कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

टाढा छैन जुम्ला

एलपी देवकोटा

जुम्ला — भनिन्छ, २००७ सालमा प्रजातन्त्र स्थापना भएको खबर जुम्ला पुग्न एक वर्ष लागेको थियो । तर, अहिले पत्याइनसक्नुको सञ्चारको पहुँच पुगेको छ ।

टाढा छैन जुम्ला

सिंजा लुडुका नर्वजंग हमाल काठमाडौंमा अध्ययन गर्न गएका छोरासँग एक कल फोन गर्न दुई दिनको पैदल यात्रा गरेर खलंगा आउने गर्थे । उनीजस्तै, डिल्लीचौरका हर्क बोहरालाई पनि पीसीओ धाउनुको हैरानी थियो । फोन गरेर सञ्चो बिसञ्चो सोध्थे । हवाईजहाजबाट पैसा पठाउँथे । खलंगा बास बसेर घर फर्किन्थे । तर अहिले जुम्लीका त्यस्ता दिन गए । ‘गाउँका घरबारीबाटै देश विदेशका आफन्तसँग कुरा हुन्छ,’ हमालले भने, ‘ती दु:खका दिन त गइगए ।’
२०५८ सालमा जुम्लामा पहिलोपटक स्याटेलाइट फोन भिसेड जडान गरिएको थियो । जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालयमा मात्रै फोन सेवा थियो । जिल्ला विकास समितिले पीसीओ सेवा सञ्चालनमा ल्याएको थियो । स्थानीय व्यापारी र अरू अत्यावश्यक पर्नेले मात्र त्यो सेवा लिन्थे ।
फोन गर्नेको लामै लाइन लाग्थ्यो । एक कल फोन गर्न दिनभर लाइनमा बस्नुपर्ने बाध्यता बेहोरिएको स्थानीय व्यापारी हिम्मत केसीले बताए ।
‘दिनभर लाइनमा बसिन्थ्यो । फोन नउठेपछि फोन नै नगरी घर फर्किनुपर्ने बाध्यता थियो,’ उनले भने । २०६२ सालदेखि जुम्लामा ल्यान्डलाइन फोन सञ्चालनमा आयो । ल्यान्डलाइन फोन सञ्चालनमा आएपछि खलंगा बजारबाट सहजै फोन गर्न सकिन्थ्यो । तर, ०६४ सालमा मोबाइल भित्रिएपछि ल्यान्डलाइन फोनको पनि जमाना सकिएको छ ।
फोन सञ्चालनमा आइसकेपछि स्थानीय बजार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोडिएको उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष गोविन्द आचार्यले बताए । उनले भने, ‘अहिले त जडिबुटीको मूल्य कति छ भनेर लेकमा सोधेर बजार भाउ तोक्न सकिने भइएको छ ।’
सदरमुकाम खलंगामा ६ सय ३३ वटा ल्यान्डलाइन फोन विस्तार गरिएको छ । नेपाल टेलिकमले मोबाइलमा वार्षिक ४ हजारभन्दा बढी सिम वितरण भइरहेको जनाएको छ । त्यस्तै, करिब ३ हजार स्काई फोन प्रयोगकर्ता छन् । टेलिकमका शाखा प्रमुख केश गिरीका अनुसार जुम्लामा बर्सेनि ७ हजारभन्दा वढी सिमकार्डको माग हुने गरेको छ ।
युवादेखि बृद्धसम्म सबै उमेर समूहका ले मोबाईल बोक्ने गरेका छन् । २०६८ असार १९ गतेदेखि एडिएसएल इन्टरनेट सेवा पनि संचालनमा छ । ल्याण्डलाइन सुविधा भएका अधिकाशंले सरकारी कार्यालय तथा अन्य व्यक्तिगत रुपमा समेत इन्टनेट संचालन भईरहेको छ । नेपाल टेलिकमको थ्रिजि नेट सेवा गाउँ–गाउँसम्म चलेको छ । एक कल फोन गर्नका लागि हप्तादिन सदरमुकाम धाउने छुमचौरका धनसिंह ऐडि अहिले आफ्नै घरबाट थ्रिजि मार्फत मलेसियामा रहेका आफ्ना छोरासंग भिडियो कल गर्छन । उनी भन्छन्–‘परदेशीको पहिले आवाज सुन्नै मुस्किल हुन्थ्यो । अहिले दिनदिनै गफ हुन्छ । घरमा के पाक्यो के खाईयो सबै थाह हुन्छ ।’
पछिल्लो समय साइवरमा इन्टरनेट चलाउनेको भिड पनि बढ्न थालेको छ । कम्प्यूटर सिकेका पनि इन्टरनेट, भाइवर र स्काइपबाट आफ्ना आफन्तहरूलाई कुरा गर्न साइवरमा आउने गरेको साइवर संचालक इश्वरीप्रसाद देवकोटा वताउ‘छन् । ‘धेरैले आफ्नो मोवाइल ल्याएर भाइवर, स्काइप, फेसबुक एप्लीकेशन डाउन लोड गरिदिनु पऱ्यो भन्छन् । गाउ‘गाउ‘सम्म फेसबुक पुगेको छ’ उनले भने ।

प्रकाशित : आश्विन २, २०७२ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?