‘गेम चेन्जर’ हुँदै ‘म्युजिक एआई टुल्स’
Highlights
- सुनो, सुनो प्लस, गोजिरा एक्सजस्ता म्युजिक जेनेरेटर एआई टुलहरूले मागअनुरूप शब्द, संगीत, स्वर सबै जेनेरेट गरिदिएर क्षणभरमै सिंगो गीत बनाइदिन्छन
काठमाडौँ — लिपफ्रग टेक्नोलोजीका वरिष्ठ एआई इन्जिनियर सन्नीकुमार तुलाधरले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गितार बजाएर हेभी मेटल प्रस्तुत गर्दासम्म त ठीकै थियो, तर त्यही गितारबाटै उनले बाँसुरीको सुरिलो धुन पनि निकालेर उपस्थितलाई आश्चर्यमा पारे ।
उनका लागि यो सम्भव भएको थियो, विभिन्न म्युजिक जेनेटेर एआई टुलमार्फत । उक्त टुलको मद्दतले गितारको धुनलाई अनेक स्वरूपमा ढाल्न सकिने डेमो देखाएका थिए, उनले ।
सन्नीले सुनो, सुनो प्लस, गोजिरा एक्सजस्ता एआई टुलहरू संगीत क्षेत्रका लागि ‘गेम चेन्जर’ का रूपमा आइरहेको धारणा राखे । ‘जसरी एआईको प्रयोग डिजाइनलगायत विधामा बढिरहेको छ, संगीतमा पनि त्यसरी नै नयाँ–नयाँ टुलहरू आइरहेका छन्,’ उनले थपे, ‘परम्परागत एआई टुलहरू त सामान्य किसिमकै थिए तर सुनो प्लसजस्ता टुल हाम्रा लागि खतरनाक पनि छन् किनभने यसले सिंगो गीत नै बनाइदिन्छ । मलाई यस्तो गीत चाहियो भन्नासाथ यसले शब्द, संगीत, स्वर सबै जेनेरेट गरिदिन्छ ।’ उनले आफ्नो गितारलाई कम्प्युटरमा जोडेर सुनो टुलमार्फत तत्काल एउटा संगीत तयार पारेर कार्यक्रममा सुनाएका थिए ।
लिपफ्रगले वार्षिक रूपमा आयोजना गर्दै आएको ‘डिजाइन डिस्को’ कार्यक्रमको तेस्रो संस्करणमा सन्नीले संगीतमा एआईको प्रयोगबारे ‘ज्यामिङ विद एआई’ थिममा यस्तो प्रस्तुति दिएका थिए । ‘एआई एन्ड क्रिएटिभिटी’ विषयमा रहेर कार्यक्रममा युजर एक्स्पेरियन्स (यूएक्स) डिजाइन, ग्राफिक डिजाइन, चित्रकला र संगीतजस्ता रचनात्मक क्षेत्रमा एआईले पार्ने प्रभावबारे यही क्षेत्रमा काम गर्दै आएका वक्ताहरूले आफ्ना अनुभव र विचार सुनाएका थिए । साथै, डिजाइनर, डिजिटल क्रिएटर, इलुस्ट्रेटर वा मल्टिमिडिया क्षेत्रमा काम गर्न रुचि राख्नेहरूलाई सीप विकास र पर्सनल ब्रान्डिङको महत्त्वबारे पनि विषयविज्ञले सुझाव दिए ।
‘कम्पनी वा क्लाइन्टले रेजुमी वा सीभी होइन तपाईंको इन्स्टाग्राम एकाउन्ट हेरेर पनि काम दिने/नदिने तय गर्न सक्छन्,’ हिमालयन जाभाका मार्केटिङ विभाग प्रमुख केल्साङ शेर्पा प्रधानले भने, ‘आजको दुनियाँ र रोजगार बजारमा सर्वोत्कृष्ट भएर मात्र पर्याप्त हुँदैन । अरूभन्दा अलग र आफूसँग भएको सीप, दक्षता, व्यक्तित्व सबै मार्केटिङ पनि गर्न सक्नुपर्छ । इन्स्टाग्राम, लिंक्डइनलगायतमा आफ्नो पर्सनल ब्रान्डिङ गर्नुपर्छ ।’ लिपफ्रगका डिजाइन आर्किटेक्ट एवं डिजाइन टिम म्यानेजर सरोज शाहीले पनि सीप विकासमा जोड दिन युवालाई हौसला दिए ।
कार्यक्रममा वित्तीय–प्रविधिसम्बन्धीको फोननेक्स्ट कम्पनीकी प्रमुख प्रोडक्ट डिजाइनर ऋचा शर्माले अनलाइनबाट पाँच मिनेटमै बैंक खाता खोल्न सकिने प्रविधिबारे प्रस्तुति दिइन् । ‘तपाईंहरूमध्ये कतिलाई बैंकमा जान मन पर्छ ?’ भनेर उनले सोध्दा इस्लिङ्टन कलेजको कुमारी हलमा उपस्थित युवामध्ये धेरैले चर्को स्वरमा ‘मन पर्दैन’ भन्दै बरु अनलाइनबाटै कारोबार गर्न रुचाउने बताएका थिए । कारोबार अनलाइनबाटै गर्न मिले पनि खाता खोल्न बैंक नै धाउनुपर्ने र चार पृष्ठ लामा फारम भर्नेदेखि घरको नक्सासमेत कोर्नु निकै झन्झटिलो हुने धेरैको भनाइ थियो । त्यही समस्या समाधानका लागि आफूहरूले तयार गरेको ‘अरेन्ज नेक्स्ट’ प्रविधिबारे ऋचाले जानकारी गराएकी थिइन् ।
डिपफेकजस्ता एआई प्रविधिका कारण भिडियो केवाईसी जोखिमपूर्ण हुनेबारे एक सहभागीले राखेको जिज्ञासामा उनले ‘लाइभ्लीनेस टेस्ट’ मार्फत सुरक्षा प्रबन्ध मिलाइएको पनि बताइन् । यद्यपि, यो नयाँ चुनौती भएकाले थप काम गर्न एआई इन्जिनियर र डिजाइनरहरूसँगको सहकार्यमा अझै बलियो समाधान निकाल्न आवश्यक रहेको उनको भनाइ थियो । वृत्तचित्र, छोटा चलचित्रजस्ता विधामा काम गर्ने कथाहरू प्रोडक्सन्सका कार्यकारी निर्देशक शशांक श्रेष्ठले भिडियो प्रोडक्सनमा ग्याजेटभन्दा सीप महत्त्वपूर्ण भएकाले प्रशस्त मिहिनेत गर्न सुझाव दिए ।
कार्यक्रममा हाउवर्ड डेलाफिल्ड इन्टरनेसनलका डिजिटल प्रोडक्ट म्यानेजर अनिश बज्राचार्य, इस्लिङटन कलेजका मल्टिमिडिया सिनियर लेक्चरर एन्ड प्रोग्राम लिडर प्रतीकमान सिंह प्रधान, इलुस्ट्रेटर एवं ग्राफिक डिजाइनर मृगजा बज्राचार्य, लिपफ्रगकै क्रिएटिभ डाइरेक्टर स्वप्निल आचार्यले प्रस्तुति दिएका थिए । कार्यक्रमको अन्त्यमा आयोजित छलफल कार्यक्रममा सहभागीले काम र जागिरको व्यवस्थापन कसरी गर्ने, रुचिभन्दा फरक काम आइपर्दा के गर्ने, डिजाइनरका लागि उत्कृष्ट विश्वविद्यालय कुन हुन सक्छ जस्ता जिज्ञासा राखेका थिए ।
प्रकाशित : भाद्र १७, २०८१ ०५:४४