवा कार्यालयले उनीहरूको फार्मलाई नमुना घोषणा गरेको छ । कृषि कार्यालयले नमुना किसानका रूपमा छनोट गरेको छ । गतवर्ष युवा स्वरोजगार कार्यक्रम अन्तर्गत अनुदान पाउनेमा छनोट भएका थिए । युवा स्वरोजगारमा छनोट भएको खबर पाए पनि अहिलेसम्म कुनै सरकारी पैसा हात नलागेको उनले बताइन् । ‘देश साँच्चै परिवर्तन गर्ने हो भने कृषि क्रान्तिको खाँचो छ’ पौडेल भन्छन्, ‘हाम्रो शिक्षा र सीप अब कृषि क्रान्ति गर्न मात्रै लगाउने छौं ।’

 

प्रकाशित : मंसिर २३, २०७३ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?