काठमाडौँ — नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तारमा टेवा पुर्याउने भन्दै बेलायतको लन्डनमा आगामी भदौ २९ मा यती इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा) गर्न लागिएको छ ।
बेलायतको पुरानो संस्था यती नेपाली एसोसिएसनले आयोजना गर्न लागेको उक्त अवार्डको आइतबार १२ विधाका उत्कृष्ट मनोनयनको सूची सार्वजनिक गरिएको छ ।
मूल्यांकनमा उत्कृष्ट फिल्मसहित ‘प्रसाद २’ सर्वाधिक आठ, ‘जारी’ र ‘फर्की फर्की’ समान सात, ‘गाउँ आएको बाटो’ पाँच र ‘दिमाग खराब’ चार विधामा मनोनयनमा परेको इन्फाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । त्यसैगरी उत्कृष्ट अभिनेतातर्फ विपिन कार्की, दयाहाङ राई, प्रदीप खड्का र अनमोल केसी प्रतिस्पर्धामा छन् भने अभिनेत्रीतर्फ केकी अधिकारी, पशुपति राई, मिरुना मगर, जसिता गुरुङ र शिल्पा मास्केबीच प्रतिस्पर्धा देखिएको छ ।
अभिनेता सुनील थापाको संयोजकत्वमा गठित निर्णायक समितिले २०२३ अप्रिल १४ देखि गत जुन २१ सम्म प्रदर्शनमा आएका नेपाली फिल्मलाई आधार मानेर मूल्यांकन गरिएको आयोजकले जनाएको छ ।
प्रकाशित : भाद्र १७, २०८१ ०५:३५