काठमाडौँ — तिहारलाई लक्षित गरी कात्तिक १५ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्णबहादुरको सारंगी’ को आइतबार टिजर सार्वजनिक गरिएको छ ।बाबुछोराको सम्बन्धको कथा भन्ने बताइएको उक्त फिल्मको टिजरमा यसका मुख्य पात्र विजय बराल र प्रकाश सपुत बाबुछोराका रूपमा चित्रित छन् ।
गरिबीका कारण बुबाले झेल्नुपरेको अभाव, छोराले पाएको शैक्षिक सफलता र बिछोडिनुपर्दाको पीडा झल्कने टिजरले फिल्मप्रति आशा जगाउने देखिन्छ । बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा आएको टिजरमा विजय शीर्ष पात्र पूर्णबहादुरका रूपमा सारंगीसहित देखिएका छन् ।
छोरा बनेका प्रकाश भने एसएलसीमा जिल्ला प्रथम भएको खुसी बुबालाई सुनाउँदा आफूले दुःख गरेर छोरालाई पढाएको सार्थक भएको सम्झिन्छन् । इस्टकोट काटेर छोरालाई भोटो सिलाएको, काँधमा बोकेर स्कुल लाने, ल्याउने गरेको, गाउँ–गाउँ डुलेर सारंगी रेट्दै हिँडेको दृश्यले फिल्मलाई वजन दिएको छ ।
झन्डै दुई मिनेट लामो टिजरमा अभिभावकले सन्तानको प्रगति र खुसीका लागि गर्ने त्याग र संघर्षको कथालाई बुनिएको देखिन्छ । ‘फिल्म विपन्न बुबाले सन्तानको सपना पूरा गर्न गरेको संघर्षको कथा हो । हामीले तमाम बुबाहरूको संघर्षको सम्मानमा समर्पित गर्दै टिजर सार्वजनिक गरेका हौं,’ निर्माता विनोद पौडेलले भने ।
सरोज पौडेलको निर्देशन रहेको फिल्ममा विजय र प्रकाशसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बाँस्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय रहेको छ । सेभेन सिस सिनेमा र बाँसुरी फिल्मस्को प्रस्तुतिमा विनोद पौडेल र प्रतीक सुवेदीले फिल्मको निर्माण गरेका हुन् । फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् ।
प्रकाशित : भाद्र १७, २०८१ ०५:३९