पाँचथर — फिदिम नगरपालिका–१३ जेभालेमा बस्छन् गजेन्द्र राई । पर्यटकीय स्थलको पहिचान बनाउँदै रहेको जेभाले आइपुग्ने जोकोहीलाई सारंगी, मुचुंगा, विनायो, मादल र घिउपाते जस्ता बाजा बजाएर गीत गाउँदै नचाउने उनको विशेषता हो । तीन/चारजना मान्छे भेला हुनासाथ घर अगाडि सारंगी र मादल लिएर घरबाहिर निस्किने गजेन्द्र पुराना लोकभाकामा आन्तरिक पर्यटकलाई मनोरञ्जन दिन्छन् ।
‘रेसम फिरिरि’, ‘झम्के फूली नाकैमा बुलाकी’, ‘ओल्लो खोलो पल्लो खोलो कमिलाको गोलो’, ‘आलु दम चाना’, ‘चलेछ वतास सुस्तरी’, ‘किरेमिरे जाली रुमाल’, ‘छमछम नाचिदेऊ निउरेर’, ‘उकालीमा अघिअघि ओरालीमा पछिपछि यो केटी के भाको’ लगायतका गीत गाउँदै सारंगी र मादल बजाएर आगन्तुकलाई छमछमी नचाउने कला गजेन्द्रसँग छ । उनले सारंगी बजाउँदै गीत गाउन थालेपछि कोही लय मिलाउँदै मादल बजाउँछन्, त कोही मुरली र बाँसुरी बजाएर सार मिलाउँछन् । त्यसपछि नृत्यका पारखीहरू छमछमी नाचेर मनोरञ्जन गर्छन् ।
जेभाले पर्यटकीय स्थल हो । यस क्षेत्रमा चट्टानी पहाडको टाकुरामा रहेका ठुल्ठूला ढुंगा काटेर बनाइएका मुन्धुम स्थल, चट्टान बाटिका, राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द, शान्तिका अग्रदूत गौतम बुद्ध र महादेवका ठुल्ठूला सालिकसँगै गुप्तेश्वर महादेव थान हेर्न दैनिक २५–३० आन्तरिक पर्यटक पुग्छन् । शनिबार र बिदाका दिन त टाढाटाढाबाट करिब सयको संख्यामा पर्यटक पुग्छन् जेभालेमा । यही पर्यटकीय स्थानमा पुग्नेलाई भने गजेन्द्रले मनोरञ्जन गराएबापत कुनै शुल्क लिँदैनन् ।
आन्तरिक पर्यटन प्रवर्द्धनसँगै पुराना लोक बाजा र गीतसंगीतको संरक्षणका लागि आफूले यो अभियान चलाएको उनको भनाइ छ । ‘सानो छँदा संगीत मेरो सौख थियो । उबेला सारंगी सिक्ने अवसर मिलेन । आजकल रुचिको काम गर्न थालेको छु,’ उनले भने । यसअघि दस वर्ष अंग्रेजी अध्यापन गरेका गजेन्द्रले घरमा ढोल, झाम्टा, घिउपाते, सारंगी, मादल, मुरली, बाँसुरी, मुर्चुंगा, बिनायो लगायतका पौराणिक बाजागाजा र उपकरण संग्रह गरेका छन् ।
गजेन्द्रकै पहलमा जेभाले हुक्मा डाँडा क्षेत्र पर्यटकीय गन्तव्य बनेको हो । उनले सामाजिक सञ्जालमार्फत आह्वान गरेर जुटाएको दस लाख रुपैयाँ खर्चेर चट्टानी पहाडका ढुंगा कुँदेर बाटिका निर्माण गराएका हुन् । जेभालेदेखि हुक्मा डाँडा जान फिदिम नगरपालिकाले पदमार्गसमेत निर्माण गरेको छ । उनकै नेतृत्वमा २०७४ को तिहारमा देउसी खेलेर निर्माण गरिएको जेभालेको खेल मैदानमा प्रत्येक शनिबार ठुल्ठूला फुटबल प्रतियोगिता हुन्छन् । मैदानको स्तरोन्नति गर्न पछिल्लो समय प्रदेश सरकारले लगानी गरेको छ ।
नजिकै रहेको महादेव गुप्तेश्वर थानसम्म जाने सिँढी मार्ग र विश्रामस्थलसहितका संरचना बनाउन अमेरिका बस्दै आउनुभएका नारद रिमालका सन्ततिले लगानी गरेका छन् । यी सबै संरचनाको संरक्षणसँगै आन्तरिक पर्यटन प्रवर्द्धनमा गजेन्द्रले खेलेको भूमिका स्मरणीय रहेको फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले बताउँछन् । उनले सुरु गरेको सांगीतिक अभियानले लोप हुनै लागेका लोकबाजा र लयको संरक्षणमा पनि टेवा पुगेको काफ्लेको भनाइ छ ।
प्रकाशित : श्रावण २४, २०८१ ०५:३३